साथीभाइ, आफन्त वा कसैले पनि तपाईंमाथि गरेको विश्वासलाई जोगाइराख्नुस् है नत्र विश्वासघातको अभियोगमा जेल जानु पर्ला। भदौ १ गतेदेखि लागु भएको नयाँ मुलुकी ऐनले विश्वासमाथि घात गर्नेलाई तीनदेखि पाँच वर्षसम्म जेल सजाय तोकेको छ। अपराध संहिताको दफा २५२ मा भएको त्यही व्यवस्थाका आधारमा अहिले प्रहरीमा उजुरी पर्न थालेका छन्। ‘वकिल हुँ अदालतमा राम्रो पहुँच छ, मुद्दा मिलाइदिन्छु’ भनेर नुवाकोटका मनोहर तिवारीले धेरैलाई विश्वासमा पारे। विभिन्न व्यक्ति र सहकारी संस्थाबाट ५ करोडभन्दा बढी रकम उठाए। उनको ‘धन्दा’ नै अदालतमा मुद्दा भएका मानिस खोज्ने, उनीहरूलाई विश्वास दिलाउने र विभिन्न बहानामा रकम उठाउने थियो। उनी काम गर्न विश्वास दिलाउँथे। तर कसैको काम गर्दैनथे। कतिपयका त उनी घरजग्गासमेत बेचिदिन्थे। काम गर्दा सबै प्रमाण नष्ट गरिहाल्थे। पीडितलाई प्रहरीले चाहेर पनि न्याए दिन सकेको थिएन। अब भने उनी कानुनी फन्दामा परेका छन्। ‘तिवारीलाई आपराधिक विश्वासघातमा मुद्दा दायर गरेका छौं अनुसन्धान हुँदैछ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी मोहनकुमार थापाले सेतोपाटीसँग भने। तिवारीलाई काठमाडौं प्रहरीले फौजदारी संहिताको दफा २५२ अनुसार कारबाही प्रक्रिया अघि बढाएको छ। सो दफाअनुसार अरूलाई विश्वासमा पारी घात गरे वा हानीनोक्सानी पुर्याए तीनदेखि पाँच वर्षसम्म जेल सजाय र ३० देखि ५० हजारसम्म जरिवाना हुन्छ। कसैलाई जिम्मा दिएको सम्पत्ति नियन्त्रण गरे वा अरुलाई प्रयोग गर्न दिए पनि अब धनीले विश्वासघात भयो भनेर प्रहरीमा उजुरी गर्न सक्नेछन्। त्यसैगरी अरूको कुनै काम अथवा कारोबारको जिम्मा लिएर हानी नोक्सानी हुने खालको कार्य गरे पनि कारबाही हुनेछ। विगतमा अरूको सम्पत्ति हेर्ने जिम्मा लिएका धेरैले विश्वासघात गरेर सम्पत्ति हिनामिना भयो भन्दै प्रहरीमा उजुरी गर्ने गर्थे। ‘प्रहरीमा उजुरी गर्न आउनेसँग प्रमाण हुँदैनथ्यो तर घटना हेर्दा गम्भीर हुन्थ्यो। कानुनी व्यवस्था नभएकाले कारबाही गर्न सकिन्नथ्यो,’ डिएसपी थापाले भने,‘प्रमाण नष्ट गरी ठगी हुने गरेकाले प्रमाण अपुग भएका कारण प्रहरीलाई अनुसन्धान गर्न गाह्रो हुन्थ्यो,नयाँ ऐन आएपछि सजिलो भएको छ।’ भदौयता विश्वासघात भयो भन्दै उजुरी गर्नेहरू बढेको पनि उनले बताए। के गरेमा हुन्छ आपराधिक विश्वासघात संहिताको दफा २५२ मा आफ्नो जिम्मा वा संरक्षणमा रहेको अर्काको सम्पत्ति बेइमानपूर्वक आफ्नो निमित्त प्रयोग गरेमा वा त्यस्तो सम्पत्तिको उपयोग तत्सम्बन्धी करार वा शर्तनामा वा कानुन विपरित बेइमानीपूर्वक अरू कसैलाई उपयोग गर्न दिएमा वा हक टुटाई अरूलाई दिएमा वा दिलाएमा विश्वासघात गरेको ठहरिन्छ। त्यस्तै अर्काको कुनै कारोबारो गर्ने जिम्मा लिएको वा कानुनी कर्तव्य पालन गर्नुपर्ने जिम्मेवारी भएको व्यक्तिले वा कुनै काम कारोबारका सम्बन्धमा अर्काको प्रतिनिधिको रूपमा काम गर्ने व्यक्तिले आफू वा अरू कसैलाई फाइदा पुर्याउनको लागि आफ्नो कर्तव्य विपरित कुनै काम गरी त्यस्तो व्यक्तिलाई कुनै हानी नोक्सानी वा क्षति पुर्याएमा पनि विश्वासघात हुने छ। कुनै संस्थाको व्यवस्थापक, प्रबन्धक, कर्मचारी वा प्रतिनिधिका हैसियतले कुनै व्यक्तिले वा कुनै सम्पत्ति एक ठाउँबाट अर्को ठाउँमा पुर्याइदिने वा गोदाम वा अन्य कुनै ठाउँमा सुरक्षित साथ राख्ने जिम्मा लिएको वा त्यस्तो गर्ने कानुनी कर्तव्य भएको व्यक्तिले विश्वासघात गरेमा यो दफा आकर्षित हुन्छ। https://setopati.com/social/16...
ktmpost · Sep 24, 2018 12:54 PM · 2,618 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion