भयंकर आगलागीबाट बाँचेको खुसियालीमा मनाइएको थियो म्हः पूजा-साफल्य अमात्य

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

भयंकर आगलागीबाट बाँचेको खुसियालीमा मनाइएको थियो म्हः पूजा साफल्य अमात्यकाठमाडौं, कात्तिक २२ म्ह: पूजा कसरी मनाउन थालियो भन्नेबारे संस्कृतिविद् साफल्य अमात्यको 'काठमाडौं नगरायण: काठमाडौं नगरको उद्भव, नगरायण र संस्कृतिको इतिहास' किताबमा उल्लेख छ। आज नेपाल सम्बत् ११३९ र म्ह: पूजाको अवसरमा हामीले किताबको उक्त अंश साभार गरेका छौं: प्रचलित वंशावलीअनुसार कान्तिपुर निर्माणको श्रेय राजा गुणकामदेवलाई दिइएको छ। गुणकामदेव प्रथम इस्वी ९८७ देखि ९९० ताका नेपाल उपत्यकाका राजा थिए। उनी राजा नरेन्द्रदेवका भाइ थिए। उनलाई सपनामा महालक्ष्मीले आज्ञा गरिन्, ‘हे राजा, तिमी बागमती र विष्णुमतीको संगमनिर, जहाँ कान्तिश्वर महादेवले बास गरेका छन्, त्यहाँ एउटा पुरी बनाऊ। त्यस पुरीलाई खड्गाकार बनाई कान्तिपुरी भनी नाम देऊ।’ देवीको आज्ञाअनुसार राजाले पनि कलिगत वर्ष ३८२५ (इस्वी ७२४) मा १८ हजार घर भएको कान्तिपुर सहर बसाले। वंशावलीको यो विश्लेषण हेर्ने हो भने कलिगत वर्ष ३८२५ (इस्वी ७२४) मा नेपाल उपत्यकाका राजा जयदेव द्वितीय थिए। कान्तिपुरको निर्माण अर्थात्, कोलिग्राम र दक्षिण कोलिग्राम संयुक्त भई एउटै सहरको रूपमा विकसित हुने क्रमको सुरुआत भने दसौं शताब्दीमा राजा गुणकामदेवको समयदेखि मात्र भएको हुने सम्भावना धेरै छ। लिच्छविकालमा टुकुचा र धोबीखोलाको बीच ठूलो बस्ती थियो। त्यो लिच्छविहरूको राजधानी सहर पनि थियो। यसका सीमाना थःबही (ठमेल), लाजिम्पाटदेखि उत्तरमा धुम्बाराही, पूर्वमा ग्वल (देवपाटन), दक्षिणमा कोरीगां (दक्षिण कोलिग्राम), बागमतीको किनारसम्म फैलिएको थियो। आजभोलिको नक्साल, नारायणहिटी, बानेश्वर, ज्ञानेश्वर सबै यसैभित्र पर्थे। यो सहर निकै ठूलो हुनाले वंशावलीहरूमा यसलाई ‘विशालनगर’ भनी नामाकरण गरिएको छ। अन्तरिम कालको आखिरी र मल्लकालको सुरुताका नै यो सहर विस्तारै स–साना टुक्रामा विभक्त भई टाढाटाढा छुट्टिन लागेको देखिन्छ। मल्लकालको उत्तरार्द्धमा यहाँ धेरै स–साना बस्ती तथा गाउँहरू विकसित हुन थाले। जस्तै– हाँडीगाउँ, नरा (टुँडालदेवी), मघा (मैतीदेवी द्यःछे), नङ्सां (नक्साल), टंगाल, ज्ञानेश्वर आदि। तर, यति ठूलो विशालनगर सहर कसरी टुक्राटुक्री भई स–साना गाउँबस्तीमा परिणत भयो भन्नेबारे कतै उल्लेख पाइँदैन। धेरैजसो वंशावलीहरूमा ठूलो आगलागीद्वारा विशालनगर ध्वस्त भएको कुरा भने रोमाञ्चक किसिमले दन्त्यकथाका रूपमा उल्लेख गरिएको छ। वास्तवमा राघवदेवको समय (इस्वी ८७९) तिर प्राचीन विशालनगरमा भएको भयंकर आगलागीले उपत्यकावासीहरूको जीवन नै तहसनहस पारिदियो। सबैको घरबार उजाडियो। सबैको धनसम्पत्ति हानी भयो। यो यति ठूलो दुर्घटना थियो, उपत्यकावासीहरू आजभन्दा एघार सय वर्षअघि भएको यो दुर्घटनालाई आज पनि सम्झन्छन्। यो दुर्घटनामा लिच्छविहरूका प्राचीन राजधानी र दरबारहरू मानगृह र कैलाशकुट भवन पनि ध्वस्त भए। यति ठूलो दुर्घटनाबाट ज्यान जोगाउन सफल भएका उपत्यकावासीहरूले खुसियाली मनाउन थाले। कात्तिक शुल्क परेवाका दिन नयाँ सम्बत् चलाए। सोही दिन म्हः पूजा (आत्मपूजा) गरी रक्सी, फुल, माछा, मासु र मासको बारा राखेर सगुन खाने चलन चलाए। यो चलन नेवार समुदायमा जीवितै छ। आगलागीपछि धेरै देशवासी यत्रतत्र छरिएर बसोबास गर्न थाले। धेरै मान्छे बन्दबेपारले धनी हुँदै गएको नजिकैको दक्षिण कोलिग्राम (अहिलेको वसन्तपुर, असन, इन्द्रचोक लगायत मध्य काठमाडौं सहर) मा आएर बसोबास गर्न थाले। कोही भने ललितपुरतिर बस्न गए। प्राचीन विशालनगर क्षेत्र हाँडीगाउँ, मालिगाउँ, टंगाल इलाकामा धेरै कम मात्र मान्छे बस्न थाले। यसको पुष्टिस्वरुप विजयादशमीको साँझ निस्कने खड्ग यात्रा (पायः) हो। असनटोलबाट निस्कने खड्गयात्रामा सहभागीहरू प्राचीन विशालनगर क्षेत्रबाटै आएका हुन् भन्ने चलन छ। केही मानन्धर, मल्ल र ललितपुरका केही भद्र परिवारका मान्छेको कुलदेवी पनि अझै श्रीमन्मानेश्वरी देवी नै छन्। यसरी मन्मानेश्वरी देवीलाई कुलदेवी मानेर पूजा गर्ने सम्पूर्ण मान्छेका पुस्ता प्राचीन विशालनगरवासी नै थिए भन्न सकिन्छ। त्यसैले, राघवदेवले नेपाल सम्बत् सुरु गरेको धेरै वर्षपछि मात्र गुणकामदेवलाई कान्तिपुर निर्माण गर्नु आवश्यक भएको पनि यहाँ पुष्टि हुन्छ। प्राचीन राजधानी ध्वस्त नभएको भए नयाँ सहर तथा राजधानी कान्तिपुर निर्माण गर्नुपर्ने आवश्यकतै थिएन। प्रकाशित मिति: बिहिबार, कात्तिक २२, २०७५,

_____ · Nov 8, 2018 8:20 AM · 11,539 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion