जुआरी (कथा) भाग ५
.. उस्लाई बल्ल याद भो, चिट्ठी त तेइभित्र छ !
एकाएक श्वासप्रश्वास बढ्यो मैसापको, कानका लोतिहरु राता र ताता भए; आरनेले भर्भराउंदो भुङ्ग्रोमा पोलेको फलाम झैं । हात्खुट्टा लग्लग र लल्याक-लुलुक्कै भए; जरो उखेलिदीएको झाल झैं अनी शिर घोप्टियो लज्जावती झार झैं, केही भय मिस्सिंदै ।
क्षेत्र सरले च्याप्टर ११ खोज्न, दाहिने हातले किताब समात्दै देब्रे हातले फ्यार्र पानाहरु पल्टाए .. फुत्त बाहिर निस्कियो; तेही पापी चिट्ठी ! अब ठाउंको ठावैं बजारिन्छु कि जस्तो लाग्यो मैसापलाई ।
हैन ए आइते, क्या हो यो ? क्षेत्र सरले खासै वास्ता नागरिकनै, दुई पल्ट पट्ट्याएको "प्रेम पत्र" आइतेतिर फुत्त फाल्दै भने ।
मैसापलाई संजीवनिको घुट्को लाएजस्तो भो, आइते अब अक्क न बक्क ।
मैले कैले-के राख्या रैछु त ! भन्ने कौतुहल्ताले आइतेले "प्रेम पत्र" फुकायो, संगै बसेको नेत्रे र नेत्रेको छेवइको बिशालले पनि आंखा ठुला पारे; सम्भवत: १-२ लाइन पढ्न भ्याए पनि । आइतेले ट्वां परेर क्षेत्र सरलाई हेर्यो, नेत्रे र बिशालले अरु १-२ लाइन पनि पढ्न भ्याए ।
कापी निकाल् अनी साथीको किताबमा हेर् । ल, अरुले पनि स्पेलिङ टिपो' । क्षेत्र सरले चक-डस्टर समाते, आइतेले "प्रेम पत्र" गुट्मुट्याउंदै गोजिमा कोचार्यो, मैसापले चैनको शास लीईन् ।
आइते; तर उ त बेचैन भाकोथियो । जिन्दगीमा पाको पहिलो प्रेम पत्र, तेस्माथी पढ्न नि भ्याकोथेन कल्ले लेखेको भनेर ! हिंजो, अस्ती, पछील्लो परीक्षामा, अघिल्लो वर्षमा .. को-को नजिकिएकाथिए, क-कस्ले मद्दत मागेकाथिए ? कुनै जान्ने केटी नै पो ? कसैले खेला गरेको त हैन ? हेनराइटिङ त .. एक्चोटी पढुम्न पैले ।
बडा गार्हो भो हाफ टाइमको घण्टी कुर्नु आइतेलाई । अंग्रेजी, नेपाली, गणित र विज्ञान खै; अरु दिन त सर्र जान्थे - त्यो दिन ति क्लास बिताउन हम्मे-हम्मे नै पर्यो । अर्जुनलाई बरु के धौ हुंदो हो र, माछोको आंखोमा निशाना लाउन; तर बिचरो आइतेलाई धेरै निशाना पो लाउनु पर्ने भा'थ्यो । कस्ले लेख्या हो ? किन लेख्या हो ? मलाई लेख्या हो ? मलाई नै किन लेख्या हो ? मैले के लेख्नु पर्ने हो ?
हाफ टाइमको घण्टी बज्यो, मैसापको शिर झुकेकै थियो, आइते; राजाको भोटे कुकुर फुकेसरह शौचालय दौडियो ।
पांचौ घण्टी बज्न केही समय बांकी थियो । केही कलासभित्र आइसक्याथे, कोही पर्खाल बाहिर बरफ चुस्दै, कोही भइयाको चाट चाट्दै, कोही बजैको चाकु चपाउंदै त कोही ग्राउन्डमै सांधेको भोगटे खांदै वा चुङी खेल्दैथिए ।
कलासभित्र रहेका केही मध्य, आइते र मैसाप पनि थिए । मैसाप घरी-घरी लजाउंदै आइतेलाई हेर्थिन्, आइते घरी-घरी बेप्रसँगको कुरा गर्थ्यो सँगैको नेत्रेसँग । आंखा बोल्छन् रे भन्ने सुनेको हो आइतेले, आज देख्यो पनि - तर आंखैले आज कसरी बुझाउनु, फाटी मर्नु भो उस्लाई । उ केही शिषिरको व्याख्या गर्न चाहन्थ्यो तर मैसापको नयनबाट बसन्त हटेपो !
आंखाको त्यो चमक, परेलिको त्यो सनक, वदनको त्यो दमक अनी मुजुर नाचेझैं त्यो भाव-भङी; ओहो ! कुनै आणविक हतियारको तुलना गर्न सकिएलार नारिका सामु ? विज्ञानले एउटा मापदण्ड तोकिदेला, अणु-परमाणुको व्याख्या गर्दै; तर क्लियोपेट्रा, फ्राइनी वा हेलेनलाई हामी कसरी व्याख्या गरौं ? वा उनिहरु आज आफैले आफ्नो व्याख्या खोजे भने ?
आइतेको दिमाग गोलचक्कर भो । प्रेम पत्र त गोजिमा सुरक्षित नै थियो तर मन भने ब्याधाले लखेटेको हरिण झैं भो ।
पांचौ घण्टी पनि बज्यो, भुगोल पढाउने ॠषि सर भित्रिए । छैटौं, सातौं, आठौं ... एक-एक वर्षसरी बिते, एक-एक घण्टी आज आइतेकालागी; शायद मैसापकालागी पनि । आखिरमा बल्ल-तल्ल बज्यो, ४ बजेको फाइनल घण्टी । एकबार पुलुक्क हेर्यो मैसापतिर अनी दौडियो आइते, बिरेन्द्र शिल्ड जित्ने ज्यानलाई दौडिनुमा त कल्ले भ्याउनु र !
मैसाप देखा परीन्, गोरेटोमाथीको ठुलो ढुङोमा आइते बसिराथ्यो । हुनत उस्को घर जानुपर्ने बाटो उतै पारीको ओरालोबाट हो, आज यहाँ ढुकिराथ्यो । मैसाप मुस्काइन्, आइते तल बाटोमा हामफाल्यो ।
के लेख्या यो तिम्ले ? पट्ट्याएकै प्रेम पत्र देखायो उस्ले ।
तेही । मैसापले सरल उत्तर दिईन् तर अदाकारीमा आज दिब्या भारतीलाई पनि पछारेकी थिईन्, लज्जा-भय-भरोसा-प्यार-मुश्कान .. उफ् - भिन्चिले देख्याभए अर्को मोनालिशा बनाउदाहुन् !
तिम्रा बाउले तिम्लाई मार्छन्, मेरी आमैले मलाई ! आइते पछाडि फर्कंदै एक-दुइ कदम धम्-धम् हिंड्यो, फेरी फर्कियो ।
मेरोलागी मर्न सक्दैनौ र ? म त सक्छु है । मैसापले आडैको पोथ्रोसँग खेल्दै भनिन् ।
सक्दिन म । किन मर्नु मैले ? आइते हावामा हात नचाउंदै जङ्गियो ।
हे भगवान् ! कस्तो रिष हो ?
हे भगवान् ! कस्तो रिष हो ? अंझै मर्या छैन भन्या ? मायाले ट्याक्सिको ढोका खोलिदीइ, उ चुप्चाप भित्र बस्यो ।
दाई पैला बानेश्वर जाम् है । अर्कोपट्टिबाट भित्र छिर्दै मायाले डाइबरलाई भनी ।
तपाईंलाई सप्पैको मशिहा किन हुनु पर्या ? जेसुकै गरुन् न अरुले .. अलिक सजिलोगरी बस्दै माया रिसाइ ।
खाएको पैसा तिर भन्नु नि गलत हो र ?
तर सही-गलत भन्ने कुरा कहिलेकाँहीं परिस्थिती अनुसार नि हुन्छ नि ! तेतिबेला चुप: लाग्याभए के जान्थ्यो तपाईंको ?
ठिकै छ मै गलत, भोन्त अब ।
मेरो त्यो मत्लव हैन भन्या । आफु खुरुखुरु-
बैनी नया बानेश्वर हैन्त ? डाइबर दाइले बिच्मै रोके मायालाई ।
हो दाई ।
पैला घरमै गा'भए हुन्थेन र ? उस्ले अगाडिको ट्राफिक हेर्दै भन्यो ।
उल्टो पर्ला भनेरनी, एकछिन मात्रै हो ।
अं के भन्दै थेंरे म ? ... मायाको गन्थन सकिएको थिएन, घरि-घरी घच्याक्-घुचुक पार्दै डाइबर दाई ट्याक्सी चलाऊंदै थिए, उन्को एफएममा पाण्डव दाजु कसैलाई गिज्याउंदैथिए .. गंगाजले पानीले भिज्यो तिम्रो रातो पछ्यौरी ..
पाण्डव दाजुले आइतेको एउटा अतित पनि कोट्ट्याइदिए ।
क्यालेण्डर अनुसार खासमा होली त आइतवार नै परेकोथियो तर धेरैजसो शुक्रवार नै तयारीकासाथ आएका हुन्थे, तेस्मा २-४ जना अलिक रसिक गुरुबा र गुरुआमैहरु पनि सामेल भईदिन्थे ।
आइते कान ठाडा पारेर बसेकोथियो, कतीखेर हाफ टाइमको घण्टी बज्ला र बत्तिम्ला भनेर, उस्लाई रंग-अबिरको दला-दली र घसा-घसी भन्दानी घरकी ब्याउने धर्किकै चिन्ता थियो । आखिर घण्टी त बज्यो तर बबुरो बत्तिन चाइं पाएन; विज्ञानकी अञ्जु मिसले होलिको शुभकामना र के-केजाती पो दिनथालिन् !
अञ्जु मिस क्या गज्जप्की छिन् है ? कस्को फेला पर्लिन् हं ? नेत्रेले कुनै दिन सोध्दा आइतेले हप्काएकोथियो; धत्, आफुलाई पढाउने मान्छेलाई त्यस्तो भन्नुहुन्छ ? तर आज आइतेले अठोट गर्यो, आइन्दा नेत्रेलाई उ केही भन्ने छैन !
मिस अलिकती टिका है ? अञ्जु मिस बाहिरिन लाग्दा रिचाले सोधी ।
धेरै नलगा नि फेरी !
सानो बुट्टेदार मखमली टिकुलीमाथी उस्ले मिसलाई लाम्चो टिका लाइदी' ।
ला, तंलाई पनि । रिचाकै केही अबिर लिएर मिसले नि उस्लाई टिका लाइदिन् र बाहिरिन् ।
पछाडी बसेकाहरु खस्याक्-खुसुक गर्दै आ-आफ्ना पोका-पुन्तुरा खोल्दैथिए, रिचाले ढोकातिरबाटै हांस्दै एक नजर आइतेलाई हेरी, आइतेले नेत्रेलाई हेर्यो, नेत्रे भने ढोका बाहिरतिर हेर्दैथियो - टाढा पर अन्जु मिस अफिसतिर जांदै थीइन् !
झोला बोकेर आइते उठ्यो तर ढोकामा सुमेरु पर्वत झैं रिचा खडा थीई, उस्लाई खुशी नपारी पार पाउनु गार्हो थियो ।
हेर, रंग नलाउ है, भन्द्याछु ! आइतेले उर्दी लायो ।
ल हेरुम्त म पनि ! एक मुट्ठी अबिर लिएर रिचाले अड्डी कसी ।
थोरै हैत, टिका मात्रै । आइतेले बिन्ती बिसायो ।
ल भन्या, खुरुक्क मान्यौ भने थोरै .. नत्र त बाबु .. । आंखा सन्काउंदै रिचा मुस्काइ ।
ल त । निधार थाप्दै आइतेले आत्मसमर्पण गर्यो ।
रिचाले अब एस्तो मौका किन पो छोड्दी हो ? पुरै मुख, कपाल र धेर-थोर जिउभरी पनि दलिदिई !
कलासभित्र र चौर बाहिर पनि अब होलिको माहौल सुरु भइसक्याथ्यो । कुनै जङ जित्या सिपाही झैं रिचा हांस्दैथी', हनुमान मन्दिरको रातो मुर्ती झैं आइते भाथ्यो; उस्लाई नि सनक चढ्यो ।
ओइ नेत्रे, रङ निकाल्त ! बेन्चमा झोला फ्याल्दै आइते सन्कियो, रिचा पनि अर्को एक मुट्ठी अबिर लिएर तयार भई ।
नेत्रेसँग हरियो रङको अबिर रहेछ, एक पसर लिएर आइते रिचातिर सोझिंदै उम्लियो; अब देख्छेउ मैया, आफुलाई दल्दा कस्तो हुन्छ !
ए ! मैले त थोरै लाथें है । रिचा केही हच्कीई ।
हो-हो, म नि थोरै मात्तै लाउनी हो ! आइते अघी बढ्यो ।
लौ लगाउ ! हात्को अबिर ह्वार्र आइतेतिर फाल्दै रिचा पछाडी दौडीई, केही अबिर आंखामा नि पर्यो, आइते एकछिन तिर्मिरायो ।
अब त झन् पख न । आंखा मिच्दै आइते उतै दौडियो ।
अब पालो उस्को थियो । एक हातले रिचालाई च्याप्प पारेर अर्को हातले अन्दा-धुन्द अबिर दलिदियो, हात कता-कता पुगेको आभाश भएपछी मात्रै अप्ठ्यारो मान्दै छाडिदियो; रिचा लाजले भुतुक्कै भई ।
उसै पनि लज्जालाई नारिको गहना मानिन्छ, झन् आज उस्का झुकेका नजर, राता अधर र हरियो रङ्मा लत्पतिएका पोटिला गालाहरु ! कपालको चुल्ठो केही बिग्रिएकोथियो तेइपनी बेजोड राम्री देखिएकी थीई उ; आइतेको पुरुष मनले पहिलो पटक, शायद यो सत्य स्विकारेकोथियो आज ।
कलासभित्र सबै आ-आफ्नै तालमा थिए । विध्यार्थी मात्र नभै अब त उनिहरुका झोला, कापी-किताब, बेन्ची र पुरै कक्षा कोठा नै रंगीचङी भएकोथियो । बाहिर सिनियर दाई-दिदिहरु त पानी छ्यापा-छ्याप गर्न सम्म भ्याइसक्याथे !
नेत्रेलाई रिश त उठ्या हो; १-२ जना बदमाश गुरुबाहरुले बिचरी अञ्जु मिसलाई एता र उता खेदाउंदै थिए, तर उस्ले कसैलाई केही भनेन । आइते र रिचा अरु भन्दा केही गम्भिर देखिन्थे ।
घर जांदा आज आइतेले धर्की बिर्स्यो, अचम्म भयो !
हातमा अघी रिचाले दिएको पोस्टकार्ड थियो, दिब्या भारतीको; होलिको शुभकामना सँगै एउटा शायरी पनि लेखेको :-
घाम लाग्ने घमाइलो बादल लाग्ने छायां
बिर्सी जाने बैगुनिको सम्झी लाग्ने माया
उ घरी तेही पोस्टकार्ड हेर्थ्यो, घरी कुन्नी कता हेर्थ्यो; आंखै अगाडीको ढुङो नदेखेर ४-५ हात पर उछिट्टियो - हत्केला र कुइनो अलि-अली दराल्लियो, टाउकोमा झन्डै टुटिल्को उठेको !
तर खास्सै दुखेन, अचम्म भयो !
अस्ती बेकार रिसाएछु । "प्रेम-पत्र" वाला दिनको सम्झना भो उस्लाई ..
तिम्ले कुरै रिष उठ्ने गरेपछी रिसाउनु परेनत ? उ जङिएकोथियो ।
के माया गर्नु हुन्न र ? उस्ले सोधेकिथी' ।
ऐले माया गर्ने बेला हो त ? तिम्रा बाउले मान्छन् ?
माया मसँग गर्ने कि मेरा बासँग ? सिधै भनन डर लाग्छ भनेर ।
कोसैसँग लाग्दैन डर-सर ।
अनी ?
हैन तिमी कुरा किन बुझ्दिनौ ?
के कुरा ? बुझाउन त ।
तिमी पो धनीकी छोरी, जे गरेपनी हुन्छ ।
अब धनी-गरिब कांबाट आयो ? ब्या गरन्त, अनी तिम्रै हुम्ला ।
मैले भन्न खोज्या, तिमीहरुसँग पो तेत्रो श्री-सम्पती छ त, मैले त धेरै कुरा गर्न बांकी छ । धेरै पढ्नु छ, नोकरी गर्नु छ; ऐलेइ ब्या गर्दै हिनम् त म ?
तेइ त भन्या लाटा ! ऐले माया गर्न त सक्छौ नि ? ब्या-स्या पछी गर्दै गरुम्ला !
हेर यो सब्कुरा था'छैन मलाई । उसै नि तिम्रा बा मान्ने हैनन् केरे ।
तिमी कुरा घुमाइ-फिराइ किन बालाई जोड्छौ हं ?
सत्य तेइ हो केरे ! होइन भने गएर भनन्त, म त्यो गुरुङ्को छोरोसँग पोइल जान्छु भनेर । सक्छेउ ?
सक्छु, परी आएमा किन सक्दिन ?
भो गफ नदेउ ! हेरुम्ला हामी पनि ।
हेरीराख, तिमी जस्तो पानीमरुवा हुम् म ?
लन्त, तिमी नै बाहादुर । बास् ?
रिचाले आंशु थाम्न सकिन ।
हे राम ! किन र्वा फेरी ?
जिनसुकै होस्, तिम्लाई के मत्लव ? उ बाटो लाग्न थाली ।
हैन नरोउ न भन्या । सँगै हिंड्दै उस्ले मनाउन खोजेकोथियो ।
चेपारो घस्न पर्दैन । जाउ तिमी आफ्नो बाटो । आइतेलाई धकेलेर उ तलतिर दगुरेकिथी', अल्मल्ल पर्दै एकछिन पछी आइते पनि आफ्नो बाटो फर्केकोथियो ।
फेरी एकबार उस्ले पोस्टकार्ड हेर्यो, शायरी पढ्यो, मनले मानेन; बत्तियो उ ।
जमुने भञ्ज्याङको पखेरो, गल्छिको बांसघारी र पारीको जंगलमा दौडिंदै गर्दा उस्लाई लाग्यो, नेत्रे बज्या बिनासित्ती अञ्जु मिसलाई गज्जप्की भन्छ; गज्जप्की त खासमा रिचा पो हो त ! एस्लाई अरु क्वैको फेला पर्न दिनुहुन्न !
स्याउला-पात गर्न गा'का कसैले देख्या भे सात्तो जांदो हो ! रङीबिरङी हुलियामा बौलाहा झैं दौडिएको आइते अजबको बनझांक्री झैं देख्याथ्यो ।
ओरालो झर्दै गरेकी रिचा पनि एक पललाई त झसङै भई; स्वां-स्वां र फ्वां-फ्वां गर्दै आइते उस्को सामुन्ने प्रकट हुंदा ।
के भो ? कता जान ला' ? उस्ले आश्चर्य प्रकट गरी ।
तिम्लाई नै भेट्न आ', बसन । लामो-लामो शास फेर्दै आइतेले अली पाखातीर देखायो ।
के काम पर्यो त त्यस्तो ? झोला काखमा लिएर बस्दै रिचा जिस्की' ।
तिम्लाई सरी भनुम् भनेर नि ! उस्ले झोला छेउतिर राख्यो र आफु रिचाको सामुन्नेको सानो ढुङोमा बस्यो ।
सरी किन नि ? उस्ले अन्जान बन्ने असफल प्रयास गरी ।
एसरी, एती टाढा दौडंदै आएर सरी भन्नुको जोड-घटाऊ रिचाले गरीसकेकीथी' तर स्वभावैले जन्मजात गुण उस्मा पनि थियो । तारिफ, माया र माफी; नारीजातीलाई संधै-संधै बोलेरै बयान गर्नुपर्ने हुन्छ । उनिहरुको अन्तर्मनले बुझेर पनि कहिल्यै-कहिल्यै बुझ्न चाहंदैन !
अस्ती तिमीले चिट्ठी दिंदा मैले के-के भनें, त्यसैले के । माफ गर है ! उस्ले ङिच्छ हांस्दै भन्यो ।
ए ! एती सजिलै हुन्छ र भन्या ? कान समातेर उठबस गर, अनी मात्रै माफी । उस्ले दाइने हातैले देखाउंदै भनी ।
हे, रेला नगरन । लु, कान नि समातें, भो ?
ल-ल मान्द्यो ! नजिकैको सानो सिटोले प्याट्ट हान्दै उ हांसी, आइते पनि हांस्यो र सँगै हांसिरहेका थिए; उनिहरुको मुहारमा अनेक रंगहरु ।
भनेपछी अब माया पनि गर्छौ हैन्त ? कि त माफी मात्रै हो र ? उस्ले शंका पोखी ।
हैन, .. गर्छु । आइतेले भुंइतिर हेर्दै भन्यो ।
छ्या ! स्वाएन भन्या ! खै एता हेरत ! रिचा ठुलो हांसो हांसी ।
केss ? आइतेले बल्ल नजर मिलायो ।
केइ हैन ।
एकछिन सुन्यतामा हेराहेर मात्र भो ।
अघी कलासमा के गर्याथ्यौ ? रिचा केही रिसाए झैं गरी ।
के गर्याथें र ?
अबिर लाउने बेला, बदमाश !
ए । के भो त ? अब त तिमी मेरै त हौ !
अंह पाइंदैन, एस्ता कुरा ब्या पछी मात्रै ।
ल-ल, तर ब्या चाइं मैले नोकरी खाए पछी मात्रै ..
केही बेर एस्तै मिठा भविश्यका कुरा भए, केही भयका पनि । बाटुलीलाइ जसरी भए पनि मनाइ छाड्ने संकल्प आइतेले लियो, खगेन्द्र देवले नमानेमा सब्कुरा छोडेर आउने वाचा रिचाले गरी । दिन ढल्न लाग्दा, दुबै लागे आ-आफ्नो घर; प्रशन्न मुद्रामा । भोली आफ्नो पाइताला मुनी के-कती हुन्छ भनेर चिन्तित हुनु मुनासीब छ तर आज आफ्नो हत्केलामा जे-जती छ, तेसैमा रमाउन सक्नु पनि त महत्वपूर्ण हो नि ।
ए, एss दाई, ट्याक्सी रोक्नु त । बागबजारबाट भित्र छिर्दै गर्दा, एक्कासी आइते चिच्यायो ।
किन ? के भो ? माया उत्सुक हुंदै एताउता हेर्नथाली ।
बाटो एस्तो छ, खै कता रोक्नु र ? डाइबर दाइले अलिकती किनार लाउने प्रयास गरे ।
यिं रोक्नु न, म आइहालें । रोक्की' नसकेको ट्याक्सीबाट ओर्लंदै आइतेले भन्यो र ८-१० कदम अर्को दिशातिर दौड्यो ।
हैन के भो यो मान्छेलाई ? माया गन्गन गर्दै बाहिर आएर उभीई । केही पर आइते घांटी तन्काउंदै पल्याक्-पुलुक गर्दैथियो, केही बेरमा निराश फर्कियो ।
के भो ? कस्लाई खोज्या ?
चिन्या मान्छे जस्तो लाग्यो ।
अरे वा ! यो शहरमा तपाईंको चिन्या मान्छेहरु पनि छन् र ? ल-ल भित्र बस्नुस् नाम-ठेगाना छ भने भोली-पर्सी खोजे पनि हुन्छ । मायाले खास्सै वास्ता नागरिकन भनी, दुबै भित्र बसे, ट्याक्सी गुड्यो; आइतेको मन भने उड्यो - भुमरीमा परेको सुकेको पात झैं ।
अघी त्यो रातो स्कुटरमा जाने केटी पक्कै पनि रिचा हुनुपर्छ, उस्को ठम्याइ एस्तै थियो ।
क्रमश: