http://www.ekantipur.com/sapta... बुरा ना मानो होली है ! कम रेट प्रचण्ड अर्थात् पुष्पकमल दाहाल यो वर्षको महामूर्ख सम्मेलनबाट महामूर्खको उपाधि हासिल गर्न सफल भएका छन् । उनकै भनाइमा शक्तिशाली विस्तारवादी भारतलाई राजनैतिक रूपमा पछार्न सफल भएकाले उनले यो उपाधि हासिल गरेका हुन्, तर कम रेटले ढाँटेका रहेछन्, एमाले अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री झलनाथ खनालले राजनैतिक रूपमा उनलाई महान् मूर्ख सावित गरेकाले उनी महामूर्ख बनेका हुन् । ढाडमा टेकेर टाउकोमा हान्ने सूत्रका विकासकर्ता कम रेटलाई उनकै सूत्र प्रयोग गरेर खनालले टाउकामा हानेका कारण उनी महामूर्ख चुनिएको बताइन्छ । पार्टीमा पनि वैद्य र डाक्टरको राजनैतिक समीकरणका कारण चेपुवामा परेका कम रेटले पार्टीभित्रका विद्वान्लाई प्रधानमुन्तरीमा जान नदिई आफूलाई पछि सार्दै झलनाथलाई बोकेर त्यागको राजनीति गरेको देखाउन खोजेकाले पनि उनी महामूर्ख बन्न सफल भए । महामूर्ख सम्मेलनको फस्ट रनर्सअपको उपाधि भने कांग्रेस नेता रामचन्द्र पौडेलले हात पारेका छन् । बलिको बोकाझैं प्रधानमन्त्रीका निम्ति १७ पटक तेर्सिएका पौडेलको त्यो महत्त्वाकांक्षा अन्ततः मनको लड्डु साबित भयो । संसदीय दलको नेता चुनिएका आधारमा आफू नै प्रधानमन्त्रीको दावेदार भएको भनेर सभापति सुशील कोइरालाको उम्मेदवार बनेका पौडेलले एक प्रश्नको उत्तरमा उडायो सपना सबै हुरीले भनेपछि फस्ट रनर्सअपको उपाधि हासिल गरे । निरन्तर घाँटीको विरामका कारण सुकेको आवाजमा चिच्याउन खोज्ने पौडेललाई पार्टीभित्रकै अर्का नेता शेरबहादुर देउवाको छिर्के उनी फस्ट रनर्सअप बन्ने अर्को आधार बन्यो । महामूर्ख सम्मेलनमा सेकेन्ड रनर्सअपको उपाधि प्रधानमन्त्री झलनाथ खनालको पोल्टामा परेको छ । राजनैतिक रूपमा चतुर भनिएका केपी ओलीलाई माथ दिँदै प्रधानमन्त्री बन्न सफल खनाल गृहमन्त्री नियुक्त गर्न भने असफल ठहरिए । जेलभित्रै गएर अपराधीले बन्दीलाई गोली ठोकेपछि गृहमन्त्री आफैं राखेको विषय उनको अर्को टाउको दुखाइ बन्यो । शरीर एमाले तर मनपेट माओवादी भनिने एमाले अध्यक्ष खनाललाई प्रधानमन्त्री बनाएर निकम्मा बनाउन प्रचण्डले गरेको कसरत नबुझेको भन्दै सम्मेलनले उनलाई सेकेन्ड रनर्सअप चुनेको हो । पहिलो संस्करणका रूपमा केन्द्रीय स्तरमै अज्ञात स्थलमा आयोजना गरिएको उक्त महामूर्ख सम्मेलनमा मुलुककै चर्चित नेताहरूले सहभागिता जनाएका थिए । महामूर्ख सम्मेलनको पहिलो राउन्डमा तीन दर्जन टाउके नेतालाई मात्र सहभागी गराउने भनिए पनि तँछाडमछाड गर्दै महामूर्ख बन्ने अभिलाषामा ६ सय १ टाउका सम्मेलनमा सहभागी भएका थिए । आयोजकहरूका अनुसार महामूर्ख सम्मेलनको अर्को संस्करण आगामी जेठ १४ गते नयाँ बानेश्वरस्थित संविधानसभागृहमा आयोजना हुने र निर्विरोध रूपमा महामूर्खको उपाधि सभाध्यक्ष सुवास नेम्वाङलाई प्रदान गरिने भएको छ । सम्मेलनले उक्त संस्करणमा वीरगन्ज, जनकपुरमा झैं खेसारीलाल र मुसरीलालजस्ता विधामा नेताहरूलाई सम्मान गर्ने योजना छ । सम्मेलनले महामूर्ख, फस्ट रनर्सअप तथा सेकेन्ड रनर्सअपका अतिरिक्त विभिन्न विधामा पनि नेताहरूलाई सम्मान गरेको छ । विद्वान् भएर पनि महामूर्खको संगत गरेकाले पटमूर्खको उपाधि डा. बाबुराम भट्टराईलाई प्रदान गरिएको छ । त्यस्तै नालायक मूर्ख सुशील कोइराला भएका छन् । पार्टीभित्र उपसभापति र महामन्त्री चयन गर्न नसकेकाले उनले नालायक मूर्खको उपाधि पाएको बताइएको छ । जिल्लराम मूर्खको उपाधि भने विजय गच्छदारको हात परेको छ । प्रधानमन्त्री बन्ने अभिलाषा बोकेका गच्छदार मन्त्री बन्ने लिस्टमै नपर्नुले जिल्लराम मूर्ख बनेका हुन् । महामूर्ख सम्मेलनमा विचरा मूर्खको उपाधि सुजाता कोइरालाले हासिल गरिन् । गिरिजाबाबुको अवसान पछि राजनैतिक सत्ताप्राप्तिका लागि विचरा बनेकी सुजाता झलनाथको मन्त्रिमण्डलमा प्रवेश गर्ने प्रयासमा असफल भएपछि विचरा मूर्खको हकदार बनेकी हुन् । काइते मूर्खको उपाधि भने मोहन वैद्यले हात पारे । काइते शब्द दोहोर्‍याइरहने उनी व्यवहारमै काइते देखिएकाले काइते मूर्ख घोषित भएका हुन् । सम्मेलनले लक्की मूर्ख भरतमोहन अधिकारी र अनलक्की मूर्ख वामदेव गौतमलाई चुनेको छ । पार्टी महाधिवेशनमा उपाध्यक्ष पदमा हारेका अधिकारी उपप्रधान तथा अर्थमन्त्री हुन सफल भएकाले लक्की मूर्ख र उपाध्यक्ष पदमा जितेर पनि आफ्नै लबिका अध्यक्ष खनालको मन जित्न असफल भएकाले वामदेव अनलक्की मूर्ख भएका हुन् । यस्तै गाली शिरोमणि भन्दै महामूर्ख खेलाडीको क्रिटिक्स एवार्ड केपी ओलीले हात पारेका छन् । अवसरवादी मूर्खको उपाधि उपेन्द्र यादवको पोल्टोमा पर्‍यो । मधेसको नाममा परराष्ट्रमन्त्री बन्न सफल भैरहेका यादवको दाउ भौतिक योजना मन्त्रालयतर्फ तेर्सिनु पनि उनी अवसरवादी मूर्ख बन्ने एउटा आधार थियो । अवसरका निम्ति जसलाई पनि छोड्न सक्ने यादव महामूर्ख सम्मेलनका बलिया प्रतिस्पर्धी मानिएका थिए । प्रतिस्पर्धामा प्रतिगमन मूर्खको उपाधि कमल थापाले जिते । केटाकेटी मूर्ख वर्षमान पुन, संघीय महामूर्ख चित्रबहादुर केसी, महासचिव मूर्ख ईश्वर पोख्रेल, फ्लप मूर्ख कृष्णप्रसाद सिटौला, पीडित मूर्ख कुलबहादुर गुरुङ भए । आयोजकले नेताहरूकै मागका आधारमा यति धेरै सब टाइटल प्रदान गरिएको बताएका छन् । Last edited: 18-Mar-11 12:15 PM
timer · Mar 18, 2011 12:06 PM · 806 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion