“There is no greater agony than bearing an untold story inside you.”-Maya Angelou

भाग-१

"सोचाइका क्रमहरु सकिए जस्तो, यात्राको अन्तिम बिन्दुमा पुगिएजस्तो, कतै केहि बाकी नरहे जस्तो, यस्तै हुन्छ मलाइ आजकाल। केही कुराको अर्थ भेट्टाउदिन म, कहिँ पनि कारण पाँउदिन म। जीबन वाक्कै लाग्दो रुटिन भएको छ। हरेक कुरा निरस छन्, हरेक क्षण उदास पनि। म भित्र भित्रै थाकेकी छु, आफैभित्र उब्जिने प्रश्नहरुसङ भाग्न थालेकी छु। यो जिबन के हो? म को हुँ? यी आबश्यक्ताहरु के हुन्? मलाइ यस्तै कुराहरुले हरदम पिरोलीरहन्छन्। मलाइ लाग्छ म कुनै दिन यस्तै लहडमा आत्महत्या गर्छु। मेरो लागी जिबन अस्तित्वबिहीन छ। भ्रमको भुँवरीमा रुमल्लिने सपनाका कुराहरु जस्तो। साँच्चै, म आजभोली डराउन थालेकी छु।"

"डर ?? के को डर? फेरि पागल पागल कुरा नगर त। हे भगवान! कुन पागल फिलिमको असर हो यो?" फोनमा मेरो कुरा सुनिरहेकी मीली उता हाँस्छे। म छक्क पर्छु। के मीली पनि मेरो कुरालाइ गम्भिरता पुर्बक लिन्न। म फेरि सोच्न थाल्छु, कोही मेरो कुरालाइ किन बुझ्दैनन्?

"एक पेग "मार्गरिटा अन द रक", पिउनु पर्छ जिबन सुन्दर देखिन्छ थाल्छ, साथी! ल, भरै ७ बजे आउ त्यही रेस्टुरेन्टमा, आजको ड्रिन्क्स् मेरो तर्फबाट।" भन्दै मीलीले फोन राख्दी।

मलाइ बाहिर जाने मन छैन, म कोठाभित्र एक कुनाबाट अर्को कुना गरी हिँडि रहन्छु। छटपटि जस्तो भैरहन्छ, मेरो प्यारो लेखकको नयाँ उपन्यास किनेकी छु, तर यो पढ्नै मन छैन। यसपाली लेखकले लेख्ने शैली परिबर्तन गरेको छ। उपन्यासमा एकपछि अर्को हत्या हुँदैछ, शायाद ३-४ भन्दा बढी मान्छे मरीसके, तर हत्यारा अझै मस्त हिँडीरहेको छ, बिना कुनै पस्चाताप। मलाइ उदेक लाग्छ, म आधी पढेर उपन्यास राखिदिन्छु। हो, मलाइ केही गर्न मन छैन।

एकछिन झ्याल बाहिर हेर्छु, पानी उदेकलाग्दो गरी दर्की रहेछ। यो झरीको मौसम हैन तर पनि केहि दिनदेखी लगातार बर्षीरहेछ। मौसमले पनि मुडमा असर गर्छ। कतै मलाइ यही मौसमले त डिप्रेस गरेको छैन? झ्यालबाहिर सडक सफा छ, पानीले फोहोरहरु सबै बगाएको छ, सडक सुनसान छ। मानौँ, सडकमा हिँड्ने मानिसहरु गायब भएका छन्। लाग्छ, उनिहरुलाइ अरु कुनै ग्रहका प्राणीहरुले अपहरण गरेर लगेका छन्।

फोनको घन्टी बज्छ, मलाइ उठाउन मन लाग्दैन। मिली हुन सक्छे, अथवा अरु कोही। जो भए पनि के मतलब? कोहि मेरो कुरा बुझ्न तयार छैनन्। म मात्र किन उनिहरुको कुरा सुनु? म त्यतिकै झ्याल बाहिर हेरि रहन्छु, बल्ल एउटा मोटर देखिन्छ सडकमा, त्यसपछि केही अरु मोटरहरु देखिन थाल्छन्। फोनको घन्टी बजि नैं रहन्छ। म उठाँउदिन।

अल्छि लाग्छ, दराजको लुगाहरु मिलाउनु पर्नी। एसो हेर्छु छ्यालब्याल छन्, ह्या जति मिलाए त्यस्तै हो। झर्को लाग्छ। हैन, म मिलाउछु भरै सम्म। कोठा सफा राखे मन पनि आनन्द हुन्छ। यति जाबो कोठा मिलाए पनि नमिलाए पनि मेरै हो। यी भित्ताहरु मेरो दुखसुखका साक्षी बनेका छन्। जब संसारदेखि लुकेर म रुन्छु, यिनीहरु चुपचाप हेरिरहन्छन्, अरुलाइ भन्न सक्दैनन् न त सहानुभुतिको लागि केहि शब्द नैं सुनाउछन्। यिनीहरुले मेरो मनलाइ देखेका छन्, शायद बुझेका पनि होलान्।

"ढक" "ढक" आबाज सुन्छु, त्यो अर्कै कोठामा होला। मलाइ ढोका खोलेर हेर्न मन छैन। "ढ्याङ, ढ्याङ" ढोकै फोर्ला जस्तो आवाज आएपछि खोलेर हेर्छु। मीली उभिएकी छे, उ मलाइ अङाल्छे, मेरो आँखा त्यतिकै रसाउछन्।

"ल, जाउ अब।" मीली ढोकाबाटै भन्छे।

"कहाँ?" मलाइ फेरि अल्छि लाग्छ।

"कहाँ रे? अघि फोनमा मैले के भनेको थिए?" उ रिसाउदै भित्र पस्छे।

"जान्न म कतै।" मलाइ झर्को लाग्छ।

"खुरुक्क हिँड्ने।" उ मेरो नजिकै उभिएर मलाइ आदेश दिन्छे। यहा मेरो साथी भने पनि परिवार भने पनि उही एकजना साथी हो। साथीहरु अरु पनि छन्, तर उ सङ जस्तो मेरो मनको कुरा अरुसङ हुँदैन। म अगाडी मेचमा फ्यालेको निलो जिन्स समात्छु र एउटा कुनामा जान्छु। उ मेरो पछि पछि आँउछे, जिन्स थुतेर लान्छे।

"के भयो?" मलाइ अचम्म लाग्छ।

"यो खुइलिएको जिन्स मात्रै तिम्रो लुगा? जहिले यही थोत्रो पाइट लगाँउछे। अर्को लगाउने आज। जस्तो लुगा लगायो त्यस्तै हुन्छ मन।" मीली दराज खोलेर हेर्छे, कालो जिन्स झिक्छे।

"लगाउने म, तिम्रो च्वाइस?" मलाइ पनि रिस उठ्छ। म फेरि निलो जिन्स लगाउन थाल्छु, मीली एकछिनसम्म मलाइ हेर्छे अनि टि वि खोल्छे।

हामी ७ बजे अघि नैँ हाम्रो नियमित रेस्टुरेन्टमा पुग्छौ। यो नयाँ हो र त्यति मानिसहरु आँउदैनन्, हामीहरु बस्ने एउटा कौसी छ, जहाँबाट हामी अगाडीको हरियो बङैचा देख्छौ। बङैचाका रुखहरुमा झिलिमिलि बत्ति बालिएको छ। शायद नयाँ भएर होला रेस्टुरेन्ट धेरै सफा छ र शान्त पनि। भित्र पस्नासाथ ढोकैमा स्वागत गर्न बसेको छ एउटा युबक। उ हसिंलो छ र सुन्दर पनि। म भन्दा पनि मीलीसङ त्यो धेरै कुरा गर्छ। तर हामीलाइ थाहा छ उ खराब नियतको छैन। किनभने उ अर्कै समुहको जस्तो देखिन्छ। उसको साथीहरु केटै मात्र छन्, त्यो रेस्टुरेन्टमा सबै त्यस्तै छन्। हामीलाइ ढुक्क छ, कतैबाट टेन्सन छैन।

हाम्रो ठाँउमा कोहि बसेका छैनन्। मीली र बस्न नपाउदै "कोटुन" मेनु लिएर आँउछ। हामीलाइ अभिवादन गर्छ। हामीलाइ अर्डर सोध्छ। मीली उसको हालखबर सोध्छे। उ सन्चो छैन। उसलाइ सधै टाउको दुखेको हुन्छ, त्यो दुखाइ बिस्तारै गर्दन हुँदै हाततिर सर्छ। डाक्टरले उसको रोग पत्ता लगाउन सकेको छैन। मीली कुनै दिन २ वटा जिनटोनिक पछि ख्यालख्यालमा मलाइ देखाउदै भन्छे "डाक्टरले निको पार्न नसक्ने रोग उसैले निको पार्न सक्छे।" भनेर मलाइ देखाँउछे। त्यसदिनदेखि मैले कोटुनको मानसिक उपचार गर्नु परेको छ। कोटुन मलाइ देख्नासाथ खुशी हुन्छ। सधै झैँ आज पनि मैले उसको ब्यथा सुनिदिनु पर्छ।

"अहिले कस्तो छ कोटुन?" म आफुभित्रको निराशालाइ छोप्दै सोध्छु।

"अलि फरक छ।" कोटुनको अनुहारमा दुखाइको संकुचन उस्तै छ।

"अलि कम भयो?" मलाइ सकेसम्म छिटो सकाउन मन लाग्छ उ सङको कुरा।

"हैन के, पहिला भन्दा दुखाइ फरक भएको छ।" कोटुन टाउको कनाउदै भन्छ।

"कस्तो फरक?" मीली सोध्छे।

"पहिला टाउको हुँदै यसरी पाखुरा, कुहिना हुँदै हातको औंलाहरु झमझम पोल्थ्यो अहिले चाहिँ हातहरुबाट पेटतिर सरेको छ दुखाइ। पेटभित्र भित्रैबाट कसैले टोक्या जस्तो।" कोटुनको अनुहारमा अरु मुजा पर्छन्।

"लौ न, झन बढेछ कोटुनको दुखाइ। अब क्रेजीले तुरुन्तै औषधी दिनु पर्‍यो।" मीली कोटुनले नदेखिने गरी मलाइ दाँया आँखा झिम्काउछे।

"कोटुन! मलाइ लाग्छ तिमी राम्रो डाक्टरका जानु पर्छ। मलाइ त्यस बिषयमा त्यति ज्ञान छैन। साँच्चै भनेको म आफै डाक्टरका जाने बेला भएको छ। तिमी पनि जाउ।" मैले कोटुनको आँखामा म प्रतिको आशालाइ बेवास्ता गर्दै भने।

"हैन, मिस क्रेजी! मलाइ त तपाइले अस्ती सिकाउनु भएको कुराले केहि दिन आराम भएको थियो। मलाइ बिस्वाश छ तपाइले मेरो रोग निको पार्न सक्नु हुन्छ।" उसको बिस्वास देखेर मलाइ अचम्म लाग्यो। यो सबै ककटेल र मीलीको बदमाशी हो। मैले मीलीलाइ आँखा तरें।

"कोटुन! तिम्रो डाक्टर आज बिरामी हुनुहुन्छ।" उसले छड्के छड्के गर्दै मतिर इशारा गर्दै भनी। "त्यसैले डाक्टरको औषधी ल्याउनु पर्‍यो, जब उसलाइ औषधीले छुन्छ, त्यसपछी मात्र तिम्रो उपचार हुन सक्छ। हैन त?" भन्दै फेरी मलाइ जिस्काइ।

"सरी।" भन्दै कोटुन अर्डर नली फर्किन थाल्यो।

"म आज ककटेल पिउदिन, मलाइ खर्बुजाको जुस ल्याउदेउ।" मैले कोटुनलाइ भने।

कोटुन एकछिन रोकियो, अनि मीलीलाइ सोध्यो "तपाइलाइ नि मिस मीली?"

"मलाइ सधैं झैं जिनटोनिक ल्याउ। आज मैले तिमीहरु दुबैको उपचार गर्नु पर्छ जस्तो लाग्छ।" भन्दै हाँसी। कोटुन हाँस्दै गयो।

"बिचरा त्यो सोझो केटोलाइ उल्लु बनाउनु भयेन नि, मीली। उसको समस्या मानसिक जस्तो देखिन्छ। बेकारमा मलाइ डाक्टर बनाएर उसको पीडाको जोक बनाउने है तिमी?" मैले मीलीलाइ सोझै भने, रिसाए नि रिसाओस भनेर।

"डाक्टरको समस्या पनि मानसिक त हो नि हैन र? अनि मानसिक डाक्टर र मानसिक रोगी भएपछि रोगको उपचार त सजिलै हुन्छ नि।" उसले उल्टो म प्रति ब्यंग गरी।

म चुपचाप आकाशतिर हेर्दै बसें। कोटुनले एकैछिनमा ड्रिंक्स लिएर आयो, मीलीको जिन टोनिक राखि दियो। मैले खरबुजाको जुस देखिन।

"यो तपाइको औषधी।" भन्दै कोटुनले मार्गरिटा राखिदियो। म मार्गरिटा, कोटुन र मीलीलाइ पालैपालो हेरिरहे।

क्रमश:

भाग-२

"म आज अल्कोहोल पिँउदिन।" मैले स्पष्ट भने।

"आजै देखि छोड्ने कि? आज अल्कोहोल भोली मलाइ पनि छोड्न के बेर?" मीली अझै पनि बिस्वाश गरीरहेकी थिन मलाइ।

"हैन, छोड्ने कुरा कहाँबाट आयो? म त आज एकदिनको कुरा गरिरहेको छु। अल्कोहोलले छोडेपछि झन् डिप्रेस हुन्छु जस्तो लाग्छ। त्यसै पनि मन रित्तो रित्तो भएको छ।" मैले अलिकति बिस्त्रित बताए।

त्यसपछि बल्ल कोटुन खरबुजाको जुस लिन गयो। मीलीले जिनटोनिक "चियर्स" गरी मेरो पानीसङ। एउटा चुरोट सल्काइ, सोचमग्न भइ, अनि फेरि सोधी।

"साँच्चै के भइरहेको छ हँ?"

"खोइ? केहि भएको छैन। त्यतिकै दुख लाग्छ। जिबन खालि बाँच्नको लागि बाँचिएको जस्तो। केहि सार देख्दिन। केहि महत्व देख्दिन। झन यो पानीले त दिक्कै बनाउछ।" मैले टाढा टाढा हेर्दै भने।

मीलीले अर्को चुस्की लि, "हुँ--" गरी अनि फेरि भनी "जिबन बाँच्नकै लागि हो साथी। आफ्नो परिवार, देश र साथीहरुसङ टाढा आएर हामी जे गर्दैछौ त्यो पनि बाँच्नकै लागि हो। मर्नलाइ सजिलो छैन होला तर बाँच्नलाइ पनि कम गार्हो छैन।"

कहिलेकहिँ मीली सानो सानो कुरा पनि सामान्य तरीकाले भन्छे। तर उ त्यति गम्भिर जस्तो लाग्दैन मलाइ कहिले पनि।

"मर्नलाइ सजिलो छैन रे। फ्यानमा पासो लगाएर झुन्डियो भने एकै छिनमा सुँइकिन्छ। मुसा मार्ने दबाइ खायो भने पनि खत्तम भइन्छ। मर्नलाइ एक्दम सजिलो छ जस्तो लाग्छ मलाइ।" मैले सुनेको जति भने।

"कोशिश गर्ने कि?" मीलीले जिस्काइ।

"कहिलेकहि मलाइ कोठाको पंखामा झुन्डिउ जस्तो पनि लाग्छ।" मैले नि मीलीलाइ धम्काए।

"ए, फ्यान भन्दा गर्हुङो तौल भएपछि झुन्डिनु अघि नैं फ्यान भाँचिन्छ। के कुरा गरेकी?" उ हाँसी।

म चुप लागे। मीली हरेक कुरालाइ त्यसरी नैं लिन्छे। मलाइ उ सङ कुरा गर्नु बेकार लाग्छ।

"आजकाल कुन किताब पढ्दै छौ?" अचानक मीलीले सोध्छे।

"छैन, कुनै पनि" म एकछिन सम्झिन्छु र भन्छु "अस्ति एउटा पढ्दै थिँए, बोर लाग्यो र आधीमै रोकेँ।"

"घरमा फोन गर्दैछौ?" मीली कारणहरु खोतल्न चाहन्छे।

"छैन।" छोटो उत्तर दिन्छु।

"योगा गर्दैछौ?" मीली शायद मेरो अन्तर्बार्ता लिदँइछे।

"छैन।" कति बोल्नु पर्ने यो केटीलाइ मन मनमा भन्छु, तर मुखले केहि बोल्दिन।

पानी अरु बाक्लो पर्न थालेको छ। चिसो पनि बढ्दैछ। पानीको फोकाहरु गोलो गोलो गरी फुट्दैछन्, म जिबनलाइ त्यही फोका जस्तै फुटेको देख्छु। अन्धकार पनि बढेको छ। मीली चुप छे। उ चुरोट तान्दै लामो लामो स्वाससङै धुवाँ फ्याँक्दै छे। मलाइ त्यो चुरोटको धुवाँ नभएर मीलीको मुटु जलेर आएको धुवाँ जस्तो लाग्छ।

धुवाँ हेर्दै म पशुपतिको आर्यघाट सम्झिन पुग्छु, त्यस्तै बाक्लो बाक्लो धुवाँहरु एक आपसमा प्रतिस्पर्धा गर्दै उडिरहेका। जलिरहेका लाशहरु, जलाउने ठाउँ नपाएर कुरिरहेका निर्जिब मान्छेका शरीरहरु। क्रन्दन गरिरहेका महिलाहरु, रुन नसकेका तर आँसु लुकाउन नसकेका पुरुषहरु, कहिले नफर्किने गरी गएका अभिभाबकलाइ बिदा भन्न नसकेका बालकहरु। बागमतीको दुर्गन्ध र त्यही सेलाउन राखिएका अहिले बोलुला झैं गर्ने पार्थिब शरीरहरु। मेरो टाउको भारी हुन्छ, म मीलीलाइ हेर्न खोज्छु तर उ र म बिच धुवाँले छेकेको छ। सास फेर्न गार्हो हुन्छ। म मीलीलाइ बोलाउछु, उ बोल्दिन। म जुरुक्क उठ्छु र चारैतिर हेर्छु। मीली गायब छे, हामी बसेको ठाउँ परिबर्तन हुँदैछ। मेच र कुर्सीहरुको ठाँउमा बाक्लो घाँस उम्रिरहेका छन्। हामी पसेको रेस्टुराँ कालो डरलाग्दो जङल भैरहेको छ। कोटुन फर्केर आएन। वरिपरि ठुलो ठुलो रुखहरु देखिन्छन्। कहिँ कतै मान्छे देखिदैंन। धुवाँले गर्दा म निस्सासिरहेकी छु। मलाइ मेरो बाटो थाहा छैन। म हिँड्न खोज्छु, सक्दिन। घिस्रिएर अलि पर पुग्छु, अझै मीली देख्दिन न त कोटुन नैँ आँउछ। म अझै चार हातखुट्टा घिसारेर बामे सर्दैछु। मेरो पछि पछि कोहि "सरक, सरक" हिंड्दै मलाइ पछ्याउदै आँउदैछ। म अलि छिटो छिटो घिस्रिदैंछु। मुटु जोडजोडले धडकिदैं छ। मलाइ पछ्याउने "पदचाप" नजिकै आँउदैछ, शायद त्यो पिशाच होला वा भयंकर डरलाग्दो एउटा आँखा भएको राक्षस। त्यसले मलाइ उचालेर पछार्ला, हुन सक्छ मेरो घाँटि निचोरेर मार्ला, मेरो रगत पिउला। ममा अरु घस्रिने तागत छैन, बाटोहरु कतै छैन। अब म यही जंगलमा मर्ने भए। कसैले मेरो लाश पनि नभेटाउने भए। केहि नलागेपछि म जोडले चिच्याँउछु "आsssssssssssमा।"

मेरो मुटु अझै पनि बेसरी धड्किदैँ छ, सास छिटो छिटो बढिरहेको छ। सिरकभित्र मेरो शरीर खुम्चिएको छ, मेरो एउटा हातलाइ आफ्नै शरीरले थिचेको छ। मेरो कानमा आफ्नै केशहरु चलेको आवाज सुनिएको छ। म झ्यालबाहिर हेर्छु, झलमल्ल घाम लागेको छ। घाँटि मुख सुकेर प्याक प्याक भएको छ। म पानी पिउन जान्छु। दिँउसै कस्तो डरलाग्दो सपना देखियो। एकछिन सोच्छु। मीलीलाइ धेरैपछि सपनामा देखेको, कतै इ-मेल पठाइकी भनेर चेक गर्छु। इन्बक्समा नयाँ मेल छैन। मैले मीलीलाइ चाइना छोडेपछि ४-५ वटा मेल लेखिसके, तर उसले मलाइ अझै लेखेकी छैन। कतै मीली यो संसारबाट बिदा त भइ सकिन? त्यस्तो त नहुनु पर्ने। म फेरि सोच्न थाल्छु।

क्रमश:

भाग-३,

लेख्नु पर्ने कुरा थुप्रै छ, लेख्ने भनेरै बस्छु घरि टाउको दुख्छ, घरि एलेर्जीले सताँउछ। लेखेर नि के नै हुन्छ र जस्तो लाग्छ, तर साथीभाइहरु मिठो मिठो कमेन्ट लेखिदिनु हुन्छ फेरि लेख्न मन लाग्छ। फुच्चे भन्छ के उसको प्रतिक्षा जिबन भन्दा लामो छ? कति छिट्टै उसले तिन अक्षरको प्रतिक्षा र तिन अक्षरको जिबनलाइ एकैनासले दाँज्छ। हो नि प्रतिक्षा नैं जिबन हो, तर खोइ त के को प्रतिक्षा हो यो? म आफै सोध्न थाल्छु। गुच्चाचोर ज्युले मैले कथा नैं लेख्न बिर्सेकी भन्दा मलाइ लाग्यो, मलाइ सम्झाउने साथीहरु पनि हुनुहुँदो रहेछ अथवा भनौँ मेरो कथालाइ सम्झिने शुभेच्छुकहरु पनि हुनु हुँदो रहेछ साझामा।

मीलीलाइ एउटा समस्या थियो। उ आफै निदाउन सक्दिन थी। पहिले पहिले उसले त्यस्तो केही भनिन, तर एक्दिन मैले उस्को सेतो सलक्क परेको हातमा केहि दागहरु देखेँ। उस्को नाडीमा धेरै चोटि ब्लेडले काटेको जस्तो दागहरु थियो। मलाइ प्रत्यक्ष सोध्न डर लाग्यो, तर मैले त्यस्तो दागहरु धेरै चोटि पहिले नि देखेको थिए। मलाइ अनुमान गर्न गार्हो थिएन। उसले आफै भनी बिरालोले कोतरेको भनेर, मैले शायद घरि घरि त्यही दागमा हेरेकोले होला। मलाइ बिरालोले कसरी कोतर्छ थाहा छैन, तर ब्लेड्ले चिराचिरा पर्दा ठ्याक्कै त्यस्तै दाग हुन्छ चाहि थाहा छ। मेरो कामको सिलसिलामा मैले त्यस्तो दागभित्र लुकेको धेरै पिडाहरु सुनेको छु। हामी सभ्य हुने प्रयासमा कसैलाइ केहि पनि असर नपुगोस् भनेर सोच्छौं। त्यसैले मैले पनि मीलीलाइ अरु केहि सोधिन। एकदिन उसले निद्राको औषधीहरु छोडेको जानकारी दी। मैले राम्रै गरेछौ भने। तर उस्लाइ निदाउन झन समस्या परेको रहेछ। त्यसपछि हाम्रो भेट भयेन। म बिदा हुँदा उ बिरामी थी। मैले फोनमा म अब जाँदैछु भन्दा उ फर्केर आयेपछि भेटुँला भन्दै थी। उसले फिल्ड ट्रिप सोचिछ, मैले अर्कै देशमा सरुवा भएर जाँदैछु भन्दा बल्ल उसले क्षमा मागी। अन्तिम समयमा राम्ररी भेट्न नपाउदा मलाइ नि दुख लाग्यो।

कोटुन केटा भएर जन्मियो, तर उसले जहिले पनि आफुलाइ केटिको रुपमा पायो। उस्लाइ केटीको जस्तै लुगा लाउन मन लाग्थ्यो, केटी जस्तै हाँस्न मन लाग्थ्यो, पाँइट हैन, जामा लाउन मन लाग्थ्यो। कति चोटि लुकि लुकि उसले आमाको लिप्स्टिक गाजल लगाँउथ्यो। स्कुलमा पनि केटिहरुको बाथरुम जान मन लाग्थ्यो। बिस्तारै ठुलो हुँदै जाँदा उसलाइ चिन्ता हुन्थ्यो। उ किन अरु केटा जस्तो छैन? केटाको शरिरमा केटी हुन मन लाग्ने कुराले कोटुन आफै चकित थियो। उसलाइ आफ्नो शरिर नैं परिबर्तन गर्ने चाहना भयो। त्यसैले उ एक दिन कसैलाइ नभनी शहर आयो र काम गर्न थाल्यो। उसलाइ शल्यक्रियाले शरीर परिबर्तन गर्ने रहर छ। उसको सपना छ, पैसा जम्मा गर्ने र बैँकक गएर अपरेशन गर्ने। तर उसको तलब राम्रो छैन। महङो अपरेशनको लागि उ पैसा जम्मा गर्न सक्दैन। उसको शरीर नै उसको आफ्नो हैन। यी सबै कुराले उसलाइ सधैं टाउको दुख्छ। उ सधैं बिरामी हुन्छ, मनको दुखाइ शरीरमा भोगीरहन्छ।

कोटुनको जस्तै सबैको आ-आफ्नो प्यारो दुखाइ हुन्छ, जुन मनबाट शुरु हुन्छ र बिस्तारै शारिरिक पीडामा परिणत हुन्छ। मेरो मन दुखेको छैन, तर मलाइ जाडोभरी रुघा लाग्छ। केहि हप्ताअघि देखि औषधी शुरु गरेको छु। गुगल गरेर हेर्दा यो औषधीको साइड इफेक्ट धेरै छैन। तर ३-४ वटा आत्महत्या देखिएको छ। अब मलाइ मानसिक रुपमा असर पर्न थालेको छ। मेरो यो बैरागी अनुभव कतै औषधीको कारण त हैन? यो नाथे मन पनि के के सोच्छ। लाखौँ, करौडौँ बिरामीहरुमा चार जनाले आत्महत्या गर्छन भने त्यसमा मैले चिन्ता गर्नु पर्ने कुरा के छ र? यो आर्थिक मन्दिमा हरेक दिन कति मानिसहरु आत्महत्याको प्रयास गर्छन्। जो सफल हुन्छन्, मुक्त हुन्छन् यस झमेलाबाट, जो हुँदैनन, अरु बिषेषण थपेर बाँच्छन्। "कायर" ,"हुतिहारा",
"असफल" के के।

यो घडीको सुइ पनि कति ढिला हो? हैन हैन, घडी हैन आज म फेरि ढिला भयेछु। काम भन्ने एउटा ठाँउ छ, जाँउ की नजाँउ हुन्छ, आधा घन्टा ढिला भैसकेछ। "सिक कल" गरुँ जस्तो लाग्छ। अस्तिको हप्ता पनि त्यस्तै गरेको, यो हप्ता नि गर्यो भने त निकाल्न बेर छैन। यहाँ जे पनि हुन सक्छ। म त्यस्तो जोखिम लिन सक्दिन जस्तो लाग्छ। बिल तिर्नु छ नि। जानै पर्छ, मुन्टिनै पर्छ। डलरले दास बनाएको छ, इयुरोले त्यस्तै गरेको छ रे स्वप्ना भन्थी। हामी खाली दासै नै छौ, आमाको सपनाको, बुबाको इक्ष्याको र सामाजिक अपेक्षाको। मेरो त्यस्तै भयो, माको लागि पढेँ, बुबाको लागि पढेँ, आफ्नो लागि पढ्ने बेलामा इक्ष्या मरिसकेको थियो। आज ग्याँस हाल्नु पर्छ, सकिनै लागेको छ। बरु पर्समा क्रेडिट कार्ड पो छ कि छैन हेर्नु पर्यो। पर्स खोल्छु, कार्ड रहेछ, अलिकति खुद्रा पैसा नि चाहिन्थ्यो त्यो रहेनछ। म पर्सको सबै पकेट खोज्छु। कहिँ छैन, अगाडी एउटा सानो पकेट छ जहाँ पैसा राख्न मिल्दैन, तर मैले उसको फोटो राखेको छु।

उसको यो फोटो मैले उसलाइ थाहा नदिकन ल्याएकी थिएँ। फोटोमा उ त्यस्तो घमन्डी देखिदैंन। नदेखिएर के भयो? उसमा अंह छ, म मा जिद्दी। हामी दुइ बिचको यो युद्ध बर्षौदेखि चलिरहेको थियो। अझै कम भएको छैन। के उसलाइ थाहा होला म उसको यो फोटो कहिले कहि भए पनि हेर्छु भनेर? के तिमी पनि मलाइ सम्झन्छौ? मेरो फोटो हेर्छौ? तिमी पहिले त्यस्तो थिएनौ त? कसरी परिबर्तन भयौ? म फोटोलाइ सोध्न थाल्छु। फोटो कहिले बोल्दैन। तर टेलिफोनको घन्टि बज्छ। के उसले फोन गरेको हो? मलाइ बिस्वास लाग्दैन। यो कस्तो संयोग? भ्वाइस मेलमा आज काममा आउने की नआउने भन्ने खरो सुपरभाइजरको स्वर सुनेपछि हत्त न पत्त भन्छु "आँउदैछु, ट्राफिक जाम छ, पन्ध्र मिनेटभित्र पुग्दैछु।"

क्रमश:

भाग-४

काममा पुग्दा धेरै नैं ढिलो भैसकेको थियो। सुपरवाइजर टिना मलाइ कुरीरहेकी थिइ। केहि न केहि भन्ला भन्ने डर थियो, आफैलाइ समयमा पुग्न नसएकोमा अप्ठ्यारो पनि लागिरहेको थियो। नभन्दै "कुरा गर्नुछ" भन्दै एउटा कुनातिर लगी। अब के भन्ने होली भन्ने चिन्ता लाग्न थाल्यो। भोलीदेखि नआउ भनी भने यो आर्थिक मन्दी छाएको बेलामा म कहाँ काम खोज्न जानु? भन्ने बितिकै पाँउछ भन्ने के छ र? टिनाले एक नजर मेरो टाउको देखि पैताला सम्म सरर निरिक्षण गरी अनि सोधी, "तिमीलाइ आजकल के भइरहेको छ?"

उसको यस्तो प्रश्नले मेरो मुटु अलिकति हलुका भयो। बेलामा केहि त भन्नु पर्‍यो जस्तो लाग्यो।
"एलर्जीले सताउनु सताएको छ। त्यही भएर ढिलो भयो सरी।" मैले उसको आँखामा सकेसम्म सिधै हेर्न नसके पनि साँचो बोलेको जस्तो गरेँ।

"डक्टर देखाउन गएनौ?" उसले बिश्वास गरी।

"गएँ, तर पनि चिसो बढ्ने बितिकै अलि गार्हो हुन्छ। तर पहिला भन्दा धेरै सजिलो भएको छ।" मैले अलिकति साँचो कुरा पनि मिसाइ दिँए।

"स्वास्थ्यको खयाल राख्नु। बिरामी भयौ भने यहाँ तिम्रो हेरबिचार गर्ने कोही छैन। चिसोबाट बच्नु।" टिनाको कुरा सुनेपछि मैले मनमनै भगवानलाइ धन्यबाद दिँए।

त्यसपछि टिनाले के के काम महत्वपुर्ण, के के काम बाँकी, के के काम भोलीको लागि सबै बताउन लागी। मैले ध्यान दिएर सुन्ने प्रयास गरे। शुरुको २-३ लाइनपछि मेरो आँखा उसको ओँठतिर केन्द्रित भए। लिपग्लस लाएको बाक्लो ओंठहरु एकनासले चलिरहेका थिए।
ती ओँठ खुल्दा एक सेट चम्किलो सेतो दाँत झलल टल्किन्थ्यो र फेरि ओंठ् बन्द हुन्थ्यो र लिपग्लसभित्रको कालो रँग प्याजी प्याजी झैं देखिन्थ्यो। ओँठ माथि जुँगाको मसिनो खैरो रेखि पनि देखियो, बिस्तारै मेरो नजर त्यँहाबाट माथि टिनाको नाकतिर पर्न गयो। उसको नाक ठिकैको थियो, नाकको प्वालहरु केहि फरक देखेँ। प्राय मानिसहरुको नाक हेर्दा सितिमिति नाकको प्वालले ध्यान आकर्षण गर्दैन। तर टिनाको नाकको प्वाल केहि अनौठो लाग्यो। मैले त्यो गुफा बाहिरको सुरुङ जस्तो उसको नाकको प्वाल हेरेँ, त्यहाँ २-३ वटा झिङाहरु अटेसमटेस ठेलम्ठेल केहि नगरी एकै लाइनमा पस्न सक्थे। उ म भन्दा अग्ली भएकीले पनि मैले माथि हेर्दा उसको नाक नैं पहिला देख्थेँ। मलाइ त्यो ओडार जस्तो टिनाको नाकको प्वाल भित्रबाट कता कता अध्याँरो गुफाभित्र कसैले बोलाए जस्तो लाग्यो। स्वर चिने झैं लाग्छ, मसिनो र एक्दम हलुका जस्तो। म त्यो आवाजको पछि पछि भित्र गएँ, भित्र ड्याम डुम्म अध्याँरो थियो। बत्ति छैन कि क्या हो, मैले पर पर सम्म हेरेँ कतै केहि देखिन। फेरि मलाइ एउटा चुक घोप्ट्याको जस्तो अन्धकारबाट त्यही आवाजले बोलायो। म त्यही कुनातिर गएँ, त्यहाँ पुग्नासाथ फेरि अर्को पल्लो कुनाबाट बोलायो। म फेरि मलाइ बोलाएको दिशातिर लागे, त्यसपछि मलाइ चारैतिरबाट बोलाउन थाल्यो। म एक कुनाबाट अर्को कुना जाँदै थाकिसकेकी थिए। अरु हिंड्ने सामर्थ्य थिएन। म लल्याक लुलुक भैसकी थिए। त्यसैबेला कतैबाट अर्कै आवाज आयो।

"मेरो कोठा कुन हो?" मिस जोन्स म र टिनाको अगाडी उभिएर सोध्दै थी। टिनाले मलाइ एक प्रकारले हेरी, र मिस जोन्सलाइ उसकै कोठासम्म पुर्‍याउन गइ। मिस जोन्स १०० चोटिभन्दा बढी आफ्नो कोठा सोध्छे, उसको एउटा रोग डिमेन्सिया पनि हो।

टिनाले के भनी त मैले सुन्दै सुनिन, उ भोली कुरा गरौंला भनेर मलाइ जिम्मेवारी सुम्पेर गइ। म अझै उसको नाकको प्वाल, त्यो अन्धकार गुफा र मलाइ बोलाउने स्वर कसको होला भनेर सोचिरहेकी थिए, साथमा मिसेज रोबिन्सको खाना खुवाउने समय पनि भैसकेको थियो। उनि पेटको पाइपबाट खाना खान्छिन्। सधैँ खाटमा सुतिरहेकी हुन्छिन्, के मौसम, कुन दिन, कुन समय केहि कुरा पनि थाहा पाँउदिनन्। म हरेक दिन उसलाइ खाना दिन्छु, उ भित्तातिर हेरिरहन्छे कि त मलाइ हेरीरहन्छे। उसलाइ एकचोटि "हाइ" भन्दै म खाना खुवाउन थाल्छु। मुखबाट चपाएर स्वाद लिएर खानु र पेटको पाइपबाट तरल पदार्थ १० मिनेट लगाएर खुवाउनु दुबै फरक अनुभव हुन्। म त्यो भन्दा पनि पाइपबाट खाना तल झरेको हेर्दै फेरि अघिकै कुरा सम्झन पुग्छु, आजकाल मलाइ किन अनौठो अनौठो भ्रम हुँदैछ। मलाइ बोलाउने स्वर पक्कै पनि उसकै हो। मैले उ सङ कुरा नगरेको पनि १-२ बर्ष हुन लागिसक्यो। तर मैले उसको आवाज अझै बिर्सेको छैन। हो मलाइ पक्कै पनि उसैले सम्झेको हुनु पर्छ। "यो के हुँदैछ?" मेरो मुखबाट अनायासै निस्क्यो।

"कहिलेकहिँ हामीले सबै कुरा समयलाइ छोड्दिनु पर्छ।" कोठामा अर्कै स्वर गुन्जियो। कोठामा मिसेज रोबिन्स र म मात्र छौँ, अरु कोही छैन। म ढोकाबाहिर हेर्छु सुनसान छ। कहिँ कोही छैन। त्यसो भये त्यो बाक्य कसले बोल्यो। हैन मेरो कानलाइ किन यस्तो भ्रम हुन्छ। मैले मिसेज रोबिन्सलाइ सोधे," के तपाइँ पनि बोल्नु हुन्छ?" उसले खालि दलिनतिर मात्र हेरीरही, केहि प्रतिक्रिया जनाइन।

मलाइ दिक्क लाग्यो मैले भन्न नहुने तर मनमा सधैँ आउने कुरा मिसेज रोबिन्सको अघि पोख्न थाँले। "मेरो जिबनमा कुनै परिबर्तन छैन। हरेक दिन म यहा आँउछु, र तपाइको स्याहार सुस्यार गर्छु। तपाइलाइ बोलाँउछु, तपाइ बोल्नु हुन्न। तपाइलाइ खुवाँउछु। तपाइ मिठो नमिठो केहि भन्नु हुन्न। कहिलेकहिँ त तपाइ मलाइ "धन्यबाद" भन्नुस्। अथवा मलाइ "के छ?" भनेर सोध्नुस्।" सधैँ यसरी यो खाटमा तरकारी जस्तै कति सुतिरहनु हुन्छ तपाइं? तपाइँ र रुटिन जस्तो मेरो जिबनमा केहि फरक छैन। हामी दुबै उस्तै जस्तो लाग्छ।" मिसेज रोबिन्स दाँया कोल्टे फेरी। मलाइ किन यस्तो कुरा गरेछु जस्तो लाग्यो। मैले जे भने उसले के बुझी होला र जस्तो पनि लाग्यो। यसरी हदै नाघेर जो सङ जे पनि बोल्नु हुन्न भनेर म चुपचाप बाहिर निस्किन लागे।

"कहिलेकहिँ हामीले सबै कुरा समयको हातमा छोड्दिनु पर्छ।" म ढोकाबार निस्किनै लाग्दा मिसेज रोबिन्स मलाइ फेरि भनिरहेकी थी।

"हँ...? के भन्नु भयो?" म फेरि कोठामा फर्केर, सोधें। उ फेरि भित्तातिर हेर्न थाली। म कुरीरहेँ केहि बेरसम्म।

"मिसेज रोबिन्स! भर्खरै तपाइले के भन्नु भयो?"

"त्यही हो।" उनले छोटो उत्तर दि।

क्रमश:

भाग-५

कथाको चौथो भाग लेखिसक्दा थुप्रै पात्रहरु आइसके, ती सबै पात्रहरुले मेरो जिन्दगीलाइ कहि न कहि कतै न कतै झस्काइदिएका छन्। तिनीहरुले मेरो मनलाइ छोइदिएका छन्। कतै दुखाइ दिएका छन्, कतै बिझाइदिएका छन्। तर मैले जुन पात्रलाइ ल्याउनु खोजीरहेको छु, उसलाइ अझै पनि मैले पात्र बनाउनु उचित हुन्छ कि हुन्न भन्ने दुबिधामा छु। बास्तबमा उ पात्र होइन, मेरो जिबनको मुलधार हो। उ छ र म छु। उ भएकोले म हुन्छु। म फेरि बहकिन थालेँ भाबनामा। म धेरै दिनदेखि यही सोचिरहेकी छु। के मैले उसलाइ पात्र बनाएर उसको भुमिकामा न्याय गर्न सक्छु? के उ र मेरो सम्बन्धको प्रस्तुतिले साथीहरुको मलाइ हेर्ने धारणामा परिबर्तन आँउछ? के मैले यो लेख्न हुने बिषयबस्तु हो? कि यसले मेरो ब्यक्तिगत जिबनको गोप्यता भङ हुन्छ? मलाइ अलिकति असजिलो लाग्छ। म कहिले दिमाग र कहिले मनको सँघर्षमा अल्झिन थाल्छु।

हैन, मैले ब्यक्त गर्नै पर्छ। लेखाइ नै मेरो लागि थेरापी हो। म भित्रका यी ग्लानि, पश्चाताप र छटपटिहरु कमसेकम कथाको माध्यमबाट त पोखिनु पर्छ। म को हुँ र? एउटा साधारण मानिस। न बुद्द, न राम, न जिसस! म सङ पनि अरु मान्छेका जस्तै दया, माया, हेय भाब, रिस, इर्श्या सबै छ। मलाइ लाग्छ म सङ सार्है संबेदनसिल मन छ, जुन छिट्टै दुखि दिन्छ, धेरै पछिसम्म नसम्झिनु पर्ने कुरा सम्झिरहन्छ, त्यसलाइ लुकाइ रहन्छ, तर ब्यक्त गर्न सक्दैन। यो अत्ति भयो म आफ्नै बारेमा दुइ प्यारा लेख्दैछु। अब कथा बढ्नु पर्छ।

कहिले कहि समयको हातमा सबै कुरा छोडि दिनु पर्छ रे। यो त मैले धेरै ठाँउमा सुनेको छु। केहि प्रेरणादायी किताबहरुमा पनि पढेको छु। हुने त समयको हातमा त हो। मेरो हातमा के छ र? म जन्मिनुमा समयको हात छ। मेरो अभिभाबकहरुले नचाहदा नचाहदैँ म भ्रुण भएर गर्भमा आँए। मलाइ सकेसम्म यो संसारमा नल्याउने कोशिस गरियो रे। कारण उनिहरुलाइ सन्तानको चाहना पुगिसकेको थियो, म "योजना बिपरितको सन्तान" हुन पुगेकी थिँए। अबश्य पनि हुर्काउने जिम्मेबारीले पहिले नै बोझ पुगिसकेको बेलामा कसलाइ "अन्वान्टेड" सन्तानको रहर हुन्छ र? धेरै कोशिश गर्दा पनि मैले गर्भबाट निस्किन नखोजेपछि अभिभाबकको चाहना अलिकति परिमार्जित हुन थालेछ। शायद छोरा जन्मिन सक्छ। यस्ता कुरा किन सुनाँउछन् उनिहरु मलाइ? मेरो संबेदनशील मनलाइ कस्तो नमिठो अनुभव हुन्थ्यो। समयकै कुरा हो, म जन्मिए छोरी भएर, बाबाको चाहनालाइ तुषारापात गर्दै। समयले सबै कुरा निको पार्दै गयो। म बाबा, आमा, परिबार सबैकी प्यारी भए।

काल्पनिक भन्दा पनि बास्तबिक घटनाहरुलाइ लेख्न गार्हो हुँदोरहेछ। उसलाइ म "तिमी" भन्छु, हुन त त्यसो भन्न मिल्दैनथ्यो, तर म अलि पुल्पुलिएर अथवा उसलाइ तिमी भन्दा अरु नजिक महसुस गर्छु। उसको र मेरो शक्ति सँघर्ष म जन्मिनु अघि नै शुरु भएको थियो। मैले भने नि म नचाहदा नचाहदै याक्सिडेन्ट्ली उसको गर्भमा आए। उसले औषधीहरु खायो रे, अनेक उपाय गर्‍यो रे। (म यहाँ उसको लागी verb हरुलाइ खाइ, गरी भनेर प्रयोग गर्न चाहन्न, उसको लागि म त्यस्तो गर्न सक्दिन।)समयले मलाइ ती औषधीहरुको असर हुन दिएन। म कहिएकहि त्यो समयप्रति धेरै आभारी छु, जसको कारण आज म साझामा छु, जानि नजानी लेख्ने कोशिश गर्दैछु, नेपाली हिज्जेहरु चाहेर पनि राम्ररी टाइप गर्न सक्दिन, गल्तीहरु हुन्छन्। तैपनि साथीहरु राम्रो छ भनिदिनु हुन्छ, यो मन फेरि उत्साही बनिदिन्छ। जब ठुली हुँदै जान्छु, उ र म बिचको युद्ध अरु चर्किदै जान्छ। उसले जे भन्छ, त्यो मलाइ मन पर्दैन। मलाइ जे मन पर्छ, उसलाइ त्यो मन पर्दैन। म आफ्नै खुट्टामा उभिन भैसकेको छैन। त्यसैले उसैले चाहेको बिषय पढ्नु पर्छ, मैले चाहेको अङ्रेजी साहित्य क्याम्पस भर्ना भएर पनि छोड्नु पर्छ। त्यो कुराले मलाइ धेरै महिनासम्म डिप्रेस गराँउछ, तैपनि उ मलाइ फकाँउछ, म यस्तै हो भनेर चुप लाग्छु। यतिबेरसम्म मैले जसको बारेमा कुरा गर्दैछु, उ मेरो माँ हो भनेर भन्न पर्दैन होला। यो मैले उसको लागि लेखेको हैन, शायद आफ्नै लागि हो भन्नु पर्छ। यदि मैले उस्लाइ यस कथामा प्रस्तुत गरेर उसको चित्त दुखाएको छु भने उसले मलाइ जरुर माफ गर्छ। उ आमा हो, आकाश जत्रो बिशाल छाती छ। म उसको सन्तान, मेरो गल्ती क्षम्य हुन्छ।

(भर्खरै मेरो उ सङ फोनमा कुरा भएको छ, दिदीले भन्नु भए अनुसार उ मैले अस्ति किनिदिएको रातो धोती र न्यानो बाक्लो ओढ्ने ओढेर बसेको छ। उ खुशी देखिन्छ। एकचोटि फेरि मेरो आँखा भरिएको छ।)

क्रमश:

भाग-६

हरेक आमा र बच्चाको जस्तो सम्बन्ध हुन्छ, त्यस्तै हाम्रो पनि भयो। कहिले मनमुटाब, कहिले सम्झौता, कहिले घुर्की, कहिले मेलमिलाप। तर यी सबै कुरा हुँदाहुँदै पनि जसरी माँले मलाइ बिशेष माया दिनु भयो, अरुहरुले सधैं इर्ष्या गरे। माँ बिहानै मलाइ "तातो चिया" भन्दै बेड टी ल्याइदिनु हुन्थ्यो, म चिया आएको धेरै बेरपछि ब्युँझन्थे। माँ फेरि अर्को चिया बनाइदिनुहुन्थ्यो, त्यतिखेर म ठुली भैसकेकी थिँए। दिदीहरु माँलाइ गाली गर्नु हुन्थ्यो मलाइ बिगार्नु भयो भनेर। आजकाल जब म कसैले आफ्नो हुर्किसकेको बच्चाको लागि चिया बनाएको देख्छु, माँ को याद आँउछ। तरकारी मिठो छैन भने म खाना खाँदिन थिँए, त्यसैले माँ हत्त न पत्त मेरो लागि अर्को तरकारी पकाइदिनु हुन्थ्यो। आज त्यो दिनहरुको सम्झना आँउछ, मलाइ फेरि एकचोटि त्यो समय फर्किदिए हुन्थ्यो जस्तो लाग्छ। तर बिगत जति सुन्दर होस्, बर्तमान हुन सक्दैन। हामीलाइ नपाउने चिजको लोभ लागि रहन्छ।

मा र मेरो सम्बन्ध सामान्य हुँदै केहि बर्ष अघि असामान्य हुन पुग्यो। कारण ठुलो पनि हैन तर सानो पनि भन्न मिल्दैन। त्यो कुरालाइ म यहाँ खोतल्न चाहन्न। माँको मायामा अरु कसैले धेरै अधिकरण गर्न थाल्यो, जसले यो सबै गर्‍यो, उ माँको सन्तानमध्येको सबै भन्दा बिशेष हुन गयो। स्वाभाबैले हरेक आमा आफ्नो निर्बल सन्तानलाइ अलि धेरै संरक्षण गर्छन्। माँको बिचार र निर्णय शक्तिलाइ शायद त्यही प्राणीले परिबर्तन गर्न थाल्यो। घरेलु कुराहरुमा बिबाद हुन थाल्यो। शक्ति संघर्ष शुरु भयो। हामी बाबा र माँ को पक्षमा उभिन थाँल्यौ। अन्तत: माँ र मेरो अहंको द्वन्द यति नराम्रो भयो कि मेरो माँ सङ केहि बर्ष अघि बोलचाल बन्द भयो। पहिला मैले शुरु गरेको त्यो लडाँइमा मेरो जीत भयो। म बेला बेलामा उसको बारेमा अरुबाट कुरा सुन्थे। उ मेरो बारेमा कसैसङ केहि भन्दैनथ्यो, न त केहि सोध्थ्यो। शायद अब उ मलाइ मन पराँउदैन, अथवा माया गर्दैन मलाइ यस्तै लाग्थ्यो।

म सपनामा बिस्वाश गर्ने मान्छे हैन, तर पनि कुनै कुनै सपनाले मलाइ बारम्बार पछ्याँउछ। बिगत केहि महिना म जहिले नेपाल पुगेको सपना देख्थेँ। सपनामा माँ मलाइ बोलाउनु हुन्थ्यो, म उसङ कुरा गर्थेँ। ब्युझेपछि फेरि नराम्रो लाग्थ्यो। माँसङ त मेरो बोल्चाल नै नभएको धेरै भैसकेको थ्यो। कहिलेकहि म पर्सबाट माको फोटो झिक्थे र सोधि रहन्थे। "माँ तिमी पहिला त्यस्तो थिएनौ, अहिले किन परिबर्तन भयौ?" म घमन्डमा यति चुर थिएकी माँ हैन समयले मलाइ परिबर्तन गरेको छ भन्ने कुरा बिर्सिन्थे। मेरो भित्रि मनमा जहिले पनि केहि हराएको जस्तो महशुस हुन्थ्यो। शायद यो मेरो माँको माया थियो वा मैले देख्न नसकेको मेरो माँ को प्रतिबिम्ब थियो। जब कोही आफ्नो आमाको मायाको कुरा गर्थ्यो म तड्पिन्थे, मलाइ माँको स्पर्श मिस हुन्थ्यो। कहिले कहि म "फेसियल" को लागि पार्लर जान्थे, जब त्यहाकी केटी मेरो अनुहार बिस्तारै धुन थाल्थी, मलाइ माँ को याद आँउथ्यो र म रुन्थे। उ सङ नबोले पनि म खुशी थिँन, शायद उ पनि मलाइ मिस गर्थ्यो। त्यसैले मैले उसलाइ सपनमा लागातार देख्न थालेको थिए।

मेरो मनलाइ यस्तै पीडाले चिमोटि रहन्थ्यो, मलाइ केहि कुरामा रमाइलो लाग्थेन। मन उदास हुन्थ्यो, पानी परोस् वा घाम लागोस्। म यो बेलामा मीलीलाइ भेट्न चाहन्छु। उसले मलाइ कहिल्यै पनि निराश गर्दिन। उ सुनिरहन्थी, मेरो दुखहरु, मौन संबाद हुन्थ्यो हामीबिच। धेरै कुरा आँखामा झल्किन्थे, त्यही पग्लिन्थे र परेलीको बार हुँदै बग्थेँ। उ केहि भन्दिनथी, न त म केहि बोल्थेँ। हामी यसरी मनलाइ माझ्ने काम गर्थ्यौँ। उसको हातको त्यो देखिने दाग अनि मेरो मनको नदेखिने घाउ दुबै दुख्थे। तर हामीसङ त्यो दुखाइलाइ ब्यक्त गर्ने शब्द हुँदैनथे। दुखाइ मापन गर्ने यन्त्र कतै भए शायाद मेरो मन धेरै दुख्थ्यो, तर पनि मीली "हैन" भन्न सक्दैनथी शायद। उ मलाइ जित्न दिन्छे, उ आफुलाइ हराउन सक्छे।

"मेरो कोठा कता छ?" मिस जोन्स मेरो अगाडी उभिएकी थी, मलाइ बर्तमानमा फर्काउदैँ थी। उनको अनुहारमा मेरो माँ को जति मुजाहरु छैनन्, हेर्दाखेरि शारिरिक रुपमा बलियै देखिन्छिन्। तर पनि उ आफ्नो कोठा बिर्सिरहन्छे। डिनर शुरु भैसकेको रहेछ, मिस जोन्स त्यति खान सक्दिनन्। अब उसलाइ कोठासम्म पुर्‍याउने मान्छे खोज्नु पर्छ। म कोहि देख्दिन, र उनलाइ सजिलो तरिकाले बताइदिन्छु।

"यहाँबाट सिधा जानुस र दाहिने मोड्नुस्, दाहिने मोड्नासाथै पहिलो ढोका तपाइको कोठा हो।"। मिस जोन्स "धन्यबाद" भन्दै "वाकर" लिएर जान्छिन्।

म अहिले काममा छु, मेरो जिबिकोपार्जनको माध्यम यही हो। त्यसैले मैले मेरो भावनाको पखेटाहरुलाइ उड्न रोक्दै जिम्मेबारी बहन गर्न सक्नु पर्छ। म डाइनिङ् रुमको निरीक्षण गर्दै छु। पाँचवटा टेबलमा आफ्नो आफ्नो ठाँउमा सबै जना बसेर खाँदै छ। उनिहरुलाइ चाहिएको कुरा थप्ने नियम छैन। तर पानी, चिया र कफी भने पाइन्छ। खाना मिठो छैन भन्नेहरु धेरै छन्, २५% खाने मात्रै पनि छन्, ५०% खाने पनि र १००% खाने अलि कम छन्। यसरी हेर्दाहेर्दै मेरो आँखा तेस्रो टेबुलको दोस्रो खालि कुर्सीमा पर्न जान्छ। त्यो मिस्टर बर्माको कुर्सी हो। तर उहाँ अब कहिल्यै पनि त्यहाँ बसेर खाना खान आउनु हुन्न। उहाँ दुइ दिन अगाडी मात्रै संसारबाट बिदा हुनु भएको छ। एक चोटि मेरो आँखा फेरि धमिलिन खोज्छ। सरल स्वभाबको कहिल्यै गुनासो नगर्ने मिस्टर बर्मा बितेको क्षण म कहिल्यै बिर्सङ सक्दिन। पहेंलो टिसर्ट र सेतो पाइजामा लगाएको मिस्टर बर्मालाइ मैले त्यो दिन धेरै बेरसम्म बोलाइरहेको थिँए।

"मिस्टर बर्मा, उठ्नुस्।" उनि खाट र व्हीलचेयरको बिचमा ढलेका थिए। यसो हेर्दा सुतेको जस्तो देखिन्थ्यो, उनको मुखबाट चक्लेट रङको पदार्थ निस्किएर सुकिसकेका थियो। म उनलाइ हरेक प्रयासमा ब्युँझाउन खोजिरहेको थिए, उनको शरीरलाइ झकझकाइरहेकी थिँए। "मिस्टर बर्मा, मिस्टर बर्मा।" उनि उठेनन्।

"उ मरिसकेको छ।" अर्की साथी आएर मलाइ भनी।

"यो कसरी हुन सक्छ? अघि भर्खर मैले उसलाइ दुइ गिलास पानी दिएकी, उसले बिस्तारै
पिउँछु भनेको थियो।" म साथीको कुरा सुन्न तयार छैन। मैले मिस्टर बर्माको नाकमा हेरेँ, उनले साँच्चिकै स्वाश फेरिरहेका थिएनन्। मैले उनको छातीमा दुबै हातले थिचेर मुटु चलाउन मात्र के खोजीकी थिए, टिना आएर मलाइ रोकी।

"उसले मरिसकेपछि बचाँउने उपाय नगर्नु भन्ने कागज साइन गरेको छ। तिमी CPR दिन सक्दैनौ।" टिनालाइ देखेर म छक्क परेँ।

उसले मलाइ उठाइ, अरु स्टाफहरु आए र मिस्टर बर्मालाइ खाटमा राखे।

"म एउटा कामको लागि एकछिन आएकी, यहाँ यस्तो भैसकेछ।" टिनाले बताइ।

म टाउको हल्लाउदैँ थिँए, मिस्टर बर्मा मरिसक्यो भन्ने कुरा मलाइ अझै बिस्वास लागिरहेको थिएन।

"अब तिमीले मिस्टर बर्मालाइ आज के के गर्‍यौ र उनी कति बजे मरे, मर्दा उनि कुन पोजिसनमा कस्तो देखिन्थे, सबै लेख्न शुरु गर।" टिनाले मलाइ अर्हाइ।

मैले लेख्न थाँले, लेख्दा लेख्दै मेरा आँखा फेरि उनलाइ सम्झेर सजल हुन थाले। बिचमा म बाथरुम गएर रोँए। टिनाले बुझी क्यारे एकछिन रेस्ट गरेँ।

"संसार यस्तै हो, उमेर पुगेपछि, समय भएपछि सबै मर्छन्।" अब झन् मलाइ मिस्टर बर्मा फर्केर नआउने पक्का भयो, म झन डाँको छोडेर रोएँ। मिस्टर बर्मा न मेरो आफन्त न मेरो साथी, तर पनि उनलाइ सम्झँदा मेरो मुटु चिस्सिन्छ र आँखा भरिन थाल्छ।

"यति संबेदनशिल मान्छे कसरी काम गर्छौ?" टिनाले मलाइ त्यो दिन सोधेकी थिइ।

यो संबेदनशिलता अरु सबैको दुखमा चस्किदिन्छ, तर आफ्नै मा सङको सबन्धमा किन उदार हुन सक्दैन भनेर म सोचिरहेकी थिँए।

क्रमश:

भाग-७

"मलाइ तिन दिन सुत्न मन छ, लगातार। त्यसपछि उठ्दा शायद मेरो जिबनमा फेरि पहिल्यै जस्तै स्फुर्ति आउन सक्छ।" म दोस्रो चोटि डक्टरसङ अनुरोध गरिरहेकी थिए।

"तिन दिन?" हेर्दै दया गरुँ गरुँ जस्तो लाग्ने डक्टरले मलाइ प्रश्नबाचक द्रिस्टिले पुलुक्क हेर्‍यो।

"मलाइ निद्रा लाग्दैन। मेरो दिमागमा सोचाइका बाढीहरु उर्लिरहन्छन्।"मैले आफ्नो समस्या बताए। यसपाली मलाइ आशा थियो।

"हँ--? पहिला पनि यस्तो समस्या थियो?" बाक्लो दारी भएको डक्टरले पावरफुल चस्माबाट चियाएर सोध्यो।

"कहिले कहिँ हुन्थ्यो, एक / दुइ रात हुन्थ्यो, फेरि आफै हराउथ्यो।" मैले भने।

"कस्तो खालको सोचाइहरु आँउछन्?" डक्टरले मलाइ औषधी दिन्छ भन्ने बिस्वास थियो।

"मनलाइ बैरागी बनाउने कुराहरु। दिक्क लाग्ने सोचाइ। केहि कुरामा पनि रमाइलो नलाग्नु। जिबन नैं ब्यर्थ लाग्नु। बाँच्नुको सार्थकता नदेख्नु। यस्तै यस्तै।" मैले सबै बताए जस्तो लाग्यो।

डक्टरले Anhedonia लेख्यो आफ्नो प्रेस्क्रिप्सनमा, मैले नदेखेको जस्तो गरे। मलाइ थाहा थियो, Anhedonia मतलब बेरस, बेस्वादको जिन्दगी। मनोबिज्ञानमा प्रयोग हुने शब्द ग्रीकबाट आएको। मैले पहिले नैं गुगलमा हेरिसकेकी थिए।

"प्लिज! मलाइ निद्राको दबाइ दिनुस्!" मैले अनुरोध गरेँ।

"औषधी नैँ खानु पर्ने जस्तो त देखिदैन।" डक्टरले मलाइ हैन प्रेस्क्रिप्सनमा हेर्दै भन्यो।

"तिन दिनलागि मात्र! त्यसपछि म सुचारु रुपले आफ्नो सुत्ने तालिका बनाउन सक्छु।" मलाइ आफुप्रति आत्मबिस्वास थियो।

"तपाइको समस्या मनोबैज्ञानिक देखिन्छ, म तपाइलाइ साइक्याट्रिस्टकहा रिफर गर्छु।" डक्टरले बिस्तारै भन्यो।

"म ठिकै छु, म साइकियाट्रिस्टका जान चाहन्न।"मलाइ डक्टरको कुरा मन परेन।

"त्यो त डक्टरले गर्ने निर्णय हो। हुन सक्छ तपाइको समस्या शारिरिक नभएर मानसिक हो।" डक्टरले अरु बर्णन गर्ने कोशिस गर्‍यो।

"सिर्फ तिन दिन निदाउन सके भने मेरो समस्या आफै ठिक हुन्छ डक्टर! प्लिज मलाइ यस्तो कुनै चक्कि दिनुस्, जस्ले मलाइ तिनदिन निद्रा लगाँउछ।" फेरि पनि मैले अनुनय गरेँ।

"म तपाइलाइ निद्राको औषधी प्रयोग गर्ने लत बसालेको हेर्न चाहन्न। तपाइलाइ मनोबैज्ञानिक परामर्श चाहिन्छ।" डक्टर देखिएको जस्तो दयालु थिएन।

"डक्टर! म काम गरेर खाने मानिस हुँ। म सधैं निद्राको औषधी प्रयोग गर्न चाहन्न। त्यसमा पनि मेरो आफ्नै जिम्मेबारी छन्।" मैले सक्दो बिस्वास दिलाउने कोशिश गरेँ।

डक्टर र मेरो धेरै बेरको छलफलपछि अर्कोचोटि मलाइ साइकियाट्रिस्टका रिफर गर्ने शर्तमा निद्राको औषधी दियो, तिन दिनको लागि मात्र।

बल्ल मलाइ राहत महसुस भयो। म हत्त न पत्त आफ्नो डेराँ फर्केर आनन्दले सुत्ने बिचार गर्दैथे। बेड बनाउदैथे। कोठाहरु अलि अलि सफा गर्दैथे। तिनदिन म निदाउछु, त्यसैले तिनदिनको काम पहिल्यै नै सकेको राम्रो। काममा त छुट्टी मिलाएकी छु बिरामी भनेर। खानेकुराहरु अलि अलि छन्, पकाउन नपर्ने, तताएर खाए मात्र पुग्ने। तिन दिनको आरामले सुतेर ताजा भएर उठ्ने कल्पना गर्दै मैले दुइ चक्कि निद्राको औषधी खाये। एकैछिन भए पनि लुगाहरु मिलाउन थाले। मा भन्थ्यो "लुगाको इज्जत गरे लुगाले पनि हाम्रो इज्जत गर्छ।" तर ती कुराहरु पहिला त्यति महत्वपुर्ण लाग्दैनथे। अहिले मात्रै सम्झन्छु। मालाइ सम्झिदै लुगाहरु पट्ट्याउदै थिए, फोनको घन्टि बज्यो। मलाइ अलि अलि झुम्म गरिसकेको थियो, औषधी हो वा साइकोलोजी।

"हलो!" मेरो स्वर सानो थियो।

"यहाँ नराम्रो समाचार छ।" नेपालबाट मेरो दिदीको छोरा बोलीरहेको थियो।

लागिसकेको निद्राको औषधीको असर छ्याङ भयो। मैले एकछिन फोनमा हेरे, भ्रम जस्तो लाग्यो। सपना हो कि जस्तो लाग्यो। मेरो बाक्य फुटेन। के भन्नुपर्ने भन्ने कुरै आएन।

"हेलो, हेलो!" उताबाट दिदीको छोराले सोध्यो।

"अँ--, म सुन्दैछु।" मैले सुस्तरी भने।

"हजुरमालाइ "आइ" "सी" "यु" मा भर्ना गरेको छ। खासै आतिनु पर्दैन। सलाइन दिरहेको छ। होश आएको छैन। पीर नगर्नु।" मलाइ पीर नगर्नु भने पनि उसको स्वरमा तनाब थियो।

"के भयो?" त्यति शब्द निस्के मेरो मुखबाट बल्लतल्ल।

"बिहानै उठ्नै सक्नु भएन, निद्रामै बेहोश हुनु भएछ। हामीले तुरुन्तै हस्पिटल लग्यौँ। अब out of danger हुनु हुन्छ रे। डक्टरले भनेको। तर---" उताको स्वरमा पनि हिच्किचाहट थियो।

"के तर--?" मेरो मुटु रफ्तारमा थियो।

"डक्टरले दाँया शरिरमा प्यारालाइसिसको हुन सक्ने संभाबना छ भनेको छ।" दिदीको छोराले स्प्ष्ट पार्यो।

"तिमी पीर नगर। म खबर गरिरहन्छु है।" दिदीको छोरा र म धेरै फरक छैनौँ उमेरमा, त्यसैले हामी दिदी भाइ जस्तै छौ। उसले उता फोन राख्यो, मेरो यता निद्रा भाग्यो।

अब संसारको कुनै औषधीले पनि मलाइ निद्रा लगाउन सक्दैनथियो। म सङ अझै चारवटा चक्कि बाँकि छ निद्रा लगाउने। के यो सप्पै एकै चोटि खायो भने मलाइ निद्रा नलाग्ला? अहिले त म केहि पनि झेल्न सक्दिन। मलाइ निदाउनु छ। मेरो मा उता बेहोश छ, म यता बेहोश हुन चाहन्छु।

क्रमश:

 

भाग-८

निद्राको त्यो चार चक्किलाइ मैले हत्केलामा राखे। एकछिन नियालेर हेरेँ।के यो खाँदा पनि म ढल्दिन त? त्यस्तै सोचाइ आयो। मरि त हाल्दिन तर केहि दिन पछि मात्र ब्युँझेपनि मलाइ केहि हुँदैन। आफ्नै जिबनको घुम्तीहरु जेलिन थालेका छन्। म केहि गर्न सक्दिन, मेरो हातमा अब केहि छैन। मैले बाँच्नु आबश्यक छ र? मेरो भित्रि मनले भन्यो "माको इक्षा शक्ति बलियो छ, उसलाइ केहि हुँदैन तिमी निराश किन हुन्छ्यौ? बिस्वाश गर मा लाइ केहि हुँदैन।" त्यसपछि मैले त्यो चार चक्किलाइ कमोडमा फ्लश गरे। म आफैलाइ आफ्नो भर थिएन, त्यो चक्किहरुको के भर?

मा एक्दम निर्भिक मान्छे, कसैसङ नडराउने, कसैको मद्दत नचाहिने। उ सधैं स्वाबलम्बी, अरुको निर्देशनमा बिचार परिबर्तन नगर्ने। सकेसम्म आफै लागि पर्ने, घर र कामलाइ सन्तुलन गर्न सक्ने। एकदम अनुशाशित र हामीहरुलाइ काम बिगारेमा वा उसले भनेको नमानेमा सँजाय पनि दिने। एक हिसाबले उ त्यतिकै जिद्दि अनि कठोर शाषक। यसबेला के उ आफैलाइ समयको हातमा सुम्पेर हार स्वीकार्ला र? के उ प्यारालाइसिसको बिरामी भएर अरुको भरमा बाँच्न तयार होला र? मलाइ अरु भन्दा पनि त्यसपछि आउने परिस्थितिहरुको डर थियो। कतै उसले यो अबस्थासङ सम्झौता गर्न नसकेर मानसिक समस्या पो झेल्नु पर्ने हो कि? वा उसलाइ अरुले हेरबिचार गर्न नसक्ने पो हो कि? अनेक प्रश्नहरु आउन थाले मेरो दिमागमा म कोठाको एक कुनाबाट अरुको कुना नापिरहेकी थिए। ब्यर्थै मैले यत्रो बर्ष उ सङ कुरा गरिन। शायद मैले कुरा गरेको भये यस्तो हुदैन थियो कि? उसलाइ मैले नबोलेको कारण पनि चोट परेको थियो कि? उ उच्च रक्तचापको बिरामी त हो तर उसले नियमित औषधी खान्थ्यो र आफ्नो खाना र स्वास्थ्यको बारेमा सचेत थियो। उसलाइ अरु कुरा को टेन्सन हुनु नपर्ने थियो।

म यस्तै सोचाइहरुको प्रतिस्पर्धामा रातलाइ बिदाइ गर्ने तयारीमा थिँए, फेरि अर्को कल आयो नेपालबाट।

"हजुरमाको दुबै हात खुट्टा चल्यो। उहाँ बेडमा आफै दायाँ बाँया कोल्टे फर्किनु हुँदैछ।" उतापट्टि आशापूर्ण खबर थियो।

"मलाइ थाहा थियो, उ सजिलै हार मान्ने मान्छे होइन, उसलाइ केहि हुँदैन।" यो भन्दा धेरै अरु के खुशीको कुरा हुन सक्थ्यो र।

"तर अझै केहि दिन "आइ", "सी", "यु" मा राख्नु पर्छ रे। पुरा होशमा आउनु भाको छैन। सिटिस्क्यान गरि सक्यो। दिमागमा रगत जमेको छ रे। बिस्तारै औषधीले पगाल्दै छ रे। " दिदीको छोराले सक्दो बिबरण दिदैँ थियो।

"पैसाको चिन्ता नगर्नु, के गर्न सकिन्छ सबै गर्नु। म आजै पैसा पठाइदिन्छु। राम्रो डक्टर र सुबिधा भएको ठाँउमा उपचार गर्नु।" मैले गर्न सक्ने मेरो मा को लागि त्यही हो। त्यतिबेरसम्म पनि मैले आफै माको हेरबिचार गर्ने निर्णय गर्न सकिन। म आफै तयार थिइन मेरो मा लाइ बिबश भएको हेर्न। मेरो मा असक्त भएको म कसरी हेर्न सक्छु? उ त जहिले पनि सक्रिय थियो। म सक्दिन हेर्न माको आँखाहरु सहयोगको आशामा टिल्पिलाइरहेको। उ मेरो मा हो उसले अरुको भर पर्नु पर्दैन। उ आफै सबै गर्न सक्छ।

"अब चिन्ताको कुरा छैन। पैसाको खासै जरुरत छैन। तर पनि नर्सिङ होममा खर्च लाग्दैन भन्न सकिदैन। महङो छ, पठाउने भए पठाउ।" उताबाट त्यस्तै भन्यो।

"एउटा काम गर्नु, मलाइ सिटिस्क्यानको रिपोर्ट तुरुन्त पठाउनु।" मैले के भएको हो आफै हेर्न खोजें।

"हुन्छ, म कोशिश गर्छु।" दिदीको छोराले भन्यो।

"के म माको डक्टर सङ फोनमा कुरा गर्न सक्छु?" मलाइ धेरै कुरा सोध्न मन थियो मा को स्वास्थ्य को बारेमा।

"म सकेसम्म कुरा गर्छु यदि मिल्यो भने डक्टर राउन्डमा आको बेला तिमीलाइ फोन गरुँला।"

"म अहिले त्यहाँ आउन सक्दिन।" म ग्लानि र पस्चातापको यो अबस्थामा मालाइ रुवाउन सक्दिन।

"अहिले पर्दैन, दुइ चारदिनपछि हेरौंला, अहिले हामी सबै पालै पालो हेर्दैछौ।" मैले त्यही आशा गरेको थिए।

त्यसपछि मेरा आँखाहरु अलि अलि बोझिल भए। बाहिर उज्यालो हुँदैथ्यो, आँखाभित्र बिस्तारै अँध्यारो छाँउदै थ्यो। म तनाब र अनिद्राको थकाइले त्यही सोफामा ढलेछु। मेरो मनले भन्दैथ्यो, माले जरुर मलाइ माफ गर्छ। उ होशमा आएपछि म कुरा गर्छु। उ म सङ अबश्य पनि बोल्छ। म भन्छु "मा! मलाइ माफ गर, मैले तिमीसङ यत्रो बर्ष कुरा गरिन। तर म सधै तिमीलाइ सम्झिरहेको हुन्छु। तिमीलाइ थाहा छ मा? तिम्रो फोटो मैले पर्समा राखेको छु। म तिमीलाइ पहिलाको जस्तै तन्दुरुस्त भएर हिँडेको हेर्न चाहन्छु।"

क्रमश:

भाग-९

कथालाइ शुरु गरेको दिन जस्तो अध्याँरो, रुन्चे झरी परिरहेको र अलि अलि हुस्सु लागीरहेको थियो, आज पनि त्यस्तै छ। मिति, दिन र महिनालाइ नबदले उस्तै उस्तै दिन भन्न मिल्छ। बिहानको यस घडीमा बाताबरण एक्दमै शुन्य छ। मेरो अगाडिको घरमा चरामुसा देखिदैन, यधपि टाढा कतै कतै कारहरु गुडिरहेको आवाज आँउछ। यदि घडि नहेर्ने हो भने म यसैलाइ साँझ मान्न सक्छु र फेरि निदाउने प्रयास गर्न सक्छु। साँच्चै म यो कोठाबाट ननिस्किएको पनि तिन दिन भएसकेछ। बाहिर जाडै होला, त्यस्तै देखिन्छ। चिसो चिसो हावा चल्दै होला, मेरो अगाडीको बुच्चो रुखका हाङाहरु कहिले कहि हल्लिरहन्छन्। बाहिर जे सुकै होस्, भित्रि मन न्यानो हुन सकेको छैन। ठिहिर्‍याउने चिसो त हैन तर मुटु चिमोट्ने खालको जस्तो छ। एक हिसाबले भन्दा बर्णन गर्न नसकिने खालको पीडा वा शब्दकोशमा नभएको परिभाषा।

त्यो दिन मालाइ प्यारालाइसिस हुने संभावना नभएको खबरले मलाइ धेरै राहत महसुस भएको थियो। जे भए पनि अरुको भरमा बाँच्न नपर्ने भयो उ। त्यो भन्दा अरु धेरै खुशी के हुन सक्थ्यो मलाइ? मेरो आँखामा धेरै दिनपछि निद्रा देविको आगमन भएको थियो त्यो दिन। म बिना सिरानी सोफाको एउटा कुनामा सुतेछु, सपना देख्न थालेछु। म मासङ सम्झौता गर्ने प्रयाशमा माको पछि पछि जादो रैछु। मा हाम्रो कौसीमा आफ्नो डाढ पछाडी पारेर उभिएको थियो, म उसलाइ भेट्टाउन छिटो छिटो पाइला सार्दै रैछु। "मा ! सरी! म तिमीलाइ भेट्न आएको, एकचोटि हेर न।" मालाइ मेरो अनुरोधको केहि असर भएको थिएन। उ अघि अघि नै गैरहेको थियो। मैले उ कौसीको डिलनिर पुगेपछि सारीको सप्को समातेर ताने। मा डिल नाघेर हावामा बिलायो। मेरो हातमा उसको सारीको टुप्पो मात्रै आयो। म झसङ भयेँ। ब्युँझेर सपनाबारे सोच्न थाले। त्यसैपनि मनमा भय त छदै थ्यो। एकचोटि चिसो पानीले मुख धोएँ। अलिकति छ्याङ्ग जस्तो भएँ र नेपाल फोन गर्न थाले। यसपाली दिदीले फोन उठाउनु भयो।

"मालाइ अहिले कस्तो छ?" म आतिएको थिए।

"भर्खरै हामीले मालाइ बेडबाट उठायौँ। मालाइ दाँयाबाँया समातेर एक्छिन हिंडायौ। मा हिँड्नु भयो। अब भोलितिर डक्टरले वार्डतिर सार्ने भनेको छ।" दिदीको आवाजमा केहि निश्चिन्तता थियो।

"उसले केहि खायो कि खाएन?" मैले सोधे।

"अलिकति सुप २-३ चम्चा पिउनु भयो आज।" दिदीले भन्नु भयो।

"दिदी! म मा सङ कुरा गर्छु।" मैले घाँटिभरि गाँठो पार्दै भने। मा र मेरो बोलचाल नहुदा दिदीले मलाइ धेरै सम्झाउनु भएको थियो। तर मेरो अहंले झुक्न चाहेन त्यो बेला।

"___ " दिदीको जवाफ आएन उताबाट।

"दि, म मासङ माफि माग्छु।" मैले फेरि अनुरोध गरें।

"तिमीलाइ थाहा छैन?" दिदीले के कुरा हो नभनी सोध्नु मात्र भयो।

"के कुरा?" मलाइ पनि आश्चर्य लाग्यो।

"मा को बोली आएको छैन। मा रुनु हुन्छ, तर आवाज आउदैन। बोलाउदा हेर्नु हुन्छ तर जवाफ फर्काउन सक्नुहुन्न।" दिदी उता सुकसुकाउन थाल्नु भयो। म उभिएको भुइ खस्किए जस्तो भयो मलाइ। मेरो आखाहरु रसाए, तर आँसु बनी खस्न सकेनन्, मुटु भित्र नराम्रो गाँठो पर्दै गयो। म भित्तामा अढेश लाग्दै थ्याच्च भुँइमा बसे। अब मेरो बोलीको के अर्थ, यो अस्तित्व जुन मा को कारण यस संसारमा छु, त्यस्को के अर्थ? यो जिबनको के अर्थ?

"सुन त! हेल्लो! हेल्लो!" मैले प्रत्युतरमा केहि नबोले पछि दिदी अझै चिन्तित हुनु भयो शायद।

"दिदी! म अहिले राखिदिन्छु है।" मैले बिस्तारै भने।

"एकछिन पख! मा को आवाज आउन सक्छ रे। स्पिच थेरापि गराउनु पर्छ रे। तिमी त्यस्तो बुझ्ने मान्छे पनि हरेश खानु हुन्छ?" दिदीले उल्टै मलाइ सम्झाउन थाल्नु भयो।

"म घमन्डि छु, त्यसैले त भगवानले मा को बोली खोस्यो।" बल्ल मेरो हिक्क हिक्क फुट्यो।

"तिमी टेन्सन नलिउ। यहाँ हामीले सक्दो उपचार गरेको छौ। तिमी त्यहा बिरामी भयौ भने हेर्ने मान्छे छैन। माको लागि त हामी सबै छौ यहाँ। तिमी पीर नगर। बरु समय समयमा फोन गर्नु है।" उता दिदीलाइ मेरो पनि चिन्ता थपियो। दिदी मेरो मा पछिको मा, मलाइ के को एलर्जि भयो भने दम हुन्छ, के खानु हुदैन, कति चिसो हुदैन, मलाइ भन्दा बढी उसैलाइ थाहा छ।

मेरो त समय रोकियो, म घडिको सुइलाइ मा बिरामी हुनु अघिको पल अगाडि घुमाउन चाहन्थे, र त्यहीनिर, हो त्यही निर मा लाइ स्ट्रोक हुनु भन्दा अघिदेखि अहिलेसम्मको समयलाइ मेटाउन चाहन्थे। यदी म सङ त्यस्तो सफ्ट्वेयर हुँदो हो त पुरै ब्रह्मान्डलाइ उल्टो घुमाउथे र माले बोलेको सुन्न चाहन्थे। मलाइ मा सङ धेरै कुरा गर्नुछ, हामीबिचको बिरोधाभास कुरा गरेरै हटाउनु छ। यो केहि बर्षबिचको शीतयुद्ध निर्मुल पार्नुछ। मैले मा सङ भन्नै पर्छ "तिमी भएर म छु, नत्र यो जिबन, यो प्रतिष्ठा, यो खुशी, यो सम्पनता केहि पनि छैन। तिमी भएर म छु मा!"

आज मिली मेरो सामु भैदिएकी भए म उसलाइ अङालेर रुन्थे, वा उ सङ आँसु सापटि माग्थे। म त रित्तो छु, मेरो केहि छैन, मेरो मा को ब्यक्त गर्ने आवाज छैन, मेरो रुने आँसु पनि छैन, हाँस्ने कारण छैन। यो कोठाका भित्ताहरु अझै पनि मलाइ एकतमासले हेरिरहेछन्, शायद टिठ्याइरहेछन्, मेरो मजबुरीप्रति, मेरो असमर्थताप्रति, मेरो अर्थहिन "दम्भप्रति"। म आफैले ब्यक्त गर्न नसकेको दुखबारे चिन्तित छु। कोहि त होला, जसले मलाइ "जजमेन्ट" नगरी यो कुरा सुनिदेला। मैले यो कुरा कसैलाइ त अबश्य भन्नु पर्छ। हैन भने यो मनको असह्य पीडामा जिन्दगीभरि निस्सासिरहनेछु।

क्रमश:

भाग-१०

जति सुकै जटिल घटना घटोस वा जस्तो सुकै मानसिक वा भौतिक क्षति होस्, जिबन रोकिदो रहेनछ। क्यालेन्डरका मितिहरु एक पछि अर्को गर्दै परिबर्तन हुने रैछन्, साँझपछि रात र रातपछि फेरि बिहानीको क्रम जारी रहदोँ रैछ, मन मरी गएपनि बाँच्नै पर्ने रहेछ। जे जसरी पनि यो श्वाशप्रश्वाश प्रक्रियालाइ निरन्तर्ता दिनु पर्दो रहेछ। आफुलाइ केहि हदसम्मको लागि ब्यस्त बनाउन मैले काममा जान शुरु गरेँ, मेरो लागि आर्थिक सबलता जति महत्वपूर्ण थियो त्यति नै आबश्यक्ता थियो उनिहरुलाइ मेरो।

मिस जोन्स अझै पनि आफ्नो कोठा बिर्सिरहेकी थिए, घरि घरि "मेरो कोठा कहाँ छ?" भन्दै सोध्थी। मिसेज रोबिन्स अझै बेडमा सुतिरहेकी थी, कहिलेकहि दोहोरो कुरा गर्न थालेकी छे भन्ने सुने। मिस्टर बर्माको बेडमा अरु कोही आइसकेको रहेछ। केहि नयाँ अनुहार र केहि पुरानै चिनारीहरु केलाउदैँ मेरो आफ्नो काम शुरु गरेँ। दुइ चोटि मिस जोन्सलाइ उनको कोठामा पुर्‍याउन गँए, तर उ फेरि बाहिर निस्की। मिसेज रोबिन्सको खाने समय भएपछि म उसको टिनको तरल खाना लिएर उनको कोठाभित्र पसे। उ मलाइ हेरीरही, मैले उसको हात समाउदै "मिसेज रोबिन्स तपाइ आज निकै उज्यालो देखिनु भएको छ नि?" भन्दै अभिबादन गरेँ। उ बोलीन। शायद धेरै दिनपछि मेरो अनुहार उसले ठम्याउन सकिन वा अलमल्ल परी। हुन त मैले जे भने उसले बुझिन।

उसको खाना पाइपबाट खनाउदैँ मैले आफ्नो गुम्सिएको मनलाइ छोडाउन थालेँ। "तपाइ कहिले हिँड्ने होला? यो बेडमा सुतेको महिनौँ भइसक्यो, कहिले त उठ्नुस्, बरन्डामा जानुस्, घाम ताप्नुस्, रङिबिरङी फूलहरु हेर्नुस्, केहि त भन्नुस्। मुखबाट केहि खानुस् र भन्नुस् "अति स्वादिस्ट!" के तपाइलाइ यो परजिबी जिबनदेखि पट्ट्यार लाग्दैन?"
मिसेज रोबिन्स मलाइ अनौठो मानेर हेर्दैथी। मलाइ आफुले भन्न नहुने कुरा भनेछु जस्तो लाग्यो। मैले तुरुन्तै माफि मागे।

"मलाइ माफ गर्नुस्, मिसेज रोबिन्स! म जिबनको एक्दम जटिल मोडमा उभिएको छु, मेरो लागि ग्लानि र पस्चातापको लागि पनि ठाँउ राखिएको छैन। मबाट ठुलो भुल भएको छ, सच्याउन नमिल्ने भुल!" मेरो आँखाहरु टम्म भरिए, मैले मिसेज रोबिन्सलाइ हेर्न सकिन। उसले दाँया हातले बिस्तारी मेरो बाँया हात समाइ, अनि मलाइ एकोहोरो हेरीरही।

"मेरो आमाको बोली भगवानले खोस्नु भएको छ।" मेरो आखाँबाट निर्बाँध आँशुहरु खसिरहे। मिसज रोबिन्सले मेरो हातलाइ उसको हत्केलाले मुसारीरही। एकछिनपछि मैले आँखा पुछेँ र "सरी" भने।

"त्यही हो!" मिसेज रोबिन्सले अकस्मात बोली।

" के त्यही?" मैले हत्त न पत्त सोधेँ।

"जिबन!" मिसेज रोबिन्सले उत्तर दी। उसले पहिला समय भनेकी थिइ, अहिले जिबन भन्दैछे।
"के जिबन सुल्ट्याउन नसकिने घटनाको सम्पूर्ण रुप हो?" मैले फेरि सोधेँ।

"त्यही हो!" मिसेज रोबिन्सले खालि त्यति मात्र भनी।

******************************************************************************

त्यसपछि मेरो मा सङ भेट भयो, पहिलो पटक भेट्दा हामीबिच अश्रु संबाद भयो। उसले मेरो टाउको मुसारीरह्यो, म उसको हात समातेर रोइरहेँ। त्यसपछि मैले थाहा पाएँ, स्पिचथेरापीले उसको आवाज त आएछ, तर नबुझिने गरी। उ पहिला जस्तो शब्दहरु बनाउन सक्दो रहेनछ। उ के के सोधि रहन्थ्यो, म अनुमानले उत्तर दिरहन्थे। उ फेरि त्यही कुरा दोहोराउथ्यो। म उसको कुरा बुझेको जस्तो गर्थे, बास्तबमा बुझ्न सक्दिनथे। उ सङको केहि समय न्यानो थियो। तर पनि म उसलाइ त्यो अबस्थामा हेर्न सक्दिनथेँ र सकेसम्म भाग्न चाहन्थे। म झन झन कमजोर हुँदै गएको थिँए, म उसलाइ पहिलेकै अबस्थामा देख्न चाहन्थे। मलाइ डर मात्र लाग्थ्यो, उसलाइ केहि भइ हाल्यो भने। उसको डक्टरसङ भेटेँ, बोली आउन सक्ने संभाबना छ तर समय लाग्छ भन्ने थाहा पाँए। स्पिचथेरापिस्टले चाहि उमेरको कारणले त्यति प्रगति हुन सकेको छैन भन्यो। तर पनि मलाइ मा को आत्माबलप्रति बिस्वास छ, कुनै दिन उ जरुर बोल्नेछ पहिले जस्तै। मैले उसलाइ त्यसै भनेको छु। "मा तिमी बोल्न सक्छौ, स्पिच थेरापी राम्ररी प्र्याक्टिस गर।" उसले टाउको हल्लाएर "ल" भन्यो। फर्किने दिनमा मलाइ फेरि उ रोला भन्ने पीर परेको थियो, तर उ मलाइ बिदा गर्दा यसपाली रोएन, मैले चाहि जबर्जस्ति आँसु रोके र बाटोमा रोएँ। मेरो मनमा एउटा प्रश्न आइरहेको थियो "के अर्कोचोटि नेपाल फर्किदाँ मैले मालाइ भेट्न पाँउला?"

कथा कहिले सकिदैन, सकाउने र नसकाउने कुरा लेख्ने मान्छेको हातमा भर पर्छ। मैले यो कथालाइ यहाँ रोकेको मात्र छु, सकिएको छैन। अन्त्यमा आफ्नो अमूल्य समय खर्चेर प्रतिक्रिया दिनुहुने सबै साथीहरुलाइ म हार्दिक धन्यबाद दिन चाहन्छु।

धन्यबाद!