न्यूयोर्कको ब्रुकलिनमा बस्ने ३७ वर्षीय किमले सञ्चित गरिराखेको १० हजार डलर भविष्यमा जन्माउनुपर्ने सन्तानको बिउ सुरक्षित राख्नका लागि आज भुक्तानी गरिन् । कुरा अलि बुझ्नुभएन होला । यसलाई यसरी बुझौं । किमले आफ्नो डिम्बको भण्डारबाट २० ओटा जति अण्डाहरु कृत्रिम तरिकाबाट निकाल्न लगाई भविष्यमा शुक्रकिटसँग मिसाउन मिल्ने गरी सुरक्षित राख्न फ्रिजमा जमाएर राख्नुपर्ने भएकाले ठूलो धनराशी तिरेकी हुन् । यसका साथै उनले उक्त अण्डा राखुन्जेल मासिक शुल्क पनि तिर्नुपर्नेछ । न्यूयोर्कको एनवाईयू लाउन्जले सन् २००४ देखि नै यसरी अण्डाहरु राख्नका लागि Egg Freezing Program सञ्चालन गरेको रहेछ । यसअघि निजी क्लिनिकहरुले मात्रै गर्दै आएको थियो । हाल आएर यसरी महिलाको अण्डाहरु जमाएर सुरक्षित राख्न चाहने महिलाहरुको संख्या अत्यधिक बढेकाले पालो कुर्नुपर्ने रहेछ ।
तपाईंहरुको जस्तै मेरो मनमा पनि ‘किन यस्तो गर्नुपरेको होला ?’ भन्ने जिज्ञासाहरु धेरै सल्बलाएकाले किमसँग केही समय मागें । लेख्न अनुमति पनि मागें । विभिन्न समयमा गरी ४ जना केटाहरुसँग लामो–लामो समय डेट गरे तापनि विभिन्न कारणले सम्बन्ध टिक्न नसकेकोमा दुःख व्यक्त गरिन् । पछिल्लो केटासँग सबै कुरा मिलिसक्दा पनि केटाले विवाहका लागि सोच्नुपर्ने बताएपछि उनले नै हापेकी रहेछिन् । उनले थपिन्– ‘न्यूयोर्कका केटाहरु विवाह गर्नका लागि तयार नै हुँदैनन् । डराउँछन् । आफ्नो उमेर बितेर गइसकेको हुन्छ । अब मैले अर्को केटा भेटे पनि २ वर्ष एकअर्कालाई बुझ्दा म ३९ वर्षकी हुनेछु । त्यो उमेरमा मेरो अण्डाहरुमा विभिन्न समस्याहरु देखापर्ने बेला भइसकेको हुनेछ । पछि बच्चामा समस्या आउन सक्छ । मलाई बिश्वास छ, मेरो अण्डाहरु अझै जवान नै हुनुपर्छ, त्यसैले अरु ढिला नगर्नका लागि धेरै खर्च गरें । अझ मसँग पैसा भएको भए त ३० वर्षको उमेरमा नै अण्डाहरु झिकेर सुरक्षित राख्थें ।’
किमले मात्र होइन । किमका अन्य थुप्रै
साथीहरुले पनि यस्तो गरेको दृष्टान्त उनले सुनाइन् । आफूले राम्रै कमाए तापनि सबै रकम सौन्दर्य सामग्री र यस्तै काममा खर्च हुनाले भविष्यदेखि डर लाग्ने बताइन् । किम एउटा प्रतिनिधि पात्र मात्र हुन् । आफ्नो शरीरलाई नयाँ आकार दिन Breast Implants र Butt Implants गर्दा बिग्रिएर आत्महत्या गर्नेदेखि चाउरिएको छाला तन्काउन ‘बोटोक्स सुई’ लगाउँदा झन् बिग्रन गई डिप्रेसनमा परेकाहरु अमेरिकामा मनग्य भेटिन्छन् । जीवन यन्त्रजस्तो भएपछि जीवनको मन्त्रमा खिया लाग्दो रहेछ । न्यूयोर्कमा किमजस्तै नयाँ पिढीहरु पूर्वीय दर्शन, योगा र रेकीजस्ता जीवनोपयोगी पद्धतीप्रति आकर्षित भएबाट के अनुमान लगाउन सकिन्छ भने जीवनको सार सरल बन्न सक्नुमा रहेछ । प्राप्तिले २ चिज दिन्छ– पहिलो ‘सन्तुष्टी’, दोस्रो ‘अतिरिक्त लोभ’ । कुन छान्ने हो, त्यो आफ्नो विवेक ।
बेलाबेलामा उनले पराजित मानसिकतामा ‘अब कोही नभेटे पनि बाँकी जिन्दगी यसै बिताइदिन्छुसमेत भनिन् ।’ न्यूयोर्क शहरमा किन यस्तो भएको ? भन्ने मेरो प्रश्नमा उनले भनिन्– ‘केटीहरु कैरियर बनाउने र असल केटाको खोजी गर्दागर्दै उमेर बिताउँछन् । केटाहरु पनि विवाहलाई झर्को मान्छन् । के म नराम्री छु र ?’ मलाई नै सोधिन् । मैले भनें– ‘एकदमै राम्री छौ । कलिली देखिन्छौ । पक्कै कोही भेट्ने छौ ।’ मलाई हेरिरहिन् सायद मैले मेरो हुर्किसकेका छोराहरु छन् भनेकाले होला, ‘तंैले ठीक गरिस्, यहाँका मान्छेहरु त ६५ वर्षको उमेरमा २० वर्षको छोराका लागि पिर मानिरहेका हुन्छन् ।’ पाश्चात्य संस्कारमा प्रचलित Nuclear Family System ले मानिसलाई धेरै संघर्ष गर्नुपर्ने बनाउँदो रहेछ । बच्चा जन्माउने र हुर्काउनका लागि धेरै रकम जम्मा गर्नुपर्ने हुन्छ । संयुक्त परिवारमा जस्तो सबैले बच्चा हेरिदिंदैनन् । छोराछोरी हुर्कुन्जेल बाबुआमासँग समय हुँदैन । बेबीसिटरलाई छाडेर अथवा डे केयरमा छाडेर नै अधिकांश समय व्यतित हुन्छ । अलिकति समय मिल्दा आफ्नो कुकुर वा बिरालोसँग खेल्न थाल्छन् । पछि सन्तान १८ वर्ष पुगेपछि घर छाडेर जान खोज्दा ‘गुड लक’ भन्ने सिवाय विकल्प रहँदैन । माया, ममता, अपनत्व भन्ने कुरा व्यस्त जीवनको अस्तव्यस्त दौडमा विलय भैसकेको हुन्छ । अमेरिकी जीवनशैलीले पारिवारिक सम्बन्धलाई समेत सम्झौतामा चल्ने व्यापारिक सम्बन्ध बनाइसकेको छ ।
किमले ‘चाँडै योग्य वर भेटोस्’ भन्ने शुभेच्छा छाडेर म बिदा भएँ । किमले फ्रिजमा जमाएर राखेको अण्डाहरु आफ्नो केटाको शुक्रकिटसँग मेल गराएर आफ्नो शरीरभित्र राख्न पनि ठूलै धनराशी खर्चिनुपर्नेछ । उनीजस्तै पूर्वीय संस्कार मनपराउने तर पाश्चात्य संस्कारमा जीवनको रथ घिसारिरहेका युवापिढीहरु न्यूयोर्कमा कम छैनन् । आमाले छोराछोरीको सन्तान (नातानातिनी) हेरेको पैसा लिने परिपाटी न्यूयोर्कमा नौलो होइन । धन्न हाम्रा नेपालबाट घुमाउने बहानामा झिकाइएका बाबुआमाले आफ्ना नाता–नातिनीलाई मनैदेखि निःशुल्क कुर्छन्, हेर्छन्, संस्कार दिन्छन् ।