झण्डै ७ वर्षभन्दा पहिला लेखेका यी हरफहरुले भूतकाल बन्ने अवसर अझै पाएका छैनन्। जहिले हे-यो, नेपालको वर्तमान झन-झन कुरुपनै देखिन्छ।
("कविताको देश" भन्ने धागोमा टाँसिसकेको हो है!)
"कुरुप वर्तमान"-१
जताततै हनुमानहरु दौडिरहेछन्
पूच्छरमा आगोको लप्का बोकेर चाकडीको
विनाकारण जलाउँदै सुनका लंकाहरु,
स्वचालित वेहोश हातमा बजिरहेछ डमरु
मस्त धङ्धङेमा रमाएर हेर्दैछन प्रभुहरु
र अनियन्त्रित नाचिरहेछन् बाँदर टुकडीहरु ;
रंगीचंगी नाराका खोल ओढेर
अवसरको खेती गरिरहेछन्
आत्माहीन दासहरु,
र एक बाली भित्र्याई डकारेर
नयाँ फसलको तयारीमा
रंग फेरिरहरछन् छेपाराहरु ।
"कुरुप वर्तमान"-२
रगतको आहालमा डुबेका छन् हिमालहरु
डढेको जंगलबाट षडयन्त्रको गन्ध आईरहेछ
र ठाऊँ ठाऊँमा उम्रन थालेका छन्
तावेदारीका नयाँ झारहरु ;
भित्र बैठकमा,
हिसाब नमिलेर होला भागबण्डाको-
लूटेराहरु एक आपसमा औँला ठड्याईरहेछन्
र बाहिर,
'जिन्दाबाद', 'मूर्दाबाद' उचालीरहेका सडकहरुमा
भविष्यको पदचाप सुनिदैन