नुवाकोटको बेलकोटगढी नगरपालिकाले मेयर/उपमेयर भारत जाँदा सार्वजनिक बिदा दिएको छ। बिदा दिएर मेयर राजेन्द्ररमण खनाल र उपमेयर कविता ढुंगाना सोमबार भारत गएका हुन्। २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट उम्मेदवार बनेका खनाल र तत्कालिन माओवादीकी उम्मेदवार ढुंगाना विजयी भएका थिए। नगरपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर १३ का अध्यक्ष पशुपति लोहनीका अनुसार मेयर/उपमेयर युएनओपिएस नामक संस्थाको कार्यक्रममा भाग लिन भारत गएका हुन्। ‘युएनओपिएसको कार्यक्रममा भाग लिन उहाँहरू हिजो भारत जानुभएको हो,’ वडाध्यक्ष लोहनीले सेतोपाटीसँग भने। मेयर/उपमेयर भारत जाने दिन सार्वजनिक बिदा दिएपछि अहिले विवाद भएको छ। बैठक नै नगरी बिदा दिने निर्णय भएकोमा वडाध्यक्षहरू असन्तुष्ट छन्। नगरपालिकाका अधिकृत शिवराम अधिकारीले माघ २४ गते सूचना निकालेर सोमबार बिदा दिने उल्लेख गरेका थिए नगरपालिकाले दिएको विदाको सूचनामा माघ २७ गते नगरपालिका स्थापना दिवसको अवसरमा बिदा दिने निर्णय भएको उल्लेख छ। तर नगरपालिकाकै विवरण हेर्ने हो भने उक्त नगरपालिका माघमा नभई फागुन २७ गते स्थापना भएको हो। एक महिनापछि आउने स्थापना दिवसको बिदा एक महिना अघि दिएर मेयर/उपमेयर भारत हिँडेका हुन्। स्थापना दिवस मनाउने सूचना आएपछि वडाध्यक्षहरू छक्क परेका थिए। प्रवक्तासमेत रहेका वडाध्यक्ष लोहनीले पनि एक महिनाअघि स्थापना दिवसका लागि बिदा दिने निर्णय भएकोमा आफूलाई अचम्म लागेको बताए। सूचनामा माघ २३ मा बैठक गरेर बिदा दिने निर्णय भएको भनिए पनि उक्त बैठकमा को-को उपस्थित थिए भन्ने खुलेको छैन। बिदा दिने निर्णयबारे वडाध्यक्ष र नगरकार्यपालिका सदस्यहरू पनि थाहा नभएको बताउँछन्। युएनओपिएस नामक संस्थाले नुवाकोटमा भूकम्पपछि निजी आवास पुनर्निर्माणमा सघाउँदै आएको छ। उक्त संस्थाले भारतमा भएका पुनर्निर्माणसम्बन्धी ज्ञान सिकाइका लागि भन्दै जनप्रतिनिधिलाई माघ २६ देखि फागुन २ सम्म उपस्थित हुन पत्रसमेत पठाएको थियो। - via जीवन क्षेत्री
ssk · Feb 11, 2020 8:17 AM · 2,840 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion