|
|
|
लाग्छ हरपल तिमीले- काँध कोट्याएर बोलाइरहेजस्तो पछाडिबाट सुटुक्क- आँखा छोपेर झुक्याएजस्तो जब लुकीलुकी चियाउँछ रंगीन शरद दोबाटोमा अलिक छेलिएर- तिमी मलाई कुरिरहेजस्तो र हरेक घुम्तीमा म मोडिँदा- तिमी मेरो छातीमा ठोक्किएजस्तो जब लुकीलुकी चियाउँछ रंगीन शरद हेर, मभित्र बगेको तिम्रो याद झन् झन् गाढा भईरहेको जब लुकीलुकी चियाउँछ रंगीन शरद ए मेरो देश! हेर, तिम्रो मिहिन स्पर्शले मात्तिएको म तिमीसंगको मेरो प्रेमकथा निष्फिक्री, वेपर्बाह यी घुम्ती-घुम्तीलाई सुनाइरहेको घुम्ती कुरेर बसेका यी बस्ती-बस्तीलाई सुनाइरहेको । -सेप्टेम्बर २००८ नागोया, जापान (Also posted in http://www.basantagautam.com )
[ posted by
Gautam B. @
11:35 PM ] | Viewed: 3042 times
[
Feedback] (2 Comments)
|
|
: |
“ल म हिँडे बूढो! ढोका लगाउन आउनु त छोरी ले’र। हिँड्ने बेलाँ छोरीलाई चुप्प गर्नु परो।“ “पर्दैन, छोरीलाई थाहा नदी’कन जाउ। बेकाराँ रुन्छे एकछिन।“ तर आमा हिँड्न आँटेको थाहा पाएर छोरी ढोकैमा पुगिसकेछे। “ल छोरी, बाइ-बाइ गर मामुलाई!” म छोरी बोकेर उभिएँ। छोरी हात हल्लाउँदै रुन थाली सधैंजस्तै। ******************************************* “इसुका सुपा भित्रको एउटा रेष्टुरेण्टमा आरुबाइतो बोउसिउ देखेर फोन नं ल्या’की छु। म अब शनिबार, आइतबार काम गर्छु।“ “ठिकै छ नि, झण्डै डेढ वर्ष भईसक्यो तिमी घरको घरै भएको। गरे हुन्छ।“ चार महिना पहिला हाम्रो यस्तै घर-सल्लाहबाट शुरु भएको थियो उनको दुइदिने काम। छोरी पेटमा आएको केहि महिनाबाटै उनी घरमा बस्न थालेकी, त्यतिखेरसम्म त छोरी पनि एक वर्ष कटिसकेकी थी। ******************************************** छोरी फुलिएपछि उसलाई लिएर म भित्र पस्छु र छरिएका खेलौनाहरुको माझमा उसलाई छोडेर हिजो बेलुका धोएर मेशीनमै छोडिएका लुगा सुकाउन बरण्डातिर निक्लन्छु। ‘कता गएर लडी कि क्या हो?!’ छोरी अचानक च्याँठ्ठिएर रोएको सुनेर म हतारिएर भित्र पस्छु। अचेल कुर्सी, सोफा, टेबुल जता पनि चढ्न खोज्ने भएकी छे, कतिखेर कता चढेर लड्ने हो डरमात्रै लागिरहन्छ। कोठाको एउटा कुनामा बसेर रुँदै छे छोरी। लडेकी होइन रहेछ, आफू बस्ने सानो कुर्सी घिसार्दै हिँड्दा त्यसैले खुट्टा थिचेजस्तो लाग्छ। कुर्सी उ आफैंले हटाइसकेकी थिइ म पुग्दा। म आफूले देख्ने ठाउँमा ल्याएर राख्छु ऊ, उस्को कुर्सी र ऊस्का मनपर्ने खेलौनाहरुलाई। बिहान खाजा खाएका भाँडाहरु माझ्न थाल्छु बेला-बेला छोरीतिर पनि आँखा लगाउँदै। अचानक छोरी रमाएर उसको बालसुलभ शैलीमा खित-खित-खित हाँसेको सुन्छु। कतिखेर-कतिखेर मेरो आँखा छलेर बाथरुमभित्र पसिसकिछे। मैले अघि ढोका लगाउन ध्याननै दिएनछु। बाटाको पानी जगले उबाउँदै आफ्नो टाउकोमा, जीउमा हाल्दै थिई ऊ। लुगा सब भिजाईसकेकी थिई। “तँलाई बदमाश, के ग-या यस्तो?!” म उसलाई तानेर बाहिर निकाल्छु र भिजेका लुगा सबै फुकाल्दिन्छु। ऊ अब झन खुशी भएर बाथरुमतिर पस्छे। ‘भएन, नुहाइदिनै प-यो।‘ हरेक दिन साँझमा नुहाईदिने गरेको छौं, बिहान त्यति नुहाइदिएको छैन। नुहाइदिइसकेपछि उसलाई फेरि कोठामा खेल्न छोडेर म अघि माझ्दा-माझ्दै बाँकी रहेका भाँडाहरु माझ्न जान्छु। ‘भएन अब, पकाउने मेसो गर्नु प-यो। पकाइसकेर बस्यो भने ढुक्क।‘ भाँडा माझिसकेर म पकाउने सूरमा लाग्छु। ‘यो बदमाश--- फेरि---!’ उ कोठाको पल्लो छेउको कुर्सीमा चढेर भित्ताको पोष्टर छुने बल गरीरहेकी हुन्छे र लड्ली-लड्लीझैं भैसकेकी हुन्छे। म टिभी खोलेर कार्टून आईरहेको च्यानेल छ कि कतै भनेर खोज्छु, कुनैमा पनि हुँदैन। यत्तिकै एउटा च्यानेल लगाएर उसलाई कुर्सीमा राखेर छोड्छु। ‘एकछिन त अल्मलिन्छे होली यसमा।‘ म अझै खाना बनाउँदै छु (साह्रै सुस्त छु म यो काममा!), छोरी गनगन गर्न थालेकी छे, टिभीले बाँध्न सकेन उसलाई। उ भान्छामै आउँछे र मेरो पछिपछि लाग्छे, मलाई समातेर लुटुपुटु गर्दै। कुनै उपाय बाँकी छैन मसंग अब, यसैगरी काम गर्नु बाहेक। खाना बनाईसक्दा साढे दश बज्छ। अरु दिन उस्को होइकुएनमा खुवाउने समय एघार बजे हो। आधा घण्टाको लागि कोठा अगाडि निक्लन्छु म छोरी र एउटा ठूलो तर हल्का बल लिएर। भर्खर-भर्खर खुट्टाले हान्न जानेकी छे उसले, तर अझै पनि बढी हातैले बोकेर फ्याँक्न रुचाउँछे। छोरीसंग बल खेलेर, अगाडि-पछाडि कुद्दै ‘भेट्टाएँ--!’ खेलेर र कहिले उसलाई चरी देखाएर आधा घण्टा कट्छ। अहिले रमाइलो ‘मुड’मा छे, खाना सजिलै खान्छे होला भन्ने मेरो सोचाइ गलत निस्कन्छ। गनगन गर्दै ‘खान्न, खान्न’ भनेझैं टाउको हल्लाउँदै कम्प्युटरतिर देखाउँछे। खाना खाँदा ‘यू ट्यूब’मा नेपाली लोकगीत हेर्ने बानी लागेको छ उस्को (आफूलाई सजिलो गराउन हामीलेनै लगायौं भनौं न अब साँचो कुरा गर्नुपर्दा!)। म एउटा बीस मिनेटजति लामो दोहरी गीत छान्छु, तर ऊ रुन थाल्छे, अचेल यो धेरै सुन्दा-सुन्दा मन पर्न छोडेजस्तो छ। धेरै नयाँ गीत खोज्न मलाई बाध्य पार्छे आज ऊ। उसलाई खुवाएर म आफैंले पनि खाईसक्दा बाह्र कटिसक्छ। ऊ मेरो हात समातेर मेरो ध्यान तान्छे र ढोकातिर देखाएर ‘हुँ---हुँ’ गर्छे। बाहिर जाउँ भनेकी हो उसले। “काँ बाहिर जानु नि अहिले, गर्मी छ बाहिर---!” तर ऊ मान्दिन, खुट्टा बजार्दै रुन थाल्छे। कसरी यो खुट्टा बजार्ने बानी आयो, थाहा छैन। बच्चाहरु बढ्दै जाँदा स्वाभाविक रुपमा आफैं आउने हो कि? म उसलाई लिएर बाहिर निक्लन्छु। तर उसको सूर यहाँभन्दा परको रहेछ, मलाई भ-याङ्गसम्मै लान्छे तानेर र ‘तल जाऊँ’ भनेर माग गर्छे। “तल जानु हुन्न बाबा, गर्मी छ एकदम। हिँड भित्र जाऊँ।“ तर ऊ डेग चल्दिन त्यहाँबाट। “जानेभए आफैं जाउ, म भित्र गएँ, बाइ-बाइ!” उसलाई धम्की दिन्छु म र कोठातिर फर्किन आँटेजस्तो गर्छु। तर मेरो मतलब गर्दिन ऊ, तल ओर्लिन सिँढीमा एउटा खुट्टो राख्छे र मतिर हेर्छे, ‘मलाई समात्न आउने भए आइज, नत्र म आफैं ओर्लिन खोजेर लडिदिन्छु, अनि थाहा पाउलास्!‘ भनेजस्तो गरेर। मेरो धम्कीलाई निस्तेज पारिदिन्छ उसको धम्कीले! “बदमाश! कति दु:ख दिन जान्या होला---!” उसको हात समातेर ओर्लिन थाल्छु म। तल पुगेपछि ऊ मेरो हात फाल्दिन्छे र सडकतिर दौडिन खोज्छे। उसको गति नियन्त्रण गर्न हम्मे-हम्मे पर्छ मलाई। एकदम रिसाउँछे पनि ऊ आफूले चाहेको जसरी स्वच्छन्द दौडिन नपाएकोमा। ऊ घरनजिकैको एउटा उद्यानतिरको बाटो समाउँछे। ठाऊँ र दिशा अलिअलि सम्झिन सक्ने भईछे अब। एकछिन पछि-पछि लाग्छु म, एकमन लाग्छ ‘उद्यानसम्म लैजाउँ छोरीलाई, पिङ्ग खेल्छे, कुद्छे, रमाउँछे।‘ तर प्रचण्ड गर्मी छ, ‘यो गर्मीमा धेरै बाहिर राख्यो भने यो बिरामी हुन्छे।‘ म उसलाई बोक्छु र घरतिर फर्कन्छु। कोठामा पसुञ्जेलसम्म पनि ऊ रुँदै, छटपटाउँदै र रिसले मेरो मुख कोतर्दै, मेरो कपाल भुत्लाउँदै हुन्छे। म कोठामा छरिएका खेलौनाहरु र लुगाहरु मिलाउन थाल्छु। रुवाइ रोकिईसकेको छ उस्को र ऊ मेरो लुगा समातेर मेरो पछि-पछि लागेकी छे। खुब मनपर्छ उसलाई यसो गर्न। हिँडिरहँदा आफ्नो ‘जिबरीश’ बोलीमा के के भनीरहेकी पनि हुन्छे। एकछिनपछि ऊ आँखा मिच्दै रुन थाल्छे। मलाई थाहा छ, यतिखेरको रुवाईको कारण। ऊस्को सुत्ने समय भयो। पहिला अलि-अलि पढिएको मात्रै थियो, अहिले अनुभवनै भयो, बिरामी भएको बेला बाहेक बच्चाहरु एकदम नियमित समयतालिका अनुसार सुत्ने-उठ्ने गर्छन्। म हतार-हतार उस्को विछ्यौना मिलाइदिन्छु र उसको मुखमा ‘‘स्याबुरी’ राखिदिन्छु। एकछिनमै निदाउँछे उ। ऊ ननिदाउञ्जेल उसलाई थपथपाउँदै विछ्यौनामा पल्टिँदा म पनि उँघ्न थालिसकेको हुन्छु। आज बिहान चार बजेतिर छोरी एकछिन गनगन गरेकी थिई। ऊ त एकछिन पछि फेरि निदाईहाली, हामी भने फेरि निदाउन सकेनौं। त्यसैले एकदम निद्रा लागेको छ मलाई। तर सुत्ने समय छैन मसंग! छोरी सुत्ने दुई-साढे दुई घण्टाभित्र धेरै काम गर्नु छ मैले। ‘बाथरुम सफा नगरेको धेरै दिन भईसकेको छ, ‘चौतारी’ पढ्नु छ, ‘कान्तिपुर’ पढ्नु छ, ‘ब्लग’मा केहि नलेखेको हप्ता कट्न आँटिसक्यो (बेकारमा थपिएछ यो बोझ जिन्दगीलाई!), कोहि साथी ‘लाइन’मा आए ‘च्याट’ गर्नु छ---‘। एक कप चिया बोकेर म कम्प्युटरको अघिल्तिर टाँसिन्छु। अहिले बल्ल थाहा पाउँछु म आफू कति थाकेको रहेछु भनेर। पहिला-पहिला पूरै समय उनले छोरी हेर्दा ‘एकदिनभरि छोरी एक्लैले स्याहार त, कति गाह्रो हुन्छ!’ भनेर उनले भन्दा त्यसै हाँसेर उडाइन्थ्यो, अहिले बल्ल बुझ्दैछु। पत्रिकाका खबरमा खासै मन जाँदैन, टाउके खबर (हेडलाइन) हरु मात्रै पढ्छु। अनि ‘चौतारी’ पस्छु। कोहि पनि नहुने समय भएछ। सबैभन्दा पछिल्लो पोष्ट पनि एक घण्टा पुरानो भईसकेछ। एक राऊण्ड चौतारीको हावा खाँदै गाम्लेका कुरा पढेर एक्लै हाँसिसकेपछि म फेरि कुर्सीमै ऊँघ्न थाल्छु। दुईटा साथी त देखिएका छन् लाइनमा तर ‘भाँडमा जाओस् आज च्याट-स्याट पनि!‘ छोरी उठेपछि उसलाई लिएर म उद्यानतिर लाग्छु। गर्मी छ अझै, तर ‘यत्तिको गर्मीले त खासै फरक नपर्ला।‘ केहि अरु बच्चाहरु खेल्दै थिए। छोरी सोझै पिङ्गतिर जान्छे। म उसलाई पिङ्गमा राखेर मच्चाइदिन्छु। ऊ खुशीमा के के ‘जिबरीश’ बोल्न थाल्छे फेरि। म अगाडि गएर उस्लाई जिस्काउँछु र बेला-बेला पिङ्ग मच्चाइदिइरहन्छु। “छुटेको हो तिमी?” उनको फोन रहेछ। “हो। तिमीहरुका बाउ-छोरी छोरी काँ’ नि’ अहिले?” “पार्कमा।“ “छोरी के गर्न लागेकी छे नि’?” “पिङ्ग खेली अघाउञ्जेल। अहिले त्यो काठको घोडाजस्तो के जातीमा बसेर हल्लिराखेकी छे।“ “म त्यतै आउँ?” “भयो अब, धेरै बेर भईसक्यो। बरु हामी घरतिरै आउँछौं।“ “छोरी, हेर त को आयो?” घरनिर उनी देखिन्छिन्। “माम्मा---!” छोरीको अनुहार उज्यालो हुन्छ। उनी अलिक परै उभिएर आफ्नो अँगालो फैलाउँछिन्। छोरी दोडिँदै उनीतिर जान्छे। उनी छोरीलाई उचालेर एकचोटि माथिसम्म पु-याउँछिन्, अनि काखमा लिन्छिन् र चुप्प गर्छिन्। म मन्त्रमुग्धझैं हेरिरहन्छु। जिन्दगी मलाई कुनै अनवरत सुन्दर यात्राजस्तै लाग्छ। *********************************** प्रयोग गरिएका जापानी शब्दहरु: इसुका: काल्पनिक ठाऊँको नाम सुपा: ‘सुपरमार्केट’ को जापानी बोली ‘आरुबाइतो बोउसिउ’: ‘पार्ट टाइम काम गर्नेहरुको आवश्यकता’ होइकुएन: बेबी केयर, किण्डरगार्टेन स्याबुरी: (विशेष गरी) सुत्ने बेलामा बच्चालाई चुस्न दिइने चिज, अंग्रेजीमा Pacifier ------------------------------------------------------------------------------------- -वसन्त गौतम अगष्ट ३०, २००७ (दिउँसो ५ बजे) खासुगाइ, जापान - http://gautambasanta.blogspot.com
[ posted by
Gautam B. @
02:24 AM ] | Viewed: 2272 times
[
Feedback] (2 Comments)
|
|
: |
“छोरी अझै उठेकी छैन है!” म नुहाएर निक्लँदै सोध्छु उनलाई। “उठेकी छैन। भर्खर कोल्टे फेरेर सुतेकी छे। अझै एक घण्टा उठ्ली जस्तो छैन।“ “आज पनि मलाई ढिला गराउने भई!” चिन्तित हुन्छु म। “बदमाश बिदाको दिनचाहिँ पाँचै बजे उठेर दौडिन थाल्छे, अहिलेचाहिँ हेर न!” उनी छोरीतिर मायालु दृष्टि दौडाउँछिन्। हामी खाजा खान थाल्छौं। हामीलाई लागेको मात्र त्यस्तो हो कि कुन्नि, विदाको दिन छोरी चाँडै उठ्छे, अरु दिन ढिलोसम्म सुतिदिन्छे। “उठाए हुन्छ नि अब, सात बजिसक्यो।“ “के उठाउनु, बच्चाको निद्रा, बिथोल्नु त्यति राम्रो नहोला।“ यो हाम्रो लगभग दैनिकजस्तो सल्लाह हो! ******************** “साढे सात भईसकेछ। मलाई ढिला हुन आँट्यो, केहि गर्नु छ मैले?” तयार हुँदैछिन् उनी। एउटा कम्पनीमा इण्टर्नशिप गर्दै छिन् उनी र साढे आठ बजेसम्म पुगिसक्नुपर्छ। यो तीन महिना छोरीलाई बिहान तयार बनाएर होइकुएन सम्म लाने जिम्मा मेरो छ। बेलुका उनी लिएर आउँछिन्। “होइकुएन मा लानुपर्ने सामान मिलाईदेउ। अरु म गरौंला।“ “छोरीको बिछ्यौना यो ठूलो झोलामा छ। पाँचवटा ओमुचु र पोलिथिनको झोला छोरीकै पहेंलो ब्यागमा छ। टि-शर्ट एउटा र कट्टु एउटा हाल्न बाँकी छ, ड्रयरबाट झिके हुन्छ।“ बोल्दा-बोल्दै उनी ढोकासम्म पुगिसक्छिन्। म ढोका लगाएर आउँछु। पहिला उसको ज्वरो नाप्छु, अनि बेबी केयरको नोटबुकमा तापक्रम चढाउँछु। ज्वरो त छैन। अनि अझै मस्त निद्रामै रहेकी छोरीलाई ओछ्यानबाट उठाएर काखमा लिन्छु। आफू एकदम निर्दयी भएजस्तो लाग्छ मलाई र पछुतोले भरिन्छु। तर अरु केहि उपाय छैन मसंग अब। एकदम ढिला भईसक्यो मलाई। “छोरी! बाबा! उठ त अब!” म विस्तारै बोलाउँछु, उ अझै मस्त निद्रामा छे। एक छिनपछि उ चल्मलाउन र आँखा मिच्न थाल्छे, अनि गनगन गर्दै ब्युँझिन्छे। “उठ छोरी अब! पापालाई ढिला हुन्छ नि फेरि!” भर्खरै पिसाब गरेकी रहिछे। म ओमुचु निकालिदिन्छु र उसलाई एकछिन त्यत्तिकै छोडिदिन्छु। उ अझै गनगन गर्दैछे। आज अलि बढीनै झर्किरहेकी छे, सधैं यतिखेर उठाउँदा हाँस्दै उठ्थी। म उसको हात समातेर उसलाई वाश बेसीनतिर लैजान्छु। हात-मुख धुवाएर ल्याएर पानी खुवाउँछु। उसलाई उसको सानो रंगीन कुर्सीमा राखेर, खाना खुवाउँदा लगाउने –याले भिराइदिन्छु। अनि भान्छामा गएर हतार-हतार उसको खाजा तयार पार्न थाल्छु। हल्का तातेको पाउरोटीलाई मसिना-मसिना टुक्रा बनाउँछु, लिटो भन्दा यहि चाँडो होला जस्तो लाग्छ। अनि पाउरोटी र मनतातो दूध लिएर उसको अगाडि हाजिर हुन्छु। शुरुमा दुई-चार टुक्रा सजिलै खान्छे, पछि टाउको घुमाउन र झर्किन थाल्छे। कहिले हल्का हप्काएजस्तो गरेर, कहिले गीत गाएर फकाएर, कहिले ठूलो-ठूलो स्वरमा हाँसेर उसलाई भुलाएर सबै खुवाइछाड्छु। त्यसपछि अघि बनाएर बोतलमा बाँकी रहेको दूध उसैलाई दिन्छु। उ बोतलबाट दूध पिउन थाल्छे। अनि हतार-हतार बेबी केयरको नोट बुकमा हिजो बेलुका देखि अहिलेसम्मको उसको स्वास्थ्यस्थिति, खाएको खाजा आदिका बारेमा भर्छु र आफू लुगा फेर्न थाल्छु। आफू तयार भएर उसलाई पनि तयार पार्दासम्म आठ बज्न पाँच मिनेटमात्रै बाँकी हुन्छ। ‘समयमा त आज पनि नपुगिने भइयो।‘ मनमा यहि मात्रै हुन्छ। ‘तैपनि हतार-हतार जाँदा पुग्न पनि सकिन्छ। आठमा हिँडे भने आठ बीससम्म त पुगिहाल्छु। अनि त्यहाँ तिन मिनेट अल्मलिएँ भने पनि दौडेर गएँ भने त साढे आठको ट्रेन पक्कै भ्याउँछु।‘ बेबी केयरबाट धेरै टाढा छैन ट्रेन स्टेशन। ‘भनेजस्तो कहाँ हुन्छ र, भ्याइन्न होला।‘ उसको र आफ्नो जुत्ता निकाल्दै हुन्छु म, केहि गन्हाएजस्तो लाग्छ। दिक्क हुँदै उसलाई उचालेरै सुँघ्छु म। नभन्दै हो रहेछ, दिसा गरिछे। फेरि कोठातिरै फर्केर उसलाई कार्पेटमा सुताएर ओमुचु फेर्दिन्छु। “बदमाश! अघि त्यतिञ्जेलसम्म नगर्नी, अहिले हिँड्ने बेलाँ गर्नी?!” म भुत्भुताउँदै ओमुचु ‘गोमी हाको’मा हाल्न बरण्डातिर निक्लन्छु। म फर्केर आउँदा छोरी कोठामा हुन्न। हिजो सुकाएर उठाएका लुगा सबै छरेर बास्केटलाई उल्टाएर हिँडिछे। ‘सुकेकै लुगा त हुन्, के होला र?’ भनेर छोड्दिन्छु। तर भान्छामा पुगेर छोरीले अर्को विध्वंश मच्चाइसकिछे, त्यहाँको ‘गोमी हाको’ लडाएर फोहर सबै छरेर! “छोड्---! के ग-या यो---?” साँच्चै झर्किँदै उसलाई पन्छाउँछु म। म झर्केको देखेर ऊ रुन थाल्छे। यो पनि यत्तिकै छोडेर हिँड्न आँटेको थिएँ, तर देख्छु बढी भएर फालिएको खाना पनि छरिएको छ भान्छा भरि। यो गर्मीमा यत्तिकै छोड्नु हुन्न भनेर सफा गर्न थाल्छु। फोहर सबै उठाउँछु, भुईँमा लागेको दाग भने नपुछी छोड्दिन्छु। ‘अब यो तालले त नौको ट्रेन पनि छुट्छ!‘ म ट्याक्सी बोलाउँछु। अघि मेरो हप्काइले शुरु भएको छोरीको रुवाइ ट्याक्सी आइपुग्दासम्म बन्द भैसक्छ। “खावाइ ने!” ट्याक्सी ड्राइभर छोरीलाई हेरेर बोल्छ। छोरीलाई काम पुग्छ, ऊ फेरि गनगन गर्दै पिरल्ने पाराले रुन थाल्छे। सधैं त हाँस्थी कसैले बोलाउँदा, ‘आज देवी चढ्या छ यसलाई!’ म फुलाउने कोशिश गर्छु। उसलाई फुलाउँदै गर्दा मेरो मनमा धेरै कुरा चल्न थाल्छन्। धेरै दिन भईसक्यो यसरी ढिला-ढिला जान थालेको। अफिसमा कसैले ठाडै त केहि पनि भनेको छैन अहिलेसम्म, तर खासखुस गर्न थालिसके। हाकिमले पनि थाहा पाईसक्यो होला यसरी म लगातार जसो ढिला आउन थालेको। कुनदिन ‘निक्ली’ बनेर कागत दिने हो! आफैंलाई पनि आत्मग्लानि हुन थालेको छ यसरी सबैको नजरमा कामचोर देखिन परेकोमा, एक किसिमले नेपालकै छवि बिगार्ने बनिएकोमा। ‘छोरीलाई संगै राखेर गाह्रो होला जस्तो छ, नेपाल पठाउनै प-यो, नसकिनै भइयो!’ दिक्क मान्दै सडकतिर हेर्छु म। अघिनै उदाएको भएपनि घाम अझै सडकसम्म आईसकेको छैन, अग्ला घरहरुले छेकिएको छ अझै। “ उ चरी हेर त छोरी, चरी आएछ नि!” केहि गरेर पनि नफुलिएपछि बाहिरतिर देखाउँछु म। चरी देखिने न त कहाँ हो र कंक्रिटको जंगलमा! “देतेत, देतेत----“ उसको रुवाइ अचानक बन्द हुन्छ र ऊ ताली बजाएर गाउन थाल्छे। यो ‘देतेत, देतेत----‘ केहि पहिले एकदिन सुत्ने बेलाँमा मैले सुनाएको लोरीबाट टिपेकी हो उसले। वास्तवमा ‘ताराबाजी लै लै---‘ बाहेक मैले जानेको अर्को लोरी त्यत्ति एउटा मात्रै हो (उसकी आमाले दशौं लोरी जानेकि छिन्! )। त्यो पनि बिर्सेको थिएँ, सम्झेको धेरै भएको छैन। आइज चरी लैजा कान हाम्री छोरीलाई गोसाईँथान गोसाईँथानमा के के छ? चरीले लौरी टेकेछ----- यो लोरी पनि मैले जानेको यत्तिमात्रै हो। यसमै म जेपनि थप्दिन्छु, जस्तो ‘आर्याच्यानले देखेछ, मिकीच्यानले देखेछ, मामुले पनि देखेछ, पापाले पनि देखेछ, अंकलले पनि देखेछ, अण्टीले पनि देखेछ---‘ आदि। अनि उसले ‘देतेत’ भन्न जानेकी छे। ‘चरी’ भन्ने शब्द सुनेपछि उ ‘देतेत, देतेत’ गर्न थालिहाल्छे। छोरी आफ्ना साना कोमल हातहरुले ताली बजाउँदै ‘देतेत, देतेत’ गर्दैछे, उसको अनुहार उज्यालिएको छ। बाहिर अग्ला घरहरु नाघेर घाम बल्ल सडकमा ओर्लिन थालेको छ। मेरो मन पनि उज्यालिन थाल्छ। ‘किन नेपाल पठाउनु छोरीलाई?! बरु अलिक लचिलो कुनै काम खोज्छु र यो काम छोडिदिन्छु। केहि लागेन भने ‘घण्टे’* हुन तयार छु। छोरी त आफैंसंग राख्नुपर्छ----! यत्री त बनाईयो, अब झन सजिलो होला हुर्काउन---!’ अनि म पनि हल्का ताली बजाउँदै छोरीसंगै गाउन र हाँस्न थाल्छु, आइज चरी लैजा कान हाम्री छोरीलाई गोसाईँथान गोसाईँथानमा के के छ? चरीले लौरी टेकेछ----- हामी बाउ-छोरी अचानक खुशीले गाउन थालेको देखेर चालक दंग परेर ऐनाबाट हेर्दैछन् हामीलाई। घाम पूरै ओर्लिसकेको छ सडकमा र सडक पूरै उज्यालिएको छ। *************************************************** *************************************************** प्रयोग गरिएका जापानी शब्दहरु: ओमुचु: डायपर होइकुएन: बेबी केयर, किण्डरगार्टेन गोमी हाको: फोहर हाल्ने भाँडो खावाइ ने: कस्ती मायालाग्दी, So lovely भन्ने अर्थमा --च्यान: बच्चीहरुलाई माया गरेर बोलाउँदा उनीहरुको नामको पछाडि ‘च्यान’ जोडेर बोलाईन्छ। नेपालीको ‘नानी’संग नजिक छ। र जापानी त हैन तर त्यो ‘घण्टे’ भन्ने शब्दको बारेमा। घण्टाको हिसाबले दाम पाईने ‘पार्ट टायम’ कामलाई मैले गोताएँ पाराले न्वारान गर्देको! ------------------------------------------ -वसन्त गौतम अगष्ट २४, २००७ (रात्रि १०:५०) खासुगाइ, जापान http://gautambasanta.blogspot.com
[ posted by
Gautam B. @
12:34 AM ] | Viewed: 2294 times
[
Feedback] (1 Comment)
|
|
: |
सडक कार्यालयको जिल्ला प्रमुख भोजप्रसादको इज्जतदार,शान्त र सुरक्षित जीवनमा अचानक ठूलो आँधी आएजस्तो भयो। सर्सीहा जिल्लाको अलिक भित्रको देहातमा सडक पिच गर्ने बजेटसंग जोडिएर आएको आँधी थियो यो। बाक्लो बस्ती भएको र तिब्र गतिमा नयाँ बजारको रुपमा विकास भईरहेको हरिगञ्ज नाम गरेको यो क्षेत्र पहिलेदेखिनै जनश्रमदानले बनेको एउटा कच्चीनै सही, फराकिलो बाटोले सदरमुकामसंग जोडिएको थियो, । यो कच्ची बाटोमा पूरै ग्राभेल गर्ने र प्रमुख भागहरुमा पीच गर्ने भनेर सरकारले पैसा दिएको थियो, गत वर्षको बजेटमाफर्त। यो भेगको लागि सरकारले पैसा छुट्याएको इतिहासमै यो शायद पहिलो पटक थियो। बजेट ‘नेपाली’ पाराले खर्च भएको हुनाले पिचको त कुरै नगरौं, ग्राभेल पनि सबै ठाउँमा हुन सकेको थिएन। छरेको ग्राभेलको गुणस्तर पनि असारको पहिलो साता अचानक परेको एकदिने झरीले छर्लङ्गै पारिदियो! बाटो अब झन बिग्रियो र कुरुप पनि देखिन थाल्यो। ब्यापक भ्रष्टाचार भएका समाचारहरु आए र सबैमा जिल्ला प्रमुख भोजप्रसादको नाम जोडिएर आयो। सानोतिनो आँधीलाई त भोजप्रसाद आफ्नो पहुँच र प्रभावका भरमा थाम्न सक्थ्यो, तर यो कुराले भने साह्रै ठूलो रुप लियो। निकट भविष्यमै पदोन्नति हुने ‘लाइन’मा भएकोले उ यो कुरा सकेसम्म थामथुम भएर सेलाएको देख्न चाहन्थ्यो। उसले चाकडी बजाएका उ माथिका हाकिमहरुले पनि एकचोटि हरिगञ्जमै गएर आफैंले जनताको चित्त बुझाउन र साथसाथै काम नसकिनु र राम्रो हुन नसक्नुका कारणहरु खुलाएर पत्रिकामा लेख्न सल्लाह दिएपछि त्यता जानैपर्ने भयो उसलाई। मधेशमा फैलिरहेको अशान्ति र हिँसाले गर्दा देहात त के सदरमुकाम बजारपुरमै पनि बस्ने आँट थिएन भोजप्रसादको। यस पटकपनि एक महिना लामो काठमाण्डौं बसाइ पछि अस्तिमात्रै उ आएको थियो जिल्लामा। हिजो दिनभरि जिल्ला कार्यालयका अरु कर्मचारीहरुलाई फकाउन ब्यस्त भयो उ, हरिगञ्ज पठाउन। छिटो बढुवा अथवा आवश्यक परे अलि धेरैनै पैसा कै लोभ देखाएर अर्को कुनै इञ्जिनीयरलाई पठाउने र आफू सदरमुकाममै बस्ने सूर थियो उसको। तर जान कोहि पनि तयार भएन। देहात पस्न सबै त्रसित थिए। आफू जानै परे पनि अर्को कोहि साथ लिइ जाने चाहना थियो उसको। कसै-कसैलाई त धम्कीकै भाषा पनि प्रयोग गरेको हो उसले ‘जागिर खादिन्छु!--- ‘ अथवा ‘स्थायी हुन दिन्न तँलाई!---‘ भनेर, तर ज्यानको माया जागिरको मायाभन्दा ठूलो निक्लियो। बल्ल-बल्ल एउटा भर्खरै आएको ठिटौले इञ्जिनीयर तयार भयो जान। उ पनि हाकिमसंगको डरले नभइ, ‘देहात अहिलेसम्म गा’ छैन, एकचोटि जाउँ र हेरौं।‘ भन्ने विचारले मात्रै जाँदै थियो। कसैले भोजप्रसादलाई हरिगञ्जको गाविस सचिव रामध्यानको सदरमुकामस्थित डेराको ठेगाना दियो र त्यो गाउँको वस्तुस्थिति बुझ्न उ रामध्यानकहाँ पुग्यो। केहि महिनादेखि सदरमुकाममै बसिरहेको रहेछ रामध्यान। हरिगञ्जमा अहिले अन्तजस्तो अशान्ति नभएको खबर पाएकोले चाँडै उतै फर्किने सूरमा रहेछ रामध्यान पनि। भोलिपल्ट संगै जाने सल्लाह भयो उनीहरुको। भोलिपल्ट बिहान सबेरै जिल्ला कार्यालयमा जम्मा भए उनीहरु। अलिक गन्यमान्यको घरअगाडि हाल्न हुन्छ भनेर १५-१६ वटा ठूल्ठूला बोरामा राम्रो गुणस्तरको रोडा भरेर राखिएको थियो। देखाउनकै लागि भएपनि सर्भे गर्ने इत्यादिका दुई-चार गह्रौं सामानहरु पनि लाने कुरा सुनायो भोजप्रसादले, रंगीचंगी, अनौठा र गह्रौं सामान देखेपछि साँच्चै काम गरेको मान्छन् जनताले भनेर। कार्यालयका श्रमिकहरुले गाडीको पछिल्तिर सामान त भरिदिए, तर देहात जान तयार भएनन्। बजारमा मान्छे खोज्न थाले उनीहरु। बजारका स्थानीय पनि कोहि पनि देहात पस्न तयार भएनन्। “उ त्यो मान्छेलाई बोलाउनुस् त। ‘लोकल’ होइन जस्तो छ, जान्छ होला।“ अलिक पर बस कुरेर उभिईरहेको, पुरानो र मैलो कट्टू, टी शर्ट र हवाइ चप्पल लगाएको, हेर्दा तीस बर्षजतिको लाग्ने पहाडी अनुहारको एउटा मान्छे देखाएर भन्यो भोजप्रसादले। आफूचाहिँ किन हो कुन्नि, गाडीबाट बाहिर निक्लियो। गाविस सचिवले गएर कुरा ग-यो त्यो मान्छेसंग। दुबैजना गाडीतिर आए। "दिउँसो दुई बजेसम्म त पक्का आइपुगिन्छ है हजुर?!” त्यो नयाँ मान्छे गाडीमा बसुञ्जेलसम्म पनि रामध्यानसंग सोध्दै थियो। एकछिनपछि भोजप्रसाद अर्को गाडी लिएर निक्लियो कार्यालयबाट, आफैंले हाँक्दै। "तपाईँहरु त्यसमा जाँदै गर्नुस्, कृषिमा पस्नु छ मलाई एकछिन, साथी भेट्न।“ सचिवहरु बसेको गाडी अघि लाग्यो। भोजप्रसाद एकछिनपछि कृषि कार्यालयतिर मोडियो। “नाम के हो तिम्रो दाइ?” काम गराउन ल्याईएको मान्छेसंग कुरा गर्न थाल्यो इञ्जिनियर। “मानबादुर हजुर।“ “घर काँ’ नि?” “घर त पहाड इलाम हो हजुर!” “इलामको मान्छे कसरी याँ त?!” “अस्ति झापा झ-या थें हजुर, ढुंगाको टरकमा। त्याँ बाट हिजो फेरि सिमेण्टको टरकमा यता आइयो। आज भरे त जसरी नि फर्किनुपर्छ।" *************************************** फड्केसाँघुको मावलीबाट फर्केर टारीखर्कको आफ्नो डेरामा मखमली आईपुग्दा झमक्क साँझ परिसकेको थियो। ढोकामा अझै ताल्चा झुण्डिएको देखेर छक्क परी उ। अस्ति उसका बूढा झापा झर्न निक्लँदा उ पनि संगै निक्लेकी थिई र मामाघरतिर लागेकी थिई। अनौठो लाग्यो उसलाई। पहिला-पहिला त राम्रो काम पाउँदा दुई-चार दिन, एक-दुई हप्तै पनि हराउँथे उसका बूढा, तर पोहर छोरो जन्मेपछि भने सकेसम्म परिवार छोडेका थिएनन्। छोडिहालेपनि एक रातभन्दा बढी छोड्दैनथे। कता पुग्या होलान् कुन्नि? भात पकाउन मन लागेन मखमलीलाई। छोरालाई लिटो खुवाएर सुताईदिई। आफू भने माइज्यूले हाल्दिएको चिउरा अलिकति र पानी खाएर सुती। ‘कतै राम्रै काम पाएर त बसे होलान् 'नि। भोलि बिहान काठमाण्डुबाट आ’को रात्रि बस समातेर आईपुग्लान्।' भन्ने तर्कना गर्दै निदाई। ***************************************************** त्यो दिन दिउँसो चार बज्दा हरिगञ्ज पुग्नु अगाडिको एउटा सानो खोल्सामा सडक बिभागको जलेको गाडीमात्र बाँकी थियो। पहरा दिन बसेका दुईजना प्रहरीहरुपनि अलि टाढै थिए। गाडीमा भएका चारैजनालाई भित्रै थुनेर कसैले आगो लगाईदिएको रहेछ। मुख डढेर कुनैपनि लाश चिनिने अबश्थासम्म पनि थिएन रे। कसैको घडी र कसैको हातको औँठीका भरमा गाडी चालक, सचिव र इञ्जिनियरका लाशको सनाखत भयो। एउटा लाशको भने कसैगरी सनाखत हुन सकेन। दुई दिनपछि त्यो लाशलाई बेवारिशेको दर्जा दिँदै अरुभन्दा पहिलेनै जलाईयो। लाशसंगै त्यो लाशको चर्चा पनि आगोमा बिलायो। अँ, त्यो घटना हुँदासम्म भोजप्रसाद साथीको कार्यालयमा चिया खाँदै थियो रे। उता तीन लाशले देशभरि आन्दोलनको नेतृत्व गरे। रामध्यान मारिएको विरोधमा गाविस सचिवहरुले आन्दोलन गरे, उता इञ्जिनियरहरु पनि कोहि सडकमा निस्किए, कोहि ‘माथि’नै पुगेर सरकारलाई थर्काउन थाले। गाडी चालकहरुले देशै ठप्प पार्दिए। सरकारले सबैको माग पूरा गर्दियो, मृतकका परिवारले दश-दश लाख पाउने भए। सचिवको परिवारलाई सचिवहरुको संगठनले, इञ्जिनियरको परिवारलाई इञ्जिनियरको संस्थाले अनि चालकको परिवारलाई चालकहरुको संस्थाले अरु थप सहयोग गरे। अनि देशको शहीदको खातामा तीन नामहरु थपिदियो सरकारले। मानबहादुर कतैको पनि थिएन, उसको परिवारले केहि पनि पाएन। सरकारको 'शहीद' कोटामा पनि उ परेन। तर के उ यो देशको पनि थिएन?! **************************************** (माथिको कथामा वर्णित पात्रहरु र घटनाक्रमहरु सबै काल्पनिक हुन्, मेरो देशको वर्तमानसंग अलि-अलि मिल्न गएमा त्यो संयोग मात्र हुनेछ।) वसन्त अगष्ट १०, २००७ - http://gautambasanta.blogspot.com
[ posted by
Gautam B. @
08:58 AM ] | Viewed: 2448 times
[
Feedback] (5 Comments)
|
|
: |
जापान आऊँदाका शुरुवाती दिनहरुमा एकदमै उत्साहित एकजना साथी पछि एकताका निकै दिक्क देखिन्थे र जापानीहरुलाई बेला-बेला हल्का सरापीरहन्थे। उनको भनाइ हुन्थ्यो, "यी साला जापानीहरु विदेशी मान्छेको 'खुबिलिटी' हेरेर हैन, खाली कल्ले जापानी भाषा राम्रो बोल्छ मात्रै हेरेर मूल्याकंन गर्छन्। (यो 'खुबिलिटी' भन्ने शब्द नेपालीको 'खुबी' र अंग्रेजीको 'ability' को अन्तरजातीय सन्तान हो भन्ने कुरो मैले नदोहो-याए पनि हुन्थ्यो होला शायद!) जापानी बोल्न जान्ने विदेशी जस्तो काइते भएपनि 'सुगो-ई! सुगो-ई!' (great! wonderful!)भन्छन्, जापानी नजान्ने जति 'ब्रेनी' भएपनि 'बाल' मतलब गर्दैनन्--!" साथीलाई के कुराले गर्दा त्यसरी चित्त दुखेको हो त्यतिखेर थाहा छैन, अहिले त ठिकै भएको देखिन्छ। साथीको कुरामा धेरै सत्यता भने छ। जापानमा विदेशीको औकात जाँच्ने सबभन्दा ठूलो कसी भनेकै जापानी भाषामाथिको दक्षता हो। जापानी भाषा अलिक जान्ने सोझै असाध्यै विलक्षण प्रतिभाशालीमा गनिन्छ! त्यसैले यत्रतत्र काम, छात्रवृत्ति आदि पाउने ठाउँमा उसको पकड राम्रैसंग जम्छ पनि। दैनिक ब्यबहार र सरकारी कामकाजमा अंग्रेजी बिल्कुलै प्रयोग नहुने ठाऊँमा यो अलिकति त स्वाभाविकै हो, तर मान्छेका बाँकी योग्यताहरुका पनि केहि न केहि मूल्य त हुनैपर्ने हो! यो 'सुगो-ई! सुगो-ई!' ले भने हैरान पार्छ। जापानीहरुबाट 'सुगो-ई! सुगो-ई!' र 'आतामा यी---इ देस् ने!' भनेर प्रशंशा पाउन खासै धेरै जापानी जानीरहनुपनि पर्दैन। ओहायो गोजाईमास, कोन्निचिवा, आरिगातो गोजाइमास-- आदि पाँच-सात शब्दहरुमात्रै बोल्नजाने पनि पुग्छ। (यो 'आतामा यी---इ देस् ने!' को सोझै अर्थ लगाउँदा 'तेरो टाउको त गज्जब राम्रो छ!' भन्ने हुन्छ, भाव पनि त्यस्तै-त्यस्तै भनौं न अब, 'तेरो दिमाग तगडा छ!' भन्ने हो।) कतै नयाँ ठाउँमा अलिकति कुरा गरेपछि तँ आएको कति भयो भनेर सोध्छन्। जस्तो उत्तर दिएपनि प्रशंशा भने गर्न छोड्दैनन्। जस्तो छ महिना भनेर भन्यो भने, "वाह! तँ कति खतरा?!---", एक वर्ष भन्यो भने "मान्नैपर्छ बा तँलाई!---", चार वर्ष भन्यो भने "चार वर्षमै यति धेरै जानिस्, तगडा रैछस् तँ!---" भन्ने प्रशंशा पाईन्छ। भएन भनेर मैले एकदिन एउटालाई 'म जापान आएको दश वर्ष भयो।' भनिदिएको, अझै "मान्नुपर्छ बा तँलाई, कति राम्रो जापानी बोल्या होस् दशै वर्षमा!" भन्छ बा! 'दश वर्ष भएपछि जानिहालिन्छ नि, त्यसमा त्यस्तो गज्जबको कुरो के छ र?!'भनें फेरि मैले। "दश वर्ष भन्दैमा हुन्छ, मैले अंग्रेजी पढ्न थालेको बीस वर्ष भईसक्यो, अझै केहि जान्दिन। तैंले दश वर्षमै यस्तो दामी जापानी बोलिसकिस्!" उ पनि के कम?! अब आफ्नो जापानी कस्तो झूर छ र बेला-बेला कस्तो पिडा प-या छ भन्ने कुरो आफैंलाई थाहा छ! महिनामा एकचोटि कपाल कटाउन गयो, कसरी काट्दिऊँ भन्छ, अरु केहि जानिन्न, अनि 'सोनो मामा मिजिकाई--!(जस्तो छ त्यस्तैमा छोटो पार्दे!--)भन्यो बस्यो। चार वर्ष भयो आ'को, यो कपाल कटाउने बेलाँ प्रयोग हुने दुई-चार वाक्यहरु सम्झिन अझै सक्या हैन! बढी समस्याचाहिँ अस्पताल जाँदा पर्छ। केहि समय पहिला घुँडा दुखेर पुग्या थिएँ एउटा डाक्टरकोमा। "दुख्दा कसरी दुख्छ?" डाक्टरले सोधे। म अलमल्ल परें, अब कसरी दुख्छ भन्ने! "---- जस्तो गरेर दुख्छ? कि -----झैं दुख्छ, ------ कि ----जस्तो हुन्छ?---" म अलमल्ल परेको देखेर डाक्टरले आफैं दुई-चार विकल्प सुझाए। पूरै नबुझेपनि बुझिएका एक-दुई शब्दहरुका आधारमा अन्दाज लगाउन भने सकें मैले। डाक्टरले 'सियोले घोचेझैं गरी एकै ठाउँमा मात्रै दुख्छ कि अथवा कतै ठोक्केको बेलामा जस्तो गरेर दुख्छ कि अथवा करकर लुछे जस्तो हुन्छ कि?' भनेर सोधेको हुनुपर्छ। तर कुनचाहिँ कुन हो थाहा भएन! उनले बोलेका मध्येबाट एउटा दोहोराईदिएँ, नबुझेपनि। त्यसै अनुसार ओखती पाईयो। ओखतीले बन्द गर्दियो दुखाई। अँध्यारोमा हान्या गोली ठाउँमै लाग्या होला! फेरि केहि दिन पहिला छोरीलाई रुघा-खोकीले सताएर अर्को डाक्टरकहाँ जानुप-यो। "केहि औषधि खुवाएको छ कि छैन, रुघा-खोकी लागेबाट?" "हिजो बेलुका अलिकति घरेलु औषधि खुवाएको हो।" नभनौँ भन्दा-भन्दै फुस्किहाल्यो मेरो मुखबाट। अघिल्लो दिन बेलुकी नेपालबाट ल्याएको जिम्मु-ज्वानो-वीरे नून आदि हालेर पानी उमालेर खुवाएका थियौं। "के औषधि हो नि त्यस्तो?" "देशबाटै बोकेर ल्या'को, जापानीमा नाम थाहा छैन।" "त्यसो भए अँग्रेजीमै भने पनि हुन्छ।" फसाद प-यो अब! ज्वानो र जिम्मुको अँग्रेजी नाम पनि थाहा छैन मलाई। एकछिन टाउको कन्याएपछि कुरो त टरेर गयो, तर सोचें, भाषाको समस्या त अँग्रेजी बोल्ने ठाउँमै बसेपनि पर्छ होला बेला-बखत। त्यसो त कतिचोटि नेपालीमै पनि भन्न चाहेको कुरो भन्नै नसकेको स्थिति नभएको पनि होइन। ******************************************************************** - वसन्त (- http://gautambasanta.blogspot.com) २० जुलाई, २००७
[ posted by
Gautam B. @
04:05 AM ] | Viewed: 2689 times
[
Feedback] (6 Comments)
|
|
: |
|