लिजवनमा गर्मी असाध्यै छ। गर्मी पनि यति छ कि खाडी देशको गर्मीलाई माथ नै गर्ने गरी। केही दिन अगाडि यस्तो गर्मीमा पनि मार्टेमुनिजको चउरमा एक जना एसियन मूलका युवा एक्लै बसिरहेका थिए। झट्ट हेर्दा मधेसी मूलका या भारतीय जस्तै देखिन्थे उनी। हतपत ‘नमस्कार दाइ’ भने। मैले भने, ‘कसरी चिन्नु भो म नेपाली हुँ भनेर।’ उनले हाँस्दै भने, ‘तपाईं ले ढाका टोपी लगाउनु भएको त्यसैले चिनें।’ मैले भने, ‘हो त मैले त ख्याल नै नगरेको टोपीको त।’ ‘अनि दाजुको घर कहाँ नि? कहाँबाट आउनु भएको? कति भयो आएको कार्ड बन्यो कि बनेन?’ सबै प्रश्न एकैचोटि सोध्न भ्याए। मैले हाँस्दै भने, ‘बरु तपाईं भन्नुस् यस्तो घाम लागेको छ, यस्तो गर्मीमा किन बसेको त यहाँ? अनि मेरो कुरा गरौंला।’ ‘म आएको बल्ल ४ दिन भो लिगल इन्ट्री त गरेँ अब फिनान्स भरिदिने कोही नेपाली पाउँछु कि भनेर यो पार्कमा बसेको’, उनले बस्नुको कारण सुनाए। मैले भने, ‘हैट! यस्तो गर्मीमा यहाँ बसेर पनि कोही भेटिएला त?’ ‘भेटिन्छन्। जस्तो तपाईं भेटिनु भयो,’ उनले फिस्स हाँस्दै भने। मैले उनलाई यहाँ आउनुको कारण र नेपालमा हुँदाकोबसाइँको बारेमा सोधेँ। ‘म नेपालमा हुँदा प्लस टुमा पढाउँथें। फ्रान्समा आइएमबिए गर्न आएको। फसियो हजुर फसियो’, उनले लामो सास तान्दै भने। म छक्क परेँ। नेपालमा लेक्चर भएको मान्छे पनि किन आएको? बुझ्न मन लाग्यो। किन के कारणले फसे जान्न मन लाग्यो। मैले सोधें, ‘कसरी आउनु भयो बताउनुस् न?’ हामी अपरिचितमै आत्मीय जस्तो भयौं। उनी काठमाडौं नैकापका स्थानीय रहेछन्। बुवा, आमा श्रीमती र तीन सन्तानका बुवा उनी आफ्नो विगत र वर्तमान यसरी बताउँदै गए। ‘मैले अङ्ग्रेजी विषयबाट त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर (एमए ) गरेँ। प्राइभेट कलेज र उच्च माविमा अङ्ग्रेजी विषय पढाउँथें। मोटरसाइकलको पेट्रोल खर्ज कटाएर पनि ४०/४५ हजार बच्थ्यो। वरिपरिका आफन्त नातेदार सबै विदेश। परिवार, श्रीमतीले पनि विदेशमा गए केही पैसा कमाउन सकिन्छ कि भनेर सल्लाह दिए। सल्लाह अनुसार बागबजारको एक शैक्षिक परामर्श केन्द्रमा पुगें। त्यहाँ म जस्तै कोही त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारी जागिर खाँदै गरेका इन्जिनियर, कोही स्कुल बोर्डिङका शिक्षक सबै आएका थिए। हामी ९ जनाले कन्सल्टेन्सीमार्फत् फ्रान्सको एक कलेजमा आइएमबिएको लागि अप्लाइ गर्यौं। १२ दिनमै भिसा लाग्यो। भिसा लागेपछि हामी फ्रान्सको लियोन इन्टरनेसनल बिजनेस स्कुल ( इकोल डी कमर्स डी लियो) मा जाने पक्का भयो। एक वर्षको लागि कलेज फि अनि यताउता गर्दा १० लाख खर्च बुझाएर प्रस्थानको लागि एयरर्पोट पुग्यौं। एयरपोर्टमा एजेन्सीको मान्छेले भन्यो, उता एयरपोर्टमा मान्छे लिन आउँछन्। जनही ५०/५० युरो दिनू। हामीले सहमति जनायौं र फ्रान्सका लागि रवाना भयौं। फ्रान्सको एयरपोर्टमा हामीलाई लिन २ जना नेपाली आए। ९ जना ले ४५० युरो दियौं। जब कलेज गइयो नेपालबाट सोचे र भने जस्तो पटक्कै थिएन। ३/३ सय तिरेर अपार्टमेन्टमा बस्यौं। फ़्रैन्च भाषा हामीलाई पटक्कै नआउने। भाषा नभई काम नपाउने। ३ महिनाको त्यहाँ बसाइपछि म पेरिस आएँ। पेरिसको लाभोर्जमा केही हप्ता बसेँ। तर अहँ भाषा पटक्कै आएन। फ्रेन्चहरू अङ्ग्रेजी जाने पनि अङ्ग्रेजी बोल्दैनथे। ४ महिनाको बसाइँ चार युग जस्तो भयो। मैले हरेस खाएँ। एक जना गाउँले भाइलाई सबै कुरा भने उनले पोर्चुगल जान सल्लाह दिए र पोर्चुगल आएँ।’ उनी यति मै रोकिएनन्। ‘कसम मित्र, मेरो खर्च भएको रकम मात्र उठाउन पाएँ फर्कन्थें। आफू नमरी स्वर्ग देखिदो रहेनछ भन्ने यही रहेछ’, उनले गहभरि आँसु छछल्काउँदै भने। मैले उनलाई ढाडस दिँदै भने,‘मित्र तपाईं जस्तोको आँसु विदेशमा धेरैको छछल्किएको छ। म तपाईंको फिनान्स भर्ने काम र बास खोजिदिने काम गरिदिन्छु। बाचा भयो।’ भोलिपल्टै मैले आफ्नो बाचा पूरा गरिदिएँ। हिजो आज मसँग सम्पर्क छैन तर मलाई उनका आँखामा छछल्किएको त्यो दिनको आँसु अहिले पनि मनमा गडेर बसेको छ। साह्रै नमज्जा लाग्छ अहिले पनि त्यो क्षण सम्झदा। मनमनै सोचेँ, ‘आँसु र पीडा नभोगेका को होलान् र युरोपमा। हामी नेपालीको उनको जस्तो अवस्था धेरैले भोगेका छौं। आशा गर्दछु कामना गर्दछु पोर्चुगलमा आँसु छछल्किएको लेक्चरको अनुहारमा चाँडै चमक आओस्।’
itiahariko · Aug 20, 2019 2:56 PM · 6,409 views
कपी & पेस्ट गरे पछी सभार राख्न नबिर्स | Last edited: 21-Aug-19 09:08 PM
logan · Aug 21, 2019 12:30 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion