ऋषि धमलासँग रमाइलो संवाद - Sajha Mobile
SAJHA MOBILE
ऋषि धमलासँग रमाइलो संवाद
Posts 1 · Viewed 3528 · Go to Last Post
lamopuri
· Snapshot 0
Like · Likedby · 0
 मुख्य समाचार
ऋषि धमलासँग रमाइलो संवाद पीडीएफ मुद्रण इमेल
 
 

पत्रकारहरूबीच निकै ठूलो विवाद छ । कतिले भन्छन्- ऋषि धमला तीन कक्षामा फेल भएर काठमाडौं आएको हो, कतिले भन्छन्- होइन, आठ कक्षा त पढेको छ । पत्रकारको यो लामो विवाद मिलाउन तपाईं के भन्न सक्नुहुन्छ ?

होइन, मैले ५ कक्षासम्म गाउँकै शंखादेवी प्राविमा पढेको हुँ । त्यहीबीचमा मेरो काकाको छोरा राजेन्द्र र म घरबाट भाग्यौँ । मैले बुबाको कन्तुरबाट सय रुपैयाँ चोरेको थिएँ । त्यही पैसा लिएर ज्यामरुङबाट हामी धादिङबेसी झर्‍यौँ । धादिङबेसीबाट ट्रयाक्टरमा चढेर मलेखु आइयो । मलेखुबाट ट्रक चढेर काठमाडौं आइयो । काठमाडौं कहाँ जाने थाहा थिएन । धरहरा भन्ने थाहा थियो, त्यसैले ट्रक ड्राइभरलाई धरहरामुनि छाडिदेऊ भन्यौँ । यसरी काठमाडौंमा पाइला टेक्दा रातिको १ः०० बजेको थियो । हाम्रो मावलीतिरका नाता पर्ने प्रद्युम्नविक्रम सिंह भन्ने मान्छे परराष्ट्र मन्त्रालयमा अधिकृत थिए । खोज्दै अर्को दिन उनको घरमा पुगियो । ल बाहुनको छोरो आएछ भनेर खुसी भए । त्यसपछि उनको घरमा भात पकाउन थालियो, आफूले पनि खाइयो, उनलाई पनि खुवाइयो ।
त्यहीबीचमा हाम्रै गाउँको नवराज लम्साल (अहिले रेडियो नेपालमा) तीनधारास्थित संस्कृत पाठशालामा पढ्थे । उनकै संगतले म पनि संस्कृत पढ्न ६ कक्षामा भर्ना भएँ । मलाई खोज्दै आउँदा बुबालाई एक वर्ष लागेछ । त्योबीचमा मैले ६ कक्षाको परीक्षा दिइसकेको थिएँ । बुबाले मलाई घर लगेर जानुभयो । गाउँ जाँदा पहिलेको प्रावि निमावि भइसकेको रहेछ । म ७ कक्षामा भर्ना भएँ । काठमाडौंको चस्का पहिले नै लागेको थियो । हाम्रै गाउँतिरका पञ्चायतकालमा चुनाव पनि लडेका ऋषि सुवेदीसँग फेरि काठमाडौं आएँ । उनको घर कालिमाटीमा थियो, जनप्रभात माविमा पढ्न थालेँ । त्यही स्कुलबाट ०४८ सालमा एसएलसी पास गरेको हुँ । पब्लिक युथ क्याम्पस भर्ना पनि गरेको हुँ तर पढाइ अगाडि बढाउन सकिनँ । त्यतिवेला मेरो बाध्यता थियो, अहिले बाध्यता छैन । त्यसैले यसै वर्षदेखि कानुनमा इन्टरमिडियट पढ्ने विचार गरेको छु । किताब-सिताब किनिसकेँ । (तर, धमलाले चाहेजस्तो कानुनमा इन्टरमिडियट पढ्ने व्यवस्था नेपालमा अहिले छैन ।)

तपाईं पहिले हकर हुनुहुन्थ्यो, पत्रिका बेच्नुहुन्थ्यो, अहिले प्रधानमन्त्रीको बेडरुमसम्म पुग्ने हुनुभएको छ, आफ्नो पृष्ठभूमि सम्भिmँदा कस्तो लाग्छ ?

हो, मैले पत्रिका बेचेँ । हकर नै नभने पनि हुन्छ, अँ ल भने पनि हुन्छ ।  तर, ०४६ सालको आन्दोलनअघि म ऋषि सुवेदीको कालिमाटीस्थित घरमा बस्थेँ । उहाँकै घरमा खाना पकाउने काम पनि गर्थें । त्यसैले सामान किन्न चोकतिर पनि जान्थेँ । चोकमा पत्रकार जिवेन्द्र सिंखडाको पसल थियो । जीवेन्द्र दाइ मेरो भिनाजु पर्नुहुन्छ तर चिनजान काठमाडौंमै भएको हो । पसलमा कहिलेकाहीँ पत्रकारहरू जम्मा हुन्थे, उहाँहरूका गफ सुनेर दंग पर्थे म । त्यहीबीचमा उहाँहरूले समालोचना दैनिकको तयारी गरिरहनुभएको रहेछ । पत्रकार रामचन्द्र भट्टराईसँग पनि मेरो चिनजान भयो । पत्रिका निस्कन थाल्यो, जीवेन्द्र दाइको सिफारिसमा मैले काम गर्ने अवसर पाएँ । मैले पत्रिका छाप्न जानेदेखि बेच्नेसम्म काम गरेँ । ०४६ सालको आन्दोलनमा अँगालोभरि पत्रिका लिएर म रत्नराज्य क्याम्पसनजिकै हिँड्दै थिएँ, पुलिसले समात्यो । पत्रिका खोसेर तीन दिनसम्म थुन्यो । तर, पछि छुटियो, समालोचनाबाट दृष्टिमा काम गरेँ । त्यसपछि पुनर्जागरण पुगेँ । त्यसपछि त दर्जनौँ पत्रिका, रेडियो, टिभीमा काम गर्दै आएँ ।

ऋषि धमला नाम नसुन्ने अहिले सायदै कोही होलान् यो देशमा, यति धेरै चर्चा पाउनुमा तपाईंको सकारात्मक भूमिकाले हो कि हावा छ भनेर  ?

पहिले त म तपाईंलाई आफ्नो नामको बारेमा भन्न चाहन्छु । मेरो खास नाम दुर्गाप्रसाद धमला हो । तर, गाउँमा हाम्रै एकजना काका प्रधानपञ्च हुनुहुन्थ्यो, उहाँको नाम पनि दुर्गाप्रसाद थियो । गाउँलेहरूले भन्थे, 'लौ सानो दुर्गाप्रसाद आयो ।' यसो गर्दा गाउँलेलाई त रमाइलो हुन्थ्यो तर प्रधानपञ्च काकालाई ठेस पुग्ने रहेछ । म पनि दुर्गाप्रसाद, त्यो फुच्चे पनि दुर्गाप्रसाद भनेर उहाँलाई दुःख लाग्दो रहेछ । उहाँको दुःख फुकाउन म दुर्गाप्रसादबाट ऋषि धमला बनेँ । अहिले त नागरिकतामा पनि ऋषि धमला नै नाम छ, देशैभरि चर्चित छ, कुनै पनि मान्छे हावा हुँदैमा यत्रो नाम हुँदैन ।

तर पत्रकारहरूबीच तपाईंको इमेज कस्तो छ भन्ने प्रष्ट पार्न म एउटा प्रसंग सुनाउँछु ।  एकजना पत्रकारलाई तपाईंले एक दिन गफ दिनुभएछ, मलाई एबिसिडी फरर आउँछ, पत्रकारले भनेछन्- ल अहिले सुनाऊ त ? तपाईंले सोध्नुभएछ- साना भनौँ कि ठूला ?

मेरै नजिकका मान्छेले यस्तो कुरा गर्छन्, मलाई थाहा छ । मैले गाउँको स्कुलमा पढेँ, संस्कृत पनि पढेँ, उच्च शिक्षा हासिल गर्न सकिनँ, त्यसैले अंग्रेजी मेरो राम्रो छैन । तर त्यति बेवकुफ पनि छैन । अलिअलि जानेको छु । सुधार्ने कोसिस गर्दै छु ।

अर्को प्रसंग, दिल्ली जाँदा जहाजमा टाइम्स अफ इन्डिया पढ्दै हुनुहुन्थ्यो रे तपाईंले, तर पत्रिका उल्टोतिर समात्नुभएको थियो भनेर पनि पत्रकारहरू हाँस्छन्, तपाईंलाई थाहा छ,

यो विषयमा ?

यो झन् वाहियात कुरा हो । मानौँ, मैले अक्षर त बुझिनँ रे, फोटोबाट छुट्याउन सक्दिनँ ? म त्यति बेवकुफ छु, त्यस्तो बेवकुफ भएको भए यो प्रतिस्पर्धी जमानामा चर्चाको यति ठूलो विषय बन्ने थिएँ ? तर, कति पत्रकार मानसिक रूपमा दलित छन् तर उनीहरू मलाई दलित सम्भिmन्छन् । ऋषि धमला गाउँबाट आयो, पत्रिका बेच्यो, प्रगति गर्‍यो ।  कतिलाई यो कुरा पच्दैन । यहाँको कुनै ठूला मान्छेको छोरा भएको भए यस्तो कुरा आउँदैनथ्यो ।

तपाईंले कहिलेकाहीँ विदेशी कुटनीतिज्ञलाई कार्यक्रममा बोलाउनुहुन्छ, अंग्रेजी राम्रो आउँदैन तर उद्घोषक आफैँ बन्नुहुन्छ, बोल्नका लागि आमन्त्रण गर्दा हातले इशारा गर्नुहुन्छ, त्यस्तो अवस्थामा अंग्रेजी बोल्ने मान्छे किन राख्नुहुन्न ?

त्यति त म जान्दछु । 'प्लिज यु गो टु स्पिक' भन्न नसक्ने मान्छे होइन म । काम चलेकै छ, अझै अंग्रेजी सुधार्नुपर्छ भन्ने कुरा ठीकै हो । 
पत्रकारहरूबीच चल्ने अर्को रमाइलो प्रसंग छ, नेपाल पत्रकार महासंघका सभापति तारानाथ दाहाल दसैँमा घर जानुभएको रहेछ, उहाँको बुबाले टीका लगाउँदा भन्नुभएछ- प्रगति गरेकै छस्, ऋषि धमलाजत्तिकै भएस् । 
यो त मैले पनि सुनेको छु । तारानाथ दाहाल आफैँले त भन्नुभएको छैन, उहाँले मलाई भन्ने कुरा पनि भएन । तर, १४ वर्षको ठिटो काठमाडौं आएर पत्रिका, रेडियो, टेलिभिजनमा छाएको छ । कसका बाउआमालाई लाग्दैन ? छोरो ऋषि धमलाजस्तो होस् भनेर । तारानाथ दाहाललाई पनि बाउले त्यसो भन्नु एकदम स्वाभाविक हो ।

तपाईंले मदन भण्डारीको मृत्युपछि उहाँको अन्तर्वार्ता छाप्नुभयो, त्यो अन्तर्वार्ता तपाईंले लिनुभएकै थिएन भन्ने ठूलो चर्चा छ ? मरेको मान्छे खण्डन गर्न आउँदैनन् भनेर फाइदा उठाउनुभएको हो ?

त्यो अन्तर्वार्ता मैले लिएकै हो । तर, विवाद भयो । त्योभन्दा अघि म दृष्टिमा काम गर्थें, सिपी मैनालीको प्रोफाइल बनाएको थिएँ । शीर्षक थियो, 'गम्भीर उपन्यासका दुर्दान्त नायक ।' वास्तवमा झापा विद्रोहको नेता, भूमिगत नेकपा -माले)को महासचिव । तर, खुला राजनीतिमा आएपछि पार्टी र राजनीतिमा उहाँको खासै प्रतिष्ठा रहेन । त्यसैले दुर्दान्त नायक लेखेको थिएँ मैले । तर, दृष्टिमा रघु पन्त, प्रदीप नेपाल हुनुहुन्थ्यो, उहाँहरूले यो लेख छाप्न दिनुभएन । मैले पुनर्जागरणमा लगेर दिएँ,  शरच्चन्द्र वस्तीले छापिदिनुभयो । त्यसपछि मैले दृष्टि छाडेको हुँ । दृष्टिमै भएको भए मैले मदन भण्डारीको अन्तर्वार्ता लिन पाउने थिइनँ । किनकि त्यहाँ ठूला नेता आफैँ पत्रकार थिए । तर, दृष्टि छाडेकोले मैले अन्तर्वार्ता लिन सकेँ तर दुर्भाग्य, लगत्तै भण्डारीको निधन भयो । निधनपछि हिन्दू साप्ताहिकमा अन्तर्वार्ता छापियो । निधनपछि छापिएकाले अन्तर्वार्ता वास्तविक हो कि होइन भनेर विवाद भयो । मदन भण्डारी बोल्ने कुरा भएन, मेरो कुरा मान्छेले पत्याएनन् ।

रिपोर्टर्स क्लब स्थापनादेखि तपाईं अध्यक्ष हुनुहुन्छ, केही पत्रकारलाई पदाधिकारी राख्नुभएको छ, तर संस्थागत र आर्थिक सबै काम एक्लै गर्नुहुन्छ, देखाउनका लागि मात्रै अरू पत्रकारलाई राख्नुभएको हो ?

मैले आफ्नो व्यक्तित्व बढाउन अरू कुनै पत्रकारको सहयोग लिनुपर्ने केही जरुरी छैन । बिहान ४ः०० बजे उठेर राति १२ः०० बजेसम्म म रिपोर्टर्स क्लब भनेर हिँड्छु । अरू कुन पत्रकार हिँडेको छ र जस लिने, पद लिने । एक जमानामा मान्छेहरू कांग्रेस भनेको गिरिजाप्रसाद हो भन्थे । अहिले माओवादी भनेको प्रचण्ड भन्छन् । किन ? किनकि खटनपटन र त्यसको जस-अपजस लिने नेता उहाँहरू नै हो । रिपोर्टर्स क्लबको पनि जस-अपजस लिने मै हो, नाम मेरै छ ।

लक्ष्मणसिंह खड्काको कुरा गरौँ, साथीहरू भन्छन्, एकदिन रिपोर्टर्स क्लबमा स्वास्थ्यमन्त्री राजेन्द्र महतो आएका थिए, पत्रकारको बीचबाट लक्ष्मणसिंह खड्काले मन्त्रीलाई प्रश्न सोध्न थालेे, तपाईंले थम्थमाउन खोज्दा उनले झन् चिच्याएर प्रश्न दोहोर्‍याउन थाले, तपाईंले उनलाई भित्री कोठामा लगेर पाँच सय रुपैयाँ दिन खोज्नुभयो, उनले रिसाएर भने, 'आफूले पाँच हजार लिने, मलाई पाँच सय मात्र दिने ? छोड छोड म  आज प्रश्न गरेरै छाड्छु ।’ उनले नछाड्ने भएपछि तपाईंले हजार रुपैयाँ दिएर पठाउनुभयो, लक्ष्मणसिंह खड्कालाई पैसा दिन तपाईं किन बाध्य हुनुभयो ?

लक्ष्मणसिंह मेरो कार्यालयमा आइराख्छन् । तर, गैरपत्रकारलाई म कहिल्यै पनि प्रश्न गर्न दिन्नँ । त्यसैले उनलाई पनि दिने कुरै भएन । बीचबीचमा आउँछन्, पैसा माग्छन्, माया लाग्छ म दिन्छु । त्यो दिन पनि स्वास्थ्यमन्त्रीलाई उनले प्रश्न गर्न खोजेकै हुन् । मैले पैसा दिएर फकाएको हुँ । अघि-पछि पनि दिन्छु । बाध्यताले होइन ।

तपाईं निकै ठूलो मान्छे भइसकें भन्नुहुन्छ, तर क्यामेरा क्रेजी हुनुहुन्छ, नेताको बीचमा परिहाल्ने र क्यामेरातिर अनुहार फर्काएर पोज दिने तपाईंको शैलीले कति सर्वसाधारण दिक्क मान्छन्, तीतोसत्य र जिरे-खुर्सानीमा तपाईंको मजाक बन्छ, यति गर्दा पनि तपाईं हच्किनुहुन्न ?

यो पहिलेको कुरा गर्नुभयो तपाईंले । म अहिले धेरै संयमित भएको छु । क्यामेराअघि म हत्तपत्त जान्नँ । तर, म क्यामेरामा आएँ भनेर सर्वसाधारणले दिक्क मान्छन्जस्तो लाग्दैन । कुरा काट्ने त पत्रकार नै हो । ती पत्रकारले कुरा काट्छन्, जसले नेताका अगाडि प्रश्न सोध्न सक्दैनन् । सोधे पनि समाचार हुने उत्तर ल्याउन सक्दैनन् । मैँ हो जसले समाचार हुने प्रश्न सोध्छु । त्यही बोलीका आधारमा समाचार लेख्छन्, अनि बसेर मेरो कुरा काट्छन् । ठीकै छ, साथीहरूलाई समाचार पनि भएको छ, रमाइलो पनि भएको छ ।
राष्ट्रिय सभागृहको एउटा कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले आफ्नो भाषणको अन्तिमतिर भने, 'ऋषिजीले मेरो विषयमा पनि अलिकति बोलिदिनु भन्नुभएको छ, उहाँको विषयमा अलिकति बोल्छु ।’

तपाईंले कार्यक्रममा बोलाएर अतिथिलाई आफ्नै विषयमा बोल्न किन लगाउनुहुन्छ ? प्रचार त धेरै नै भइसकेको छ नि होइन ?

मैले प्रचण्डलाई बोल्दिनुस् भनेकै हो । तर, ऋषि धमला यस्तो-उस्तो भनेर होइन । रिपोर्टर्स क्लब ०५४ सालदेखि अहिलेसम्म यति धेरै काम गर्‍यो तर संस्थाको स्थायी सम्पत्ति केही छैन । जग्गा पनि छैन । सरकारले व्यवस्था गर्नुपर्छ भनेर बोलिदिनूस् भनेको हो । उहाँले पनि त्यही भन्न खोज्नुभएको हो, तर कुरा अलि गडबड भयो ।

क्यामेराको प्रसंगमा अर्को उदाहरण छ, तपाईंले रामचन्द्र पौडेलको अन्तर्वार्ता लिनुभयो, हिमालय टेलिभिजनमा प्रसारण पनि भयो, अन्तर्वार्ता लिने तपाईंको भिडियो लगातार देखियो, दिने रामचन्द्र पौडेलको भिडियो गायब, बोली मात्र सुनियो, यो त भयानक उदाहरण हो नि ?

त्यो मैले गरेको गल्ती होइन । क्यामेरा खिच्ने म होइन, प्रसारण गर्ने पनि म होइन । अन्तर्वार्ता खिच्दा दुईवटा क्यामेरा थिए, प्रसारण गर्दा एउटा मात्र क्यामेराको भएछ । रामचन्द्र पौडेललाई खिच्ने क्यामेराको दृश्य प्रसारण भएनछ । त्यसैले लगातार म देखिएको हुँ । देख्दा धेरै नराम्रो भयो तर गल्ती मेरो होइन ।

अर्को अझ कडा प्रसंग छ, एउटा म्यागेजिनमा तपाईंको फोटो थियो, फोटो तपाईं बुबाको किरिया बसेको वेलाको रहेछ, क्याप्सनमा लेखिएको थियो- बुबाको किरिया बस्दै पत्रकार ऋषि धमला दायाँबाट दोस्रो । फोटो छपाउन यति साह्रो गर्नुपर्छ ?

त्यो अलि दुःखद कुरा हो । फोटो आफन्तले खिचेछन्, त्यो म्यागेजिन पनि मेरै आफन्तले निकालेको हो । घरबाट ल्याएर फोटो हालेछन्, छापिएपछि मलाई पनि धेरै 
नरमाइलो लाग्यो ।

अन्तर्वार्ता लिँदा तपाईं निकै आक्रामक बन्नुहुन्छ, अतिथिमाथि पूरै हाबी हुन खोज्नुहुन्छ, जवाफ दिनेले वेलावेलामा तपाइर्ंलाई गाली पनि गर्छन्, तैपनि तपाईं उस्तै प्रश्न

गर्नुहुन्छ, किन ?

मैले अन्तर्वार्ता लिने समाचारको लागि हो । दुईजना नेता आए, आफ्ना-आफ्ना कुरा भने, गए भने मलाई के मतलब ? दर्शकलाई के मतलब ? दर्शकहरू अब के हुन्छ भन्ने सोचून्, यो मेरो उद्देश्य हो । म नेताहरूलाई सकेसम्म भड्काउँछु । तब न समाचार आउँछ । समाचारका लागि गाली पनि खान्छु, त्यसमा मलाई दुःख छैन । मान्छेहरू अहिले पनि इन्द्र लोहनीलाई सम्भिmन्छन्, इन्द्र लोहनी शालीन, भद्र भएको कारणले सम्भिmएका हुन् ? होइनन् । उहाँले नेताहरूलाई ल्याएर हुर्मत लिनुहुन्थ्यो, त्यसैले मान्छेहरू उहाँको नाम लिन्छन् ।

रिपोर्टर्स क्लबले हरेक वर्षजसो पत्रकारलाई पुरस्कार बाँड्छ, तर त्यो पुरस्कार रिपोर्टर्स क्लबको होइन, ऋषि धमलाको भनेर बुझिन्छ, पुरस्कार लिनेले नै कार्यक्रममा बोल्दा यसको स्रोत के हो भनेर प्र्रश्न गरेका उदाहरण छन्, स्रोत तपाईंले खुलाउनु पर्दैन ?

मैले दिएको पुरस्कार लिने, मैले जुटाएको मञ्चमा गएर बोल्ने अनि तेरो हैसियत के हो, तेरो स्रोत के हो भनेर प्रश्न गर्ने ? यस्ता साथीहरू देखेर मलाई दया लाग्छ । मेरो नियतमाथि शंका छ भने उहाँहरू त्यो मञ्चमै किन आउनुपर्‍यो, पुरस्कार नै किन लिनुपर्‍यो ? हो, मैले भन्नुपर्छ- दुःखै गरेर, मागेर पैसा जम्मा गरेको हो । कुनै एनजिओ/आइएनजिओले दिएको होइन । एउटा पत्रकारले व्यक्तिगत रूपमा स्रोत जुटाएर अरू दर्जनौँ पत्रकारलाई प्रोत्साहित गर्छ भने उसको खिल्ली उडाउनु हुँदैन ।

तर, तपाईंले एक लाख पुरस्कार घोषणा गरेका पत्रकारलाई ५० हजार र २० हजार घोषणा गरेकालाई पाँच हजार मात्र दिनुभयो भन्ने पनि ठूलै चर्चा छ, खाम खोलेर हेर्दा कतिपय पत्रकारहरू चकित परे, कतिले साथीहरूलाई भोज खुवाएको पैसा पनि सापट खोजेर तिर्नुपर्‍यो, यो विषयमा के भन्नुहुन्छ ?

यसरी उडाउने साथीहरूप्रति मलाई दया लाग्छ । कुन पत्रकारको खाममा पैसा कम थियो, त्यो साथी आओस्, मलाई भनोस् म पैसा दिन्छु र पत्रकारिता छाडिदिन्छु । पत्रकारिता 
उसैले गरोस् ।

तपाईं अन्तर्वार्ता लिनुहुन्छ तर सार्न अरूलाई दिनुहुन्छ, कतिपय लेख पनि अरू पत्रकारमार्फत लेखाउनुहुन्छ, नाम आफ्नो छपाउनुहुन्छ, आफ्नै साथीहरूलाई पैसा तिरेर लेख छपाउनमा के मजा छ ?

होइन, अन्तर्वार्ता उतार्ने मसँग समय हुँदैन त्यसैले साथीहरूबाट सहयोग लिन्छु । लेख पनि त्यस्तै हो, तर मैले आफूले सम्पादन नगरेको, आफ्नो लाइनभन्दा बाहिरको अहिलेसम्म केही पनि छापिएको छैन ।

र अन्तमा, ऋषि धमला दुर्गाप्रसाद धमला नै बनेर गाउँमा बसेको भए नेपाली पत्रकारिता कस्तो हुन्थ्यो ? यसमा म तीनवटा कुरा भन्छु ।

एक : नेताहरू गोप्य बैठकमा बोल्थे तर सार्वजनिक रूपमा बोल्न फोरम हुन्थेन । आन्तरिक बैठकमा अर्थात् वार्तामा नेताले के कुरा राख्छन् भन्ने सर्वसाधारणलाई थाहा हुँदैन । नेताहरूले आफ्ना अडान मिडियामार्फत जनतासम्म पुर्‍याउन रिपोर्टर्स क्लब फोरम भएको छ । यस्ता क्लब अरू पनि खुले, तर चर्चामा छैनन् ।
दुई : राजनीतिमा बबन्डर हुने थिएन । मैले जानिजानी बबन्डर मच्चाएको छु । रिपोर्टर्स क्लबमा आएर गणतन्त्रको पक्षमा बोलेकाले नरहरि आचार्यलाई गिरिजाप्रसाद कोइरालाले पार्टी प्रवक्ताबाट हटाउनुभयो । रिपोर्टर्स क्लबमै तराई नेपालबाट छुट्टनि सक्छ भनेकै कारणले शरत्सिंह भण्डारीको मन्त्री पद गयो । ठूलो हो-हल्ला पनि भयो । रिपोर्टर्स क्लब नभएको भए, यस्ता धेरै बबन्डर हुने थिएनन् ।
तीन : पत्रकारले कुरा गर्न, काम गरेर थाकेको वेला रमाइलो गर्न, दारु खाएर रेस्टुरेन्टमा मजाक गर्न मजस्तो अर्को पात्र हुने थिएन ।

उमेश चौहान
 
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 19 · Viewed 6795 · Likes 2
· Posts 1 · Viewed 165
· Posts 1 · Viewed 178
· Posts 1 · Viewed 237
· Posts 1 · Viewed 246
· Posts 1 · Viewed 326
· Posts 2 · Viewed 500
· Posts 1 · Viewed 339
· Posts 2 · Viewed 697
· Posts 1 · Viewed 334



Travel Partners
Travel House Nepal