दुर्गा कार्की: बाबालाई भन्दिन्छु...

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बाबालाई भन्दिन्छु... - दुर्गा कार्की https://setopati.com/blog/1646... बाबालाई भन्दिन्छु... दुर्गा कार्की बाबा, म यी कुराहरू भन्दैछु किनकी त्यस दिन, निम्बुखेडा खोलानजिकै मेरो साइकल ढलेपछि जब उनीहरूले मलाई पाखुरामा च्याप्प समातेर घिसार्दै उखुबारीतिर लगे, मैले धेरै डर र त्योभन्दा धेरै खबरदारीको शैलीमा रुँदै भनेकी थिएँ, 'छोड् मलाईऽऽऽऽऽऽऽऽऽ...बाबालाई भन्दिन्छु मऽऽऽऽऽऽऽ...' माथि ३ जना राक्षसहरू पालैपालो जाइलागिरहँदा उखुबारीका चराहरू उडे, फट्याङ्ग्राहरू उफ्रिएर वल्लो डाँकबाट पल्लो डाँकमा हाम्फाले। ती हरेक जीवमा मैले तपाईंको अनुहार देखेँ। चल्न सक्ने हरेक जीवसँग मैले त्यतिबेला हारगुहार मागेँ, 'मेरो बाबालाई भनिदेओ न...प्लिज...' तपाईंले कसरी सुन्नुभएन बाबा? 'त्यो बाटो नहिँडो है।' केही महिनाअघि एकसाँझ खाना खानेबेला तपाईंले भन्नुभएको थियो। 'क्याइ बाबा?' मैले अचम्म मानेर सोधेकी थिएँ, किनकी मलाई त्यो बाटो मनपर्थ्यो। आमाको मोबाइल उम्काउन सकेका दिन कानमा इअरफोन कोचेर हिन्दी गीत बजाउँदै म साइकलमा चराजस्तै बत्तिन्थेँ। त्यतिबेला मेरो अनुहार हुँदै बहेर जाने चिसो हावा, त्यो हावाले फर्फराउने मेरो कपाल मलाई खुब मनपर्थ्यो। 'छेडो छ, सुनसान। केही भइहाल्यालै हारगुहार नसुनिन्या।' त्यही बाटो बिहान दूध पुर्याउन बजार हिँडेका श्याम अंकलको जेब लुटिएको कुरा सुनाउँदै तपाईंले भन्नुभएको थियो। कति सुनसान? मैले सोधिनँ। कति सुनसान? तपाईंले पनि भन्नुभएन। 'कति चर्की हो? स्कुलमा बोल्याको घरसम्म सुनिन्छ।' आमा घरिघरि भनिरहनुहुन्थ्यो। तपाईंले सुनसानको कुरा गर्दा मैले सोचेकी थिएँ, मेरो आवाज त जताबाट पनि सुनिन्छ। एउटी १३ वर्षे बालखाको रोदन र चिच्याहट समेत नसुन्ने गरी सुनसान त्यो ठाऊँ होला, मलाई थाहा थिएन। त्यतिबेलाको मेरो मुटुको धड्कन पनि नसुन्ने गरी बहिरो यो संसार होला मलाई थाहा थिएन। पोहोर साल चैतमा हामी यही उखुबारीमा उखु काट्न आउँदा रेशमले मलाई खेदेर, लडाएर तपाईंले दिनुभएको इअरफोन खोसेर भागेको थियो। म रुँदै त्यहीँ निदाएकी थिएँ। मलाई उखुबारीमा एक्लै लडिरहेकी भेट्टाएर तपाईं रेशमसित कम्ता रिसाउनुभएको थिएन। बेलुकी घर पुग्नासाथ उसको कन्सिरीका रौँ तानेर हकार्नुभएको थियो, 'बैनीलाई उखुबारीमा छोडेर आउने हो, कुक्कुर? केइ भएको भयाले कि अद्द्याथ्या?' त्यस दिन रेशमले पिँढीमा उठबस गरिरहँदा म भने नयाँ इअरफोन किन्नलाई तपाईंले दिनुभएको कट्कटिएको सयको नोट गालामा टाँसेर त्यसको चिप्लोपन महशुस गर्नमै व्यस्त थिएँ। उठबस सकेर बल्लतल्ल उभिएको रेशमका कान फेरि बटारिदिँदै मतिर हेरेर तपाईंले भन्नुभएको थियो, 'आजबाटी एईले केही गर्या बरि सिधै मुलाई बताएइ, हाँ?' मैले टुँडो पसार्दै मुन्टो हल्लाएकी थिएँ। 'आब कसैले केइ गर्याबरे सिधै मुलाई भन्नू।' रेशम हानिएर आमाको फरियामा मुन्टो लुकाउन नजाँदै सबैले सुन्ने गरेर तपाईंले त्यो अन्तिम वाक्य थप्नुभएको थियो- अबदेखि कसैले केही गर्यो भने सिधै मलाई भन्नू। के तपाईंलाई त्यतिखेरै थाहा थियो बाबा, मलाई जुनसुकै बेला पनि 'कसैले केही' गर्नसक्छ? बिहिबारको दिन, भात खाएर पिढीँमा एकछिन पल्टेपछि धान पनि कस्तो भयो हेर्ने र सन्तराम अंकललाई पनि भेटेर आउने भनेर तपाईं निस्कनुभएको थियो। रेशम साथीहरूसँग खेल्न हिँडिसकेको थियो। तपाईं निस्केको केहीबेरमै घाँस काट्न जान ठिक्क परेर आमाले भन्नुभएको थियो, 'घरै बसिराखेई हाँ।' 'रोशनीका घर पढ्न जान्या हुँ। स्कुल लाग्ने बेला भैसक्यो, होमोक गर्नुपरेन?' ट्वाइलेटनेरबाट साइकल झिक्दै म टक्रिएकी थिएँ। 'ल हिँट् हिँट्। म साँचो लाउँछु।' निम्बुखेडा खोलाबाट आमा दाहिने लाग्नुभो, म देब्रे। अलि पर पुगेपछि आमाले फर्केर बोलाउनुभयो, 'निर्मलाऽऽऽ?' मैले साइकलमा ब्रेक लाएर पुलुक्क उहाँतिर हेरेँ। एकैछिन सोचेर आमाले भन्नुभयो, 'साँझ झट्ट आएई हाँ।' के त्यतिबेला निम्बुखेडालाई थाहा थियो होला, म कहिल्यै अबेर नै गर्नु नपर्ने दिशातर्फ जाँदैछु? त्यस दिन रोशनीको घरमा विज्ञानको वर्षे बिदाको होमवर्क गरिसकेर हामी केहीबेर टी.भी. हेर्नमा अल्मल्लिएका थियौँ। मामाघर गएकी रोशनीकी आमाले लगभग चार बजेतिर लुगा उठा भन्नलाई फोन गरेपछि बल्ल मैले आफ्नी आमाको छुट्टिने बेलाको उर्दी संझिएकी थिएँ। म साइकल लिएर निस्कने बेला उसले हिजै टिपेको एउटा अम्बा दिएर भनेकी थिई, 'भोलि टिप्ने ल धेरै?' सुरुवालको खल्तीमा राखेको अम्बाको डल्लोले मलाई प्याडल चाल्न अप्ठ्यारो बनाइरहेको थियो। बाटो सुनसान थियो। पानी जमेका बाटोका ससाना खाल्डाखुल्डीमा साइकलको पाङ्ग्राले गर्ने छप्ल्याङ्ग र साइकलका पाटपूर्जाको आवाजबाहेक परपरसम्म केही थिएन। खोलाछेऊ आइपुग्नै लाग्दा पछाडिबाट अर्को साइकलले ट्रिङ ट्रिङ गर्यो। मैले पछाडि फर्केर हेरेँ, दुईजना केटाहरू एउटा साइकलमा र अर्को एकजना अलि पछि आउँदै थियो। 'बाबा त्यस्सै यो बाटो सुनसान भन्नाछन्। हिँड्छन् त मान्छ्या।' मैले त्यतिखेर मनमनै भनेकी थिएँ। तर मलाई के थाहा मेरो पछिल्तिर बजेको साइकलको घण्टी 'बाटो छोड्'को घण्टी नभई खतराको घण्टी थियो। के थाहा मलाई कि मान्छेको भेषमा मलाई राक्षसहरूले पछ्याइरहेका थिए। सुरुको साइकलवालालाई मैले बाटो दिन खोज्दा उसले अचानक ठेल्दै ल्यायो र पछिल्तिर आउँदै गरेकालाई एउटा लामो सिट्ठी फुक्यो। अब चाहिँ मेरो मुटु ढुक्क गर्यो। आफसेआफ मेरा पाइला प्याडलमाथि छिटोछिटो चल्न थाले। उसको पेलाइलाई छलेर निस्किन्छु भन्दा म त साइकलसँगै घन्द्रयाम्म पल्टन पुगेँ। मेरो थोत्रो साइकल नराम्रोसँग बगरमा बजारियो। '९ कक्षामा फस् भइस् भने नयाँ साइकल किनिदिउँलो।' तपाईंको आवाज मेरो कानभरि गुन्जियो। साइकलभन्दा अझ पर पुगेको मेरो चस्माको खुट्टा भाँचिएको थियो कि थिएन पनि मैले ठम्याउन सकिनँ। तर चस्मा नलगाइकनै पनि मैले प्रष्टै ठम्याउन सक्ने एउटा अनुहार थियो उखुबारीमा- जसलाई तपाईंले 'हाम्रै बैतडीका नजिकका आफन्त' भनेर केही महिनाअघि मात्र घर ल्याएर भात खुवाउनुभएको थियो। मैले बनाएको सानो गोलभेँडाको चटनी उनले 'कति मीठो हात' भनिभनी थपेर खाएका थिए।  'दाइऽऽऽऽऽऽ...' आँसु, सिँगान र र्यालले लत्पतिएको मेरो अनुहारमा उनलाई देख्नासाथ आशाको एउटा बत्ती धपक्क बलेको थियो। 'चिनी त यार..' उनले यसो भन्नासाथ निभेको थियो मेरो अनुहारको त्यो बत्ती, ध्याप्प। बैनी नै ठानेर नभएपनि एकछाक भातको, गोलभेँडाको चटनीको, 'हाम्रै' बैतडीको वा अरु केही नभएपनि मान्छे हुनुको धर्म त निभाउलान् नि भन्ने मेरो आशाको बत्ती।  '...बाबालाई भन्दिन्छु म...' क्वाँक्वाँ रुँदै मैले भनेकी थिएँ। मेरो त्यो आवाजमा धम्की कम निरीहपना ज्यादा थियो। लगत्तै मेरो चुल्ठोमा तानेर मलाई उत्तानो पारेर लडाएपछि एउटाले भनेको थियो, 'छिटो गर् साले।' मेरो शरीरलाई तिनपट्टिबाट थिचिरहेका अजङ्गका ज्यानहरूबाट उम्कनलाई म छट्पटाएँ, मुन्टो फट्फटाएँ, गोडा फट्फटाएँ, उखुबारीको गिलो भुँई चिथोरेँ, माटो कोपरेँ, उखुका बोटहरूलाई लात्तीले हिर्काएँ, रोएँ, कराएँ, चिच्याएँ, 'मलाई छोड्दिनू प्लिजऽऽऽऽऽऽ...म घर जान्छुऽऽऽऽ...प्लिजऽऽऽऽऽ...म घर जान्छुऽऽऽऽऽ...' याद छ बाबा, म ७ कक्षामा हुँदा मेरो गोडामा पिलो आएको थियो। मेरो तुने चप्पलको बिचभागमा पर्ने त्यो पिलो स्कुल जान लाग्दा चप्पल घुसार्नै नमिल्ने गरी दुख्थ्यो। तपाईं दिनदिनै कामबाट फर्किएपछि 'खै कत्तिको पाकेछ' भन्दै पिलो वरिपरी थिचेर हेर्नुहुन्थ्यो र म घर थर्किने गरी चिच्याउँथेँ। 'कति दुख्छ एई डरहाल्लीलाई...' भान्साबाट आमा कराउनुहुन्थ्यो। तपाईंको ध्यान भने मेरो पिलो थिच्नमा भन्दा बढी फू फू गर्नमा लागेको हुन्थ्यो। तपाईंले यो पाराले पिलो निचोर्न सक्नुहुन्न भन्ने थाहा पाएपछि एक बिहान आमा आफैँ अघि सरेर रेशमलाई मेरो हातखुट्टा समात्न लगाएर एकै बसाँइमा पिलोको आँख्लो फल्यात्तफुलुत्तै निकालिदिनुभएको थियो। त्यतिबेला म घर हैन, टोलै थर्कने गरी चिच्याएकी थिएँ। 'भयो भयो छाडिदे, अस्पताल गएर निकाल्ला...' मेरो 'मरेँ निऽऽऽऽऽऽऽऽऽऽ...' सुन्न नसकेर तपाईंले आमाको कुममा कोट्याउँदै भन्नुभएको थियो। तपाईंलाई त्यतिबेला म चिच्याएको याद छ बाबा? उखुबारीको बिचमा पहिलोचोटि मेरो पिसाब फेर्ने कुरो च्यातिँदा म त्यसैगरी चिच्याएकी थिएँ। मेरो अचम्ममा उनीहरू भनिरहेका थिए, 'मलाई भयो, तँ मजा ले'।  अर्कालाई आँसु र रगतको आहालमा जोतेर पनि कसैलाई मजा होला, मलाई अनुमानसम्म थिएन। यति क्रुर, हेपाहा, कुरुप र ज्यानमारा पनि कुनै मजा हुन सक्छ, मलाई थाहा थिएन बाबा।  'नउठउने भया किन लिनु त्यो फोन, छोरी घरमा छैन।' हस्याङफस्याङ गर्दै झम्के साँझमा सन्तराम अंकलको घरमा देखा परेकी आमा देखेर च्यूराचना खाँदै गर्नुभएको तपाईं पहिले त झसङ्ग हुनुभएको थियो। तर स्थिति सामान्य बनाउन खोज्दै भन्नुभएको थियो, 'साथीका घर गइहोली नि...' 'रोशनीका घर जान्छु भनेर हिँडेकी हो। निम्बुखेडासम्म आमाछोरी सँगै हौँ...' आमा रुन थालिसक्नुभएको थियो। तर तपाईंले आँट देखाएर भन्नुभयो, 'रोशनीको घर गइस् त?' 'नगई किन आउँदा हुम् त ह्याँ। हुमक गरेर चार बजेतिरै आएकी हो रे।' आमा आँगनीमै टुसुक्क बसेर भक्कानिन थाल्नुभयो। सन्तराम अंकलले आमालाई नरुन भन्नुभयो। 'त्यसै रुन्छे यो आइमाई। हिँड् म जान्छु खोज्न...'   प्लेट त्यत्तिकै मिल्काएर तपाईं जुरुक्क उठेर हिँड्नुभो। आमालाई पनि पर्खनुभएन। सन्तराम अंकलले दाइ म पनि आउँछु भनेको पनि तपाईंले सुन्नुभएन क्यार। अरुबेला भएको भए तपाईं आएर गोठमा घाँस बिसाउनुहुन्थ्यो। तपाईं आएको परैबाट थाहा पाएर कैली गाईले ड्वाँ गर्थी। 'हईऽऽऽ...घाँस नाई हालिदियो तुलाई आज?' मुड राम्रो भएको दिन तपाईं कैली गाईलाई सुम्सुम्याउनुहुन्थ्यो, अलिकति घाँस छरिदिनुहुन्थ्यो, नत्र 'हई...हई...' मात्रले टारेर आँगनमा मुडा तानेर बस्नुहुन्थ्यो र भन्नुहुन्थ्यो, 'निर्मला, पानी ल्या छोरी।' मलाई तपाईंको यो तिर्खा संसारकै सबैभन्दा अमूल्य वस्तु लाग्थ्यो।  तर आज तपाईंले गोठमा आइपुग्नुभन्दा धेरै परबाट नै चर्को स्वरमा बोलाउनुभएको थियो, 'निर्मलाऽऽऽऽ?' जवाफमा कैली गाईले चर्को स्वरमा ड्वाँऽऽ गर्दा तपाईंका खुट्टा कामेका थिए। तपाईंलाई याद छ बाबा, त्यस दिन तपाईंले कैली गाईलाई हई... पनि भन्नुभएन। मलाई खोज्न तपाईं कहाँकहाँ पुग्नुभएन? रोशनीको घर, संझनाको घर, निशाको घर, पल्लोगाऊँ मितिनीको घर, नेपाली मिसको घर, बुढी हजुरआमाको घर...के तपाईंलाई साँच्चिकै अन्दाज पनि थिएन, म कुनै सुनसान उखुबारीमा रग्ताम्मे लडिरहेकी हुन सक्छु? वा अन्दाज भएर पनि डराउनुभएको थियो बाबा? होइन भने किन सन्तराम अंकलकी श्रीमतीले 'आजकालका केटीको केई भर नाई हुनो..पोईल ब गई कि...?' भन्दा बाहिर उनलाई झम्टेजस्तो गरे पनि 'बरु हिँडिदिए हुन्थ्यो...' भनेजसरी सास फेर्नुभएको थियो? किन ठूलोबाबाले घरिघरि पुलिस चौकी जाम् भनिरहँदा मेरो एउटा थप अर्की साथीको घर पुगेर हेर्न जोडबल गरिरहनुभएको थियो? जतिखेर टेबलमा मुन्टो अड्याएर बसेको हवल्दारले निन्द्राको तालमा 'केही भा'छैन केही भा'छैन, भोलि उज्यालोमा खोजम्ला' भनेर तपाईंहरूलाई घर पठाएको थियो, यता उखुबारीमा सिमसिम पानी पर्न सुरु भइसकेको थियो।  म झरी मन पराउने मान्छे। गीत मन पराउने मान्छे। मकैको होस् वा उखुको पातको, पातमा पानीको संगीत मन पराउने मान्छे। तर त्यस रात मेरो नियतिमा आकाश पनि रोयो। बादलका आँसुहरूले यता मेरो अघिनै सुकिसकेको आँसुको बाटो बगाए, साँप्रामा कट्कटिएको रगतको टाटो बगाए। मध्यरातमा आँगनीमा निस्किएर भिज्दै तपाईंलाई रुन बाध्य पारेको त्यो झरी पहिलोचोटि मलाई मन परेन। गलेको आत्मविश्वास र अनिँदा आँखाभरि त्रास बोकेर भोलिपल्ट बिहान मलाई खोज्न निस्कँदा तपाईंको दृष्टिमा टाढैबाट परेको थियो- खोलाछेऊ पल्टिरहेको मेरो थोत्रो साइकल, पानीले निथ्रुक्क भिजेर फुलेको मेरो विज्ञान किताब, मसी बगेर सेतै देखिएको मेरो खुल्लै कापी र त्यसै कापीछेऊ लडिरहेको चोट लागेको मेरो अम्बाको गेडो। यो दृश्य देख्दैमा तपाईंको मनले ठोक्न थालेको ठ्याङ्ग्रो, तपाईंको मुटुको ढुकढुकी मैले स्पष्ट सुनिरहेकी थिएँ बाबा। 'निर्मलाऽऽऽऽऽऽऽऽऽऽऽ?' 'छोरीऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ?' तैपनि झुलुक्क कतैबाट निस्केर हजुरऽऽऽ भनिहाल्छे कि झैँ थोरै आश र धेरै त्रासले त्यतिखेर तपाईंले चारै दिशामा मुन्टो घुमाएर बोलाउनुभएको थियो। सक्ने भएको भएँ भएभरको शक्ति जुटाएर म भन्नेथिएँ, 'बाबाऽऽऽऽऽऽऽ, म यहाँ छु।' लुला गोडा धङ्गरधङ्गर गर्दै जब तपाईं आइपुग्नुभएको थियो म भएनेर, म अर्धनग्न अवस्थामा रातभरि परेको पानीमा मुन्टो जोतेर तपाईंलाई कुरिरहेकी थिएँ। मलाई परैबाट देख्नासाथ तपाईंका नौनाडी फतक्क गले। शरीर लल्याकलुलुक भएर आयो। एकटकसँग मतिर हेरेर टोलाउँदा टोलाउँदै तपाईंका आँखामा खहरे उर्लिएर आयो। च्यूँडो बडो नराम्रोसँग थर्थरायो। त्यही च्यूँडोसँगै काम्दै एकैचोटी झरे तपाईंको आँखाका डिलबाट तिनचारथोपा आँसु। त्यसपछि दुई हातले पुर्पुरोलाई बेस्कन हिर्काएर तपाईंले उखुबारीमै सर्लक्कै ज्यान छोडिदिनुभो। तपाईंको शरीरले उछिट्टाएको धमिलो पानी छचल्किएर मेरो शरीरसम्म आइपुग्यो। बसेको ठाउँमा मैजसरी घोप्टो परेर तपाईं कुकुरले जस्तै कुँइकुँइ आवाज निकालेर रुनुभयो। त्यसपछि निकै ठूलो आवाजमा ड्वाँड्वाँ गरेर रुनुभो। 'म कसै...लाई केही भन्दिनँ...मलाई नमार्नू दाइ...कसैलाई भन्दिनँ...' पीडाले अररो भइसकेको ज्यान सकिनसकी घिस्रिँदै दुई हात जोडेर मैले अन्तिमपटक जीवनको भीख मागिरहँदा एकपटक झुलुक्क देखिनुभएको थियो तपाईं, मेरा धमिला आँखाअगाडि। सास जाने बेला आँखाका डिलबाट बगेका आँसु देखेको भए झन् कति रुनुहुँदो हो? बाबा, त्यतिबेला तपाईं रोएको देख्दा लाग्यो, मभन्दा विचरा, निर्धो र निरीह त तपाईं हुनुहुँदो रहेछ। सक्नेभए म घिस्रेर भएपनि तपाईंकहाँ आउनेथिएँ र तपाईंको आँसु पुछिदिएर भन्नेथिएँ, 'मुलाई केई नाँइ भइर्यो बाबा।'  तर बाबा, के म अब कहिल्यै तपाईंको नजिक आउन सक्थेँ हुँला र? तपाईंको कन्चटमा फुलेका रौँ खोज्ने निहुँमा कालो रौँ उखेलिदिएर तपाईंलाई जिस्काउन सक्थेँ हुँला र? के म कहिल्यै हाँस्न सक्थेँ हुँला र? दारीजुँगा उम्रिएका हरेक अनुहारहरू, रुद्रघण्टीहरू, नीला नशा बाहिर निस्किएका हातपाखुराहरू, गन्जीहरू, जाँगेहरू, पाइन्टहरूले मलाई कोसौँ परदेखि तर्साउँथे होलान्। उखुबारीको त्यो घटना एउटा नमीठो सपना थियो र मलाई झम्टनेहरू अपवाद थिए भनेर बिर्सन सक्थ

_ · Aug 5, 2018 7:00 PM · 13,458 views

1 Reply

Heart touching.

Gwach · Aug 7, 2018 4:55 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion