:: Blog Home       :: Sabai Nepali ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: RECENT BLOGGERS
::
:: ARCHIVES
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: December 2023
:: November 2023
:: October 2023
:: September 2023
:: August 2023
:: July 2023
:: June 2023
:: May 2023
:: April 2023
:: March 2023
:: February 2023
:: January 2023
:: December 2022
:: November 2022
:: October 2022
:: September 2022
:: August 2022
:: July 2022
:: June 2022
:: May 2022
:: April 2022
:: March 2022
:: February 2022
:: January 2022
:: powered by

Sajha.com

:: designed by
:

   
Blog Type:: Story
Monday, December 25, 2006 | [fix unicode]
 

यी कथाहरु साझामा पहिल्यै टाँसिसकिएका हुन्। पछि खोज्न सजिलो होस् भनेर सोहोरेर यता एकै ठाउँमा ल्याएर थुपार्दै छु।

“बाँसको पैसा"


“नमस्कार हाकीम सा’प!” कमीज-सुरुवाल-इष्टकोटको परिधानमा आएका एकजना बूढा बा भित्र पसे।
“नमस्कार!” गर्मीमा उँघिरहेको हुनाले बूढाको बोलीले नगरपालिकाको हाकीम अलि झस्किएझैं भयो। “भन्नुस् के कुरा हो?” आँखा पनि नऊघारी हाकिम बोल्यो।
“हजुर म---- !“ बूढा अलि अक्मकाए, “मेरो बाँस---!”
“ए तपाईँ फेरि आउनु भो!?” त्यतिखेरसम्म हाकीमले आँखा खोलिसकेको थियो। “कति चोटि भन्ने मैले तपाईँलाई, दिन मिल्दैन भनेर? तपाईँका बाँस कल्ले ल्यायो, हाम्लाई के थाहा? लानेसंग केहि कागत-सागत मागेर राख्नुपर्दैन? त्यसै पैसो पाईन्छ? जानुस्, अब फेरि आउने हैन यहाँ----“ हाकिम झर्कियो र टेबुलको पत्रिका तानेर पढ्न थाल्यो।
“हैन हजुर, नगरपालिकाले दिन्छ भनेका थे लानेले।“
“फेरि त्यहि कुरा! ‘भनेका थे’ भन्दैमा हुन्छ? जिविसमा जानुस्, उनीहरुले दिन्छन् कि?”
“ग’को हो हजुर, त्याँ त झन अफिसै बन्द-----“
“अब के गर्ने त?” बूढाको कुरालाई बीचमै काटेर हाकीम करायो अलि ठूलै स्वरले। “यहाँ बाट दिन मिल्दैन, जल्ले लगेको हो, उसैकाँ जानुस्।“ हाकीम कुर्सीबाट जुरुक्क उठ्यो, कोट तन्याकतुनुक पा-यो, कुर्सीमा राखेको चकटी मिलायो र फेरि पत्रिका तानेर बस्यो। अँध्यारो मुख लगाएर ‍‍‍धुर्वलाल बूढा बाहिर निक्ले।

“दिएन बाजे?” नगरपालिकाको गेटनीर पीउनले सोध्यो।
“दिएन, दिएन। गरीबको पैसो खाए पापीले--- !” बूढालाई कुरा गर्ने मन पटक्कै नभएको थाहा हुन्थ्यो, उनको बोलीबाट। अलिक मास्तिर एउटा चिया पसल थियो, बूढा पसलको एउटा कुनामा गएर बसे र गम्दै चिया पिउन थाले।

बूढाको घर नगरपालिकाको छिमेकी गाऊँमा पर्छ। अब नगरपालिका पनि भन्नुमात्रै हो, उनको गाऊँ जत्तिको पनि छैन। उनकी जेठी छोरीको बिहे भो, तीन भाइ छोरा छुट्टिएर अलग बसे, उनी र बूढी बसेका छन्। बूढीलाई मुटुले दुख दिन थालेको दुई बर्खजति भो। छ-छ महिनामा काठमाडौँ लगेर निकै महँगो ओखती गर्नु पर्छ। त्यसकै भरमा धानिएकी छिन् रे अहिलेसम्म बूढी, डाक्टरले त्यसै भन्थे। बैशाख सकिँदा लानु पर्ने हो यस पालि, पैसाको ब्यबश्था हुन नसक्दा जेठको पनि आधी हुन आँटी सक्यो लान सकेका छैनन्।

चैत लाग्दा-लाग्दाको कुरो हो। बूढा-बूढी खाना खाईसकेर पीँढीमा बसेका थिए।
“क्या हो काका, बाँस कतिमा बेचियो त?” माथ्ला गाऊँको हरिनारान कता जाँदै रहेछ, बाटैबाट करायो।
“के कुरा गर्छ यो? गाहकी भेटिएकै छैनन्, काँ’ट बाँस बेच्नु नि!”
“बाँस काटिराख्या आवाज जस्तो लाग्या थ्यो त मलाई! मान्छेको हल्लाखल्ला पनि सुनेजस्तो लाग्यो। म त तिम्ले बाँस बेचिसकेछौ भन्ठानेर हेर्दै नहेरी आएँ। गईहाल, फेरि सप्पै लगिसक्लान्”। बोल्दा बोल्दै हरिनारान धुर्बलाल बूढाको आँगन कटेर बाटो लाग्यो।

“हे दैव, को चोर पस्यो फेरि?-----“ थामको किलामा झुण्ड्याएको टोपी टाउकोमा हालेर बूढा निक्ले। “तँ नआईज, -----“ बूढी पनि पछि लाग्न खोज्दै थिन् बूढाले रोके।

मज्जाले सप्रेको बाँसघारी थियो बूढाको। धेरै दु:ख गरेर हुर्काएका थिए यो बाँसघारी बूढा-बूढीले।। ‘सात हजार त नाची नाची मोलेर दिन्छ गाहकीले’, भन्थे सबैले। सात हजार नआएर छ हजारमात्रै आईदिए पनि बूढाको धेरै ब्यबहार मिल्ने थियो। सबभन्दा ठूलो त डाक्टरले बोलाएकै बेलामा बूढीलाई काठमाण्डु लगेर उपचार गर्न सकिन्थ्यो। बाँकी बचेकोले पाँच-सात महिनैको नून-तेलमा भरथेग हुन्थ्यो। तर ऐले बाँस चोरी हुन लागेको सुनेपछि बूढाका जीउबाट पसिना छुट्न थालेका थिए।

“हैन त्याँ बाँस काट्नी को हँ?----- तिम्लाई साईँध्वा हो, मैले जान्या छु!” बूढा कराऊँदै डिलबाट बाँसघारीतिर ओरालो हान्निए। पहिला त बूढाले ठम्याइहाल्न सकेनन्, नजिकै पुग्दा देखे उनको बाँसघारीमा हरिया बर्दी लगाएका सिपाहीहरु थिए, दश बाह्र जना। तीमध्ये आधा जसो भकाभक बाँस ढालिरहेका थिए, आधा बन्दूके भने पल्याक-पुलुक वरिपरि हेर्दै घुमिरहेका थिए।
“सवारीमा लान काट्या हो बाँस बाजे, तिम्रा बाँसका’ नी दिन आए---!” यौटा रिकुटेले बूढालाई हियाएजस्तो गरेर बोल्यो। खोलापारी टुँडिखेलमा राजाको सवारी हुने कुरो हिजो माईकले फुक्दै हिँडेको सुनेका थिए उनले पनि।
“सोधखोज मोलतोलै नगरी यसरी अर्काको बाँस काट्दिनु त भएन नी हजुर!” बन्दूके धेरै देखेर बूढा अलि हच्किएर नरम स्वरमा कुरा गर्न थाले।
“बजारभरि राजाको सवारीको गेट बनाउन, मञ्च बनाउन लानी हो, किन सोध्नु प-यो?” अर्को रिकुटे कड्कियो।
बूढालाई झनक्क रिस उठ्यो।
“बरु मलाई मार, तर म यो बाँस लान दिन्न! -----“ बूढा लडाएर थुपारेको बाँसको चाङमाथि गएर पसारो परे। बूढा ठूलो स्वरले कराएको सुनेपछि हातमा एउटा रेडियोजस्तो भाँडो लिएर एक्लै बोल्दै गरेको, हाकिमजस्तो देखिने अर्को बर्दिवाला त्यता आयो।
“के भयो? यो बूढो को नि?”
“यो बाँस यी बाजेको रे साप!” शुरुमा उनीसंग ठट्टा गर्नेले तिनिक्क तन्किएर बोल्यो। “पैसा नदिई लान दिन्न भन्छन्।“
“बाजे, यो बाँस सवारीमा लाने हो। पैसा नगरपालिकाले दिन्छ, पर्सि आइतवार गएर माग्नु, म भन्दिराखौँला।“ हाकिमजस्तोले बूढातिर हेरेर बोल्यो।
“मुखका भरमै पैसा देलान् र हजुर----?“ बूढा बाँसको चाङबाट उठे।
“दिन्छ दिन्छ, किन दिन्न? त्यो लेखेलाई म भन्दिउँला। यताउता सोध्यो भने विक्रम क्याप्टेन सा’पले भन्या भन्नु।“ बूढालाई यति भनेर हाकिम सिपाहीहरुलाई आदेश दिन थाल्यो। “----- ल बाँस उठाएर ले’ र हिँडो। ------"

बूढाले हेर्दा हेर्दै रिकुटेहरुले एकैछिनमा बाँस ओसारेर सिध्याए। सिपाहीहरु सबै गईसकेपछि हेर्दा हेर्दै नाँगिएको आफ्नो बाँसघारी हेरेर बूढा धेरै बेर टोलाईरहे। ‘सवारी यहि बेला हुनु पर्नी! अनि मर्न नसकेका रिकुटेका आँखा पनि मेरै बाँसमा पर्नु पर्नी!’ तर आफ्नो निधारको पसिना आफ्नै टोपीले पुछेर घर फर्किनु बाहेक बूढासंग कुनै बिकल्प थिएन।

भोलिपल्ट बिहानैबाट टुँडिखेलमा ठूलो रमझम शुरु भयो। दश बजेतिर हेलिकउटर आयो जिल्लै हल्लाउँला जस्तो गरेर र बेस्मारी धूलो उडाऊँदै। अनि बेलून पनि खुब उडाए। माईकको आवाज बूढाको घरसम्म पनि टड्कारै सुनिन्थ्यो। सवारीले टुँडिखेल माथिको बजार पनि घुमेको कुरा पनि बूढाले त्यै माईकबाट सुनेका हुन्।अरु बेला भए बूढा रमिता हेर्न भएपनि पुग्दा हुन्, तर पैसो हातमा नपरीकनै आफ्ना बाँस गायब भएकाले बूढाको मन ठेगानमा थिएन। बरु बूढीले त्यति पिर गरेकी थिईनन्।‘बाँस लानी राजा हुन्, राजाले लगेपछि पनि पैसा नपाउनी हुन्छ, पिर नगर बूढा।‘ भनेर बूढालाई सम्झाइरहन्थिन्।

आईतवारबाट त आन्दोलन पो चर्कियो ए! दिन रात जूलूशै जूलूश! गोलीनै चलेर मान्छे मरेको खवर पनि आयो। नगरपालिकासम्म जाने आँटै गर्न सकेनन् बूढाले।

आन्दोलन सकियो, तर नगरपालिकाको मेयर लेखराम कता भाग्यो कता। राजाको पालाँ निकै चुरीफुरी गरेर धेरै मान्छे थुनाएको थियो, अहिले डराएर भागेछ। मालपोतको हाकिम नगरपालिकाको नया हाकिम भएर आयो भन्ने सुनेपछि बूढा पैसा लिन धाउन थालेका हुन्। पाँचचोटि भयो आजसम्म, दिने नामै लिँदैनन्। बूढा ब्यारेक पनि पुगेका थिए एकचोटि, तर त्यो क्याप्टेनसंग भेट हुनै पाएन। पैसा मिलिहाल्छ कि भनेर बूढा जिविस पनि पुगे। आज पनि पहिला त्यता गएर आएका हुन्। जहिले गएपनि ताल्चा झुण्डेको मात्रै देखिने त्यहाँ त झन्!

चियाको पैसा तिरेर बूढा गाऊँतिरको बाटो उकालो लागे। बाटोमा ब्यारेक पर्थ्यो। ब्यारेक अगाडि बूढी उनलाई कुरेर बसिरहेकी थिइन्।
“क्या’र्न तँ याँ?”
“तिनले पैसा दिँदैनन् भन्नी था’ थ्यो मलाई।“ बूढाले नभनेपनि उनको मलिनो अनुहारबाट बूढीले चाल पाईसकेकी थिईन्। “बरु हिँड एकबाजी फेरि ब्यारेकमा गएर त्यो क्याउटेन हो कि स्याउटेन के जातिलाई भेटौँ।“
बूढा-बूढी ब्यारेकको मूल ढोका तिर लागे। भित्र पस्न नपाईने रहेछ। एकछिन त्यतिकै अल्मलिएपछि त्यो बेलाँ बाँस काट्नेमध्येको एउटा सिपाहीलाई भित्र ढोकाको छेवैमा देखे उनले।
“हजुर यता----, एउटा सानो बिन्ती थ्यो हजुर।“
“के हो? के भयो?” त्यो सिपाहीले आँखीझ्याल जस्तोमा आएर सोध्यो।
“हजुरहरुले हाम्रो वाँस ल्याउनु भ’ थ्यो, पैसा कतैबाट पनि पाइएन। विक्रम क्याउटेन साप हुनुहुन्छ हजुर? क्याउटेन सापले-----“
“ए बाजे तिमी पो! क्याप्टेन साप त काठमाण्डु गइसक्नु भो, अब आउनुहुन्न।“ बूढाको बोली बीचैमा काटेर सिपाही बोल्यो।
“हो र हजुर ----!?” बूढा बिलखबन्दमा परे। “हजुरहरुले भन्दे पनि हुन्थ्यो कि हजुर? हाम्रो त बिचल्लीनै-----“
“खोइ हाम्ले गरेर हुन्न बाजे।–“ भनेर सिपाही ब्यारेकभित्रतिर लाग्यो।
“के को हुन्न? अर्काको बाँस ल्याए’सी पैसा तिर्नुपर्दैन?” बूढि रन्किन थालिन्। “अर्काको बाँस सिँत्तैमा त लाश पर्दा मात्तै लान्छन्। हे पर्भु, हे पर्मेस्सोरी, मेरा बाँस लगेर पैसा नतिर्नीको पनि लाश परोस्, भष्म खरानी होस्---“ बूढीले सरापेको ब्यारेकभित्र कसैले सुन्यो कि सुनेन, तर ब्यारेकको अघिल्तिरका चिया पसलमा बस्ने सबैले अचम्म मानेर हेर्न थाले।
“नकरा, नकरा, हिँड। ---“ बूढीलाई तान्दै घरतिरको बाटो सोझ्याए बूढाले।
“यसै भएन, उसै भएन, माउवादीलाई भन्नी हो कि क्या हो?” एकछिन पछि बूढा आफ्नै सूरमा बोले।
“हुन्न हुन्न हुन्न!” बूढी च्याँठ्ठीइन्। “ती पनि उस्तै हुन्। फेरि औँला दिँदा डुडुल्कै निल्न खोज्छन् ती। लोकेको हाल हेर न वाँ, उठिबास लागो तीनका संगतले गर्दा।”
“हो ठीक भनिस्। उल्टो सवारीमा बाँस दिने राजाको मान्छे हो भनेर खेदो गर्लान् भन्नी डर! काउरेस-झालेमालेलाई भने पनि उहि हो। मनको वह, कसैलाई नकह। पैसा के गर्नी त राजारामकी आमा?”
“छोराहरुसंग मागौँ एकबाजी। म मर्छु नत्र भनेर माग्दा त देलान् नि अलि अलि।“
“के देलान् र? तैपनि भनौँ के रे एकबाजी। आमा होस् तँ। देनन् भने रिनै काटेर भएपनि जाउँला तेरो ओखती गर्न।“
बूढा-बूढी गन्थन गर्दै विस्तारै घरतिर लागे।

********************************************************
********************************************************

"एक धर्को घाम"


“किन? के भयो? छोरीले झगडा गरी कि क्या हो?” छ बज्दा नबज्दै ब्यूँझन्छु म पनि। उनी छोरीलाई फुल्याइरहेकी छिन्।
“अघि भर्खर एउटा एम्बुलेन्स गयो अगाडिबाट, त्यसकै आवाजले ब्युँझेकी हो। अलिअलि झर्केकी छे निद्रा बिग्रेकोले, अरु केहि पनि भ’ छैन।”
छोरीले दूध खान पनि मानीरहेकी छैन र झर्कँदै-रुँदै गरीरहेकी छे।
“काखमा राखेर हल्लाए निदाऊँछे कि---।” म काखमा लिन्छु, तर छोरी मेरो काखमा आएपछि झन झर्किन्छे। र यतिखेरसम्म ऊ पूरै ब्यूंझिसकेकी छे। म छोरीलाई उनको काखमा राख्दिन्छु, तर छोरीले काखमा बस्न अझै मन नगरेपछि उनी उसलाई कार्पेटमा छोडिदिन्छिन्।
छोरीको रुवाई बन्द हुन्छ अब। ऊ चार हात-खुट्टा टेकेर अडिन्छे, एकछिन हामीलाई हेर्छे, मुसुक्क हाँस्छे र बामे सर्न थाल्छे।
“ल हेर त! कल्ले पत्याऊँछ साढे पाँच महिनाकी मात्रै भई भन्दा---?! ” बामे सरेर कोठा नापीरहेकी छोरीलाई हेरेर उनी मुस्कुराऊँछिन्।
“हो त! हिजो फोनमा भन्दा आमाले त पत्याउनु भएन !”
“छोरी कता तिमी? यता आऊ!” हामीले आँखा झिम्क्याउन नपाऊँदै छोरी झ्यालनिर पुगिसकिछे। ऊ त्यहाँ केहि समात्न खोज्दै थिई। अचेल बामे सर्नुसंगै उसले भेटेका कुरालाई समात्न र सकेजतिलाई मुखमा लान सिकेकी छे। जतिखेर पनि एकजना पछि नलागी सुखै छैन।
झ्यालको पर्दा अलिक होड परेर भर्खर उदाएको घाम छिरेको रहेछ र त्यहाँ एउटा मसिनो उज्यालो धर्को बनेको रहेछ घामको। छोरी त्यै सुनौलो धर्कोलाई समात्न र तान्न खोज्दै थिई।
हामी बूढाबूढी मुखामुख गरेर असमञ्जस भरिएको हाँसो साट्छौँ। अरु त के नै गर्न सक्छौँ र ?!

धेरै बेर कोशिश गरेर पनि घामको धर्कोलाई तान्न नसकेपछि छोरी झर्किन्छे, अनि हामीतिर हेरेर च्याँठ्ठिएर रुन थाल्छे।

“ओहो बाबा, छानु---, नलोऊ---नलोऊ, मेलो बाबा------” उनी छोरीलाई उठाएर छातीमा लगाऊँछिन् र फुल्याउन थाल्छिन्।

छोरी एकैछिनमा फुलिन्छे र उनी फेरि उसलाई तलै राखिदिन्छिन्। छोरी खेल्दाखेल्दै फेरि घामको धर्कोमा पुग्छे तर यस पटक ऊ त्यो धर्कोलाई तान्न खोज्दिन, त्यसलाई नियाल्छे, आफ्ना कोमल हातहरु एकैछिन त्यसमाथि राख्छे अनि त्यसलाई छोडेर कोठाको अरु भागतिर दौडिन्छे। एकछिन खेलेपछि थाक्छे र कार्पेटमै निदाएर आफ्नो टुटेको निद्रा र टुक्रिएको सपनालाई पूरा गर्न थाल्छे।

“खै छोरीको विछ्यौना लेऊ त।” म छोरीको विछ्यौना त्यो धर्कोनिर लगेर मिलाऊँछु अनि त्यो सुनौलो घामको धर्कोको एक भाग उसको निधारमा पर्ने गरी छोरीलाई विछ्यौनामा राखिदिन्छु।
जीवनका सबै सौन्दर्य र सत्यहरुको प्रतीक बनेर घामको सुनौलो धर्को छोरीको निधारमा चम्किरहन्छ।
------------------------------********************------------------------------
------------------------------********************------------------------------


"एक जोर सूट"


साँझको आठजति भईसकेको थियो। बिहानैदेखि ल्याबमा खटेको हुनाले उ अत्यन्त थकित थियो। कोठातिर फर्किन भनेर निस्किसकेको थियो, ‘मेल चेक गर्नुप-यो हिँड्ने बेलामा’ भनेर कम्प्यूटर अगाडि बस्यो।

"के लेखेछ बूढाले?!” एउटा मेल प्रोफेसरको पनि रहेछ।
"चन्द्र कुमारजी, भोलि योकोहामामा हुने 'निप्पोन बायोटेक'को त्रैमासिक बैठकमा भाग लिन तपाईँ जानुहोला। म जान नभ्याउने भएँ।गत महिनाको सम्मेलनमा पेश गरिएका सामाग्रीहरु पनि लैजानुहोला र त्यसबारेमा छोटो प्रस्तुति दिनुहोला। धन्यवाद।“ चन्द्र कुमारले पी.एच.डी. शुरु गरे यता एक दुई पटक बूढाले यस्ता बैठकमा आफ्नो साटो चन्द्र कुमारलाई
पठाएको छ।

चन्द्र कुमार अल्छी तालले कोठातिर फर्कियो। चिसो बतास चलिराखेको थियो। ‘हिऊँ पर्छ कि क्या हो!’ आफैँसंग बोल्दै ढोका खोल्यो र झोला ओछ्यानतिर हुर्र्यायो। जुत्तै नफुकालीभान्छा तिर गयो,चाउचाउ पकाउन कराहीमा पानी बसाल्यो र त्यसपछि जुत्ता फुकालेर हातगोडा धुनथाल्यो।

उम्लेको पानीमा चाउचाउ एक पोका र दुइटा अण्डा हाल्यो। दराजबाट कोट र पाइण्ट निकाल्यो। कोट ठिकै हालतमा रहेछ, पाईण्ट अलि खुम्चिएको जस्तो देखियो। खाइसकेपछि आइरन गर्ने सोच बनाएर चाउचाउ खानथाल्यो।

खाईसकेपछि पाइण्ट टेबुलमा फिजारेर आइरन दल्न थाल्यो। अलि अलि आइरन गरेर नपुग्ने जस्तो लाग्यो चन्द्र कुमारलाई, अलि बढीनै खुम्चिएको रहेछ। । दिक्क मान्दै दोहोराएर आइरन ग-यो, तैपनि उस्ताको उस्तै! मन नलागी नलागी तेस्रो पटक आइरन ग-यो, पाइण्टमा परेका मुजाले हराउने नामै लिँदैनन्!

‘स्सा—ला! थोत्रो भाँडोमा धो’को लुगा यत्रो गतिलो हुन्थ्यो---!’ धेरै पुरानो वाशिङ मेशीन थियो उस्को, कुनै नेपालीले नेपाल फर्किने बेलामा छोडेको। पछिल्लो पटक धोएर निकालेकै बेलामा पाइण्ट एकदम खुम्चिएको याद गरेको थियो उसले। पछि हेरौँला र कुनै ड्राइक्लीनरकहाँ लगेर ठीक पारौँला भनेर छोडेको थियो, तर त्यसपछि एकपटक पनि हेरेनछ उसले। अर्को एक जोर कालो सूट हाल्ने विचार पनि पुरानै हो चन्द्र कुमारको, तर कहिले के कहिले के भएर किन्ने मेसै परेको छैन। पाइण्टले भोलि घोर बेइज्जत गर्नी भो भन्ने भावले मन खल्ल भयो चन्द्र कुमारको। ‘भोलि बिहान एकछिन फेरि मच्चिनुपर्ला आइरन ले’र।‘ भन्ने सोच्दै उ सुत्यो।

भोलिपल्ट बिहानको नित्यकर्म सकेर आइरन लिएर मच्चिन थाल्यो। अहिले भने एकपटकमै छोडिदियो किनभने जति मच्चिएपनि पाइण्टले ठीक ठाऊँमा आउने सूर ल्याएन।
“अँ--- भन्।“ फोन उठायो चन्द्र कुमारले।
“जिम्दै छस् तँ? के गर्न लाग्याछस् नि अहिले?” ओमे बोल्यो उताबाट।
“पाईण्टले टेन्सन दि’राछ यार!”
“के भ’ र?”
“हेर्न, आज एउटा कार्यक्रममा योकोहामा जानुपर्नी, सूटको पाईण्ट नराम्रोसंग खुम्च्या’ रैछ अस्ति धुँदा, जति आइरन गरे नी ठाममा आऊँदैन।“
“अनि अर्को सूट लाएर गए हुन्न त तँलाई?”
“अर्को त हरियो छ यार, दाजुको बिहेमा हालेको, नेपालाँ जन्त जाँदा मात्तै लाउन हुन्छ त्यो त! कागको माझाँ बकुल्ला भईन्छ यार त्यो लाएर गयो भने त! जाप्नीज बूढ्ढाहरु छपक्कै कालै भ’र बस्या हुन्छन्।“
“अनि अर्को एक जोर कालो सूट हाल्नु पर्दैन त?! कट्टू र चप्पलका भराँ’ पि एच डी सक्नी भईस् कि क्या हो?! स्कलरशिपको मूठो सटक्क बुझ्नी मान्छे, दिनदिनै सूट फेरेर हिँड्नु, वर्षैपिच्छे गाडी फेर्नु! बोरामा पैसा कोचेर राख्या छस्, अनि यत्रो! कति बोरा येन लानी भईस् नेपाल? कि सिरकको खोलै भरिसकिस्?! हा—हा—हा !” ओमेले उडाउन पा’को, किन छोड्थ्यो?
“नकरा मु--, किन फोन गरिस् भन्।“
“तेरो कुच्च्या मुख नदेख्या धेरै भ’थ्यो, आज भेटेर संगै खाना खाम् भनेर हो, भईहाल्यो अब।“ फोन राख्यो ओमेले।

चन्द्र कुमारले अमिलो मन लिएर लुगा लगायो। रेलमै बेन्तो किनेर खाऊँला भन्ने सोच्दै कोठाबाट निक्लियो।

रेल स्टेशनसम्म पुग्न दश मिनेटजति हिँड्दा एक शताब्दी पूरै हिँडेजस्तो लाग्यो उसलाई। हरेक सेकेण्ड उस्को मनलाई कसैले आफ्नो खुम्चेको पाइण्ट हेरिरहेको होला भन्ने सोचाईले चिमोटिरहेको थियो। सधैं काँधमा झोला झुण्ड्याउन मन पराउने चन्द्र कुमारले आज हातमै झुण्ड्याएको थियो, ता कि खुम्चेको पाइण्ट अलिकति भएपनि छेकियोस्।

“त्यो जाँ---लाई किन हेर्नु प-या होला नि!” भुत्भुतायो चन्द्रकुमार, गाडीमा बसेकी एउटी केटीले उस्को पाइण्ट हेरेजस्तो लागेर। अरु दिन भए केटीले हेर्दा ‘मजस्तो ह्याण्डसमलाई नहेरेर कल्लाई हेर्छन् त?’ भन्ने सोचेर छाती फुलाउँथ्यो उ, तर आज भने कसैले पनि नहेर्दे हुन्थ्यो! केटीले त झन हेर्दै नहेर्दे हुन्थ्यो!

तै इसुका स्टेशनबाट रेलमा बसेपछि उस्को समस्या हल भयो एक छिनको लागि। रेलभित्रको भिडमा चन्द्र कुमारको खुम्चेको पाइण्टको त के, चन्द्र कुमार आफैं हरायो।

वानागो पुगेर हतार हतार शिन-कान-शेनको प्लेटफार्मतिर दौडियो, तर पनि दश मिनेट जति कुर्नुपर्ने भयो त्यहाँ। सधैंजस्तो स्टेशनमा आफ्ना एक्सरे आँखा दौडाएन आज चन्द्र कुमारले, प्रतीक्षा कक्षको एउटा कुनामा गएर बस्यो।

शिन-कान-शेनमा छिरेपछि ‘बेन्तो’ किन्यो र खान थाल्यो। खुम्चेको पाइण्टले गर्दा उस्लाई खानाको स्वाद पनि याद भएन। तीन घण्टासम्म एक चोटि पनि सिटबाट उठेन उ।
शिन-कान-शेन योकोहामा पुगेको जानकारी बज्यो।

“थुक्क---! आज पनि फुजी राम्ररी हेरिएन!” अहिले त चन्द्र कुमार करायो नै। “आज त दिन राम्रो थियो नि!”

हरेक पटक यो बाटोबाट यात्रा गर्दा फुजी पर्वत हेर्न खोज्छ उ, तर अहिलेसम्म राम्रोसंग देखेको छैन। कहिले कुहिरो डम्म हुन्छ, कहिले कसैसंग गफ गर्दा गर्दै यादै हुँदैन। आज दिन पनि राम्रो थियो र उ एक्लै पनि थियो; तर आज पनि छुट्यो।

शहरको पुरानो भागको ‘बायोटेक बिल्डिङ’को आठौं तल्लाको एउटा हलमा थियो कार्यक्रम। सहभागीहरु आयाताकार भएर बसेका थिए। नभन्दै बूढै-बूढाहरु थिए अरु सबै। कार्यक्रम सञ्चालकलाई आफ्नो बारेमा बताएर र आफ्नो प्रस्तुतिसंग सम्बन्धित सामग्रीहरु बुझाएर चन्द्रकुमार एउटा कुर्सीमा गएर बस्यो।

कार्यक्रम सम्बन्धित ल्याबहरुको तीन महिने प्रगति बिबरण जस्तो मात्रै रहेछ। उस्को पालो चाँडैनै आयो, तर कार्यक्रम पूरै नसक्किई उठ्ने कुरो भएन। हाई काढी काढी बूढाहरुको गन्थन सुन्यो। कार्यक्रम सकिँदा साढे पाँच बजिसकेको थियो।

कार्यक्रम स्थलबाट चन्द्रकुमार सोझै सब-वे स्टेशनतिर लाग्यो। उस्लाई कतिखेर कोठामा पगौं र त्यो पाइण्ट फुकालेर हुर्रयाऊँ जस्तो भैरहेको थियो।
शिन-कान-शेन चढेपछि चन्द्रकुमारले दुई क्यान बियर र बदाम मिसिएको स्न्याक्स मगायो। एउटा ठुलो बोझ हटेर टाउको हलुंगो भएझैं अथवा कुनै कठिन परीक्षा भर्खरै सकिएझैं भैरहेको थियो उस्लाई र उ दंग परेर बियर पिउन थाल्यो।

‘भोलि बिहानै यो पाइण्ट लगेर ड्राई-क्लीनर्सकहाँ छोड्छु। खाना खाए पछि बजार गएर अर्को एक जोर कालो सूट पनि किन्छु।‘ लगभग प्रतिज्ञाकै स्तरमा गमिरहेको थियो उ। ‘एक जोर मात्रैको भरमा बस्यो भने यस्तो अप्ठेरो पर्दो रहेछ कहिलेकाहिँ।‘

अहिले भने फुजी पर्वत हेर्न बिर्सेन उस्ले। हुनत साँझ परिसकेको थियो, तर फुजी पर्वतको आकृति भने एकदम स्पष्ट देखिएको थियो। छाती तन्काएर उभिएको महिमामण्डित फुजीलाई हल्का अँध्यारैमा सहि सर्वाङ्ग देखेपछि चन्द्र कुमार त्यसै त्यसै आल्हादित भयो र आधा क्यान बियर स्वाट्टै पा-यो। कुन्नि कुन खुशीले हो, चन्द्र कुमारको अनुहार उज्यालिँदै आएको थियो। खुम्चेको पाइण्ट अथवा बिहानकी त्यो केटी, दुबै उस्को मनबाट हटिसकेका थिए।

“हेलो, के छ राज यार?” कोठानिर पुग्नै लाग्दा फोन आयो।
“तँ काँ’ छस् अहिले?”
“योकोहामा गा’थें, फर्केर भर्खर आईपुग्दैछु।“
“त्यो अस्ति नयाँ वर्षको नाच याद छ नि तँलाई हैन?”
“छ, छ!” चन्द्रकुमार हौसिएर करायो। “क्या च्वाँक थी’ पातली यार!”
“सा----ला बोका! किन बिर्सिन्थिस् त?! हा हा हा!”
“भन् न कुरो के हो?”
“भोलि दिऊँसो एमी केनमा कार्यक्रम र’छ नेपाली समाजको, पातलीको डान्स पनि छ रे। तँ अहिले यतै आ। भोलि संगै जाऊँला।“

चन्द्र कुमारले हतारिँदै ढोका खोल्यो। कोट-पाईण्ट-टाइ-शर्ट फुकालेर ओछ्यानमाथि फाल्यो। हतार हतार हात-मुख धोयो र जिन्सको पाईण्ट र टि-शर्ट भिरेर बाहिर निक्ल्यो।

बाहिर हल्का चिसो भएपनि जूनेली रात थियो। कुनै पुरानो नेपाली गीतको धून सुसेल्दै चन्द्र कुमार शहरको पल्लो छेऊतिर जाने बस कुरिरहेको थियो।

************************************************

जापानी शब्दहरु: बेन्तो:- लञ्च बक्स
शिन- कान-शेन:-बुलेट ट्रेन
केन:- प्रान्त
इसुका, वानागो, एमी:- काल्पनिक ठाऊँहरु


(यो कथामा वर्णित घटना एवं पात्रहरु सबै काल्पनिक हुन्, कसैको वास्तविक जीवनसंग मेल खाएमा संयोग मात्र हुनेछ। अलिअलि मेरै जीवनसंग मेल खाएमा पनि संयोग मात्रै हुनेछ।)

   [ posted by Gautam B. @ 08:03 AM ] | Viewed: 2565 times [ Feedback] (5 Comments)


: