अमेरिकामा बीमा पीडित नेपालीले सबै रकम फिर्ता पाए

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अमेरिकामा बीमा पीडित नेपालीले सबै रकम फिर्ता पाए*अमेरिकी बीमा इतिहासमै सम्भवतः पहिलो घटना, *बीमा कम्पनीद्धारा एजेन्टको गल्ती स्वीकार्दै क्षतिपूर्ति प्रदानमनोज अधिकारी, दिनेश कार्की र शिव प्रकाशबोष्टन (अमेरिका), साउन २बोस्टनको नेपाली समुदायका बीमा पीडितमध्ये आफ्नो फसेको सत्प्रतिशत रकम सम्बन्धीत कम्पनीबाट फिर्ता पाएका छन्। म्यासाचुसेट्स डिभिजन अफ इन्स्योरेन्स बोर्डको छानबिनमा बीमा एजेन्ट महेश्वर पन्त दोषी देखिएपछि उजुरीकर्ता सबै पीडितले ठगिएको पुरै रकम फिर्ता पाएका हुन्। छानबिनपछि म्यासाचुसेट्स डिभिजन अफ इन्स्योरेन्सले पीडितको रकम फिर्ता गर्न सम्बन्धित बीमा कम्पनीलाई निर्देशन दिएको थियो। जसअनुसार बीमा कम्पनी नेशनल लाइफ ग्रुप (लाइफ इन्स्योरेन्स कम्पनी अफ द साउथ वेष्ट) ले बोस्टन क्षेत्रमा बस्ने २६ नेपालीको एक लाख डलरभन्दा बढि रकम हालै फिर्ता गरेको हो। आफ्नो गुमेको झण्डै आठ हजार डलर रकम फिर्ता लिएपछि खुशी बनेका  पूर्वपत्रकार रमेश शर्माले भन्छन्, ‘हामी ठगिएका थियौं। अहिले न्याय पायौं।’ बीमा ठगीसम्बन्धी समाचार निरन्तर सेतोपाटीमा आएपछि यहांका २६ जनाले  गतवर्ष इन्स्योेरेन्स बोर्डमा छुट्टा छुट्टै उजुरी गरेका थिए। ती उजुरीमाथिको छानबीनमा एजेन्ट पन्तले पोलिसीमा नभएका झुट्ठा कुरा गर्दै अनावश्यक प्रलोभन देखाई व्यक्तिगत निकटता र सम्पर्क सुत्रका आधारमा कैयौं नेपालीलाई इन्डेक्स युनिभर्सल लाईफ पोलिसी बेचेको पुष्टि भएको थियो। उनले बोस्टन क्षेत्रमा मात्रै करिब डेढ सय नेपालीलाई यस्तो पोलिसी बेचेको खुलेको थियो। तीमध्ये २६ जना मात्र उजुरी गर्न गए। अमेरिकामा नेपाली विमा एजेन्टहरुमाथि कारबाही सुरु बोर्डद्धारा गठित विशेष अनुसन्धान टोलीले पन्तबाट बेचिएका पोलिसीको अध्ययन, पीडितहरुको लिखित तथा मौखिक सुनुवाई र सम्बन्धीत बीमा कम्पनीको पोलिसी बिक्री गर्ने नीतिमाथि छानबिन गरि ठगीको निष्कर्ष निकालेको थियो। बीमा एजेन्ट पन्तले पनि आफ्नो गल्ती स्वीकार गर्दै थप कानूनी लडाईंमा जानुको सट्टा आफु सेटलमेन्ट (क्षतिपूर्ति सम्झौता) मा जान बोर्डको अनुसन्धान टोलीसमक्ष राजी भएका थिए। त्यसलगत्तै भविष्यमा बीमासम्बन्धी कुनै काम गर्न, गराउन र परामर्श समेत दिन नपाउने गरी उनको लाइसेन्स खारेज भएको थियो। अमेरिकामा बीमा दलाल नेपालीको लाइसेन्स खारेज शर्माकाअनुसार २० वर्षको अवधीमा आफुले ८० हजार डलर बीमा प्रिमियम तिरेपछि करीब दोब्बर डलर पाउने प्रलोभन उनलाई दिइएको थियो। उनले बीमा ठगीबारे समाचार सुनेपछि आफ्नो पोलिसी पढ्दा मात्र आफु पनि ठगिएको थाहा पाएका थिए। एजेन्टले आफुलाई भनेअनुरुप उनको पोलिसी थिएन। आफ्नो बीमा जहिले रद्द गरे पनि त्यसको भ्यालु शुन्य हुने थाहा पाएपछि उनी झस्किएका थिए।  ‘मलाई त यस्तो पोलिसी बेचिएको रहेछ कि रद्द गर्दा भ्यालु शुन्य हुने मात्रै होइन, पोलिसीको प्रिमियम २० वर्ष पुरा भएको दिन पनि यो त शुन्य नै हुने रहेछ,’ शर्मा आश्चर्य हुंदै भन्छन्। यो बीमाको सबैभन्दा खराबी नै अवधि पुरा भएको दिन सबै रकम ल्याप्स अर्थात् शुन्य हुनु हो। यस्तै डेथ भ्यालु पनि समाप्त हुने यसको विशेषता हुन्छ। अन्ततः बीमाकर्ताले अन्त्यमा केही पनि पाउंदैन। यी दुई वास्तविक र महत्वपूर्ण तथ्य लुकाएर पोलिसी बेचिएको पुष्टि भएपछि यहांको न्यायिक निकायले यसलाई बद्नीयतपूर्ण र ठगीको रुपमा लिएको हो। पीडितमध्ये केहीले आफु अमेरिका आएलगत्तै बास र काम समेत बन्दोबस्त नहुंदै एजेन्टले ‘बीमा लिनै पर्छ’ भन्दै मनोवैज्ञानिक त्रासमा पारेर महंगो पोलिसी बेचेको उजुरीमा उल्लेख गरेका थिए। यस्तै अरु कम्पनीका बीमा लिइसकेका कतिपयलाई एजेन्टले अरुका पोलिसी खराब हुन् भन्दै त्यसलाई बन्द गर्न लगाएर आफ्नो पोलिसी बेचेका थिए। अमेरिकामा नेपालीले धमाधम बिमा रद्द गर्दै उक्त जीवन बीमाको प्रबद्र्धन गर्दा एजेन्ट पन्तले बीमा किनेपछि कुनै कारणबस अंगभंग भएमा वा बेरोजगार बस्नु परेमा आर्थिक सुविधा प्राप्त हुने जस्ता भ्रामक आश्वासन दिएको अधिकांश पीडितहरु बताउंछन्। तर उनले बेचेका यी इन्डेक्स युनिभर्सल लाईफ पोलेसीमा त्यस्तो कुनै क्षतिपूर्ति म्यासाचुसेट्स लगायत केन्सास, मेरिल्याण्ड, न्यूजर्सी, नर्थ डाकोटा र न्यूयोर्क राज्यमा नभएको उल्लेख छ। त्यसैगरी टर्मिनल, क्रोनिक र क्रिटिकल इलनेश अर्थात् मृत्युपछि, पुरानो र गम्भीर रोग भएको खण्डमा औषधि–उपचारसहित प्रसस्त सुविधा पाइने बीमाकर्तालाई बताइएको थियो। यस्ता कुनै प्रकारका क्षतिपुर्ति दिने प्रावधान उक्त पोलिसीमा देखिंदैन। त्यसका लागि छुट्टै राइडर लिनुपर्ने र त्यो झन् महंगो हुन आउंछ। ‘सायद एजेन्टले पनि बीमाको सबै कुरा नबुझेको हुनसक्छ,’ शर्मा भन्छन्,‘नेपालीहरुबाट उठाएको रकम फिर्ता गरिदिन्छु भनेको भए पनि हामी उजुरी गर्ने पक्षमा थिएनौं। तर उनले समूदायप्रति गरेको गल्तीमा क्षमायाचना र लचकता देखाउनुको सट्टा झन् फेसबुकमा गाली गलौजमा उत्रिए।’ अर्की पीडित आजाद प्रधानले पनि आफ्नो गुमेको रकम फिर्ता पाइन्। उनकै सम्पर्कका आधारमा बीमा किनेका अन्य दुईजनाले पनि रकम फिर्ता पाएपछि उनी झनै खुशी भइन्। उनले भाइबुहारी र अपार्टमेन्ट सेयर गर्ने एक बहिनीलाई पन्तमार्फत् बिमा किन्न हौस्याएकी थिइन्। ‘जतिबेला यो झुक्याएर नराम्रो खालको बीमा बेचियो भन्ने थाहा भयो, मैंले आफूलाई खुबै दोषी मानें,’ प्रधान भन्छिन्,‘नेपाली भएर नेपालीसमुदायकै मानिसलाई झुक्याएर आफ्नो फाइदा हेर्नु कत्ति पनि राम्रो होइन।’ कसरी ठगिए नेपाली ? यो ठगी बाह्य मुलुकको अरु कसैले गरेको नभई नेपालीले नेपालीलाई गरेको हो। बोस्टनकै घटनामा एजेन्ट पन्तले करीब तीन वर्षमा बेचेका सबै बीमाका ग्राहक नेपाली मात्र थिए। सबै राज्यमा स्थिति उस्तै छ। प्रायः सबै एजेन्टले नेपाली समुदायबीच स्याउंस्याउंती उम्रिएका सामाजिक संस्थालाई माध्यम बनाएर धेरैभन्दा धेरै व्यक्तिलाई बीमा बेच्न सफल भएका थिए। नेपालीका हरेकजसो संस्थामा आफु पनि संलग्न हुने र त्यसमार्फत् आफ्नो सञ्जाल विस्तार गर्दै बीमा पोलिसी बेच्ने शैली सबैजसो राज्यमा छरिएका नेपाली एजेन्टहरुको देखिन्छ। परदेशमा नेपालीलाई सजिलै विश्वास गर्ने बानीको फाइदा गलत नियत भएका एजेन्टले उठाउन खोज्दा धेरैजना ठगिएको पीडितहरुको भनाई छ। उनीहरुले आफुभन्दा पहिलै अमेरिका आएका र पढेलेखेका जस्ता देखिने एजेन्टका सबै कुरा पत्याएर पोलिसी नै नपढी सहीछाप गरिदिएको बताए। अमेरिकी बीमा इतिहासमै पहिलो घटनाः अमेरिकामा सयौंथरी बीमाका ठूल्ठूला सेटलमेन्ट (क्षतिपूर्ति सम्झौता) बेला बेला हुने गरेका छन्। जुन बीमा नेपालीलाई बेचिएको थियो, सायद् अमेरिकी बीमा इतिहासमै एजेन्टको गल्तीका कारण सेटलमेन्ट गरिएको यस्तो घटना पहिलो भएको जानकारहरु बताउंछन्। एजेन्टले इन्डेक्स युनिभर्सल इन्स्योरेन्सलाई पूर्णकालीन अर्थात् होल लाईफ इन्स्योरेन्स भनि यो भविष्यका लागि लगानी समेत हो भनेर महंगो किस्ता तिराएका थिए। महंगो किस्ता तिर्दा एजेन्टको आफ्नो कमिशन पनि बढी आउने भएकाले यस्तो गरिएको हुन सक्ने जानकारहरुको दावी छ। उनीहरुका अनुसार यो बीमाको ठूलो रकम कमिशनमै जाने गर्छ। नेपाली समुदायले कति गुमायो, कति गुमाउन सक्थ्यो ? हेर्दा सामान्य लागे पनि यो बीमा ठगीले भोलि भयावहरुप लिन सक्थ्यो। अमेरिकामा कति नेपाली छन् भन्ने तथ्यांक नभए पनि चारदेखि पांचलाखको हाराहारीमा रहेको अनुमान छ। नेपाली समुदायमा यो ‘बीमा धन्धा’ सुरु भएयता ३ बर्षमा ५ सय नेपाली र  नेपालीमुलका भुटानीलाई गरी करीब ५ हजार पोलिसी बेचिएको थियो। जसमा बीमाकर्ताले महिनाको एकसय ५० देखि एकहजार डलरसम्म मासिक प्रिमियम तिर्ने गरेको देखिन्छ। यसलाई न्युनतम सरदरमा राख्दा पनि महिनाको ३ सय डरलका दरले एउटा नेपालीले प्रिमियम तिर्छ। ३ सयका दरले ५ हजार ५ सय नेपाली पछिल्लो तीन वर्षमा झण्डै १६ लाख ५० हजार डलर गुमाइसकेका छन्। २० वर्षे बीमा अवधिमा यी ५ हजार ५ सय नेपालीले मात्र कम्तिमा ३३ करोड डलर गुमाउन सक्थे। बीमा ठगी सम्बन्धि समाचार प्रकाशित हुनुअघि यो ‘बीमाधन्धा’ दिन दुईगुना रात चौगुना बढ्दो थियो। नेपाली तथा भूटानी समुदायका व्यक्तिलाई सजिलै प्रभावमा पार्न सकिने र आकर्षक कमिशन पाइने देखेपछि नेपालीमुलकै एजेन्टहरु दिनानुदिन बढ्दै थिए। भखरै अमेरिका आएका नेपालीलाई ती एजेन्टले ‘यहां आएपछि बीमा त अनिवार्यरुपमा लिनै पर्छ’ भनेर मनोवैज्ञानिक दवावमा पार्दै झुक्याएर पोलिसी बेच्ने गरेका थिए। यही स्थिति चलिरहेको भए अर्को ५ बर्षभित्र कम्तिमा ५० हजार नेपालीलाई यो बीमा बेच्न सक्थे। ती बीमाकर्ताले मासिक तीनसय ५० प्रिमियम तिर्दा वार्षिक १७ करोड ५० लाख डलर नेपालीले गुमाउने सक्ने अनुमान गर्न सकिन्छ। यसरी पोलिसीको पुरै अवधि अर्थात् २० वर्षसम्म यी नेपालीले कम्तिमा एक अर्ब ५० करोड डलर गुमाउन सक्ने देखिन्छ। यो निकै भयावह हुन सक्थ्यो। के भन्छन् पीडित ? बीमा ठगीमा परेका पीडितहरुले आफ्नो गुमेको रकम अहिले फिर्ता पाएपछि सन्तोषको श्वास फेरेका छन्। उनीहरु भन्छन्, ‘नेपाली समुदायमाथि भएको यस्तो ठगीको समाचार बेलैमा नआएको भए सायद् आफु र आफुजस्तै कैयौं नेपालीले अझै ठूलो क्षति ब्यहोर्नु पर्ने रहेछ।’ भर्जिनियाको पनि छानबीन अन्तिम चरणमा यसैगरी डिसी भर्जिनिया क्षेत्रमा पनि उस्तैखाले ठगीमा परेका दुईसय भन्दा बढि पीडितको उजुरीउपर छानबीन अन्तिम चरणमा पुगेको छ। ‘यता पनि छिटै निर्णय हुन लागेको छ,’ भर्जिनियाको इन्स्योरेन्स बोर्ड निकट स्रोतले बतायो। स्रोतकाअनुसार त्यहां बीमा ठगीको उजुरी अफ्रिकन र चाइनीज समूदायबाट पनि परेको छ। त्यसैले छानबीनको दायरा फराकिलो हुंदा निष्कर्षमा पुग्न समय लागेको हो। ठगी आपराधिक प्रकृतिको भएका कारण एटोर्नी जनरलको कार्यालय र स्टेट पुलिस अफ भर्जिनिया पनि यो मुद्दामा संलग्न छन्। आफू र निकट आफन्तसहित झण्डै ५० हजार डलरबराबरको प्रिमियम तिरेका कलाकार एवं व्यवसायी रामप्रसाद खनाल केही दिनमैं यो विषयमा निर्णय हुने जानकारी आफुले पाएको बताउंछन्। प्रिमियर फाइनान्सियल अलायन्स (पिएफए) को जीवन बीमा किनेका खनालले आफू ठगिएको थाहा पाउनासाथ यूट्यूव भिडियोमार्फत् यो विषय पहिलोपटक सार्वजनिक गरेका थिए। उनकाअनुसार नेपाली समुदायमा धेरै बीमा बिक्री गर्नेमा नेपालीमुलकै एजेन्टहरु बढी सक्रिय छन्। ती एजेन्टहरु भर्जिनियां बस्ने गोविन्द गिरी प्रेरणा मातहतमा क्रियाशील छन्। https://setopati.com/global/am... Last edited: 18-Jul-18 02:39 PM

ktmpost · Jul 18, 2018 1:53 PM · 4,321 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion