:: Blog Home       :: Sabai Nepali ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: RECENT BLOGGERS
::
:: ARCHIVES
:: April 2025
:: March 2025
:: February 2025
:: January 2025
:: December 2024
:: November 2024
:: October 2024
:: September 2024
:: August 2024
:: July 2024
:: June 2024
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: December 2023
:: November 2023
:: October 2023
:: September 2023
:: August 2023
:: July 2023
:: June 2023
:: May 2023
:: April 2023
:: March 2023
:: February 2023
:: January 2023
:: powered by

Sajha.com

:: designed by
:

   
Blog Type:: Personal Thoughts
Thursday, April 19, 2007 | [fix unicode]
 

“जापान-मनका केहि तरंगहरु”

दिक्षान्त समारोहको दिन, ब्यक्तिगत हिसाबमा, सबैजस्तै स्वाभाविक रुपमा म पनि खुशी थिएँ, त्यत्तिकै स्वाभविक खुशी मेरो परिवारमै पनि हुनेनै भयो।

प्रमाण-पत्रहरु वितरण भईसकेपछि विश्वविद्यालय-प्रमुखले सबैलाई बधाई दिँदै ८-१० मिनेट लामो मन्तब्य राखे र सबैको सफल भविष्यको कामना गरे। त्यसपछि सबै विद्यार्थिहरुको प्रतिनिधित्व गर्दै मन्तब्य राख्न भनेर एउटा जापानी केटो मञ्चमा उक्लियो। केटाले कोटको खल्तीबाट, राम्ररी पट्याएर राखिएको कागज निकालेर पढ्न थाल्यो। जापानी भाषाको मेरो सीमित ज्ञानका कारण बढीमा त्यस्तै १० मिनेट जतिको केटाको मन्तब्यको कति कुरा बुझियो, कति कुरा बुझिईएन। तर मैले राम्रैसंग बुझेका दुईटा कुराले भने जापानप्रतिको मेरो धारणामा पहिरै ल्याईदिए। तीमध्ये पनि पछिल्लो कुरोले विशेष प्रभाव पा-यो। ती दुबै कुरा मेरो ब्यक्तिगत जीवनसंग सम्बन्धित थिएनन्, यहाँसम्म कि जापानमा बस्ने विदेशीहरुसंग समेत सम्बन्धित थिएनन् मेरो जीवनमा कुनै प्रभाव पार्नको लागि।

पहिलो कुरो, केटोले जापानको २००६ सालका प्रमुख उपलब्धिहरुको शिर्ष सूचिमा मात्सुजाका दाईसुके बोस्टोन रेड सक्ससंग अनुबन्धित हुन सक्नुलाई राखेको थियो। ठीक छ, बेसबल भनेपछि मरिहत्ते गर्ने जापानीहरुका लागि यो कुरा ठूलो होला, तर के जापान एउटा देशको हिसाबले हेर्दा यो राष्ट्रिय गौरबकै कुरा हो त? पेशेवर खेलाडीहरु आज यता, भोलि उता हुनु सामान्य हो। बिस्तारै फूटबलले बेसबलप्रतिको त्यो ‘क्रेज’ पनि खोसेर लाँदैछ। भोलि कुनै जापानी फूटबल खेलाडी इटाली अथवा इंग्ल्याण्डको कुनै क्लबमा अनुबन्धित भयो भने यसैगरी उसको नाम आउला त? जापान बस्ने सबै बिदेशीले सजिलै भन्नेछन्, “आउँदैन!” किनभने दाईसुकेको नाम यसरी आउनुमा उ अमेरिकाको क्लबमा पुग्नु प्रमुख कारण हो। जापानीहरु अमेरिकासंगको प्रसंगमा अत्यन्त हीनताबोधले ग्रस्त छन्, उनीहरु दोश्रो विश्वयुध्दमा आफूले हार्नु परेको कारणको रुपमा भित्र-भित्र अमेरिकालाई घृणा गर्छन् तर जापान अझै सामरिक रुपले अमेरिकाभन्दा कमजोर भएकोले सतहमा अमेरिकाप्रति ठूलो चाकरीभाव दर्शाउँछन्। जापानीहरुले अरु विदेशीहरु र अमेरिकीहरुलाई गर्ने ब्यबहारको फरक हे-यो भने हाँसो उठ्छ। ठीक छ, सबै देशमा यस्तै छ भन्ने मानौं एकछिन, अमेरिकाप्रति यस्तो नगर्ने कुन देश अथवा कुन जनता होला? एक्लो विश्वशक्ति, सामरिक सर्वोच्चता, सबैभन्दा ठूलो अर्थतन्त्र, प्राविधिक-वैज्ञानिक उत्कृष्टता-- ,के छैन अमेरिकासंग?! तर जापानको हकमा भने अलि अचम्मै लाग्दो गरी पसेको छ यो हीनता-ग्रन्थि र ब्यक्तिगत तहदेखि राष्ट्रिय तहसम्म उस्तै छ। चिनिया, कोरीयाली, इण्डोनेशियन अथवा मलेशियाली, कसैमा पनि छैन त्यति त। अझै पनि मानिदिऊँ कि ‘बेसबल क्रेजी’ मानसिकताको परिचय हो यो, तर के यसबाहेक जापानसंग केहि छैनन् त गर्व गर्न लायक कुराहरु?

दोश्रो कुरो, केटोले २००६ को जापानको लागि सबैभन्दा खुशीको क्षणमा रुपमा जापानी अधिराजकुमार दम्पत्तिलाई भएको पुत्रलाभलाई उल्लेख गरेको थियो। गत सालको सेप्टेम्बरमा आकिशिनो-किको दम्पत्तिका तेश्रो सन्तानको रुपमा हिसाहितोको जन्म भएको थियो, जापानी राजदरबारमा ४० वर्षयताको पहिलो पुरुष सन्तानको रुपमा।

राजकुमार हिसाहितोको जन्मभन्दा पहिले जापानका परम्परावादीहरु र विशेष गरी दक्षिणपन्थी राजनीतिज्ञहरु अत्यन्त चिन्तित थिए, किनभने जापानी राजगद्दी आरोहणको लहरमा वर्तमान सम्राट आकिहितो र राजकुमार नारुहितोपछि नारुहितोकी सुपुत्री आईको थिईन्। जापानको इतिहासमा पहिलोपल्ट नारीले सत्तारोहण गर्ने सम्भावना देखिएको थियो र त्यसैअनुसारक नियम-कानून र बिधेयकहरु बनाउने माग उठ्न थालेको थियो। कथित परम्परा नाशिने डरले दक्षिणपन्थीहरुको टाउको दुखेको थियो र उनीहरु कुनैपनि हालतमा यसलाई रोक्न चाहन्थे। हिसाहितोको जन्मसंगै यी सम्भावनाहरु टरेर गए।

राजकुमारी मासाको (नोरुहितोकी श्रीमती)लाई पुरुष सन्तान पैदा गर्न ठूलो दबाब थियो राजदरबार र परम्परावादीहरुको। मासाको झण्डै तीन वर्षजति सार्वजनिक समारोहहरुमा देखै परेकी थीईनन्। के सम्म बाहिर आएको थियो भने मासाकोकै कारणलाई लिएर नोरुहितोको आफ्ना बाबुआमासंगको सम्बन्ध समेत बिग्रिएको थियो। मासाको फेरि बच्चा जन्माउन शारिरीक रुपले असक्षम भएको हल्ला पनि चलेका थिए, तर यथार्थ हो, होईन, यो लेखकलाई जानकारी भएन।

राजगद्दी चढ्ने कुरामा मात्र हैन, जापानको दैनिक जीवनमै महिला-पुरुष असमानता अत्यन्त बढी छ। झ्वाट्ट हेर्दा पत्ता लाग्दैन यो कुरा, तर केहि समय जापानमा बिताएपछि थाहा हुन्छ। संगै काम गर्ने कार्यालयमा चिया बनाउने काम महिलाकै हुन्छ। पाहुना आएभने पनि चिया बनाएर दिने काम पनि महिलाको हुन्छ। त्यसो त जापानमा माथिल्लो तहमा महिलाहरु असाध्यै कम छन्, नेपालकै हाराहरीमा आईपुग्ने गरी! (यसबारे तथ्यांकसहित साझाकै कुनै एउटा धागोमा राखिसक्नुभएको छ साथीहरुले।) घरमा त जापानी पुरुषहरु स्वास्नी हैन दासनै चाहन्छन्। यति विकसित र उच्च शिक्षित दर भएको देशमा यस्तो स्थिति एकदम अस्वाभाविक लाग्दो रहेछ।

जापानी महिलाहरुले विद्रोह नगरेका हैनन् तर यो विद्रोह नारा, जूलूश आदिको रुपमा नदेखिएर बिल्कुलै फरक ढंगले प्रस्तुत भएको छ। उनीहरुले विवाह गर्नै छाडेका छन्! फलस्वरुप, जापानमा जन्मदर एकदम कम भएर गएको छ (औसतमा एक दम्पत्ति बराबर १.३ भन्दा कम बच्चाहरु!) शहरमा बच्चाहरु कम देखिन्छन् र बूढाहरुको हूल बढ्न थालेको छ। केहि जापानी पुरुषहरु स्वास्नी खोज्न चीन, फिलिपिन्स आदितिर धाउन थालेका छन्। तर कतिले धाउने?!

एकातिर स्थिति यस्तो छ, अर्कोतिर जापानी राजनीतिज्ञहरुलाई भने खासै मतलब छैन। उनीहरु महिलाको स्थिति पुरुषसरह सम्मानजनक बनाउने, बच्चा जन्माउँदा र हुर्काउँदाको समयले महिलाहरुको पेशागत जीवन (क्यारियर)लाई दिने धक्कालाई सकेसम्म कम गर्ने, वच्चाहरुको हेरचाहका लागि राज्यले अझ बढी लगानी गर्ने आदि काम गरेर महिलालाई पारिवारिक जीवनतिर आकर्षण गर्नुको साटो ‘सन्तान नपाउने आईमाईलाई पेन्सन दिनुहुन्न!’ भनेर डाएटमा भाषण ठोक्छन्। केहि समय पहिला एकजना मन्त्रीले त ‘आईमाई भनेका बच्चा पाउने मेशीन हुन्, त्यसैले हरेक मेशीनले सकेसम्म बढी उत्पादन दिनुपर्छ---!’ भनेर भाषण हानेका थिए। त्यसले जापानमा निकै ठूलो खैलाबैला ल्याएको थियो तर जापानी प्रवृत्तिमा भने कुनै ठूलो अन्तर ल्याउन सकेन त्यो खैलाबैलाले पनि।

मलाई थाहा छ, यो जापानी यथार्थको प्रतिबिम्बमात्र देखिएको हो त्यो केटाको बोलीमा। ती कुरामा केटो आफैंले कति विश्वाश गर्छ, मैले थाहा पाउने कुरो भएन तर म ठोकेर के भन्न सक्छु भने केटो आफैंले त्यो लेखेको होइन, किनभने जापान अघोषित ‘सामाजिक-सांस्कृतिक साम्यवाद’ भएको देश हो। विश्वविद्यालय प्रशाशनले लेखेर उसलाई पढन लगाएको हो। त्यो केटाले जुन ‘खुशी’ ब्यक्त ग-यो, त्यो ‘खुशी’ जापानी राज्यको संस्थापन पक्षको ‘खुशी’ हो र याकुजा(आपराधिक गिरोह)हरुसंग टाउको जोडिएका राजनीतिज्ञहरुको 'खुशी' हो।

यी कुराहरु मैले पहिलेनै थाहा नपाएको होईन, तर त्यो दिन सुनेपछि भने मेरो दिमागमा एकदम गाढा भएर टाँसिएका छन् र मेरो चार वर्षे जापान जीवनका सम्पूर्ण सकारात्मक अनुभवहरु पहिरोमा पुरिएका छन्।

   [ posted by Gautam B. @ 02:50 AM ] | Viewed: 2669 times [ Feedback] (2 Comments)


: