नाइट क्लबमा ननाचिबक्स्योस् महाराज ! गणतन्त्रको जग हल्लिन्छ By सूर्य खड्का, on November 20th, 2019 हेल्लो एक्स किङ्ग? याने कि पूर्व महाराज, मिस्टर ज्ञानेन्द्र। जब राति खै के जाती ताती भने झैँ रातबिरात के सारो गरेको हो यस्तो? यो बुढेसकालमा सहरमा जाडो बढ्दै गा’बेला किन राति राति नाइट क्लबमा धाउनु परेको? एक्लै खुसुक्क पनि होइन फेरि। बुहारी, छोरी, भतिजी आफन्तसहित नाइट क्लब धाउने? कस्तो जीवन शैली सुरु गरिबक्स्या हो पूर्व महाराज यो बुढेसकालैमा? लौ ठीकै छ। नाइट क्लब त धाइबक्स्यो, बक्स्यो। फेरि किन गाना बजानामा नाच देखाउनु पर्या नि? ओहो, कम्मर मर्काई मर्काई, हात हल्लाई हल्लाई, फ्लाइङ किस बाँडी बाँडी, के के नाच देखाइबक्स्या नि ? कुन खानदानी वा सनातनी नाच हो नि यस्तो? मध्यरातको बेला नाच्दै नाच्दै कोटै उतारिदिने कस्तो रौस चल्या हो पूर्व महाराज? यो त अति सारो नै भयो कि क्या हो? <3 Posted by Himani Shah on Sunday, November 17, 2019 यसो सामाजिक सञ्जाल हेरयो महाराजकै नाचको भिडियोले अधिकांशका वाल र पोस्ट भरिएको देखिन्छ। नाचको भिडियो क्लिक नगरुँ भन्दा अटो प्ले भैदिँदा महाराज पुरै बेसुरा झैँ नाचिबक्स्या देखिन्छ। हुँदाहुँदा बुहारी हिमानी र छोरीहरू पनि रौसी रौसी नाच्या देखिन्छ। उता नाइट क्लबको भीड पुरै महाराजातिर झुम्मिएको पनि देखिन्छ। सेल्फी र फुटो हान्नेहरुको के सारो तँछाडमछाड हो नि त्यस्तो? कति न हाइप्रोफाइल्ड सेलिव्रेटी जस्तो। हैट, पूर्व महाराज । यति सारै रम्ने, जम्ने, हाँस्ने, हँसाउने र नाच्ने नगरिबक्स्योस न । यहाँलाई थाहा छैन र हाम्रो सङ्घीय लोकतान्त्रिक गणतन्त्र पुग नपुग भर्खर १४ वर्षको हुँदैछ । बल्ल बल्ल शिशु अवस्था पार गर्न लाग्या गणतन्त्रलाई के महाराजले नाइट क्लबमा नाच देखाएरै तर्साउन खोजिबक्स्या हो? त्यसो हो भने, खबरदार भोलिदेखि गाना, बजाना, नाच्न सबै बन्द गरिदिनु नपरोस्। किनकि यहाँलाई थाहा छैन र अझै पूर्ण किशोरावस्थामा नपुगेको गणतन्त्र यहाँले यसरी त्यत्रो भीडका साथ कम्मर मर्काई मकाई, हात हल्लाई हल्लाई नाचि दिँदा हल्लिन सक्छ, मक्किन सक्छ। गणतन्त्रको जगलाई नाइट क्लबको नाचको भारले नथेग्न पनि त सक्छ। धर्तीमा, जनताको मन मस्तिष्क र जीवनशैलीसम्म जरा गाडी नसकेको तर त्यत्रो लामो सङ्घर्ष गरेर ल्याएको गणतन्त्रलाई यसरी राति राति नाचेर चुनौती दिन त भएन नि एक्स मेजेष्टी। फेरि अहिले बल्ल दुई वर्ष पुग्न पनि पा छैन, दुई तिहाइको वाम सरकारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा सम्वृद्धि यात्रा तय गरेको। दुई तिहाइ सरकारले सुबिस्तासँग काम गर्नका लागि महाराजले यसरी पारिवारिक फौज नै लिएर राति राति नाइट क्लब धाउँदै नाच्दै गरेपछि सरकारको सम्वृद्धि यात्रामा पनि डिस्टर्ब हुन्छ भन्ने ख्याल यहाँलाई हुनुपर्ने होइन र? कस्तो सारो बेसोमती भैदिया भन्या पूर्व महाराजा पनि। सङ्घीय लोकतान्त्रिक गणतन्त्र भन्या यहाँले जस्तो भएको सत्ता शक्ति हाँसेरै त्याग्दिने, मौन रहेर रमिते बनिदिने, अनि सहनशील भएर जनतासँग रमाइदिने शाही शैली पनि त होइन। यति कुरा नि महाराजलाई सम्झाइरहनु पर्ने हो र? सरकार संवृद्धि यात्रामा फड्को मारिराको बेलाँ यहाँको रात्रिकालीन नाचगान पक्कै पनि ग्राण्डडिजाईनपूर्ण षडयन्त्र हुन सक्छ। यसरी नाइट क्लबमा झुम्ने जागरूक र पतित पुस्तालाई हात लिएर कतै गणतन्त्र विरुद्ध झम्टिने र सम्वृद्धिलाई भाँजो हाल्न खोज्या हो भने चैँ खबरदार है खबरदार एक्स महराज, भोलि त्यही नागार्जुनबाट पनि धपाउनु पर्ला नि। फेरि पूर्व महाराजले नाच्ने नै हो भने देश, काल परिस्थिति पनि यसो विचारेर मात्रै नाइट क्लबमा धाउनु पर्छ नि। हेर्नुस् त, अहिले पुरै देश बिरामी छ। यानेकी अहिले देशका कार्यकारी सरकार प्रमुख अर्थात् प्रधानमन्त्री साँच्चै बिरामी हुनुहुन्छ। त्यत्रो दुई तिहाइ बहुमतको सरकारका प्रधानमन्त्री बिरामी भाका बेलाँ पूर्व महाराज चाहिँ नाइट क्लबमा डान्स गर्ने? कतै यो प्रधानमन्त्री विरुद्ध कै देखासिकी त हैन? जनका मनमा चिसो पस्न नपरोस्, पूर्व महाराज, होसियार। यहाँ नाचेको भोलिपल्ट आफ्ना माग लिएर बालुवाटार पुगेका किड्नी पीडितहरूलाई बालुवाटार भित्र छिर्नै नदिएर आफू चाहिँ अर्को किड्नी थप सहितको उपचारका लागि सम्माननीय प्रधानमन्त्री ज्यू संवृद्धिको नेतृत्वका लागि झन् कडा रूपमा खडा हुन अम्रिका जाने तयारी समेतमा भैरा बेलाँ किन यहाँलाई नाच देखाउन पर्यो? दुई तिहाइ बहुमतको सरकार हाँकिरहेका प्रधानमन्त्री बिरामी हुनुको मत्लव, देशै बिमारको अवस्थाबाट गुज्रिनु हो नि हैन र ? किन की उहाँ त्यति कै आजको पदमा हुकुम प्रमाँगीबाट पुग्नु भा पनि त होइन नि । ३० को दशकको त्यत्रो सामन्तको टाउको गिँड्ने झापा क्रान्तिको जगबाट १४ वर्षसम्म जेल बसेर बल्ल बल्ल शक्तिशाली सरकार प्रमुख हुनुभाको बेला छ यो । त्यत्रो संघर्षपूर्ण बलिदान गरेर सत्तामा पुग्या दुई वर्ष नपुग्दै यसरी नाचेर प्रधानमन्त्रीको लक्ष्य हासिल गर्ने मार्गमा औला उठाई उठाई चुनौती दिन त भएन नि गाँठे । महाराजको खान्दानमा पो हार्टएट्याक्ट खान्दानी बिमार होला त, हाम्रा सम्माननीय प्रधानमन्त्री ज्यूलाई त किड्नी बिमार छ भन्ने १२ वर्ष पहिल्यैदेखिको ओपन सेक्रेट हो त । त्यत्रो १२ वर्षसम्म फेरिएको किड्नी लिएर यत्रो देश बनाउन राता दिन नभनी खटिरहेको सरकार प्रमुखलाई फेरि अर्को किड्नी थप्नु पर्ने चटारो र हतारो भैराको बेलाँ महाराज नाइट क्लबमा नाचेर के सन्देश दिन खोज्या हो? सरकार प्रमुख अर्थात् देशैले बिमार महसुस गरया बेलाँ यस्तो नाइटवाला नाचगान बन्द गरिबक्स्योस पूर्व महाराज । यो अन्ततोगत्वा गणतन्त्रकै लागि अभिशाप हुने सक्ने खतरा हुन सक्छ। महाराजलाई हेक्का हुनै पर्ने हो त , अलि अस्ति नै खै कता यहाँ नाच्दा नै, होटेल होटेल नाच्दै गणतन्त्र उल्ट्याउन लागे मसान भनेर प्रचण्ड प्रतिवाद भएको हैन र ? त्यत्रो लाल क्रान्तिको जगबाट उदाएर , शान्तिको बाटो हुँदै दुईतिहाई बहुमतबाट सत्तारुढ दलका अध्यक्ष भैसक्या मान्छेले उहिल्यै प्रचण्ड चेतावनी दिँदादिँदै पनि अझै नचेतेर किन नाइट क्लबमा नाच्दै हिँड्न परया हो पूर्व महाराज? के यहाँले पनि नाचेर प्रचण्ड जोरी खोज्या हो र? हामी सङ्घीय लोकतन्त्रवादीहरूलाई, धर्मनिरपेक्षताका हिमायतीहरूलाई सम्वृद्धि यात्राका सारथीहरूलाई अरू कुरा मत्लव छैन, तर यसरी नाइट क्लबमा डान्स चर्काउँदै हिँड्ने यहाँको चालचलन र शैली मन पर्या छैन। साँच्चै भन्या, पटक्कै मन पर्या छैन। चाहे, रातो र चन्द्र सूर्य होस वा जुनसुकै गीत होस्, गीतमा अरू नाचे पनि यहाँ र यहाँको परिवार नाचेको सुहाएन। हामीलाई सैह्य भएन। त्यसैले यसरी, उसरी, जसरी , कसरी जनतासँग नजिकिने, जनतासँग नाच्ने, गाउने, रमाउने यो पारा ठिक भएन, बन्द गरिबक्स्योस् एक्स महाराज। यो शालीन अनुरोध हो यहाँलाई जनता, देश, व्यवस्था र संविधान सबैतिरको तर्फबाट। कहिले मन्दिर गएर घण्ट बजाएर तर्साउने, कहिले सडक सडकमा मान्छे भेला गरेर भीडको त्रास देखाउने, अक्सर कुनै चाडपर्व नछुटाई सन्देश दिएर थर्काउने, कहिले मिडियाबाट धम्क्याउने, कहिले को को डाक्टर र नागरिक समाजका मान्छे भेटेर गणतन्त्र विरुद्ध लविंग गर्ने। हैन आखिर के यहाँलाई नागार्जुनतिरको बसाई पनि अब पुग्न लाग्य हो कि क्या हो? के पुरै निर्मल निवासमा कैद गरिदिनु पर्ने हो अब यहाँलाई? अरू कुरा जान्दैनम् हामी। तर यसरी नाचेर गणतन्त्रको गिल्ला गर्न छोडिबक्स्योस है पूर्व महाराज। नत्र………..। कि कसो त ? https://www.mysansar.com/2019/... Last edited: 20-Nov-19 09:30 AM
ktmpost · Nov 20, 2019 9:28 AM · 1,793 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion