एक्लो देखियो अर्थमन्त्रीको चन्द्रमा छुने प्रयास मधुसुदन पौडेल व्यवस्थापिका संसदमा बजेट प्रस्तुत गर्दा अर्थमन्त्री डा.बाबुराम भट्टराईले महाकवि लक्ष्मीप्रसाद देवकोटालाई सम्भिmएका थिए- उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक । जनतामा आमूल परिवर्तनको अनुभूति गराउन सरकारको प्रतिवद्धताको व्याख्या गर्नुको सट्टा अर्थमन्त्रीले महाकविको एउटै पंक्तिको सहारा लिएका थिए तर बजेट कार्यान्वयनका ६ महिना वित्दा उनी चन्द्रमा छुने अन्तरीक्षयानका एक्ला यात्री सावित भएका छन् । बजेटको मध्यावधि समीक्षा गरिरहँदा एकोहोरा काममा जोतिने अन्तर्मुखी स्वभावका यी अर्थमन्त्रीले सम्भवतः महसुश गरे होलान्- उनको अन्तरिक्षयान, यानका क्याप्टेन र यात्रुले अब चन्द्रमा छुन सक्दैनन् । समस्या उडाउने प्रयास गरिएको वायुयान, क्याप्टेन र यात्रु सबैमा छ । त्यसैले त उनले बजेट ल्याउँदाको उत्साह अब आफूमा बाँकी नरहेको खुलस्त पारे । अर्थमन्त्रीका रुपमा ६ महीनामा गर्न सकिनेजति काम गर्न उनले बाँकी राखेका छैनन् । दुई खर्ब ३६ अर्बको ठूलो बजेट ल्याएकोमा चौतर्फी आलोचना खेपेका भट्टराईले विकासका लागि चाहिनेजति बजेट जुटाइदिएका छन् र मन्त्रीहरुलाई भनिरहेका छन्- विकास निर्माणका लागि चाहिएजति पैसा लैजाऊ । विकासमा भने अपेक्षा गरेजति रकम खर्च हुन सकेको छैन । रकम जुटाउन उनले राजस्व वृद्धिदरमा चमत्कार नै गरिदिए भ्रष्ट राजस्व प्रशासनमा सुधार गरेर । समस्या अन्यत्र होइन, क्रान्ति नायकबाट नेपालको आर्थिक सामाजिक रुपान्तरणको नायकका रुपमा डा.भट्टराइले स्थापित गराउन चाहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नै यो गति समाउन सकेनन् । देशकै 'अति उच्च प्राथमिकताप्राप्त आयोजना' प्रधानमन्त्रीको प्रत्यक्ष मातहतमा कार्यान्वयन हुनेगरी उनले ५९ आयोजनाका लागि ३० अर्ब ९२ करोड रुपैयाँ विनियोजन गरिदिए । जनतालाई गणतन्त्रको अनुभूति गराउने लक्ष्य राखिएका यी आयोजना कार्यान्वयन गर्न प्रचण्डका लागि पाँचजना सचिव तोकिएका छन् । कार्यान्वयनमा भने सबैभन्दा कमजोर अवस्था यहीँ प्रतिबिम्बित भएको छ । सर्पजस्तै घिसिर््रएर हैन, भ्यागुतोजस्तै उपि|mएर मात्रै दुई अंकको वृद्धिदर हासिल गर्न सकिन्छ भन्ने विश्वासका साथ डा.भट्टराईले सात प्रतिशतको दरले वृद्धिदर हाँसिल गर्ने योजना प्रस्तुत गरेका थिए तर उर्जासङ्कट, श्रमसमस्या, पर्यटन प्रवर्द्धन र औद्योगिक समस्या समाधान गर्न उनका सहयात्री मन्त्रीहरु असफल बने । उर्जा सङ्कट टार्न प्रधानमन्त्रीकै खास चासोमा जलश्रोतमन्त्री विष्णु पौडेलले ३५ बुँदे निर्देशिका जारी गरे तर उर्जासङ्कट चुलिइर≈यो । अन्ततः प्रष्ट भयो, समस्या समाधानका लागि होइन, सङ्कटकाल थर्मलप्लाण्टको कमिशन हात पार्ने दाउ थियो । अपेक्षित वृद्धिदर हाँसिल गर्न नसक्नुको प्रमुख जड यही हो । मूल्यवृद्धि नियन्त्रण गर्ने जिम्मेवारी थियो आपूर्ति मन्त्रालयको । कृत्रिम मूल्यवृद्धि रोक्न राजेन्द्र महतोले नेतृत्व गरेको यस मन्त्रालयले एउटै कदम चालेको अनुभूति कसैलाई छैन बरु बढ्दो मूल्यवृद्धिप्रति चिन्ता गरिरहेको छ अर्थ मन्त्रालयले । वैज्ञानिक रुपमा भाडादर निर्धारण गर्न समितिले दिएको सिफरिस लागू गर भन्न समेत सकेनन् उनकै सहकर्मी यातायातमन्त्री लेखराज भट्टले । परिणामतः दोब्बर बढी मूल्यवृद्धि र आधा कमको आर्थिक वृद्धिदर हात परेको छ । विकास वजेट कार्यान्वयन गर्ने मूख्य जिम्मेवारी बोकेको निर्माण तथा भौतिक योजना मन्त्रालय सम्हालेका विजयकुमार गच्छेदारलाई यस अवधिमा खर्च बढ्न नसकेकोमा चिन्ता भएन । विकास खर्चको लक्ष्य घटाउनै पर्ने वाध्यता उत्पन्न हुँदा समेत उनलाई यस विषयमा चासो छैन । विकास खर्च अपेक्षा गरिए अनुसार हुन नसक्ने भएपछि अर्थमन्त्रीले बजेटको आकार घटाएर अब २ खर्ब १५ अर्बमात्र खर्च हुने संशोधन पेश गर्न बाध्य भए । उद्योगमन्त्री अष्टलक्ष्मी शाक्य ६ महिनामा पनि नयाँ औद्योगिक नीति ल्याउन सफल रहिनन्, जसका कारण वैदेशीक लगानी अवरुद्ध बनिरहेको छ र आर्थिक वृद्धिदर खुम्चिनुमा सहयोग पुगेको छ । महाकवि देवकोटाले 'उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक' को अघिल्लो पंक्तिमा लेखेका छन्, 'के हो ठूलो जगतमा ? पसिनाविवेक ।' डा.भट्टराईका सहकर्मीहरु पसिना बगाउन र विवेक लगाउन चुक्दा उनी 'एक्लो बृहस्पति'मा परिणत भएका छन् । अन्नपूर्ण पोष्ट, (२०६५ चैत २ गते)
nepalibir · Mar 18, 2009 10:58 AM · 1,014 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion