बिलायो भाइलाई डाक्टर पढाउने सपना

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

https://annapurnapost.com/stor... महेन्द्रनगर : गत भदौ अन्तिम साता सुदूरपश्चिम विश्वविद्यालयको टीकापुरस्थित कृषि क्याम्पसबाट ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका दार्चुलास्थित लेकम गाउँपालिका–५ का दिपेशराज विष्ट इजरायलमा अस्ताएका छन्। बुबाको मृत्युपछि परिवारको जिम्मेवारी सम्हालेका दिपेशको इजरायलमा भएको आक्रमणमा परी मृत्यु भएपछि विष्ट परिवारमा ठूलो बज्रपात परेको छ। छोराको मृत्युको खबरले आमा अर्धचेत अवस्थामा अस्पतालको शैयामा छिन् भने गाउँ शोकमा डुबेको छ।  इजरायलबाट सधैं साँझ आमालाई फोन गर्ने दिपेशको फोन शनिबार आएन। ‘सधैं साँझ भाइले आमालाई फोन गर्ने गथ्र्यो’, दिपेशकी दिदी ममता विष्टले भनिन्, ‘शनिबार साँझ उनले फोन नगरेपछि आमाले फोन गर्दा दिपेशसँग सम्पर्क हुन सकेन।’ छोरोको मृत्युको खबरले आमा पार्वती अर्धेचेत अवस्थामा दार्चुलाको गोकुलेश्वर अस्पतालमा भर्ना भएकी छिन्। ‘दार्चुलाबाट महेन्द्रनगर आउँदै गरेकी आमा गोकुलेश्वर अस्पतालमा अर्धचेत छन्’, दिदी ममतले भनिन्। कक्षा १० सम्म महेन्द्रनगरस्थित ग्लोबल एकेडमीमा अध्ययन गरेका उनले महेन्द्रनगरकै रेडियन्ट माध्यमिक विद्यालयबाट विज्ञान विषयमा कक्षा १२ पास गरेका हुन्।  ‘भाइ सानैदेखि पढाइमा अब्बल थियो सबैको प्यारो पनि’, दिदी ममताले भनिन्। ‘भाइलाई एमबीबीएस पढाउँछु, आफू पनि पढ्छु भनेर दिपेश इजरायल पुगेको हो’, उनले भनिन्। उनलाई इजरायल जान घरबाट अनुमति नभए पनि दिपेशले भाइलाई डाक्टर बनाउने सपना बोकेर इजरायल पुगेको दिदीले बताइन्।  दिपेश चार वर्षको हुँदा उनका बुवाको मृत्यु भएको थियो। शिक्षक पेसामा रहेका बुवा अशोक विष्टको क्यान्सरबाट मृत्यु भएपछि दिपेशको पालनपोषण आमा पार्वतीले गरिन्। उनकी आमा पनि लटिनाथ माध्यमिक विद्यालय लटिनाथमा शिक्षिका छन्। ‘भाइलाई एमबीबीएस पढाउन आमाको कमाइले मात्रै नपुग्ने भएपछि जान्छु विश्वविद्यालयले पठाउँदै छ राम्रो होला भन्ने लाग्यो र उता गयो’, उनले भनिन्, ‘आफू पनि थप अध्ययनका लागि पैसाको जोहो गर्न पनि उसले जान चाहेको हो।’ उनका भाइ बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एमबीबीएस अध्ययनरत छन्।

Khaobaadi_Netaa · Oct 12, 2023 6:17 PM · 1,618 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion