जापान आऊँदाका शुरुवाती दिनहरुमा एकदमै उत्साहित एकजना साथी पछि एकताका निकै दिक्क देखिन्थे र जापानीहरुलाई बेला-बेला हल्का सरापीरहन्थे। उनको भनाइ हुन्थ्यो, "यी साला जापानीहरु विदेशी मान्छेको 'खुबिलिटी' हेरेर हैन, खाली कल्ले जापानी भाषा राम्रो बोल्छ मात्रै हेरेर मूल्याकंन गर्छन्। (यो 'खुबिलिटी' भन्ने शब्द नेपालीको 'खुबी' र अंग्रेजीको 'ability' को अन्तरजातीय सन्तान हो भन्ने कुरो मैले नदोहो-याए पनि हुन्थ्यो होला शायद!) जापानी बोल्न जान्ने विदेशी जस्तो काइते भएपनि 'सुगो-ई! सुगो-ई!' (great! wonderful!)भन्छन्, जापानी नजान्ने जति 'ब्रेनी' भएपनि 'बाल' मतलब गर्दैनन्--!" साथीलाई के कुराले गर्दा त्यसरी चित्त दुखेको हो त्यतिखेर थाहा छैन, अहिले त ठिकै भएको देखिन्छ।
साथीको कुरामा धेरै सत्यता भने छ। जापानमा विदेशीको औकात जाँच्ने सबभन्दा ठूलो कसी भनेकै जापानी भाषामाथिको दक्षता हो। जापानी भाषा अलिक जान्ने सोझै असाध्यै विलक्षण प्रतिभाशालीमा गनिन्छ! त्यसैले यत्रतत्र काम, छात्रवृत्ति आदि पाउने ठाउँमा उसको पकड राम्रैसंग जम्छ पनि। दैनिक ब्यबहार र सरकारी कामकाजमा अंग्रेजी बिल्कुलै प्रयोग नहुने ठाऊँमा यो अलिकति त स्वाभाविकै हो, तर मान्छेका बाँकी योग्यताहरुका पनि केहि न केहि मूल्य त हुनैपर्ने हो!
यो 'सुगो-ई! सुगो-ई!' ले भने हैरान पार्छ। जापानीहरुबाट 'सुगो-ई! सुगो-ई!' र 'आतामा यी---इ देस् ने!' भनेर प्रशंशा पाउन खासै धेरै जापानी जानीरहनुपनि पर्दैन। ओहायो गोजाईमास, कोन्निचिवा, आरिगातो गोजाइमास-- आदि पाँच-सात शब्दहरुमात्रै बोल्नजाने पनि पुग्छ। (यो 'आतामा यी---इ देस् ने!' को सोझै अर्थ लगाउँदा 'तेरो टाउको त गज्जब राम्रो छ!' भन्ने हुन्छ, भाव पनि त्यस्तै-त्यस्तै भनौं न अब, 'तेरो दिमाग तगडा छ!' भन्ने हो।) कतै नयाँ ठाउँमा अलिकति कुरा गरेपछि तँ आएको कति भयो भनेर सोध्छन्। जस्तो उत्तर दिएपनि प्रशंशा भने गर्न छोड्दैनन्। जस्तो छ महिना भनेर भन्यो भने, "वाह! तँ कति खतरा?!---", एक वर्ष भन्यो भने "मान्नैपर्छ बा तँलाई!---", चार वर्ष भन्यो भने "चार वर्षमै यति धेरै जानिस्, तगडा रैछस् तँ!---" भन्ने प्रशंशा पाईन्छ। भएन भनेर मैले एकदिन एउटालाई 'म जापान आएको दश वर्ष भयो।' भनिदिएको, अझै "मान्नुपर्छ बा तँलाई, कति राम्रो जापानी बोल्या होस् दशै वर्षमा!" भन्छ बा! 'दश वर्ष भएपछि जानिहालिन्छ नि, त्यसमा त्यस्तो गज्जबको कुरो के छ र?!'भनें फेरि मैले। "दश वर्ष भन्दैमा हुन्छ, मैले अंग्रेजी पढ्न थालेको बीस वर्ष भईसक्यो, अझै केहि जान्दिन। तैंले दश वर्षमै यस्तो दामी जापानी बोलिसकिस्!" उ पनि के कम?!
अब आफ्नो जापानी कस्तो झूर छ र बेला-बेला कस्तो पिडा प-या छ भन्ने कुरो आफैंलाई थाहा छ! महिनामा एकचोटि कपाल कटाउन गयो, कसरी काट्दिऊँ भन्छ, अरु केहि जानिन्न, अनि 'सोनो मामा मिजिकाई--!(जस्तो छ त्यस्तैमा छोटो पार्दे!--)भन्यो बस्यो। चार वर्ष भयो आ'को, यो कपाल कटाउने बेलाँ प्रयोग हुने दुई-चार वाक्यहरु सम्झिन अझै सक्या हैन!
बढी समस्याचाहिँ अस्पताल जाँदा पर्छ। केहि समय पहिला घुँडा दुखेर पुग्या थिएँ एउटा डाक्टरकोमा।
"दुख्दा कसरी दुख्छ?" डाक्टरले सोधे।
म अलमल्ल परें, अब कसरी दुख्छ भन्ने!
"---- जस्तो गरेर दुख्छ? कि -----झैं दुख्छ, ------ कि ----जस्तो हुन्छ?---" म अलमल्ल परेको देखेर डाक्टरले आफैं दुई-चार विकल्प सुझाए। पूरै नबुझेपनि बुझिएका एक-दुई शब्दहरुका आधारमा अन्दाज लगाउन भने सकें मैले। डाक्टरले 'सियोले घोचेझैं गरी एकै ठाउँमा मात्रै दुख्छ कि अथवा कतै ठोक्केको बेलामा जस्तो गरेर दुख्छ कि अथवा करकर लुछे जस्तो हुन्छ कि?' भनेर सोधेको हुनुपर्छ। तर कुनचाहिँ कुन हो थाहा भएन! उनले बोलेका मध्येबाट एउटा दोहोराईदिएँ, नबुझेपनि। त्यसै अनुसार ओखती पाईयो। ओखतीले बन्द गर्दियो दुखाई। अँध्यारोमा हान्या गोली ठाउँमै लाग्या होला!
फेरि केहि दिन पहिला छोरीलाई रुघा-खोकीले सताएर अर्को डाक्टरकहाँ जानुप-यो।
"केहि औषधि खुवाएको छ कि छैन, रुघा-खोकी लागेबाट?"
"हिजो बेलुका अलिकति घरेलु औषधि खुवाएको हो।" नभनौँ भन्दा-भन्दै फुस्किहाल्यो मेरो मुखबाट। अघिल्लो दिन बेलुकी नेपालबाट ल्याएको जिम्मु-ज्वानो-वीरे नून आदि हालेर पानी उमालेर खुवाएका थियौं।
"के औषधि हो नि त्यस्तो?"
"देशबाटै बोकेर ल्या'को, जापानीमा नाम थाहा छैन।"
"त्यसो भए अँग्रेजीमै भने पनि हुन्छ।"
फसाद प-यो अब! ज्वानो र जिम्मुको अँग्रेजी नाम पनि थाहा छैन मलाई। एकछिन टाउको कन्याएपछि कुरो त टरेर गयो, तर सोचें, भाषाको समस्या त अँग्रेजी बोल्ने ठाउँमै बसेपनि पर्छ होला बेला-बखत।
त्यसो त कतिचोटि नेपालीमै पनि भन्न चाहेको कुरो भन्नै नसकेको स्थिति नभएको पनि होइन।
********************************************************************
- वसन्त (- http://gautambasanta.blogspot.com)
२० जुलाई, २००७