नाबालिगमाथि बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । केही प्रक्रियागत समय लाग्ने भएकाले प्रहरीले उनीविरुद्ध अनुसन्धान गर्न आज चौथोपटक दुई दिनको म्याद पाएको छ । सन्दीपविरुद्ध पुनः म्याद थप्न आइतबार जिल्ला अदालत काठमाडौं लगिएको थियो । उनलाई यसअघि पहिलोपटक सात दिन, दोस्रोपटक पाँच दिन र तेस्रोपटक चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका न्यायाधिवक्ता लक्ष्मण उपाध्याय घिमिरेले यही कात्तिक १४ गते सन्दीपविरुद्ध अदालतमा मुद्दा दायर गरिने बताए । उनका अनुसार सन्दीपको बयान सकिएको छ । सन्दीपका कानुन व्यावसायीले पीडित भनिएकी किशोरी नाबालिग नभएको र दुईवटा जन्मदर्ता भएको दाबी गर्दै आएका छन् । नागरिकतामा नाबालिग देखिएको र जन्मदर्तामा बालिग भएको उनीहरूको जिकिर छ । जिल्ला सरकारी वकिलको कार्यालयका न्यायाधिवक्ता घिमिरेले भने नागरिकताकै आधारमा मुद्दा प्रक्रिया अगाडि बढाइने बताए । यस्तोमा सन्दीपविरुद्ध नाबालिग बलात्कारकै अभियोगमा मुद्दा दायर हुनेछ । उनीविरुद्ध नाबालिग बलात्कारसम्बन्धी कसुरमा मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (२) बमोजिमको कसुर दाबी गरिनेछ । सो दफामा उल्लेख छ, “कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ ।” सोही दफाको उपदफा (३) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलाको जबरजस्ती करणी गर्ने व्यक्तिलाई परिस्थिति हेरेर १० देखि १२ वर्षसम्मको कैद हुने व्यवस्था छ । प्रहरी वृत्त गौशालाबाट सन्दीपविरुद्धको मुद्दाको अनुसन्धान भइरहेको छ । एक नाबालिगले आफूमाथि बलात्कार गरेको आरोप लगाउँदै उनीविरुद्ध गएको भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । जाहेरीमा सन्दीपले भदौ ५ गते राति पिंगलास्थानको ‘होटेल काठमाडौं इन’मा लगेर बलात्कार गरेको उल्लेख छ । सो होटेलको सीसीटीभी फुटेजमा सन्दीप ती किशोरीसँगै प्रवेश गरेको र बाहिरिएको देखिएका छन् । पीडित किशोरी अहिले माइती नेपालको संरक्षणमा छन् । भदौ ६ गते सन्दीप नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाका लागि केन्या गएका थिए । केन्याबाट क्यारेबियन प्रिमियर लिग खेल्न उनी जमैका गएका थिए । जमैका गएकै बेला उनीविरुद्ध जाहेरी परेको थियो । जाहेरी परेको एक महिनापछि उनी नेपाल आएका थिए । सोही क्रममा उनी असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । सन्दीपले भने आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन् । उनले आफूविरुद्ध जाहेरी दिनेकै आग्रहमा होटेलमा बसेको र यौनजन्य कार्य नगरेको दाबी गर्दै आएका छन् । उनले आफूलाई फसाउन क्रिकेटसम्बद्ध व्यक्ति नै लागेको दाबी समेत गरेको अनुसन्धानमा संलग्न अधिकारीहरूले बताएका थिए ।
logbendick · Oct 23, 2022 12:53 PM · 6,107 views
Nachahine kaam garne bela aankha nadekhne ani Ahile dos afno hoina aruko bhanne. Sabai apardhi haru testai sochchhan ki kohi galti mahasoos pani garchhan.
chicagoan · Oct 23, 2022 1:20 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion