[Show all top banners]

Gautam B.
Replies to this thread:

More by Gautam B.
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 -बाँसको पैसा-Gautam B.

[Please view other pages to see the rest of the postings. Total posts: 32]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 22108 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 08-21-06 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

“बाँसको पैसा”

-भाग १-

“नमस्कार हाकीम सा’प!” कमीज-सुरुवाल-इष्टकोटको परिधानमा आएका एकजना बूढा बा भित्र पसे।
“नमस्कार!” गर्मीमा उँघिरहेको हुनाले बूढाको बोलीले नगरपालिकाको हाकीम अलि झस्किएझैं भयो। “भन्नुस् के कुरा हो?” आँखा पनि नऊघारी हाकिम बोल्यो।
“हजुर म---- !“ बूढा अलि अक्मकाए, “मेरो बाँस---!”
“ए तपाईँ फेरि आउनु भो!?” त्यतिखेरसम्म हाकीमले आँखा खोलिसकेको थियो। “कति चोटि भन्ने मैले तपाईँलाई, दिन मिल्दैन भनेर? तपाईँका बाँस कल्ले ल्यायो, हाम्लाई के थाहा? लानेसंग केहि कागत-सागत मागेर राख्नुपर्दैन? त्यसै पैसो पाईन्छ? जानुस्, अब फेरि आउने हैन यहाँ----“ हाकिम झर्कियो र टेबुलको पत्रिका तानेर पढ्न थाल्यो।
“हैन हजुर, नगरपालिकाले दिन्छ भनेका थे लानेले।“
“फेरि त्यहि कुरा! ‘भनेका थे’ भन्दैमा हुन्छ? जिविसमा जानुस्, उनीहरुले दिन्छन् कि?”
“ग’को हो हजुर, त्याँ त झन अफिसै बन्द-----“
“अब के गर्ने त?” बूढाको कुरालाई बीचमै काटेर हाकीम करायो अलि ठूलै स्वरले। “यहाँ बाट दिन मिल्दैन, जल्ले लगेको हो, उसैकाँ जानुस्।“ हाकीम कुर्सीबाट जुरुक्क उठ्यो, कोट तन्याकतुनुक पा-यो, कुर्सीमा राखेको चकटी मिलायो र फेरि पत्रिका तानेर बस्यो। अँध्यारो मुख लगाएर ‍‍‍धुर्वलाल बूढा बाहिर निक्ले।
“दिएन बाजे?” नगरपालिकाको गेटनीर पीउनले सोध्यो।
“दिएन, दिएन। गरीबको पैसो खाए पापीले--- !” बूढालाई कुरा गर्ने मन पटक्कै नभएको थाहा हुन्थ्यो, उनको बोलीबाट। अलिक मास्तिर एउटा चिया पसल थियो, बूढा पसलको एउटा कुनामा गएर बसे र गम्दै चिया पिउन थाले।
बूढाको घर नगरपालिकाको छिमेकी गाऊँमा पर्छ। अब नगरपालिका पनि भन्नुमात्रै हो, उनको गाऊँ जत्तिको पनि छैन। उनकी जेठी छोरीको बिहे भो, तीन भाइ छोरा छुट्टिएर अलग बसे, उनी र बूढी बसेका छन्। बूढीलाई मुटुले दुख दिन थालेको दुई बर्खजति भो। छ-छ महिनामा काठमाडौँ लगेर निकै महँगो ओखती गर्नु पर्छ। त्यसकै भरमा धानिएकी छिन् रे अहिलेसम्म बूढी, डाक्टरले त्यसै भन्थे। बैशाख सकिँदा लानु पर्ने हो यस पालि, पैसाको ब्यबश्था हुन नसक्दा जेठको पनि आधी हुन आँटी सक्यो लान सकेका छैनन्।
चैत लाग्दा-लाग्दाको कुरो हो। बूढा-बूढी खाना खाईसकेर पीँढीमा बसेका थिए।
“क्या हो काका, बाँस कतिमा बेचियो त?” माथ्ला गाऊँको हरिनारान कता जाँदै रहेछ, बाटैबाट करायो।
“के कुरा गर्छ यो? गाहकी भेटिएकै छैनन्, काँ’ट बाँस बेच्नु नि!”
“बाँस काटिराख्या आवाज जस्तो लाग्या थ्यो त मलाई! मान्छेको हल्लाखल्ला पनि सुनेजस्तो लाग्यो। म त तिम्ले बाँस बेचिसकेछौ भन्ठानेर हेर्दै नहेरी आएँ। गईहाल, फेरि सप्पै लगिसक्लान्”। बोल्दा बोल्दै हरिनारान धुर्बलाल बूढाको आँगन कटेर बाटो लाग्यो।
“हे दैव, को चोर पस्यो फेरि?-----“ थामको किलामा झुण्ड्याएको टोपी टाउकोमा हालेर बूढा निक्ले। “तँ नआईज, -----“ बूढी पनि पछि लाग्न खोज्दै थिन् बूढाले रोके।
मज्जाले सप्रेको बाँसघारी थियो बूढाको। धेरै दु:ख गरेर हुर्काएका थिए यो बाँसघारी बूढा-बूढीले।। ‘सात हजार त नाची नाची मोलेर दिन्छ गाहकीले’, भन्थे सबैले। सात हजार नआएर छ हजारमात्रै आईदिए पनि बूढाको धेरै ब्यबहार मिल्ने थियो। सबभन्दा ठूलो त डाक्टरले बोलाएकै बेलामा बूढीलाई काठमाण्डु लगेर उपचार गर्न सकिन्थ्यो। बाँकी बचेकोले पाँच-सात महिनैको नून-तेलमा भरथेग हुन्थ्यो। तर ऐले बाँस चोरी हुन लागेको सुनेपछि बूढाका जीउबाट पसिना छुट्न थालेका थिए।

क्रमश:
 
Posted on 08-21-06 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"बाँसको पैसा"


-भाग २-

“हैन त्याँ बाँस काट्नी को हँ?----- तिम्लाई साईँध्वा हो, मैले जान्या छु!” बूढा कराऊँदै डिलबाट बाँसघारीतिर ओरालो हान्निए। पहिला त बूढाले ठम्याइहाल्न सकेनन्, नजिकै पुग्दा देखे उनको बाँसघारीमा हरिया बर्दी लगाएका सिपाहीहरु थिए, दश बाह्र जना। तीमध्ये आधा जसो भकाभक बाँस ढालिरहेका थिए, आधा बन्दूके भने पल्याक-पुलुक वरिपरि हेर्दै घुमिरहेका थिए।
“सवारीमा लान काट्या हो बाँस बाजे, तिम्रा बाँसका’ नी दिन आए---!” यौटा रिकुटेले बूढालाई हियाएजस्तो गरेर बोल्यो। खोलापारी टुँडिखेलमा राजाको सवारी हुने कुरो हिजो माईकले फुक्दै हिँडेको सुनेका थिए उनले पनि।
“सोधखोज मोलतोलै नगरी यसरी अर्काको बाँस काट्दिनु त भएन नी हजुर!” बन्दूके धेरै देखेर बूढा अलि हच्किएर नरम स्वरमा कुरा गर्न थाले।
“बजारभरि राजाको सवारीको गेट बनाउन, मञ्च बनाउन लानी हो, किन सोध्नु प-यो?” अर्को रिकुटे कड्कियो।
बूढालाई झनक्क रिस उठ्यो।
“बरु मलाई मार, तर म यो बाँस लान दिन्न! -----“ बूढा लडाएर थुपारेको बाँसको चाङमाथि गएर पसारो परे। बूढा ठूलो स्वरले कराएको सुनेपछि हातमा एउटा रेडियोजस्तो भाँडो लिएर एक्लै बोल्दै गरेको, हाकिमजस्तो देखिने अर्को बर्दिवाला त्यता आयो।
“के भयो? यो बूढो को नि?”
“यो बाँस यी बाजेको रे साप!” शुरुमा उनीसंग ठट्टा गर्नेले तिनिक्क तन्किएर बोल्यो। “पैसा नदिई लान दिन्न भन्छन्।“
“बाजे, यो बाँस सवारीमा लाने हो। पैसा नगरपालिकाले दिन्छ, पर्सि आइतवार गएर माग्नु, म भन्दिराखौँला।“ हाकिमजस्तोले बूढातिर हेरेर बोल्यो।
“मुखका भरमै पैसा देलान् र हजुर----?“ बूढा बाँसको चाङबाट उठे।
“दिन्छ दिन्छ, किन दिन्न? त्यो लेखेलाई म भन्दिउँला। यताउता सोध्यो भने विक्रम क्याप्टेन सा’पले भन्या भन्नु।“ बूढालाई यति भनेर हाकिम सिपाहीहरुलाई आदेश दिन थाल्यो। “----- ल बाँस उठाएर ले’ र हिँडो। ------।“
बूढाले हेर्दा हेर्दै रिकुटेहरुले एकैछिनमा बाँस ओसारेर सिध्याए। सिपाहीहरु सबै गईसकेपछि हेर्दा हेर्दै नाँगिएको आफ्नो बाँसघारी हेरेर बूढा धेरै बेर टोलाईरहे। ‘सवारी यहि बेला हुनु पर्नी! अनि मर्न नसकेका रिकुटेका आँखा पनि मेरै बाँसमा पर्नु पर्नी!’ तर आफ्नो निधारको पसिना आफ्नै टोपीले पुछेर घर फर्किनु बाहेक बूढासंग कुनै बिकल्प थिएन।
भोलिपल्ट बिहानैबाट टुँडिखेलमा ठूलो रमझम शुरु भयो। दश बजेतिर हेलिकउटर आयो जिल्लै हल्लाउँला जस्तो गरेर र बेस्मारी धूलो उडाऊँदै। अनि बेलून पनि खुब उडाए। माईकको आवाज बूढाको घरसम्म पनि टड्कारै सुनिन्थ्यो। सवारीले टुँडिखेल माथिको बजार पनि घुमेको कुरा पनि बूढाले त्यै माईकबाट सुनेका हुन्।अरु बेला भए बूढा रमिता हेर्न भएपनि पुग्दा हुन्, तर पैसो हातमा नपरीकनै आफ्ना बाँस गायब भएकाले बूढाको मन ठेगानमा थिएन। बरु बूढीले त्यति पिर गरेकी थिईनन्।‘बाँस लानी राजा हुन्, राजाले लगेपछि पनि पैसा नपाउनी हुन्छ, पिर नगर बूढा।‘ भनेर बूढालाई सम्झाइरहन्थिन्।
आईतवारबाट त आन्दोलन पो चर्कियो ए! दिन रात जूलूशै जूलूश! गोलीनै चलेर मान्छे मरेको खवर पनि आयो। नगरपालिकासम्म जाने आँटै गर्न सकेनन् बूढाले।
आन्दोलन सकियो, तर नगरपालिकाको मेयर लेखराम कता भाग्यो कता। राजाको पालाँ निकै चुरीफुरी गरेर धेरै मान्छे थुनाएको थियो, अहिले डराएर भागेछ। मालपोतको हाकिम नगरपालिकाको नया हाकिम भएर आयो भन्ने सुनेपछि बूढा पैसा लिन धाउन थालेका हुन्। पाँचचोटि भयो आजसम्म, दिने नामै लिँदैनन्। बूढा ब्यारेक पनि पुगेका थिए एकचोटि, तर त्यो क्याप्टेनसंग भेट हुनै पाएन। पैसा मिलिहाल्छ कि भनेर बूढा जिविस पनि पुगे। आज पनि पहिला त्यता गएर आएका हुन्। जहिले गएपनि ताल्चा झुण्डेको मात्रै देखिने त्यहाँ त झन्!



क्रमश:
 
Posted on 08-21-06 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"बाँसको पैसा"

-भाग ३-

चियाको पैसा तिरेर बूढा गाऊँतिरको बाटो उकालो लागे। बाटोमा ब्यारेक पर्थ्यो। ब्यारेक अगाडि बूढी उनलाई कुरेर बसिरहेकी थिइन्।
“क्या’र्न तँ याँ?”
“तिनले पैसा दिँदैनन् भन्नी था’ थ्यो मलाई।“ बूढाले नभनेपनि उनको मलिनो अनुहारबाट बूढीले चाल पाईसकेकी थिईन्। “बरु हिँड एकबाजी फेरि ब्यारेकमा गएर त्यो क्याउटेन हो कि स्याउटेन के जातिलाई भेटौँ।“
बूढा-बूढी ब्यारेकको मूल ढोका तिर लागे। भित्र पस्न नपाईने रहेछ। एकछिन त्यतिकै अल्मलिएपछि त्यो बेलाँ बाँस काट्नेमध्येको एउटा सिपाहीलाई भित्र ढोकाको छेवैमा देखे उनले।
“हजुर यता----, एउटा सानो बिन्ती थ्यो हजुर।“
“के हो? के भयो?” त्यो सिपाहीले आँखीझ्याल जस्तोमा आएर सोध्यो।
“हजुरहरुले हाम्रो वाँस ल्याउनु भ’ थ्यो, पैसा कतैबाट पनि पाइएन। विक्रम क्याउटेन साप हुनुहुन्छ हजुर? क्याउटेन सापले-----“
“ए बाजे तिमी पो! क्याप्टेन साप त काठमाण्डु गइसक्नु भो, अब आउनुहुन्न।“ बूढाको बोली बीचैमा काटेर सिपाही बोल्यो।
“हो र हजुर ----!?” बूढा बिलखबन्दमा परे। “हजुरहरुले भन्दे पनि हुन्थ्यो कि हजुर? हाम्रो त बिचल्लीनै-----“
“खोइ हाम्ले गरेर हुन्न बाजे।–“ भनेर सिपाही ब्यारेकभित्रतिर लाग्यो।
“के को हुन्न? अर्काको बाँस ल्याए’सी पैसा तिर्नुपर्दैन?” बूढि रन्किन थालिन्। “अर्काको बाँस सिँत्तैमा त लाश पर्दा मात्तै लान्छन्। हे पर्भु, हे पर्मेस्सोरी, मेरा बाँस लगेर पैसा नतिर्नीको पनि लाश परोस्, भष्म खरानी होस्---“ बूढीले सरापेको ब्यारेकभित्र कसैले सुन्यो कि सुनेन, तर ब्यारेकको अघिल्तिरका चिया पसलमा बस्ने सबैले अचम्म मानेर हेर्न थाले।
“नकरा, नकरा, हिँड। ---“ बूढीलाई तान्दै घरतिरको बाटो सोझ्याए बूढाले।
“यसै भएन, उसै भएन, माउवादीलाई भन्नी हो कि क्या हो?” एकछिन पछि बूढा आफ्नै सूरमा बोले।
“हुन्न हुन्न हुन्न!” बूढी च्याँठ्ठीइन्। “ती पनि उस्तै हुन्। फेरि औँला दिँदा डुडुल्कै निल्न खोज्छन् ती। लोकेको हाल हेर न वाँ, उठिबास लागो तीनका संगतले गर्दा।”
“हो ठीक भनिस्। उल्टो सवारीमा बाँस दिने राजाको मान्छे हो भनेर खेदो गर्लान् भन्नी डर! काउरेस-झालेमालेलाई भने पनि उहि हो। मनको वह, कसैलाई नकह। पैसा के गर्नी त राजारामकी आमा?”
“छोराहरुसंग मागौँ एकबाजी। म मर्छु नत्र भनेर माग्दा त देलान् नि अलि अलि।“
“के देलान् र? तैपनि भनौँ के रे एकबाजी। आमा होस् तँ। देनन् भने रिनै काटेर भएपनि जाउँला तेरो ओखती गर्न।“
बूढा-बूढी गन्थन गर्दै विस्तारै घरतिर लागे।

********************************************************


समाप्त
 
Posted on 08-21-06 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मन नै छोयो!!! मार्मिक प्रस्तुती!!! लेख्दै गर्नुस् गोतामे जी!!!
:)
 
Posted on 08-21-06 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Awww!! Gautam B.

Nice story....!!!

Kasto raamrari lekheko. It's real coz it's in Nepal.

हालको नेपालको परिस्थितीमा यसरी पिडामा पर्नेहरुको लामै लिस्ट छ। तपाईको कथा सार्है राम्रो लाग्यो।

Keep Writing.

Thanks
 
Posted on 08-21-06 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक्दमै राम्रो !
 
Posted on 08-21-06 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक दम राम्रो, मन नै कुटुक्का खाने, बिचरा बुदबुढी
 
Posted on 08-21-06 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सारै राम्रो छ गोताएँ। बाँस लानि मुर्दारलाई त्यै बासाँ टुँउँउँउँउँउँउँउँ पारेर लैजान्छन कि भनेर पर्खेको। सकेनन के रे। उल्टै फुलमाला भिरा'र जर्साप बनाए।
 
Posted on 08-21-06 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो गौतमजी अति मार्मिक अनि राम्रो लेखाइ।
 
Posted on 08-21-06 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Budi Ama ko sarap lagos Gyane bajiya lai!! you caught the right and relavent point to knit a story!! simple but great!!!
 
Posted on 08-21-06 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोतामे ज्यू, साह्रै राम्रो र यथार्थवादी लेखाई। सामन्तवादी प्रथाले नेपालमा सर्वसाधरणमाथि धेरै अन्याय गरेको छ र तपाईको कथा त यौटा उदाहरण मात्र हो। अरू नि यस्तै सर्वसाधारणको पीडामा आधारित कथाको पर्खाईमा।
 
Posted on 08-21-06 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सारै घत पर्ने कुरा रहेछ गोतामे ।
 
Posted on 08-21-06 7:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निर्माण, कुम्ले, Tyra, Amanisha, भउते, Pretty, Thaha Payen, चित्रे र नमे; सबैलाई धेरै धेरै धन्यवाद कथा पढेर प्रतिकृया दिनुभएकोमा।

धेरै पहिलेदेखि धेरै 'धुर्बलाल' हरुका धेरै 'बाँसघारी'हरु यसरीनै हराइरहेका छन्। लामो हिसाब किताब बाँकी छ! धुर्बलालले पैसा पाउने कहिले?
 
Posted on 08-21-06 7:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
मैलै त नहेरेको गौतमजीको पो रे'छ
 
Posted on 08-21-06 8:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्नी?!!! यो कथा त हाम्ले संकलन गर्दै थि'म के रे!
ल, अर्को लेख्न परो गोतामेजी, अनि यतातिर पठाइदिन परो।
 
Posted on 08-21-06 8:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Very touching Gautam B. Kudos.
 
Posted on 08-21-06 9:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
मैलै त नहेरेको गौतमजीको पो रे'छ ... ... ...
:>:>:)
 
Posted on 08-21-06 9:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजब छ गौतमजी!
यथार्थको कलमी चित्रण! मन नै भरिएर आउने!
 
Posted on 08-21-06 10:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैनके दादा साझाको सबै धागोहरु हेर्ने बानि छैन नि मेरो:)
बिहानै देखेको यो 'बाँसको पैसा' तर खे किन हेरिन
अघि हेरेको त साह्रै मन पर्यो के ।
गौतमजीको कथामा वास्तब मै नेपाली परिवेशकोयथार्थ चित्रण छ क।
यस्कोको बारेमा अरु कनै शब्द नै भेटाइन लेख्नलाइ -अनिमैलै नि हेरेको हो भनेर प्रमाण दिन मनलाग्यो ...अनि त्यत्ति मात्र.(..मैलै त नहेरेको गौतमजीको पो रे'छ ... ... ...') लेखेको
:)
 
Posted on 08-21-06 10:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरि!! उफ!! हत्तेरिका!! के के भनु ??!!!

म हो है उहि के मास्टर्नी नानीको विरोधि :D :D :D
 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
#MAGA#FAFO is delicious
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NEPAL TPS IS GONE
NOV 18th TPS DAY
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
EAD Filing
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
Leave messages on US congressman's facebook to support TPS
Business Ideas in Nepal?
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters