बिरामी अस्पतालमा छट्पटाउँदै, आफन्त अक्सिजनको लाइनमा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

२९ वैशाख, काठमाडौं । ‘खै खै कति रुपैयाँ हो, मेरो बिल काटिदिनुस्’ काँधमा बोकेको अक्सिजन सिलिन्डर भुईंमा बिसाउँदै एक युवक बोल्छन् । टेबलमा बिलप्याड र हातमा कलम बोकेर कुर्सीमा बसिरहेकी महिला ३५० रुपैयाँ माग्छिन् । ती युवक गोजीबाट हजारको नोट झिकेर थमाउँछन् । ‘खै चानचुन (खुद्रा) ल्याउनुस्, यसको खुजुरा छैन । ती युवकले पर्स हेर्छन्, गोजी खोतल्छन् । तर खुद्रा पैसा भेट्टाउँदैनन् । ‘खै छिटो फिर्ता दिनुस्, अक्सिजन लग्न ढिलो भएर आमालाई केही नहोस्’, उनी थोरै आक्रोशित हुन्छन् । यो दृश्य काठमाडौंको बालाजु औद्यागिक क्षेत्रभित्र रहेको अक्सिजन उद्योग अगाडिको हो । काँधमा सिलिण्डर बोकेर अक्सिजनको जोहो गर्ने युवक हुन गोपाल खत्री । उनकी आमा कोरोना संक्रमण भएर ललितपुरको सुमेरु अस्पतालमा उपचार गराइरहेकी छिन् । अक्सिजनको मात्रा कम भएपछि आमाको लागि अक्सिजन भर्न खाली सिलिण्डर बोकेर उनी उद्योगमै आइपुगेका थिए । अस्पतालले आमाको उपचारका लागि अक्सिजन आवश्यक पर्ने जानकारी मात्रै दिएन त्यसको व्यवस्था बिरामीका आफन्तले गर्नुपर्ने शर्त राख्यो । जेनतेन गोपालले सानो सिलिण्डर जुटाए । ‘सिलिण्डर पाइयो, अब अक्सिजन कहाँ खोज्ने ?’ गोपालले अस्पतालका चिकित्सकदेखि आफ्ना चिनजानका धेरैलाई सोधीखोजी गरे । बालाजुको शंकर अक्सिजन ग्याँस उद्योगमा पाइने जानकारी पाएपछि उनी खाली सिलिण्डर मोटरसाइकलमा बोकेर उद्योगमा पुगे । करीब चार घण्टाको पर्खाइपछि उनको खाली सिलिण्डर भरिएको छ । निकै लामो समय लाइन लाग्नु परेकाले उनी आक्रोशित थिए । ‘अस्पतालबाट कतिपटक फोन आइसक्यो, यो खेलाँची होइन नि’ उनले भने, ‘मेरो आमालाई केही भयो भने…’ उनी दुःखी देखिए । आमा अस्पतालमा कोरोनासँग जुधिरहेकी छिन्, छोरा ग्याँसको बन्दोबस्तीमा । उद्योगको अगाडि निकै ठूलो लाइन लागेको छ । अस्पतालका लागि दर्जनौं सिलिण्डर गाडीमा लिएर पुग्नेहरुको लाइन पनि लामै छ । काँधमा सिलिण्डर बोकेर पुग्ने हुन् या मोटरसाइकलमा आउनेहरू सबै चिन्तित मुद्रामा छन् । कोही ट्याक्सीबाट खाली सिलिण्डर झार्दैछन् । कसैले एम्बुलेन्समै सिलिण्डर हालेर ल्याएका छन् । ‘ज्यान भन्दा ठूलो के छ र ? तर यहाँ त अस्पतालमा छटपटाइरहेका बिरामीको मतलव कसैलाई छैन’, जनमैत्री अस्पतालमा बिरामी छाडेर अक्सिजन लिन आएका युवाले दुखेसो पोखे । जनमैत्री अस्पताल नजिकै छ, तर अक्सिजन भर्ने पालो कतिबेला आउने हो ठेगान छैन । ‘जम्मा एउटामात्रै सिलिण्डर थियो त्यो सकिन लाग्यो, अहिले अर्को सिलिण्डर खोजेर भर्न आएको खै कतिबेला पालो आउँछ’, उनले भने । ती युवक अक्सिजन भर्ने पर्खाइमा बसेको एक घण्टा भयो । तर त्यो एक घण्टा एक महिना जत्तिकै महसुस भइरहेको उनी सुनाउँछन् । ‘अस्पतालमा बिरामीको अवस्था गाह्रो छ, एक घण्टा भनेको थोरै समय हो र यस्तो बेलामा ?’, उनी भन्छन् । ३८ वर्षीया पूजा बस्नेत आयुर्वेद अस्पताल कीर्तिपुरमा कोरोनासँग जुधिरहेकी छिन् । पूजाका लागि अक्सिजन लिन छिमेकी विष्णु खड्का बालाजु आइपुगेका छन् । अक्सिजन पाउन ठूलै युद्ध लडेझैँ भइरहेको उनले सुनाए । बल्लतल्ल एक सिलिण्डर भरेका छन् । तर अब यो सकिएपछि भर्न नपाइएला भन्ने ठूलाे चिन्ता उनलाई छ । सिलिण्डर नहुनेलाई तनाव ‘प्रशासन कता हो ? लौन मलाई देखाइदिनुस्’, अलि चाम्लिङले उद्योगको मूल गेटमा उभिएका सुरक्षा गार्डलाई भने । चाम्लिङ सिलिण्डरको खोजीमा त्यहाँ आइपुगेका थिए । उनले दर्ता गर्ने ठाउँमा सिलिण्डर खोज्दै आएको सुनाए । सिलिण्डर नपाउने जवाफ पाएपछि उनी उद्योगको प्रशासन शाखा खोज्दै हिंडेका रहेछन् । ग्याँस भर्ने भवनसँगै रहेको अर्को भवनको पहिलो तल्लामा उनी चढे । जहाँ उनले खोजेको उद्योगको प्रशासनिक काम हुने ठाउँ थियो । शंकर अक्सिजनका कर्मचारीहरू कुर्सीमा बसिरहेका थिए । बाहिरै सिलिण्डर छैन लेखिएको थियो । तर त्यसले उनको चित्त बुझेन । उनले आफू सिलिण्डरको खोजीमा आएको सुनाए । कर्मचारीले सिलिण्डर नपाउने जवाफ दिए । उनका साथी चाल्नाखेल निवासी ४५ वर्षीय पुरुष कोरोना संक्रमणले ग्रसित छन् । अहिले जनमैत्री अस्पतालको बेडमा रहेको उनले सुनाए । अस्पतालबाट व्यवस्था हुन नसकेको र जसरी पनि अक्सिजन व्यवस्था गर्नैपर्ने बाध्यता आइलागेको उनले सुनाए । तर उनको समस्या समाधान हुन सकेन । निराश बनेर फर्कनुको विकल्प उनले भेटेनन् । उनी सरासर फर्किए । वीर अस्पतालको बेडमा बिरामी रहेको प्रमाण देखाउँदै अर्का युवक पनि हारगुहार गरिरहेका थिए, नयाँ सिलिण्डरका लागि । तर उनले पनि पाउन सकेनन् । सिलिण्डरको जोहो गर्न नसक्नेहरू यस्ता धेरै तनावमाथि तनाव लिएर फर्कन्थे । ‘यस्ता सय जना फर्किसक्नु भयो होला, अब हामीले गर्नसक्ने अवस्था पनि केही छैन’, सिलिण्डर दर्ता गर्ने ठाउँमा कार्यरत उद्योगका कर्मचारी भन्छन् । उनका अनुसार केही दिन अघिसम्म बाँकी रहेको सिलिण्डर उद्योगले दिने गरेको थियो । तर अहिले उद्योगमा नै खाली सिलिण्डर छैन । बिरामीका आफन्त आफैंले सिलिण्डर व्यवस्था गरे अक्सिजन भर्न पाउने उनी बताउँछन् । सिलिण्डर भने पाउन यतिबेला सम्भव नै रहेको उनले सुनाए । ग्रीनसिटी अस्पतालमा रहेको आफन्त बिरामीका लागि सिर्जना कार्की पनि अक्सिजन सिलिण्डरको खोजीमा भौंतारिरहेकी छिन् । उनलाई चिनजानको मान्छेले बालाजुमा पाइन्छ भनेपछि यहाँ आएको सुनाइन् । ‘अस्पतालले अक्सिजन व्यवस्था गर्नु भनेको छ, अक्सिजन नभए बिरामीलाई जे पनि हुनसक्छ’, उनी भन्छिन्, ‘तर यहाँ अक्सिजनका लागि सिलिण्डर नै छैन, मलाई योबारे केही थाहा पनि छैन, साह्रै समस्या भयो ।’ केही नियमित बिरामीका लागि पनि अक्सिजन भर्न आफन्तहरू यहाँ पुगेका थिए । टोखाका कृष्णकुमार श्रेष्ठकी आमालाई नियमित अक्सिजनले भरथेग गर्नुपर्छ । बुधबार बालाजु पुगेर उनले २ वटा सिलिण्डर भरे । तर अब सरकारले व्यक्तिलाई अक्सिजन नदिनु भनेको खबर सुनेकाले आफूलाई समस्यामा पारेको उनले सुनाए । ‘मेरो आमालाई कोरोना लागेको छैन, तर पुरानै रोगले अक्सिजनकै सपोर्टमा राख्नु परेको छ’ उनले भने, ‘अब सरकारले अक्सिजन नदेऊ भन्यो भने मेरो आमालाई मैले कसरी बचाउने ?’ तस्विरः आर्यन धिमाल/अनलाइनखर      Source: https://www.onlinekhabar.com/2...

ktmpost · May 13, 2021 9:28 AM · 2,723 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion