साथीसँग फोनमा कुरा गर्दागर्दै एक नेपाली युवाले अमेरिकाको क्यालिफोर्नियामा पासो लगाएर आत्महत्या गरेका छन् । सन्नीभेल सहरमा बस्दै गरेका २४ वर्षीय गणेश तिवारीले बिहीबार आत्महत्या गरेका हुन् । उनी नवलपरासीका हुन् । आत्महत्या गर्नुअघि तिवारीले नजिकै बस्ने अर्की एक साथीलाई भिडियो कल गर्दै आत्महत्या गर्न लागेको बताएका थिए । परीक्षा दिन तयार रहेकी ती साथीले जिस्किएको ठानिन् । तैपनि अर्का एक साथीलाई तिवारी बस्ने घरमा पठाएकी थिइन् । ‘ठट्टा सोच्दासोच्दै सत्य भयो,’ उनका साथीले भने । तिवारी हाइल्यान्डर अपार्टमेन्टमा दुईजना साथीसँग बस्दै आएका थिए । ती साथीहरूका अनुसार अरू वेला पनि उनी आत्महत्या गर्ने कुरा गरिरहन्थे । ‘अमेरिका आएपछि पहिला पनि कोसिस गरेँ, तर सकिनँ भन्थ्यो,’ उनका एक साथीले भने, ‘जे कुरा गर्दा पनि एकदम उत्साहित हुन्थ्यो, जसले जे गरम् भने पनि ल गरम्–गरम् भन्थ्यो ।’ Photo : peoplespostmedia बिहीबार दिउँसो ३ बजेदेखि काममा जानुपर्ने तिवारी ढिलो समयसम्म नउठ्दा उनका ‘रुममेट’ र अर्का एक विद्यार्थीले ढोका फुटाएका थिए । राति अबेरसम्म ग्यास स्टेसनमा काममा गएर आएपछि अर्को दिन उनी अबेरसम्म सुत्ने गरेका थिए । ‘दुई–चारपटक ढोका ढक्ढक्याउ“दा पनि खोलेन, सुतेकै होला भनेर उठाइनँ,’ उनका साथीले भने, ‘काममा जाने वेला हुँदा पनि नउठेपछि फोन गर्दा उठाएन, ढोका फुटाएर भित्र पस्दा झुन्डिराखेको थियो ।’ उनीहरूले नै प्रहरीलाई खबर गरे । २०१६ अगस्टमा विद्यार्थी भिसामा अमेरिका आएका तिवारी मिनिसोटा युनिभर्सिटीमा कम्प्युटर साइन्स पढ्न भर्ना भएका थिए । तर, ग्र्याजुएट नभई झन्डै डेढ वर्षअघि उनी क्यालिफोर्निया आएका थिए । उनले आत्महत्या गर्नुको कारण खुल्न सकेको छैन । साथीहरूसँग उनले पटक–पटक भाइलाई पढ्न अस्ट्रेलिया पठाउनुपर्ने कुरा गर्थे । तिवारीका बुबा माओवादी द्वन्द्वकालमा बेपत्ता भएका थिए । उनकी आमा, एक भाइ र दुई दिदी छन् । दिदीहरूको बिहे भइसकेको छ । बे एरियामा रहेका नेपालीको संस्था सन्नी सगरमाथा समाजले तिवारीको परिवारलाई सम्पर्क गर्ने र मद्दत गर्ने कोसिस गरिरहेको छ । गो फन्डनामक अनलाइन चन्दा संकलन गर्ने साइटबाट नेपालीलाई अनुरोध गरेर उनको अन्तिम संस्कारको प्रबन्ध मिलाउने प्रयास गरिरहेको छ । उनको शव नेपाल नै लैजाने कि यहीँ अन्तिम संस्कार गर्ने टुंगो लागेको छैन । ‘उहाँको परिवारका सदस्यहरू कुरा गर्न सक्ने अवस्थामा हुनुहुन्न,’ समाजसेवी हरिहर दाहालले भने, ‘एक–दुई दिनमा तय हुन्छ होला ।’ उनको मृत शरीर नेपाल लैजान २५ हजार डलरभन्दा धेरै खर्च हुने बताइएको छ । पछिल्लो तीन वर्षबिचमा क्यालिफोर्नियामा चारजना विद्यार्थीले आत्महत्या गरिसकेका छन् । गत सेप्टेम्बरमा सानफ्रासिस्कोको गोल्डेनगेट पुलबाट हामफालेर अर्का एक नेपालीले आत्महत्या गरेका थिए । किन गर्छ्न आत्महत्या ? बे एरियामा सक्रिय समाजसेवी हरिहर दाहालका अनुसार अपरिपक्व उमेरमा धेरै तनाव लिनुपरेका कारण नेपाली युवाहरू आत्महत्या गर्ने अवस्थामा पुगेका छन् । मध्यमवर्गीय वा निम्न–मध्यम वर्गीय परिवारले ऋण खोजेर अमेरिका पढ्न पठाएका विद्यार्थी यहा“ आएपछि सोचेअनुसार नभएपछि कुलतमा फस्दै आत्महत्या गर्ने अवस्थासम्म पुग्ने गर्छन् । ‘नेपालबाट नै ऋणको भारी बोकेर आउँछन्, यहाँ आएपछि कोठाभाडा, क्याम्पस शुल्क आदिले उनीहरूलाई घेर्छ,’ दाहालले भने, ‘नेपालमा बा“चेकोभन्दा दुःखदायी जीवन र दैनिकी भएपछि आत्महत्याको बाटो रोज्छन् ।’ विदेश पढ्न आउने वेलामा धेरै सोचेर मात्र आउनुपर्ने उनको सुझाब छ । ‘विदेश गएर पढ्दा मात्रै राम्रो शिक्षा पाइन्छ भन्ने हुन्न,’ उनले थपे, ‘देखाइने राम्राभन्दा नदेखाइने दुःखका पाटाहरू धेरै हुन्छन् ।’ यसरी ऋण गरेर आएका सबै विद्यार्थी बिग्रिएका नै छन् भन्नेचाहि“ होइन । कतिपयले दुःख गरेर पनि सम्हालिएका छन् ।’ विद्यार्थी भिसामा आउनेका समस्या छात्रवृत्ति पाएर पढ्न आउने विद्यार्थीलाई केही सहज भए पनि आफैँ पैसा तिरेर पढ्न आउने विद्यार्थीका लागि भने अमेरिका ‘निल्नु न ओकल्नु’ झैँ हुने विद्यार्थीहरू बताउँछन् । ‘उताबाट के–के न हुन्छ भनेर आयो, यहाँ आएपछि वास्तविकता थाहा हुन्छ, पैसा धेरै खर्च भइसकेको हुन्छ, फर्केर जान सकिँदैन,’ पढ्दै काम गर्दै गरेका एक विद्यार्थी भन्छन्, ‘हामीलाई यहाँ आएर पढ्न जति महत्वकांक्षा हुन्छ, बाबुआमालाई छोराछोरी विदेशमा गएर राम्रो पढ्लान् भन्ने सपना धेरै हुन्छ, अनि ऋण खोजेर पठाइदिन्छन् ।’ अमेरिका आउँदाको ऋण, क्याम्पस शुल्क र कोठाभाडाका कारण नेपाली विद्यार्थीले मानसिक दबाब झेल्नुपरेको छ । विद्यार्थी भिसामा पढ्न आएपछि त्यसैको मापदण्डमा रहनुपर्छ । क्याम्पसको शुल्क तिर्नु विद्यार्थीका लागि मुख्य समस्या हो । नेपालबाट पैसा पठाएर पढ्न सक्ने अवस्था हुँदैन । ‘रुपैयाँमा कमाएर डलरमा खर्च गर्न सकिँदैन,’ एक विद्यार्थीले भने । विद्यार्थी भिसामा आएका कतिपय विद्यार्थीले भने हप्ताको दुई–तीनपटक राति क्याम्पस जाने र दिउ“सो बाहिर काम गर्ने गर्छन् । सामान्य क्याम्पसमा पढ्दा पनि विद्यार्थीले एक सेमेस्टर (४ महिना)को कम्तीमा ६ लाख नेपाली रुपैयाँ बुझाउनुपर्ने हुन्छ । क्याम्पस शुल्कपछि अर्को पाटो विद्यार्थीको बसाइको हो । चर्काे भाडाका तिर्न गाह्रो हुन्छ । बे एरियामा नेपालीहरू अपार्टमेन्ट सेयर गरेर बस्ने गर्छन् । अपार्टमेन्ट जसको नाममा छ, उसले मनलाग्दी पैसा उठाउनाले समेत विद्यार्थीहरू चर्को मारमा पर्ने गरेका छन् । ‘बैठक कोठामा बसेकै ६ सय डलर लिन्छन्,’ एक नेपालीको बैठक कक्षमा बस्दै आएका विद्यार्थीले भने, ‘बैठकमा पढ्न त के सुत्नसमेत आफूले भनेअनुसार पाइँदैन ।’ क्याम्पस जान छाडे र शुल्क नबुझाए विद्यार्थीको अमेरिका बस्ने कानुनी मान्यता सकिन्छ । विद्यार्थीले कलेजभित्र हप्ताको २० घन्टा काम गर्न पाउँछ । त्यसमा कमाइ हुँदैन । क्याम्पसबाहिर जुन विषयमा पढ्दै गरेको हो, त्यो विषयको तालिमका रूपमा भने हप्ताको २० घन्टा बाहिर गएर काम गर्न पाउँछ । तर, त्यसका लागि क्याम्पसबाट करिकुलम प्राक्टिकल टे«निङ (सिपिटी) नामको कागज बनाउनुपर्ने हुन्छ । ‘पढ्दै गरेको विषयमा बाहिर काम पाउन मुस्किल हुन्छ,’ मिसिसिपीमा पढ्दै गरेका एक विद्यार्थीले भने, ‘त्यही भएर धेरैले गैरकानुनी रूपमा नै काम गर्छन् ।’
Sahara Koirala · Dec 2, 2018 10:40 PM · 7,573 views
गणेश भाई को आत्मा ले सान्ति पओस्। Last edited: 03-Dec-18 07:48 PM
talu_budo · Dec 3, 2018 12:14 AM
RIP
Hem Narayan Chhantyal · Dec 3, 2018 9:51 AM
RIP
ehho2 · Dec 3, 2018 12:11 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion