अमेरिकामा बस्दा उल्लु नहुनुस्

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अमेरिकी बसाई : जानकारीको अभावमा उल्लु नहुनुस् आश्विन १०, २०७५नवीन रायमाझीकाठमाडौँ — जानकारीको अभाब र सिक्न वा जान्ने इच्छा नहुँदा वा त्यो क्षमता नहुँदा अमेरिका बस्ने अधिकांस नेपालीहरुको अबस्था न हाँसको चाल न बकुल्लाको चाल भनेको जस्तो छ । प्रस्तुत आलेखले उच्च शिक्षा लिएर "हाइ पेड जब" गर्ने थोरैको संख्यामा रहेका नेपालीहरुको प्रतिनिधित्व गर्दैन किनकी त्यस्ता ब्यक्ति र समुदायसँग पंक्तिकारको सम्बन्ध र पहुँच छैन । बरु अमेरिकी सरकारले तोकेको न्युनतम् वा त्यो भन्दा कम ज्यालामा काम गर्ने अर्थात् चलनचल्तिको भाषामा "घण्टा हान्ने" हरुको मात्र प्रतिनिधित्व गर्छ । मैले आजसम्म त्यस्ता उच्च शिक्षित ब्यक्तिहरुले म फलानो सम्पर्क समितिको सचिव वा ढिस्कानो सम्पर्क मञ्चको अध्यक्ष हुँ भनेर आफ्नो परिचय दिएको सुनेको वा भेटेको छैन, त्यस्ता पदवीधारीहरु सबै ट्याक्सी ड्राइभर, डिस वासर वा त्यस्तै कुनै काम गर्नेहरु छन् । अमेरिकामा सबै काम बराबर हो, काम भनेको ठुलो वा सानो हुँदैन भनेर लंगडो तर्क दिनेहरु यस्तै वर्गका हुन्, जो सर्वथा गलत छ । यदी काम सानो वा ठुलो नहुने हो भने एउटा कार्यालयमा कोही हाकिम र कोही कारिन्दा किन हुन्थे? यदी कसैले आफ्नो नाबालक बच्चा (बिशेष गरेर छोरा) लाई देखाएर यो राष्ट्रपति हुने हो भनेर देखायो भने त्यो बच्चा अमेरिका मै जन्मेको रहेछ भनेर बुझ्न सकिन्छ । अब अमेरिकामा जन्मिएका हरेक बालबालिका भविष्यमा गएर राष्ट्रपति बन्ने कुरा हुने भएन, यसको अर्थ यो यतै जन्मिएको हो भनेर प्रचार गर्नु भन्दा अरु के हुन सक्छ? जो जहाँ जन्मिए पनि कुनै खास महत्व राख्ला जस्तो पंक्तिकारको सानो मस्तिष्कले बुझ्न सकेको छैन । जसका बच्चाहरु यतै जन्मिएका होइनन् तर सानैमा यता आएका हुन्, त्यस्ता बच्चाका अभिभावकहरुले पनि आफ्नो बच्चाहरुलाई देखाएर यो त यतै जन्मिएको जस्तै हो भनेर प्रचार गरिरहेका हुन्छन्, सायद यता जन्मिएको बालबालिका नेपालमा जन्मिएको भन्दा बिशेष हुने हो? यो मैले बुझेको छैन । यस्तै कसैले म त अब अमेरिकन भइसके भन्यो भने म अब नेपालतिरका नातागोता वा साथीभाईसँग वास्ता गर्दिन वा मैले अमेरिका आउँदा लिएको ऋण तिर्दिन भनेको बुझ्न सकिन्छ । अर्को थरिलाई फेसबुक जस्ता सामाजिक सञ्जालमा अपलोड हुने हरेक फोटोमा भिन्दा भन्दै लुगामा देखिएन वा कुनै लुगा दोहरियो भने बढो बेइज्जत अनुभव हुन्छ, "बालमार्ट" जस्तो सुलभ मुल्यको पसलमा नभई "मेसिज" र "जेसी पेन्नी" जस्ता पसलमा मात्र लुगा किन्न रुचाउने त्यस्ता ब्यक्तिहरु कुनै उत्सव वा समारोहमा त्यो लुगा लगाएर आफ्नो काम सकिए पछि फर्काउने गर्छन् । यदी यो कुरा कसैलाई पंक्तिकारले झुटो लेखेको जस्तो लाग्छ भने मेरो सम्बन्ध भएका करिब १५ जना जतिले यस्तो काम गरेको प्रमाण दिन तयार छु । त्यस्तै दिनभरी भारतीय वा पाकिस्तानी मुलका ब्यापारीहरुको पसलमा काम गर्ने र कुनै काम बिगार्दा साहुजी ले गरेको आमाचकारी गालीको तुष बेलुका डेरा फर्केर नेपालका सम्बन्धीहरुलाई फोन गरेर "धोतीलाई थर्काएँ" भनेर गफ लडाउनेहरु हुन्छन् । यही वर्गकाहरुलाई हो बिभिन्न सम्पर्क समिति र प्रबासी मञ्च, फलानो र ढिस्कानो समाज भनेर दौडधुप गर्नुपर्ने । मैले नबुझेको कुरा के भने नेपालबाट यति टाढा आएपछि शेरबहादुर देउबा र रामचन्द्र पौडेल वा केपी ओली र माधब नेपाल भनेर घाँटी सुक्ने गरेर कराउनु को के अर्थ छ? अर्कोतर्फ नेपालमा बसेर अमेरिकामा मेरो मामाको छोरा फलानो सम्पर्क समितिको सचिव वा फुपुको छोरा ढिस्कानो प्रबासी मञ्चको उपाध्यक्ष छ भनेर खुशी हुनेहरुले यस्ता संघ वा मञ्चको औकात दुई पैसाको पनि छैन वा हुँदैन भनेर बुझ्न जरुरी छ । यस्ता सबै पदहरु आफुले गरेको निम्न स्तरको कामलाई छोप्ने बहाना मात्र हो । यस्तै अमेरिकी दुताबासमा मेरो सेटिङ्ग छ पैसा खर्च गरे भने भिसा पाइन्छ भनेर गफ दिने र ठगेर बिचल्ली पर्नेहरु सबै ठग हुन् र त्यो भन्दा तीन गुणा बढी पटमुर्ख त्यस्ता हावादारी कुरामा विश्वास गरेर ठगिने हुन्, जानीजानी खुकुरीको धारमा टेके पछि घाउ लाग्यो भनेर रुनु कराउनुको कुनै औचित्य छैन र यस्तो कुरालाई मान्छे आफै जागरुक नहुने हो भने कुनै सरकारले पनि केहि गर्न सक्दैन, यस्ता मुर्ख र अरुले भनेको राम्रो कुरा नसुन्ने हरु बिचल्लीमा नपरे अरु को पर्छ? पहिरनले नै मात्र आफु आधुनिक भइन्छ भन्ने अन्धविश्वास भएकाहरुको संख्या पनि बाक्लै छ । बजारमा बेच्न राखिएको सबै पोशाक सबैको लागि होइन भन्ने सामान्य ज्ञान नभएकाहरुले नेपालबाट लगाएर आएको गुन्यु चोलो फालेर मिनी स्कर्ट लगाउँदा कति भद्दा देखिएको हुन्छ त्यो ख्याल गरे समाजमा हाँस्य पात्र बन्नु पर्ने थिएन । आफ्नो ज्ञान र सीपलाई फराकिलो पार्न नचाहने तर देखाबटीमा मात्र विश्वास गर्दा त्यस्तै हुन्छ । त्यस्तै नेपालमा एसएलसीमा पाँच पटक अनुतिर्ण भएर बढो मुश्किलले कलेजको आँगनसम्म देखेकाहरुले अमेरिकामा पढाइ कति हो भनेर सोध्नु हुँदैन भन्छन्, जब कुनै योग्यता नै छैन भने कसरी सोध्ने र कसरी भन्ने? अमेरिकनहरुले एक आपसमा तपाईं कुन विश्वविद्यालयमा अध्ययन गरेको भनेर सोधेको पंक्तिकारले सुनेको छ । आफु वा कुनै आफन्त आउँदा प्रेसर कुकर र राइस कुकर बोकेर आउनेहरु अर्का अजीव प्राणी हुन् । पैसा भयो भने नुनदेखि सुनसम्म जहाँको जस्तो सामान पनि पाइने यो देशमा त्यस्ता सामान बोकेर आउनु भनेको कि त सुचना को अभाब हो कि त महँगो हुन्छ भन्ने लोभ । यदी कसैलाई त्यस्ता सामान नेपालमा भन्दा यता महँगो हुन्छ भन्ने डर छ भने त्यो सर्वथा गलत हो, लगभग सबै सामान यतै सस्तो पर्छ । प्रस्तुत आलेखले कसैलाई आफैलाई भनेको जस्तो लाग्छ भने यसलाई केवल संयोग मात्र हो भनेर बुझ्नु होला । मेरो यो भन्दा पहिलेको आलेखमा कुल गाई, अमेरिकन बाबु, नेपाली कान्छा जस्ता मन गढ्न्त नामबाट अश्लिल प्रतिक्रिया पठाउनुबाट म आफुलाई सफल भएको सम्झेको छु । यो सबै चोरको खुट्टा काट भन्दा खुट्टा लुकाएको जस्तो वा कायरता मात्र हो । प्रबुद्ध पाठकबाट उचित प्रतिक्रिया र सुझाबको सँधै अपेक्षा छ तर पाँडे गालीसँग मेरो कुनै सरोकार छैन ।@twitter#naviinr https://www.kantipurdaily.com/...

ktmpost · Sep 27, 2018 10:17 AM · 8,006 views

2 Replies

Last edited: 28-Sep-18 11:37 AM

_ · Sep 28, 2018 11:33 AM

निकै वर्ष अघि पढेको, यस्तै-यस्तै खालको यो पनि याद आयो: अमेरिकी छलाङ्ग - Aakar Anil  - https://www.aakarpost.com/2014...      April 01, 2014 अघिल्लो वर्षको जनवरीमा लेखिएको "एउटा फेक ट्विटर एकाउन्टको नाममा" ब्लग वर्षैभरि अन्यन्तै चर्चित रह्यो । सायद यसैको प्रभाव हुनुपर्छ, अघिल्लो हप्ता ईमेलमा अमेरिकी बसाइ अनुभव संगालिएको बाबुरामजीको एउटा प्राइभेट 'अनलाइन जर्नल' (डायरी) आइपुग्यो। नियमित त हैन, तर कहिलेकाँही भने तिम्रो ब्लग हेर्छु भनेर लेखिएको थियो । त्यसै 'जर्नल'मा रहेको 'अमेरिकी छलाङ्ग'का केही सम्पादित अंशहरु तल प्रस्तुत गरेकोछु । १. म यसै बसिरहेको हुन्छु, फोनमा खेलिरहेको हुन्छु, घरी ट्विटर घरी फेसबुक घरी के चलाई रहेकोहुन्छु। यसैमा भान्सामा काम गरिरहेकी मेरी प्राण प्यारीको नजर म माथि पर्छ। अनी उनी भन्छिन, "यसै फोन चलाएर बस्नु भन्दा त बरु ईन्टरनेट खोलेर मेरो फोन र ईन्सुरेन्सको अटो पे'मा राखिदिनु नि, महिनै पिच्छे सम्झिदाँको टेन्सन त हुन्न मलाई" ! म एकदम ज्ञानी पति बनेर ल्यापटप खोल्छु। पासवर्ड हालेर विण्डोज खोलि सकेको हुदैन, मेरी प्राण प्यारी भान्साबाट मर्जी हुन्छिन । "कहिले काँहि त बुढिलाई भान्सामा सहयोग गरे नि हुने नि, कहिले फोन त कहिले ल्यापटप"। २. एक जना सरकारी सुविधा लिने दाजु छन, तिनले स्वास्थ्य बिमा पनि सरकारकै सुविधाबाट लिएका छन, थोरै आम्दानी देखाएर रासन पानीको लागि मासिक केही रकम पनि सरकारी सुविधाबाट नै लिएका छन्। काम नगर्ने होईन गर्छन, पेट भर्न सक्ने नकमाउने पनि होईन कमाउँछन्, तर पनि अरुको लहलहैमा लागेर ईमान त्यागेर मागेर खान पल्केका छन। हो तिनको जिन्दगी हो तिनले आफ्नो हिसाबले जिउन पाउछन्, मैले तिनको जिन्दगीमा दख्खल अन्दाज गर्न खोजेको होईन तर म आफु कानुनको दायरामा बसेर आम्दानीको लगभग २५ देखी ३० प्रतिशत(ठ्याक्कै कति तिर्छु याद भएन) जति कर तिरेर बस्या मान्छेलाई तिनले मेरै अगाडी मैले तिरेको करबाट चोरी छली सुबिधा लिएको मन पर्दैन। एक पटक ति दाजुले मेरो नेपालमा यत्रो घर छ तेरो के छ? मैले यस्तो गाडी चड्छु तैले जाबो ईकोनोमी गाडी चढ्छस भनेर सुनाए। त्यो बेला केहि भनिन, वा भनुम भन्नु उचित ठानिन। केहि समय पछि तिनै दाजुले ल बाबु बुहारीलाई लिएर यो आईतबार खाना खान आउ भनेर भन्दा भए, त्यो बेला मलाई अफिसको कामले नचाहिदो तनाव दि’राको थियो, तिनले रवाफिलो पाराले बोलाउदाँ मेरो दिमागको पारा थोरै माथी चढ्न गयो र मैले ति दाजुलाई नम्र भएर, हेर्नुस दाजु खान त आउन हुन्थ्यो, हजुर आफ्नै परिवार पाल्न नसकेर सरकारसँग माग्नु भएको छ, म आएर खाएर के सकिदिउ त नी, बरु भाउजुहरुलाई लिएर हजुर नै आम्नुस मेरोमा खान भनेर भन्दा भएँ । उनले मागेर खानु गल्ती थिएन, तर मैले हजुर मगन्ते हुनुहुन्छ भन्नु मेरो गल्ती थियो। ३. काम गरेर खाने भए पछि काममा उतारचढाव भनेको हुने नै गर्छ। एउटा सफ्टवेयर ईन्स्टल गर्नु पर्ने थियो, हजुरहरुलाई लाग्ला जाबो सफ्टवयर ईन्स्टल गर्ने कुरालाई नि मुलाले ईस्यु बनाउन थाल्यो। अहिलेको नयाँ विण्डोज, मलाई लाग्छ भिस्टा पछि होला, माईक्रोसफ्टले युजर एकाउण्ट कन्ट्रोल भन्ने एउटा प्रोफाईलको कन्सेप्ट ल्याएको छ, त्यसले म जस्ता धेरैको धेरै समय बिना काममा नस्ट गरेको छ। भयो के भन्नुहोला भने, मैले ईन्स्टल गर्न लागेको प्रोग्रामले रेजिस्ट्री ईडिट गर्ने रै’छ, अनि हाम्रो माईक्रोसफ्ट सोल्टीले जथाभावी रेजिस्ट्री ईडिट गर्न नदिने, एडमिन नै हुन पर्ने। धेरै प्रोग्रामहरु ईन्स्टल गर्दा यदी रेजिष्ट्री ईन्ट्रीसँग खेल्नु पर्ने हो भने शुरुमै रेजिष्ट्रीको चावी माग्ने गर्छन, तर यो मुलाले मैले ईन्स्टल गर्दा चावी मागेन, कारणले लेख्नेले चावी माग्ने कोड लेख्न बिर्स्यो, अब प्रयोगकर्ताको हिसाबले मैले ईन्स्टल गर्दा नै याज ए एडमिन गर्नु पर्ने रै’छ, बुद्धि पुगेन वैसे डबल क्लिक हानियो। त्यसपछि मेरो हप्ता रेजिष्ट्री, युजर एकाउण्ट कन्ट्रोल, युजर राईट्स आदि हेर्दैमा, रेजिष्ट्रीका कि डिलिट र एड गर्दैमा बित्यो, अन्त्यमा एउटा नयाँ एडमिन युजर बनाएर त्यो प्रोग्राम चलाउने युजरको रुपमा टाँसेको बल्ल चल्यो। हाकिमलाई काम देखाउनु पर्दा एउटा प्रोग्राम ईन्स्टल गर्न १ हप्ता लागेको जसरी देखाउनु पर्दा थोरै हिनताबोध भयो, अब त्यो बिचमा आफुले खाएका हण्डर र नयाँ केहि प्रयोग गर्नु पर्ने भए सुझाउन हाकिमलाई सोधिएकै थियो, मुलाले केहि दिन सक्नु भएन, लास्टाँ हिजो, याज एडमिनिस्ट्रेर ईन्स्टल गर्न १ हप्ता लगाईस भनेर भन्यो, मैले नि हजुरलाई नि बोलाएको थिए के रे ईन्स्टल गर्दिनुस भनेर, आधी दिन हजुरले नि खर्च गर्नु भएको हो, नसकेर जानु भयो अहिले यसो त नभनि भन्या भे हुने नि भन्दा सोल्टीले रातो मुख बनाईस्यो। हाकिमसँग पङ्गा लिने पनि एउटा नराम्रो बानी हो मेरो, कुन दिन जागीरबाट हात धुनु पर्ने हुन सक्छ यो पाराले। ४. अस्ती एउटासँग भेट भयो, अनि भेटमा अलि अलि कुरा भयो। केहि समय पछि मेरो अमेरिकाको बसाई कस्तो किसिमको हो, कागज छ कि छैन भन्ने सवाल म माथि गरियो। मैले भने म त कानुनी रुपमा नै बसेको छु, काम गर्ने भिसा छ, त्यसलाई कागज भन्ने कि नभन्ने? उनले पछि हरियो पत्ता छ कि छैन भनेर सोधे, मैले छैन भने। अनि लिने सोच्नु भएको छैन भनेर सोधे, मैले अहिले केहि निधो गरेको छैन, अझै ५ बर्ष काम गर्न पाउछु, जब त्यो सकिने बेला आउछ त्यो बेला सोचौला भनेँ। अनि हजुरको के हो भनेर सोधे, तिनले आफुसँग हरियो पत्ता भएको बताए, अनि कुराहरु हुदै जादाँ त नेपालीले कागज बनाउन पाएका दु:ख सुन्नु पर्यो। नेपालमा सामुहिक बलत्कारको शिकार भएको कारणले नेपाल जाँदा हाम्रो समाजले नस्विकार्ने भनेर कथा कोरेर कागज बनाउने महिलाहरु हुन्छन् भनेर भने तिन्ले, अनि पुरुषहरु माओवादी पिडित। उनको कुरा सुन्दा त नेपालमा प्रत्येक गाँउ र शहरमा बलत्कारीको झुण्ड रहेको छ भन्ने भान अमेरिकी अदालतलाई परिसकेको हुनु पर्छ झैँ लाग्यो मलाई। माओवादीले गर्दा देशमा जान नसक्ने कथा त सुनेको थिए तर तिनको कथा सुन्दा त कहाली नै लाग्यो, अनि सोचे हामी हरियो पत्ताको लागि कुन हदसम्म जाँदा रहेछौँ। ५. एक पटक मलमा जाँदा एक जना महिला नेपालीमा बोलेको सुने। अनि एक्लै हिड्या भएर नमस्ते दिज्यु भनेर कुरा गर्न गए। म शनिवार मलमा घुमेको देखेर उहाँले आज काम छैन र? घुम्दै हुनुहुन्छ भनेर सोध्नु भयो। अनि मैले आज छैन भनेर भने। कता काम गर्नु हुन्छ भनेर सोधिन, मैले फलानो ठाँउमा काम गर्छु भनेर जवाफ दिए। अनि कुन ग्याँस स्टेसनमा काम गर्नु हुन्छ हप्ताको कति घण्टा गर्नु हुन्छ भनेर सोध्नु भयो, प्रश्नले एक छिन ट्वाँ बनायो, अनि भने हैन दिदी एउटा सफ्टवयर बनाउने कम्पनीमा काम गर्छु मैले त भने। ति दिज्युले गाह्रो नमान्नु है भाई के गर्ने बानी लागिसक्यो यस्तो सोध्ने भन्नु भयो, मैले केहि छैन दिज्यु हुन्छ यस्तो हुन्छ कहिलेकाँहि, बरु हजुर कुन पार्लरमा काम गर्नु हुन्छ भनेर सोधे, दिज्यू त प्रोफेसर हुनुदोँ रै’छ, त्यसपछि दुबै मज्जाले हास्यौ। ६. एक पटक अमेरिकालाई कर्मथलो बनाएको घरमा रात्रिकालिन भोजको निम्ता आयो, यसो मिलाएर भन्नु पर्दा डिनर खानको लागि निमन्त्रणा आयो। अनि त्यो घरका सबैलाई थोर बुहत चिनेको भएकोले कुनै अप्ठ्यारो नमानी गईयो मेजमानी निभाउनको लागि। सबै कुरा सौहार्दपुर्ण वाताबरणमा चलिरहेको थियो। त्यसैमा घरपेटी आमाले कान्छी छोरीलाई, "छोरी तिमीले त्यो गरेको मलाई मन परेन" भनेर भन्नु भयो, छोरीको जवाफ सुनेर म चाँहि अवाक नै भए। यो मेरो ब्यक्तिगत जीवन हो, यस्मा हजुरलाई मन पर्नु पर्ने मन नपर्नु पर्ने मैले कुनै कारण देख्दिन भनेर जवाफ फर्काईन, त्यहि बेला नेपालाँ बुवाले मलाई पढ भन्दा पढे नि नपढेनी हजुरलाई के मतलब भनेर मुख लाउदा भेट्या गोर्खे लौरी सम्झे। छोरीको जवाफ घरपेटी बाले सुनेको नसुन्यै गरे, आमाले यस्लाई अमेरिका लागेको भनेर एक छिन कराईन अनि सकियो। पछि घरपेटी बुवाले बाहिर छोड्न आउदाँ, १८ बर्ष ननाघेकालाई गाली गर्दा तिनले पुलिस बोलाउने धम्की दिने गरेकोले चुपचाप हेर्नुको बिकल्प छैन भनेर बाध्यता सुनाए। ७. हाम्री जहानका ठुला बुवालाई भेट्ने भनेर एक दिन आईतवार यसो ठुला बुवाको बसेको ठाम तिर लागियो। आफु त पहिलो पटक नाताले ससुरा पर्ने अनि नातैले ससुराली पर्ने ठाममा जान लागेको। ससुराली आउनै लाग्दा चट्ट हाम्री जहानले मुख खोलिबक्स्यो, ठुला बा ठुली आमाले देख्ने बित्तिकै नमस्कार गर्नु नि, ज्वाँई टोपलिएर गमक्क पर्ने होईन, भाउ खोज्ने होईन भनेर। हरे त्यती बुद्धी त मेरो पनि छ के रे नै झै लाग्यो। गईयो, गए देखि खाने कुरा ल्याउन थाल्नु भएको आफुले दुई दिन लगाएर खाने कुरा ५ घण्टाको अन्तराल अगाडी पर्यो, खान्न भन्यो भाउ खोज्यो भन्ने खाम आफ्नो पेटाँ ठाम छैन। मेरी जहानको दाइको छोरी भर्खर ३ बर्षमा लाग्दै गरेकी, अहिले देखि लाज मान्ने खालकी रै’छिन, बिस्तारै झ्याम्मिएर बोल्न थालिन, हिड्ने बेला सम्म त यति झ्याम्मिईन कि, जान्छु भनेर पछि लागेर हैरान। सानु कारमा सिट छैन नत्र लान्थे नि भन्दा हजुर’आमाको सारीमा लुक्छु पुलिस देखे भनेर सम्म भनिन, म त नराम्रोसँग ट्वाँ परे, यति सानैमा यस्ती खुरापाती मेरी सानी नाताले साली भोली पर्सी झन के छोईसाध्य होलिन् र? भनेर। ८. हुनेवाला बुढीसँग टिकाटाला गर्न जाँदै थिए, जहाज गिरानमा गए पछि था’ह भो, मुला मलाई त वेटिङ्ग लिस्टाँ हाल्देको रै’छ, आफ्नो फेरी अर्को जहाज गिरानाँ कनेक्टिङ्ग फ्लाईट थियो। आफुलाई त्यसै पिर परि सक्या थ्यो, साला बल्ल बल्ल छुट्टि मिलाएर, जान लाग्या, त्यो नि वेटिङ्ग लिस्टा पर्यो, अर्को पिलेन छुट्यो भने त नगए नि हुने भयो भनेर दिक्दारीमा बसी रा’को थिँए। त्यहि बेला मेरी अहिलेकी जहानले फुन अरिन, अनि मैले वेटिङ्ग लिस्टा भएको जहाज चढ्न पाम्ने नपाम्ने पक्का नभएको तर पिर नगर्नु भोली बिहानसम्म जसै आईपुग्छु भनेर भन्दा भए। एक छिन पछि काउण्टराँ गएर आफ्नो कनेक्टिङ्ग फ्लाईट भएको र यो पिलेनाँ जान नपाए फ्लाईट छुट्ने, अनि आफ्नो मग्नी गर्न नपाम्ने कुरा काउण्टराँ बसेकी कण्डक्टरलाई भने, अनि उस्ले नेक्स्ट एभाईलेभल सिट विल बि योर्स भनेर लिस्टा अगाडी सार्दी मलाई, अनि एक छिनाँ पिलेनाँ चढ्न पाए। पिलेनाँ चढे पछि, अहिलेकी जहानलाई फुन अरेर आफुले जहाज चढ्न पाएको सुनाए, उता’ट कसरी मिल्यो, वेटिङ्गा राखेको होईन भनेर ४ ५ वटा प्रश्न एकैसाथ गर्दा भईन, अनि मेरो खुरापाती दिमाग जहानको लागि दोस्रो पटक चल्यो। (पहिलो पटक त कोक वाला घटना थियो)। अनि मैले रोई कराई गरेको अनि मुढामा बसेर जान्छु भनेर भनेको अनि मुढामा बस्न दिएको भनेर भने। अनि पिलेनाँ नि कतै मुढा हुन्छ र भनेर सोधिन, अनि मैले ट्वाईलेट नजिकैको खाली ठाममा मुढा राखेर त्यसैमा बसेर आम्दै छु भनेर भन्या, हजुरलाई साह्रै दुःख भयो है भनेर भन्छिन। एक छिन हाँसो लाग्यो अनि, ‘लाटी सिट पाएर चढ्या, कहाँ पिलेनाँ नि मुढा हुन्छ त’ भनेर भनेको, यस्तो बेला नि हजुरलाई मजाक गर्नु पर्छ है, कस्तो मान्छे हजुर भनेर ठुस्कीईन, भोलि पल्ट टिकाटालो गरुन्जेलसम्म नि फकाउदाँको सास्ती आफुलाई !! ९. यसो सरको घर तिर गईएको थियो, अनि घुम्ने ठाँउहरु खोज्दै जाँदा एउटा जङ्गल सफारी, जङ्गली जनावर भनेर प्रचार गरेको ठाँउ भेटियो। जाँउ न त घुम्न भनेर घुम्न जाँदा, एउटा ठुलो तलाउ रै’छ, त्यहाँ अलि अलि जलचर रै’छन, बाघ र सिँहलाई खोरमा राखिएको रहेछ, अनि घरेलु जनावर भनेर बाख्रा कुखुरा पनि देखाउन राखिएको रहेछ। अनि जङ्गल सफारी हेर्ने भनेर टिकेस काटेर बस चढियो। जे होस अरु त सबै ठिकै हो, तर जुन आशा लिएर गईएको थियो त्यो पुरा भएन, नयाँ नयाँ कुरा चाँहि था’ह हुन गयो। निल गाई देखि लिएर चौरि गाईसम्म त्यहाँ थिए, चार पाँच थरी हरिण मृग के के थिए, समग्रमा ठिकै रह्यो यात्रा। १०. एक समय सिकागो बसिन्थ्यो, त्यहाँ हुदाँ गाडी थिएन त्यसैले सार्वजनिक यातायात नै एक मात्र बिकल्प थियो। म एक जना मधेशी साथिसँग बस्थे अनि मैले नै उस्लाई सार्वजनिक यातायात चढ्दा हिन्दिमा कुरा गरम भन्थे, कारण नेपाली भेटिए भने हजार थरी प्रश्नका सय थरी जवाफ दिनु पर्थ्यो। एक पटक बसमा घर जाँदै थियौ, हामी सदा झै हिन्दिमा नै कुरा गरिरहेका थियौँ, त्यहि बेला दुई जना नेपाली जस्ता देखिने युवती बसमा चढे, अनि हाम्रो अगाडीको सिटमा आएर बसे। हामी अलि अलि हिन्दिमा कुरा गर्ने अनि तिनिहरुको कुरा सुन्ने गर्न थाल्यौ, त्यसैमा एउटा केटीले अर्को केटीसँग त्यहाँ नभएकी अर्कीको कुरा गर्न थाले, त्यो सुन्दा त्यहाँ नहुने केटी नसुतेको तिनीहरु पढ्ने कलेजमा कोहि छैन भन्ने किसिमले कुरा गरे। अनि एक छिन पछि उनिहरु नै सुतेका केटाहरुको कुरा गर्न थाले, को कति समय टिक्यो, कस्को ठुलो भन्दै कुरा गर्न थाले। केहि समयमा हाम्रो झर्ने ठाम आयो, झर्यौ, अनि राम राम भन्दै आफ्नो बाटो लागेम। या’त ति अपवाद हुन सक्छन, या’त ति अधिकाँश नेपाली बिधार्थीका प्रतिबिम्ब हुन सक्छन, कसैको चरित्र हत्या गर्नु मेरो उद्धेश्य होईन, र तिनले गरेका क्रियाकलाप हाम्रो समाजलाई अपाच्य होला, कसैलाई जज गर्नु मेरो मनसाय होईन। ११. एक पटक एक जना दाइ भाउजुकोमा खाना खानको लागि गईयो। अनि त्यहाँ पुगेपछि भाउजुले आफ्नो कम्युटरमा भाईरस लागेको, पेजहरु खोल्दा दशथरी कुरा खुल्न थालेको लगायतका समस्या तेसार्नु भयो। अनि मैले सोझो तरिकाले सोधे, के चलाउनु हुन्छ र कम्युटरमा भनेर सोधे। के चलाउछन र कम्युटरमा, त्यहि फेसबुक, युट्युव त हो नी, अरु के चलाईन्छ र भनेर बम्किन थाल्नु भयो। हैन साधारण सबालमा किन बम्किनु भयो भनेर सोध्दा उल्टो हाम्ले त्यस्तो चाहिने नचाहिने केहि चलाम्दैनम भनेर झन झन चर्को स्वर गर्नु भयो। अनि भाउजु बम्केको रमाईलो लागेकोले अझै दिक्क बनाम्न त भाउजुलाई भनेर, चाहिने नचाहिने केहि चलाम्दैनम भनेर के भन्न खोज्नु भएको हो भाउजु भनेर सोधे, भाउजुको पारो त १०० नाघि सक्या रै’छ, सफ्टवयर ईन्जिनियर हुनुन्छ भनेर बनाईदिनुस भन्या हो, नानाँभाँति सोध्नुहोला भनेर भनेको होईन भनेर भन्नु भयो। अनि मैले सबैभन्दा पहिला के के ईन्स्टल गर्या रै’छ भनेर हेर्न थाले, घरी घरी त त्यो कम्युटरमा ईन्स्टल नभएको के छ होला जस्तो पनि लागी सक्या थ्यो। त्यो हेर्दै गर्दा, "ह्या भाउजु नानाँभाती सोध्या होईन, बनाउनु अघी केले गर्दा बिग्र्या हो था’ह भए सजिलो हुन्छ भनेर सोध्या हो" भन्दा भए। भाउजु किचनमा भुन्भुनाउदै हुनुन्थ्यो, अनि यसो ब्राउजर हिस्ट्री तिर आँखा लगाएको, पुरै निलो पृष्ठभुमी f लेखेका पेजहरु मात्र रै’छ हेर्नु भएको रै’छ, कता कुती डिसीनेपाल अनि त्यस्को अगाडी, डिसीनेपाल क्लिकिदाँ निस्कने बिज्ञापनका पेजहरु देखिए। नचाहिने जस्ता प्रोग्राम निकालेर फाल्दिए, ब्राउजरमा बिज्ञापन रोधक उपकरण जडान गरिदिए, अनि क्लिक गर, ईन्स्टल गर भन्यो भन्दैमा ईन्स्टल, क्लिक नगर्नुस है भनि कम्युटर फिर्ता दिदाँ भए। म अझै पनि बुझ्न सक्या छैन, के चलाउनु हुन्छ भन्दा भाउजु किन त्यसरी बिच्कनु भयो? १२. म पढ्न आएको युनिभर्सिटीमा नेपाली धेरै नै थिए, अनि दशैको बेला कार्यक्रम गर्ने निधो गरे। अब यसो नाँचगान गर्नु पर्यो भनेर नाच्ने मान्छे खोज्दा भेटिएन, अनि जो होगा देखा जाएगा भनेर म नै नाच्न तम्सिए। दुईटा गि’ता नाच्नु पर्ने भयो। एउटामा त केटा केटाहरु नाच्ने बोका जसरी उफ्रे नि हुने अर्कोमा केटीसँग जोडि मिलाएर नाच्नु पर्ने। मेरो भागमा परेकी नतर्की अली खाईलाग्दी थिईन। नाच सिकाम्ने एकजना बहिनी थिईन्, अनि तिनले भने अनुसार जसो तसो नाच्दै थिए। नाचको एक ठाममा नतर्कीको कम्मर समाउनु पर्ने थियो। मैले त कम्मरमा हात लग्यो कि बुरुक्कै उफ्रिने ति नतर्की अनि मैले यसो कम्मर नजिक हात लगेर कम्मर समाए जसो गरि जिउ हल्लाउथे। एकपटक ति नाच सिकाउने बहिनीले त्यहि स्टेप तिनीसँग गर्न भनिन, आफु त कम्मर नसमाउने नजिकै लाने बानी परेको, बहिनिले प्वाक्कै मुख फोरेर भनि हालिन कम्मर समाउन कि के लजाको भनेर। अब मेरो पार्टनर कम्मर छुने बित्तिकै उफ्रिन्छन भनेर त के भन्नु भनि, त्यसो हैन के बहिनी, मेरो पार्टनर र तिम्रो कम्मरको नाप हेर त, अनि त्यत्रो कम्मर समाको हात त्यसैमा बानी परेको हो, लजाको होईन भनि भन्या मुर्छा परेर हासीन। पछि ति बहिनी अलि नजिक भईन, धेरै कुरा गर्न थालियो, अनि बेला बेला त्यहि कुरा झिक्थिन जिस्काउनु पर्दा, अनि मैले एक पटक भन्दे, तिनको उफ्राईले गर्दा हो भनेर। बल्ल बल्ल नाच्न तयार भएकीलाई अरु दवाब दिदा नाच्ने मान्छे नपाईएला भनेर हो बहिनी समाउन लजाउने मान्छे होईन तिम्रो दाइ भने। त्यो पनि भनि पासो भयो साह्रै चोके रै’छिन् भनेसी दाइ समाउदै हिड्ने मान्छे हो भनेर अझै पनि जिस्काउँछिन, त्यसको जवाफ जति फुरे पनि दिन उचित नठानेर दे’को छैन। १३. गाँजा नेपालमा हुदाँ पिईएको हो। आईएस्सी पढ्दा सँगतले भनौ या आफ्नो खुसीले भनौ गाँजा पिईन्थ्यो, तर पछि त्यसरी पिईएको थिएन। अम्रिकामा आए पछि एक पटक एउटा पाकिस्तानीले गाँजा पिउने अफर गर्यो, लौ त कस्तो हुदोँ रहेछ भनेर हुन्छ पनि भनियो। अनि म सँगै बस्ने तिन जना नेपाली र एउटा पाकिस्तानी भएर एउटा शुक्रवारलाई गाँजा शुक्रवार बनाउने भईयो, गाँजा मेक गरिरहदाँ हाम्रो कुईरे घरपेटि पनि आएर ज्वाईन गर्यो। नेपालमा फिल्टर चुरोटमा सुर्ति मिसाएर तानिएको थियो, यहाँ सोल्टिले गाँजा बाहेक केहि नराखी एउटा एउटा हनी सिगार पाईन्छ, त्यसैबाट सिगारको सुर्ति फालेर गाँजा मात्रै राखेर बेर्यो। दुईटा बनाएको थियो, आफुले त कति तानियो था’ह भएन तर २ ३ सर्को ताने पछि भुनुनुनुनुनुनुनुनुनुनुनननन्नन् घुमाउन थाल्या थ्यो। अनि अर्को कुरा याद भएको भनेको सुत्ने बेला पुरै रोलरकोष्टर राईडको अनुभव गरायो, साला त्यहि बेला झुक्किएर कल्पनामा युद्ध मैदानमा पुगिएछ, अनि त के चाहियो गोलि त कति छलाईयो छलाईयो सम्झिदा पनि हाँसो लागेर आउछ। पछि फेरि गाँजा खाए पछि त बमिट हुन्छ रे भनेको सुनियो, अनि त बमिट नगरी सुखै पाईएन :)) जे होस नेपालमा खान नजानेर हो या के हो, तर यो अमेरिकी अनुभवले गाँजा कहिल्यै नछुने गरि कसम दिलायो। Last edited: 28-Sep-18 11:38 AM

_ · Sep 28, 2018 11:38 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion