:: Blog Home       :: Sabai Nepali ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: RECENT BLOGGERS
::
:: ARCHIVES
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: December 2023
:: November 2023
:: October 2023
:: September 2023
:: August 2023
:: July 2023
:: June 2023
:: May 2023
:: April 2023
:: March 2023
:: February 2023
:: January 2023
:: December 2022
:: November 2022
:: October 2022
:: September 2022
:: August 2022
:: July 2022
:: June 2022
:: May 2022
:: April 2022
:: March 2022
:: February 2022
:: January 2022
:: powered by

Sajha.com

:: designed by
:

   
Blog Type:: Story
Friday, March 19, 2010 | [fix unicode]
 

   [ posted by crazy_love @ 10:08 AM ] | Viewed: 2303 times [ Feedback]


:

   
Blog Type:: Story
Wednesday, December 23, 2009 | [fix unicode]
 

सबैजना क्रमश: नजिक आइपुग्दै थिए र कुम्लेलाई भाउन्न हुँदै थियो।

पुन्टे बुढाले जे जे सुने पनि बुढि यतिबेला स्वास्थ्यचौकीमा आएकोमा बुढा भुन्भुनाइरहेका थिए। रिट्ठे वाल्ल परेर टुलुटुलु सबैलाई हेरिरहेको थियो।

नेपे बुढा र मदनवा नजिकै आइपुगे तर अगाडिबाट आउँदै गरेका गाउँलेहरुलाई देखेर वाल्ल परेर हेर्न थाले।

"कथि भयो चैली बहनको?"

चेलिमायालाई बोकेर उनका पति नजिक आउनासाथ मदनवाले सोध्यो?

खै पँधेरा लडिछिन् दीपबाउ संग ठोक्केर खुट्टा मर्को जस्तो छ हिन्न सक्तिनन् हेर्दिनपरो डाउडर!

चेलीमायाको पतिले सबैलाई सरर हेर्दै मदनवातिर मुख गरेर भने।

छिटो भितरको लियावनुस हजुर!

मदनवाले हतार गर्दै चेलीमायालाई भित्र लैजाने इशारा गर्यो र दीपलाई डोर्याउँदै गरेकी माष्टरनी नानीतिर हेरेर दीपलाई पनि भित्र लैजाने इशारा गर्यो।

माष्टरनी नानिले दीपलाई चेलिमाया र उनको पतिको पछि पछि भित्र जाने इशारा गरिन्, शबु दीपसंगै चुपचाप पछि लागिन्।

घराँ लाइथाज छैन तिमी बुढा एता हल्लेर बस्या छौ?

पुन्टेनी भाउजुले आखिर बोलिको झटारो हान्ने मौका पाइन्।

पुन्टे बुढा अक्क न बक्क भए केहि उत्तर दिन मुख खोलेका मात्र थिए, सान्नानीलाई देखेर भने-

हन तिमी हराएउ भनेर बिस्टे बुडा र भउते खोज्न निस्क्या थे ब्यानै, दोभानेतिर लाए, कता गाथेऊ?

पुन्टे बुढाको प्रश्नले पुन्टेनि बुढि पनि चुप लागेर सान्नानी र माष्टरनीलाई हेर्न थालिन्।

हिजै राति भान्जी भोकाइन् भनेर घर लगेकिम के रे, तेतै निदाइछिन्!

माष्टरनिले सान्नानीको टाउको मुसार्दै उत्तर दिइन्।

पुन्टेनि भाउजुले फेरि मौका देखेर पुन्टेदाईतिर रिसले हेरेर बोल्न खोजेकि मात्र थिइन् पर बाट नेप्चिलाई बोकेर आउँदै गरेका ठूल्दाईलाई देखेर चुप लागिन्।

सबैजना त्यतै हेर्न थाले।

लौ के भा हो सपै गामलाई, सपै बिरामि पर्न थाले त!

सबैजना अन्यौलमा परे, धमाधम गाउँलेहरु एक पछि अर्को बिरामी भएर आउँदै थिए।

सबैले चुपचाप एक अर्काको मुख हेर्दै नेप्चिलाई बोकेर आउँदै गरेका ठूल्दाईलाई हेर्दै थिए।

मदनवा ढोकाबाट निस्कियो र ठूल्दाईले बिरामी नेप्चिलाई बोकेर ल्याएको देखेर केहि भन्न खोज्दै थियो त्यत्तिकैमा पुन्टे बुढाको आवाजले उसको ध्यान खिच्यो।

लौ अब चइनि गाममा देवी नै लागो जस्तो छ!

मदनवा लगायत सबैको नजर पुन्टे बुढाको अनुहार हुँदै पर आँगनको डिलबाट यता आउँदै गरेका मानिसहरुमा पर्यो।

गालेले बिस्टे बुढालाई पछाडि बोकेको थियो र संगै भउते हातमा पाखि र कुम्लो बोकेर यतै आउँदै थिए।

हजूरबाsssss!”

सान्नानीको मुखबाट खुसिको चित्कार निस्कियो।

----

 

मदनवाले आँगनमा अरु २ वटा गुन्द्रि ल्याएर ओछ्याएको थियो।

दीप, चेलीमाया, नेप्चि र बिस्टे बुढाको प्राथामिक उपचार भर्खरै सकिएको थियो र सवैजना स्वस्थ महशुस गर्दै थिए। चेलीमायाको खुट्टा हल्का मर्किएको रहेछ उनि खुट्टामा झुम्रो बाँढेर पति संगै बसेकि थिइन्। दीपको घाउ सानो थियो र सेतो पट्टि बाँधेको थियो। नेप्चिलाई खासै केहि भएको रहेनछ, कमजोरीले गर्दा र मनमा पिर लिएकोले रिंगटा लागेको रहेछ, यहि खुसियालीमा ठुल्दाईले अघि नै मदनवासंग मागेर गैँडा चुरोट सल्काईसकेका थिए। बिस्टे बुढा तल दोभानेमै पानी छादेर बाँचिसकेका थिए, यता नातिनीलाई देखेर उनको शरीरमा नया स्फुर्ती आइसकेको थियो। उनि नातिनीसंगै बसेका थिए। भर्खरै उपचार सकिएको थियो र सबैजना गुन्द्रिमा चुपचाप थिए। भर्खरै छलफल चलेको थियो र गुन्द्री अगाडि उभिएर गाले र भउतेले बिस्टे बुढा डुबेर बाँचेको कुरा सुनाएका थिए र संगसंगै गालेले बाटोमा भेटेको दुईजना अवतारीहरुले बुढा डुबेको दृष्य देखेपछि पारिबाट नै डराएर फर्केको कुरा पनि सुनाएको थियो। गुन्द्रिको एक छेऊमा केहि ढल्केर बसेको दीप र अर्को कुनामा माष्टरनी संग बसेकि शबुको कयौँ पटक नजर चार भैसकेका थिए र त्यो क्रम अझ जारि थियो। सबै बिरामिहरु मध्ये, रिट्ठे जवान भईकन पनि केहि नभइ बेहोश भएकोमा सबैले उसलाई जिस्क्याउँदै थिए। पुन्टेनि भाउजु पुन्टे बुढालाई खाउँला जसरि हेर्दै थिइन् र पुन्टे बुढा नेपे बुढा संग बसेर खुसुरफुसुर बात मार्दै थिए। कुम्ले औँला पड्काउँदै यताउता हेर्दै थियो।

ल अब किन सपै चुप लाया हुन? अब कोइलाई नराम्रो केइ भ'न ठिकै जो भयो!

भऊतेले मुसुक्क हाँस्दै सबैको ध्यान भंग गर्यो। केहि सोच्यो र गालेतिर हेरेर भन्यो-

साँच्चि गाले तो अइ बगराँ तैँले भिजाको खामको चिठि सुकार हाल्या थिस नि गोजिमा रिट्ठेको भन्या हैन?

भउतेको कुराले गालेले केहि सम्झे जस्तो गर्यो र एक पटक आत्तियो। बसन्तीले कसैलाई नभन्नु भनेर दिएको चिट्ठि भिजेपछि बरबाद भयो भन्ने ठानेर उसले भउतेलाई भनेको थियो अनि भउतेले सुकाउने सल्लाह दिएको थियो, र अहिले सबै भएको ठाउँमा भउतेले चिट्ठिको कुरा गर्दै थियो। गालेलाई आफूलाई माया गर्ने बसन्तीको बचन राख्न नसकेकोमा दुख लाग्दैथियो तर उसले अब के भन्ने र के गर्ने थाहा पाएन।

भउतेको कुरा सुनेर रिट्ठेको कान अघि नै ठाडो भैसकेको थियो र उसलाई उसको मुटुको धड्कन तेज  भएको जस्तो अनुभव हुँदै थियो।

दोभाने पारीको पसलबाट कुनै युवतीले रिट्ठेलाई पठाएको चिठिको कुरा निस्केको थियो  र सबैको ध्यान यता जानु स्वाभाविकै थियो।

सबैले उत्सुकतापूर्वक गालेलाई हेर्न थाले।

गालेलाई अप्ठ्यारो भयो। उसको सोझो मनले मनमनै बसन्तीसंग माफि माग्दै चिठी समात्यो र अगाडि बढेर रिट्ठेलाई दियो।

रिट्ठेले हल्का कामेको हातले गालेको हातबाट चिट्ठि लियो।

यत्तिकैमा पुन्टे बुढा जुरुक्क उठे र हात हल्लाउँदै भन्न थाले-

एउडा कुरो, हामि सपै ह्याँ भा बेलाँ, तँ रिट्ठे बजिया नि मरेर बाँच्या बेलाँ तेरा पुर्पुरो बल्नालाई चिठि आ छ ल सपैलाई सुनार पड् त?

पुन्टे बुढाको कुरामा भउते, गाले ले सहि थापे। दीपले पनि एक पटक शबुलाई हेर्दै पढेरै सुनाउनु पर्ने कुरामा जोड गर्यो।

रिट्ठे लजायो।

अब तँलाई हुने भ म पडेर सुनाइदिन्छु के रे!

भउतेले हँसिलो मुख लाउँदै भन्यो। रिट्ठेले निकैबेर लगाएर आखिर भउतेलाई चिठि पढेर सुनाउन दियो।

सबैको नजर भउतेतिर थियो। भउतेले सबैलाई एकपटक हेरेर पढ्न सुरु गर्यो-

 

प्यारो रिट्ठु,

टुकिको रातो उज्यालोमा म दुखि बअन्ति सेतो कागतमा निलो मसिले चिठि लेख्तई छु। जिन्तखिमा कइलेई केई राम्रो लाएन मलाई! ब्यान ब्यानै देखुन पारिको तिम्रो गामको भित्तो देखेर मन रित्तो हुन्च। दोभानेको खोलो सुसाम्दा पनि आफ्नै आँखो रसाम्छ।…”

रिट्ठेको शरिरको रौँहरु ठाडा भए! सबैले रिट्ठेलाई हेरे, रिट्ठेले एक पटक सबैलाई हेर्यो र रोमांचित हुँदै भुइँतिर हेरेर चिट्ठी सुन्न थाल्यो।

भउते पढ्दै थियो-

 

“….तिम्ले कुरो बुज्या छौ रिट्ठु तिमि मकै बेच्न बर्खमा एक पालि एता आम्दा मेरो मुटुमा भक्कानो छुट्च, तिम्लाई हेरिरन्छु ब्यान देखुन बेल्का सम्म। बर्खा बडेसि खोलो कराम्छ तिमि पारि हुन्चौ म वारि हुन्चु अन्खेरुन मेरो मन डराम्च। कइले बर्खा सक्केला र तिम्रो मयालाग्दो अउतार हेर्न पाम्ला भनेर डाँडाको देवि भाक्छु। केट्केटि देखुन तरुनि भइँ कइले नि कोइ मुन्चेको अउतार हेर्न मन लाउदैन तर तिमि आएसि मन कुटुकुटु खान्च र हेरिरन मन लाउच। दिनभरि पसलाँ बस्ता बस्ता केइ गर्न नि मन लाउदैन। च्या खान आम्ने मुन्छेहरुले क्वार्क्वार्ति हेर्चन ति असत्तिहरुको आँखो फुटाम्न मन लाउच। मनमा मेरि बास्सै नानाभाँति कुरो खेल्च सुनाम्ने ठाम कतै नाईँ। बाउ बुडोलाई सुनाम एक त के कुरो सुनाम्नु अर्को भएभरको बल लार कुरो गरेसि मात्रै सुन्चन्। दाजुभाई दिदि बइनि कोइ भा भ मनको कुरो अरेर हाइसन्चो मान्नु हुन्तो, म अभागिको भाग्गेमा भउवानले भाइबइना लेखेनचन्। बाउ अब मेरो ब्या अर्दिने भन्चन् ब्या अरेर कता पठाम्ने हुन डरले मुटु हल्लिन्च।

 

प्यारो रिट्ठु, तिमी मकै बेच्न हाम्रा पसल अगाडि बसेर टुलुटुलु मलाई हेर्दा तिम्रो नाकबाट खस्न लाएको सिआन तिम्ले सुट्ट पारेर फेरि नाकमै हुल्दा 'कठैबरा भन्दै रुमाल लेर पुछ्दिन मन लाउच। तिमि हिन्दा बेला बेलामा सुरुवाल तान्या देखेर कठैबरा ईँजार बाँध्ने ढङ्ग नि छइन के गरेर घर चलाउँदो हो जस्तो लाउच। तिम्रो कपालाँ धुलो कट्कट्टेर लट्टा पर्या देख्ता त रिट्ठु मेरि बास्सै, रिट्ठा घोटेर तिउँरो कपाल न्वाइदिन मन लाउच, मेथि फुरार तिम्रा तालुमा तेते घस्दिन मन लाउच। कति मया मान्चु मइले तिउँरो भन्ने कुरो कि त मइ अभागिलाई था च कि त भउवानलाई था च। तिम्रा आँखाले चिप्रा पुछ्तै मलाई हेर्दा तिम्ले नि कम्ता मया मान्दैनउ भन्ने बुज्या चु मइँले।……….”

 

यति सम्म पढ्दा रिट्ठेको मुटु ठेगानमा थिएन। मुख खुसिले खुलेको खुल्यै थियो र पुलुक पुलुक वरिपरि बसेका सम्पुर्ण गाउँलेलाई हेर्दै थियो।

सवैजना अवाक भएर रिट्ठेलाई हेर्दै थिए तर गाले बिचराको मन भने रोएर अहिले नै आँशु निक्लेला जस्तो भएको थियो। उसलाई थाहा थियो त केवल बसन्ति उसको अगाडि आएर हाँसेको, उसलाई माया गरेर खाजा दिएको र उसको सबै फर्सी किनिदिएको। यो सबै रिठ्ठेलाई माया गर्नलाई गरेकि रहिछे बसन्तीले, भनेर गालेले बुझ्दैथियो र संगसंगै मन बुझाउँदै पनि थियो।

रिट्ठेले उफ्रेको मुटुलाई केहि नियन्त्रणमा लियो र फेरि सुन्न थाल्यो-

“….के गर्नु रिट्ठु परमेस्सोरले म अभागिलाई बाउको घरमा एक्लै पठाए, आफ्नो भन्नु कोइ छइन। ब्या अर्ने बेला भयो रे सम्झेर अत्यास लाउछ। बा ले खोज्न त खोज्लान कस्तो खोज्लान, कुन गामका खोज्लान, कति बुडो खोज्लान था छइन। प्यारो रिट्ठु, यतिमाथि कुरो गरेसि त बुज्यौ होला मइले मनमनमा तिमि जति नजिकको तिमि जति हेलमेल गर्न गारो नलाग्ने मुन्छे कोइ नपार तिम्लाई सपै भन्दा नजिकको ठान्या चु। साउन पनि लाउन लायो अब, यो बर्खा सकिएसि दशैँ आम्छ दशै पचि त्यार आम्छ अन्खेरुन फेरि मेरो मुटुमा भक्कानो छुट्च। तर यसपालि चाडबाडाँ म एक्लै बस्न सक्तिन। मेरो बाबु, मैले यतिभाँति तिउँरो सिआन पुछिदिन मुन लाओ, इँजार बाँधिदिन मुन लाओ, न्वाइदिन मुन लाओ भन्या तेत्तिकै हइन आफ्ना दाइ भाई कोइ नभर तिम्रो थुतुनो देख्यो कि मेरा नि भाइ भा भ एस्तै हुन्तो होला भन्ने लाउच। मेरो ब्या, बा ले अर्ने भन्चन तर बाबु एउडै कोखाको नभ नि मुइँले भाई मानेसि तिउँले नि दिदि मानेर मेरो ब्या अर्न तेइ गाममा एउडो तिमि जस्तै बेबार बुज्ने सोजो केटो खोज्देऊ बाबु यो दुखिलाई, अन्खेरुन यसपालि त्याराँ म तिम्लाई भाईटिको लाइदिन्चु तेइबेलाँ हाम्रा बा संअ कुरो गर्देऊ।

रिट्ठु यो चिठि पाएसि गाले अर्को पालि फर्सि बेच्न एता आम्दा सपै कुरा गरेर मलाई चिठि पठाउ है बाबु।

सेतो कागतमा लेख्ने कालो मसि सक्किन लाओ, टुकिको तेल नि सक्किन लाओ, बाइर झ्वाउँकिरि कराइरच, अब कलम बन्द अर्छु।

उहि दुखि अभागि

बअन्ती

 

रिट्ठेको मुटु अगिसम्म उफ्रेको भन्दा फरक ढङ्गले झन जोडले उफ्रिन थाल्यो र सबै गाउँले सहानुभूतीको भावले रिट्ठेलाई हेर्दै थिए।

खै किन हो, गाले अब खुसिले नाच्न मात्र सकेको थिएन!

चिट्ठी सकिँदा नसकिँदै दीप र शबु त्यहाँ थिएनन, उनिहरु चौतारिबाट पनि तल दोभानेतिर एक अर्काको हात समात्दै झर्दै थिए र कुम्ले त्यहाँबाट लुसुक्क हिँडेर कतै हराइसकेको थियो!

(समाप्त!)

   [ posted by Birkhe_Maila @ 02:50 PM ] | Viewed: 1875 times [ Feedback]


:

   
Blog Type:: Story
Wednesday, December 23, 2009 | [fix unicode]
 

कुम्ले एकछिन खोकेको खोकेइ भयो र रसिला आँखा पार्दै नेपे बुढालाई हेर्न थाल्यो र सुरुवाल सकेसम्म हातमा मुठ्ठि पारेर समात्दै बिस्तारै पलेँटि कसेको खुट्टाको घुँडा मुनि लगेर लुकायो।

नेपे बुढाको आँखा कुम्लेको हातमा रहेको सुरुवालमा नै थियो बुढाको आँखा कुम्लेको हात संगै घुम्दै कुम्लेको घुँडामा पुगेर रोकियो। बुढा केहि बोल्न खोज्दै थिए त्यत्तिकैमा पुन्टे बुढाले एक घुट्कि रक्सि सुरुप्प पार्दै बोले-

"ओहो नेपे दाई बिराइँ पर्नु भ'छ कठै, के खानुभाथो र पखाला लाग्यो?"

नेपे बुढाको ध्यान सुरुवालबाट हटेर पुन्टे बुढातर्फ गयो र लेघ्रो तान्दै बोले-

खइ पुन्टे बाउ, खान त ब्यान देखुन केइ खा छइन बारिको दोटा केस्रा काँचो बोडि भन्दा, के भओ के भओ

तपाइँ कोनो चिन्ता नकरिनिनोस नेपे दाजू हमि सब ठिक करिदिन्छु, तपाइँ आराम कर्नेकोलागि भितर हिँड्नुहोस हमि जिवनजल बनाइके लियावँछु!

मदनवाले एक टुक्रा मासु चपाउँदै नेपे बुढा तिर हेरेर भन्यो।

नेपे दाईले सहमतिमा टाउको हल्लाए।

और नेपे दाजु, यो मुर्गाको मासुमा जो छ पानी वानि डाइलके सुप बनाइदिन्छु ऊ खानुहोस ठिक हुन्छ!

मदवाले अर्को आत्मियता देखायो।

कुम्ले र पुन्टे बुढालाई कोक्याएर हाँसो उठ्यो। रिट्ठे पनि बिस्तारै भुँडि हल्लाउँदै हाँस्न थाल्यो र हाँस्दा हाँस्दै कतै दुखेछ कि के हो, मुख बिगारेर बिस्तारै ऐया भन्यो र चुप लाग्यो।

नेपे बुढा कान ठाडो पार्दै मदनवातिर फर्किए र कराए-

हन ए कपाउँडार के बात मार्छौ एस्तो? पन्नित मान्छेलाई कुखुरो खा भन्न पाप लाग्दैन?

खेँ खेँ खेँ माफ करिदिनुहोस नेपे दाजु, हमि सला भुलेथियो कि तपाइँ मुर्गा मुर्गि खान्देन! ल आइहाल्नुहोस् भितरको!

मनदनवाले दाँत देखायो र नेपे बुढालाई भित्र आउने इशारा गर्दै उभियो। नेपे बुढा उठेर घरतिर हिँड्न थाले।

अभि ठिक हुन्छ तपाइँलाई!

भन्दै मदनवाले कुम्लेले घुँडामुनि लुकाएको सुरुवाल तानेर हतार हतार हात पुछ्यो र सुरुवाल त्यहिँ राखेर नेपे बुढा संग भित्र तिर लाग्यो।

मदनवाले सुरुवाल तानेर हात पुछ्दा, खै किन हो नेपे बुढाले एक पटक फेरि सुरुवाललाई गहिरिएर हेरे।

मदनवा र नेपे बुढा भित्र छिरे।

कुम्लेले एक पटक लामो सास फेर्यो। रिट्ठे गिजाले चपाएको जस्तो गरेर मासुको लेदो मुखमा हुलेर मुख हल्लाउँदै थियो। पुन्टे बुढा भएभरको बल लगाएर सपेटासंग संघर्ष गर्दै  थिए।

कुम्लेले निकैबेर निधार खुम्च्याएर केहि सोच्यो र अचानक मुस्कुराउँदै आफ्नो टाउको दुवैजनाको बिचमा केहि झुकाएर दुवैहातले पुन्टे बुढा र रिट्ठेलाई सुन्ने इधारा गर्दै भुइँतिर हेर्यो।

पुन्टे बुढा हत्तपत्त केहि रमाइलो सुन्न पाइने आशामा कुम्लेको झुकेको टाउकोमा तालु ठोक्काउँदै निहुरिए, रिट्ठेले ऐया को भावमा मुख बिगार्दै टाउको झुकायो। तिनैजनाको टाउको लगभग जोडिएको स्थितिमा थियो।

कुम्लेले एकपटक झुकेर नै मदनवा र नेपे बुढा पसेको ढोकातिर हेर्यो र हँसिलो मुख लाउँदै बिस्तारै भन्यो-

पुन्टे बुढा, रिट्ठे कुरा सुनाओ, ब्यान म चौतारितिर हिन्दै थेँ हइ, नेपे बुढा सुरुवाल फुकालेर झाडिभित्र छिरेत्याँसि मलाई हाँसो उठ्यो अन्खेरुन बुडालाई जिस्क्याम्न मैँले खुसुक्क बुडाको सुरुवाल फुत्कार तेटाटि टाप कस्या हे हे हे एइ सुरुवाल हो हाम्ले मासुको चिल्लो पुछ्या!

कुम्लेको कुरा सुनेर पुन्टे बुढा अट्टाहस लगाउँदै मरिमरि हाँस्न थाले।

हाहाहाहाहा कट्टुमा हिँड्न पर्दा पनि अइ बुढाले आफ्नै सुरुवाल चिनेन् हाहाहाहा!

पुन्टे बुढा बोल्दै थिए र मरिमरि हाँस्दै थिए।

रिट्ठे वाल्ल पर्यो र निधार खुम्च्याउँदै केहि सोच्न थाल्यो र मसिनो स्वरमा केहि सशंकित हुँदै भन्यो-

तर सुरुवालले त कुखुरा…”

रिट्ठेको बोलि पुरा हुन नपाउँदै कुम्ले रिट्ठेको झिनो स्वरलाई दबाउन ठूलो स्वरले हास्दै पुन्टे बुढालाई साथ दिन थाल्यो-

हाहाहाहाहाहा तेइ त हाहाहाहाहाहा

कस्ता गोज्याङ्ग्रा बुडा रेछन आफ्नै सुरुवाल चिनेनन् हाहाहाहाहाहाह!

पुन्टे बुढा आफ्नै धुनमा नेपे बुढालाई सोझो ठान्दै उडाउँदै हाँस्दै थिए।

तर सुरुवाल त….”

रिट्ठेले फेरि मसिनो स्वरमा आफू बेहोश हुनु भन्दा अगाडि सुरुवालले भाले बाँधेको सम्झिँदै मुख फोर्ने कोशिस गर्यो!

कुम्ले फेरि सतर्क भयो र तुरन्तै हात फैलाउँदै अलि जोडले बोल्यो-

एकछिन एकछिन….”

कुम्लेले केहि महत्वपूर्ण कुरा गर्न लागेको जस्तो लागेर रिट्ठे तुरन्तै चुप लागेर कुम्लेको अनुहार हेर्न थाल्यो र पुन्टे बुढालाई क्रमश: हाँसो घटाउँदै ठिक हुन केहि समय लाग्यो र उनि पनि कुम्लेलाई प्रश्नवाचक दृष्टीले हेर्न थाले।

तर बुढालाई सुरुवाल चोरेको भन्न हुँदैन नि मैले त रमैलो गर्न भन्या ह्याँ, बरु चिने भने के गर्नु आपत परो!

कुम्लेले आफ्नो मर्म भन्यो।

रिट्ठे शायद अझै केहि बोल्न खोज्दैथियो, पुन्टे बुढाले कुनै ठूलो बिद्वानको जस्तो भाव मुखमा ल्याउँदै कुम्ले र रिट्ठेलाई हेर्दै बोले-

के कुरा अर्छ कुम्ले, एस्ता कस्ता कस्ता कुरो तर लगाछ यो ज्यानले ल सुनाओ ठिटा हो झन रमैलो अर्ने हो त?

झन रमैलो? के रमैलो भन्या हो, बुढाले सुरुवाल नचिने हुन्तो, तेइ हो!

कुम्लेले उत्तर दियो।

रमाइलोको कुरा सुनेर रिट्ठे पनि ससर्कियो र उत्सुक नजरले पुन्टे बुढालाई हेर्न थाल्यो, अघि उसले भन्न लागेको कुरा बिर्सिएछ शायद्।

पुन्टे बुढाले अघि कुम्लेकै पाराले टाउको नजिकै ल्याउँदै भने-

हेरि यो सुरुवालको ईँजार निकाल् त्याँसि मेरो सुरुवालको इँजार नि निकाल्छु म इँजार फेरिदिने अन्खेरुन यो सुरुवालमा लाग्या पयाँलो अलि अलि पुछ्ने र बुडालाई सुरुवाल दान दिने हाहाहाहाहा!

पुन्टे बुढा आफ्नै आइडियामा हाँस्न थाले।

चिन्न त चिन्दैनन फेरि?

कुम्लेले शंका जाहेर गर्यो। रिट्ठे कहिले पुन्टे बुढाको, त कहिले कुम्लेको अनुहार पटक पटक हेर्दै कुरा बुझ्न खोज्दै थियो।

कताटि चिन्नु बुडाले चिन्ने भ अइ नै चिन्ते के रे, एक त तेस्तो सुरुवाल जसको नि हुन सउछ फेरि इँजारै अर्को छ, झन बुडाले कटटु मात्रै ला बेलाँ सुरुवाल दियो भनेर दङ्ग पर्छन्!

पुन्टे बुढाले तालु मुसार्दै आफ्नै आइडियामा गर्व गर्दै दुवैलाई पालैपालो हेर्दै उनिहरुको अनुहारमा आफ्नो आइडियाको प्रभाव हेर्न खोजे।

कुम्लेले मुख हँसिलो बनायो, उसलाई कुरा चित्त बुझेछ र हाँस्दै भन्यो-

उनकै सुरुवाल उनैलाई दान दिने हाहाहाहाह!

रिट्ठे पनि कुरा बुझेर बिस्तारै हाँस्न थाल्यो।

ल छिटो गरम बरु!

कुम्लेले एक पटक ढोकातिर हेरेर सुरुवालबाट इँजार निकाल्ने कोशिस गर्दै भन्यो।

पुन्टे बुढा जुरुक्क उठे र आफ्नो सुरुवालको सुर्केनि गाँठो फुकाएर फररररर ईँजार निकालेर एकैछिनमा ईँजार भुइँमा फाल्दै बसे र फेरि हाँस्दै भन्न थाले।

बुढा त बुढै हुन् हाहाहाहाहा आफू कट्टु लार हिन्दा नि आफ्नै सुरुवाल नचिन्ने हाहाहा!

कुम्लेले पनि सुरुवालको इँजार निकाल्यो र पुन्टे बुढाको कुरा सुनेर हाँस्दै मनमनै भन्यो-

आफ्नै भाले नचिनेर लुछि लुछि मासु चपायौ बुडा, अइले अर्कालाई भन्छौ!

तर प्रत्यक्षत: उसले पुन्टे बुढाको हाँसोमा साथ दियो र मसिनो हाँगाको टुक्रा खोज्न यताउता हेर्यो। नजिकै एउटा काठको लाम्चो ठेउको भे्ट्टायो र त्यसमा इँजारको मुख बाँधेर ईँजार हाल्न थाल्यो।

सुरुवालमा इँजार हाल्ने बेलामा कुम्लेले सुरुवाल चलाउँदा रिट्ठेले एकटकले सुरुवाल हेर्यो। उसलाई आफू बेहोश हुनुपूर्वको दृष्य फेरि याद आयो र भन्यो।

हन कुम्ले यो सुरुवालले त तिम्ले कुखुरा बाँध्याथेऊ हैन?

कुम्लेको ईँजार हाल्दा हाल्दैको हात एकछिन टक्क अडियो।

पुन्टे बुढाले कान ठाडो पार्दै रिट्ठेतिर हेरेर सोधे-

कुखुरा बाँध्या रे? किन?

करायो भनेर बाँध्या नि!

कुम्लेले फेरि इँजार हाल्न सकाएर सुरुवाललाई हातले पुछ्दै एकातिर राख्दै भन्यो।

तेइ सुरुवालले मुख बाँध्या भाले खोकिलामा च्यापेर दौडँदै गर्दा त हो नि कुम्ले मसित ठोक्केर म मुर्छा पर्या!

रिट्ठेले पुन्टे बुढाको अनुहार हेर्दै भन्यो।

सुरुवालले कुखुराको मुख बाँधेर दुगुरेको रे? हन क्यार्न दुकुर्न पर्या थो? कि चोरेर ल्याथिस ए यो कुखुरा? हाम्लाई चोर्या कुखुराको मासु त ख्वाइनस तँ स्वाँठले?

पुन्टे बुढाले कुम्लेको हातबाट काठको ठेउको लिँदै आफ्नो सुरुवाल फुकालेर सशंकित हुँदै कुम्लेलाई हेर्दै भने र इँजार हाल्न थाले।

कुम्ले एक छिन अक्क न बक्क भयो र पल्याक पुलुक यता उता हेर्न थाल्यो।

पर आँगनको डिलबाट धेरै मान्छेहरु यता आउँदै थिए।

हन सपै गाम नै एता आम्न लाए जस्तो छ नि!

कुम्लेले कुरा फेरेर डिलतिर हेर्दे भन्यो।

पुन्टे बुढाले हतार हतार सुरुवाल लगाउँदै फर्केर हेरे। रिट्ठेले पनि नजर घुमायो।

आँगनको डिलमा चेलिमायालाई पछाडि बोक्दै उनका पती अघि अघि, त्यसको पछाडि दीपलाई डोर्याउँदै माष्टरनी नानि, अनि पछाडि सान्नानी, शबु र पुन्टेनि भाउजु आउँदै थिए।

यो बुडि एतिबेला ह्याँ किन अन्मरिएकि होलि?

पुन्टेनि भाउजुलाई देखेर पुन्टे बुढा केहि छटपटिएका जस्ता देखिए।

यता ढोका खुल्यो, मदनवा र नेपे बुढा बाहिर निस्किएर यतै आउँदै थिए।

आँगनको डिलबाट सबैले यतै हेर्दै थिए।

कुम्लेले हेर्दा हेर्दै पुन्टेनी भाउजुले यता पुन्टे बुढालाई देखेर चिनेको र चिन्नासाथ बुढिको रिस बढेको चाल पायो।

चेलिमाया पिडामा हल्का कराएको सुन्यो कुम्लेले।

माष्टरनिले दीपलाई केहि भन्दै यता आएको सुन्यो र पुन्टेनि भाउजु एक्लै फत्फताएको झन प्रष्ट संग सुन्यो।

घरका कुखुरा सुखुरा चोरेर सपै सिद्द्याइसके चोरले, यि बुडा एता ढौँटली मारेर बस्या रचन्!

पुन्टेनि भाउजु पुन्टे दाईलाई देखेर फत्फताउँदै यतै आउँदैथिइन्।

यता कुरा गर्दै नेपे बुढा र मदनवा नजिकै आइपुगिसकेका थिए। कुम्लेले नेपे बुढाको स्वर पनि प्रष्ट सुन्यो-

त्यइ त कपाउँडार बाउ, आफू नाङ्गै छु तो सुरुवाल मेरै जस्तो लाउछ मलाई त!

कुम्ले अहिले यो धरती चिरा परे त्यो भित्र हामफालेर सुरक्षित बस्न तयार देखिन्थ्यो।

 

(क्रमश:)

   [ posted by Birkhe_Maila @ 02:43 PM ] | Viewed: 1859 times [ Feedback]


:

   
Blog Type:: Story
Wednesday, December 23, 2009 | [fix unicode]
 

हेर् हेर् सुड्डो गयो जस्तो छ हौ!"


निशान्तले आँखा च्यातेर बिस्टेबुढा डुब्न लागेको हेर्दै केहि डर मिश्रित स्वरमा भन्यो।


झिल्केका आँखा, अघि देखि त्यतै थिए। ऊ केहि बोलेन। अवाक् भएर केवल प्रकृतीको सानो तान्डव हेर्न थाल्यो।


पर, भउते खोलामा उभिएर खोलाको बहावसंग संघर्ष गर्दा हल्का हल्लिएर दुवै हात उठाउँदै कराइराखेको थियो, तर उसको चिच्याहट खोलाको गडगडाहटमा विलिन हुँदै थियो।


दुवैका अनुहार पँहेला देखिन्थे र थाहा हुन्थ्यो एकछिन अघिसम्म गाँजाको नशामा मातेका यिनिहरु अहिले नजानिँदो किसिमले डराइरहेका थिए।


दुबैलाई थाहा  थियो, कुरा गर्दा मानिसहरुलाई थर्काउँदा जे जस्तो बोले पनि, अहिले सम्म चलचित्रमा बाहेक उनिहरुले यस्तो दृष्य देखेका थिएनन्।


अचानक उनिहरुले कोहि उनिहरुको समिपबाट दौडिएको चाल पाए।


बिस्टे बुढा बग्दै गरेको हेरिरहेका निशान्त र झिल्केले झस्किएर दौडँदै गरेको गाउँलेलाई हेरे।


गाउँले उनिहरुले हेर्न नभ्याउँदै खोलामा पस्यो र पौडिन थाल्यो।


उनिहरु झन अवाक भएर हेर्न थाले।


खोलामा पसेको गाउँले र बिस्टे बुढा कहिले डुब्दै कहिले उत्रिँदै क्रमश: नजिक हुँदै गरेको उनिहरुले देखे। उनिहरुले हेर्दा हेर्दै गाउँलेले बुढालाई पारी किनारमा लग्यो र भुइँमा लडायो।


उनिहरुले देखे भउते अब किनार तिर फर्कँदै छ।


"मोर्यो जस्तो छ है?"


निशान्तले एकटकले पारि हेर्दै झिल्केलाई भन्यो।


" हो जस्तो छ, लाश निकालेको जस्तो छ, त्यो अघि खोलामा कराउने गाउँलेले यो गाउँलेलाई हात दिएर बोलाएको रैछ!"


झिल्केले अनुमान लगायो।


निशान्त अनुहारमा भयमिश्रित भाव लेराउँदै बोल्यो-


"हामिले मान्छे मोरेको देख्यो हौ आज!


झिल्के केहि बोलेन।


त्यो अघि कराउने गाउँले लाशलाई हेर्दै छ हौ!


निशान्तले भउते बिस्टे बुढाको शरिरमा झुकेको देखेर भन्यो।


झिल्के फेरि केहि बोलेन। उनिहरुले हेर्दा हेर्दै एकछिन अघिसम्म खोलामा हिँडिरहेको मान्छे मरेको यथार्थ उसको थियो जसले गर्दा ऊ भय ले चुप थियो।


पर्वतेले चिठि पठाएर गाउँ निकै रमाइलो छ र गाउँमा भने जस्तो गर्न पाइन्छ भनेपछि उनिहरु एकदिन पनि ढिलो नगरि गाउँ हेर्न आएका थिए र अघि सम्म आज बेलुका कुनै धोबिनीको पसलमा पर्वतेले बयान गरेको जुरेली नामक षोडशीको सामिप्यमा रक्सिको नशामा झुम्ने कल्पनामा मग्न थिए। तर अहिले उनिहरुको अगाडिको दृष्य र उनिहरुको अवश्था हेर्दा लाग्दथ्यो, शायद उनिहरु जीवनमा कहिले पनि यो खोला तर्ने साहस गर्न सक्दैनन्। आफ्ना कुरा र हाउभाउले शहरको टोलमा दादागिरी देखाउनेहरु आज खोलाको दादागिरि देख्दै थिए। कलेजका क्यान्टिनमा साहसको खोक्रो आडम्बर देखाउनेहरु, आज बर्खाको गड्गडाउँदो खोलाको जङ्घार छिचोल्ने साहस भएका गाउँलेहरु देख्दै थिए। बहादुरीको नक्कलि कुरा गर्नेहरु आज एउटा गाउँलेले जीवन जोखिममा पारेर डुब्न लागेकोलाई बचाएको वास्तविक बहादूरी देख्दै थिए।


*****


त्यो कुनै शक्ती नै थियो जसले अचानक गालेको मनमा भएको डर तिरोहित गरेको थियो र डुब्न लागेको बिस्टे बुढालाई बचाउने भावनाले ऊ लुगा समेत नखोलि गड्गडाउँदो खोलामा हामफालेको थियो। खोलामा पस्न बेलामा ऊ, ती दुईजना अवतारीहरुको नजिकबाट पसेको थियो र उसको सोचाईबाट धेरै पर, उसले ती अवतारीहरुको अनुहारमा अघिसम्म उलाई लागेको भन्दा निकै ठूलो डर देखेको थियो। उ सकेसम्म छिटो बुढालाई भेट्टाउने आशामा निकै बलपूर्वक बाँकटे हान्दै थियो। उसलाई केवल एउटै डर थियो अहिले, ऊ खोलाको बिचमा पुग्दा बिस्टे बुढालाई खोलाले ऊ भन्दा तल पुर्याउँछ कि भनेर। गाले बुढा कहिले उत्रने कहिले डुब्ने गरेको हेर्दै छिटोछिटो पौडिरहेको थियो।


उ बिचतिर पुग्यो त्यहिबेला बुढालाई खोलाले उसको नजिक केहि पलको लागि सतहमा देखाएर फेरि डुबायो। उ त्यतै पौडियो र हातले बुढालाई समात्ने प्रयास गर्न थाल्यो। उसका हातले बुढाको पाखुरा भेट्यो र उसले समात्यो। लगत्तै उसले महशुस गर्यो बिस्टे बुढा बाँच्ने आशामा उसको शरिर समात्न खोज्दैछन्। उसले निकै कुशलतापूर्वक केहि पलको लागि बिस्टे बुढाको पाखुरा छोडिदियो र घुमेर खोलाको माथिपट्टि पौडियो, लगत्तै फेरि हात बढाएर बुढाको कपाल समात्ने कोशिस गर्यो र उसका हातले बुढाको गर्धन समाते। उसले हात बढाएर बुढाको कपाल बलियो संग समात्यो र बुढाको टाउको पानीको सतह माथि ल्यायो। आफू खोलाको माथिपट्टि नै रहेर बुढाको बाँकि शरीर खोलाको तलपट्टि लडन दिएर कपाल समात्दै पौडँदै पारिपट्टि गयो र किनारमा पुगेर बुढालाई बगरमा सुतायो र आफू उत्तानो परेर निकै जोड जोडले स्वाँ स्वाँ गर्न थाल्यो। अत्याधिक शारीरीक परिश्रम परेकोले होला उसलाई मुटु पोलेको भान भयो। ऊ आँखा चिम्लेर उत्तानो परेर बालुवामा लडेर सास फेर्न थाल्यो। उसले थाहा पायो भउते किनारमा फर्केर दौडँदै बुढा नजिक आएर बुढाको छाति थिच्दै थियो।


ऊ निकै बेर यत्तिकै पल्टियो। केहि समयपछि उसको स्वाँ स्वाँ घट्न थाल्यो र उसले पल्टेर बुढा पट्टि हेर्यो भउतेले बुढालाई पानी छदाउँदै थियो। ऊ उठेर टुक्रुक्क बस्यो र भउते तिर हेर्यो।


"जिम्दै छन्, सास फेर्दै छन्…..एक गाग्रि जति छादे होलान्!"


भउतेले गालेको आँखाको प्रश्न बुझेर उत्तर दियो र बुढा नजिकै बालुवामा थ्याच्च बस्यो।


गाले फेरि उत्तानो परेर बालुवामा पल्टियो र आँखा चिम्लेर लामो सास फेर्न थाल्यो।
(क्रमश:)

   [ posted by Birkhe_Maila @ 02:42 PM ] | Viewed: 2060 times [ Feedback]


:

   
Blog Type:: Story
Wednesday, December 23, 2009 | [fix unicode]
 

पुन्टे बुढालाई यतैतिर आउँदै गरेको देख्नासाथ कुम्लेको अनुहारमा हल्का डर व्याप्त भयो र उसलाई खैनिको तीव्र तलतल महशुस भयो। छिटो छिटो खैनि झिकेर मुखमा हालेर छेउमा पिचिक्क थुक्यो र भर्खरै काटिएको भालेतिर हेर्यो। गाढा राता र काला काला छिर्के मिर्के प्वाँख सहितको भालेको शरीर र रातो लामो सिऊर; पुन्टे बुढाले आफ्नो भाले चिन्न सक्ने सम्भावना धेरै थियो! बुढा आँगनको डिलबाट नजिकै आइपुगिसकेका थिए।

" ए डाउडर पानी तातो?"

कुम्लेले पुन्टे बुढा आउँदै गरेको हेर्दै मदनवालाई सोध्यो।

ओह सला पुनटे दाजुको देइखके पानी उबालेको भुलिहालेछु, तपाइँ पुन्टे बुह्रो संग बतियावनुहोस हमि पानी लियावँछु!

मदनवाले उठ्ने तरखर गर्दै भन्यो!

पर्दैन डाउडर, बरु बुढा केइ परेर' होलान् तपाइँ बुढालाई लेर भित्र जानुस म गरिआल्छु नि काटकुट्!

कुम्लेले भाले राखेको बोरा अलिकता छेऊ पल्टाएर भालेलाई केहि छोप्दै भन्यो।

क्यार्दै हो कम्पाउडरे र कुम्ले तिमारु?

बुढा अलि परैबाट कराउँदै आए!

डाउडरले भाले खाने भनो अनि काटिरा!

टुक्रुक्क बसिरहेको कुम्लेले अलिकता ठाउँ सर्दै पुन्टे बुढाको नजरबाट भालेलाई छेक्ने कोशीस गर्दै उत्तर दियो।

मदनवा उठेर पुन्टे बुढा भएतिर गयो र भन्यो-

कथि काइमसे आवनुभयो पुनटे दाजु तपाइँ? सब कुस्ले मंग्ले त छ हेन?

मलाई त के हुन्तो र, बिस्टे बुडाको नातिनी सान्नानी हराइछिन राति, तेसइलाई खोज्दै आ एतातिर!

बुढाल नजिकै आइपुगे र भाले हेर्दै भने।

भालेको टाउको र पुछ्छरपट्टिको आधि जिऊ बोराले छोपिएको थियो। काटिएको घाँटि र पेट सम्मको केहि भाग देखिएको थियो।

भाले त झक्किको देखिन्छ नि?

बुढाले मुख रसिलो बनाउँदै कुम्लेतिर हेरेर भने।

हेँहेँहेँ

कुम्लेले दाँत देखायो।

अभि काटनुभएछ अब, पानी डालके पवाँख उवाँख उखाडनेको बादमा टुकडा बनावने और पकावने हो!

मदनवाले लगभग र्र्याल चुहाउँदै भन्यो।

के भएछ पुन्टे बाजे बिस्टे बुडाको नातिनीलाई?

कुम्लेले विषय परीवर्तन गर्यो।

खै ब्यान ब्यानै चौतारीमा भेट्या थेँ, राति नै हराकि रे। भउते बज्जे र बुढा खोज्न भनेर पारी जान लाया रेछन!

पुन्टे बुढा टुक्रुक्क बस्दै बोले र फेरि भालेतिर लोभि नजरले हेर्न थाले।

कुम्लेको ढुकढुकि फेरि बढ्यो।

सला हमि सोचेँछु यो बरषातमा गावँमा ठिक होने वाला छेन, अभि केहि टेम पहले रिठे दाजु बेहोश भइके आवनुभएछ, अभि सुनेँकि सनानि हराइलिएछ!

मदनवा ले उभिइ उभिई भन्यो।

रिट्ठे बजिया बेहोश भयो रे? कइले?

पुन्टे बुढाले चाख देखाएर सोधे।

म हिनिराथेँ, ड्याम्म म संग ठोकिओ त्याँसि त फुस्रा आँखा पल्टाइहालो नि, मइँले त मरो भन्ठान्या जिम्दै रेछ, बल्ल बल्ल बोकेर ह्याँ सम्म ल्याइपुराको!

कुम्लेले बयान गर्यो।

ह्यइँ छ अइले नि तो मारोगी?

पुन्टे बुढाले सोधे।

यहि हुनुहुन्छ सैलान पानी दिएछुँ भितर हुनुहुन्छ! तपाइँ रिठे दाजुको देइखनेको जानुहोस हमि पानी लियावँछ पवाँख उखाडनेको लागि!

मदनवाले भन्यो र घरतिर जिउ बढाएर टक्क अडिएर पुन्टे बुढालाई कुर्यो।

लौ हेरम न त रिट्ठे बजियालाई के भ छ! त्याँसि भाले खाम्ला, हाम्रो भाग छ कि छैन?

बुढाले पँहेला दाँत देखाउँदै कुम्लेलाई हेरेर सोधे!

कुम्लेले अझ धेरै दाँत देखाउँदै भन्यो-

तपाइँकै भाले भन्ठान्नोस, जति खाए नि हुन्च!

पुन्टे बुढाले खुसि भएर उठ्दै भने-

त्यत्तिकै के खाँदाहुम म, हाम्रामा नि झक्किको भाले छ तो काट्या दिन तँलाई रउसि संग ख्वाउँला ल मेरो बचन भो!

यति भनेर बुढा कुम्लेको उत्तरको प्रतिक्षा नगरि मदनवा संग रिट्ठेलाई राखेको कोठा तर्फ लागे।

कुम्लेको सास आयो।

डाउडर तपइँ पुन्टे बाजेसित रिट्ठेलाई हेर्न गए हुन्छ तो के जाति पानी सकिओ कि, एताको बेबस्ता म गरिआल्छु नि!

ठूलो स्वरमा कुम्लेले टुक्रुक्कै बसेर मदनवा र पुन्टे बुढा तिर टाउको घुमाएर भन्यो।

ठिके बात करनुभयो! भन्दै मदनवा पुन्टे बुढासित रिट्ठे भएतिर लाग्यो।

कुम्लेले मदनवा र पुन्टे बुढा कोठामा पसेको देख्यो। जुरुक्क उठ्यो र मदनवाको कोठा भित्र गयो। चुल्होमा पानी भकभक उम्लिरहेको थियो। कुम्लेले यताउता हेर्यो। एउटा कुनामा पुरानो लुंगिको टुक्रा रहेछ। त्यो लिएर दुवैहातले उम्लेको पानिको भाँडो समात्यो र पानीको वाफबाट अनुहार जोगाउन घाँटि अलिकता बाङ्गो बनाउँदै पानी लिएर कुखुरा राखेको ठाउँमा आयो। पानी एकातिर राखेर उसले भाले छोपेको बोरा फैल्यायो र कुनै ढिलो नगरि भालेको खुट्टा समातेर सम्पूर्ण भालेलाई उम्लेको पानीमा डुबाएर एकछिन घुमायो र माथि उचाल्यो। प्वाँख र भाले तातोपानिले भिजेको गन्ध उसको नाकमा छिर्यो। एकछिन भालेको शरिरमा लागेको पानी तर्कन दियो, बोरामा भाले राख्यो र दुवै हातका औँला प्रयोग गरेर भालेको प्वाँख लुछ्न थाल्यो। केहि बेरमा नै भाले प्वाँखरहित नाङ्गो थियो। उसले टाउको पनि पानीमा डुबायो र सकेसम्म टाउकाको प्वाँखहरु पनि उखेल्यो। भाले र टाउको बोरामै एकातिर राखेर कुम्लेले सबै प्वाँखहरु जम्मा गरेर सोहोर्यो, आँगनको डिलबाट तल फालिदियो र फर्केर भाले भएकै ठाउँमा आएर टुक्रुक्क बस्यो। दाहिने हातको चोर औँला मुखमा भित्र सम्म हुल्यो र च्यापिराखेको खैनि हुत्तयाएर पर फाल्यो अनि बोराकै एक छेऊले औँला पुछ्यो। अचानो सोझ्याएर राख्यो र अचानो माथि भाले अड्यायो र एकछिन केहि सोचेर खल्तिबाट खैनि झिकेर फेरि एक चिम्टि जति मुखमा हुल्यो र पिचिक्क छेउमा थुक्यो। खैनि लागेको हात फेरि बोराको अघिकै भागले पुछ्यो र खुकुरी समात्यो। भालेको दाहिने खुट्टा कुम्लेको बायाँतिर थियो र बायाँ खुट्टा खुकुरी समातेको दाहिने हात तिर थियो। कुम्लेले बायाँ हातले उत्तानो पारेर राखोएको भालेको बायाँ खुट्टा समातेर हल्का उचाल्यो र केहि बायाँ नै ढल्कायो र खुकुरीले भालेको दायाँ खुट्टा र पेटको बिचको कापमा स्वाट्ट पारेर काट्यो र काट्दै गयो। भालेको तिघ्राको जोर्निमा बडो कुशलतापूर्वक कुम्लेले खुकुरी चलायो र दायाँ खुट्टा अलग गरेर बोरामा राख्यो। यसैगरि बायाँ सपेटा पनि छुट्ट्याएर राख्यो र कुखुरालाई उत्तानै पारेर तलपट्टिबाट पेट अलिकता चिर्यो र खुकुरी बोरामा राख्यो। दायाँ हात पेट भित्र कुशलतापूर्वक चलाउँदै हत्केलाले सम्पूर्ण आन्द्रा र भित्र्याँस समातेर बाहिर निकाल्यो, एकातिर राख्यो र मासुका टुक्रा बनाउन तल्लिन भयो।

 ******

 

कोठा बाहिरै गुन्द्रि ओछ्छ्याएर रिट्ठे, पुन्टेबुढा, कुम्ले र मदनवा बसेका थिए। बिचमा एउटा थालमा भर्खरै स्वादिस्ट बनाएर भुटिएको भालेको मासु थियो भने कुम्ले र पुन्टे बुढाको अगाडि २ वटा स्टिलको गिलाँसमा तिनपाने पनि थियो। रिट्ठेको सलाइन पानी अघि नै सकिएको थियो र कुम्लेले भाले काटेपछि मदनवाले बडो चाख दिएर मासु पकाएको थियो।पुन्टे बुढाले रिट्टेको आत्मवृतान्त सुनेर सहानुभुति पोखे र संगसंगै भाले संग तिनपाने नभै नहुने जिद्दि गरेपछि मदनवाले लुकाएर राखेको रक्सी दिनु परेको थियो। रक्सि दिन परे पनि मदनवा खुसि थियो किनकि धेरै पछि उसले भालेको मासु भनेजस्तो किसिमले पकाएर भने जति खान पाएरहेको थियो। कुम्ले आफ्नो पोल नखुलेकोमा खुसि थियो र रिट्ठे बाँचेकोमा भगवानलाई धन्यवाद दिँदै थियो।

पुन्टे बुढाले एक टुक्रा मासु मुखमा हुलेर चपाए र लगत्तै रक्सीको गिलाँस आधि सकेर मदनवातिर हेरेर भने-

हातमा चिल्लो लागो, पुछ्न केइ चिज छ?

मदनवाले पुछ्ने चिज सोच्दै भन्यो-

वहि हमि भि सोचिरखेँछु, पुरा तेइल तेइल भएछ हमरो हाथ भि!

मदनवा सोच्दै थियो, कुम्लेले नजिकै राखेको रिट्ठेको डोकोबाट भालेको मुख बाँधेको सुरुवाल झिक्यो र पहिला आफ्नो हात पुछेर पुन्टे बुढातिर बढायो।

बुढाले सुरुवालले हात मजाले पुछे र सुरुवाल मदनवालाई दिँदै कुम्ले तिर हेरेर प्रभाबित नजरले भने-

एल्ले गर्च काम चाइँ, भाले नि ल्याओ पुछ्ने लुगा नि ल्याओ!

कुम्लेले पँहेला दाँत देखायो। मदनवा हात पुछ्न थाल्यो।

दोश्रो पटक बुढालाई छातिको टुक्रा परेछ, एकै पटक दायाँ गाला मुनिबाट बङ्गारामा हुलेर 'किटिटिटिक्क आवाजका साथ बुढाले भालेको करङ् फोरेर स्वाद मानि मानि चपाउँन थाले। केहि नबोली एकछिनमा गप्ल्याक गुप्लुप गरेर निलेपछि बुढाले गिलाँस उठाए र आधि भरिएको गिलाँस एकै सासमा सिनित्त पार्दै, रिट्ठे तिर हेरे। रिट्ठे दाँत फुक्लेको बुढाले जसरि नरम मासु हल्का ओठ चलाएर चपाउँदै थियो मानौँ अलि स्वाद लिएर चपायो भने ऊ फेरि बेहोश हुन्छ।

बडा मजा आइलियो!

मदनवाले सपेटा तान्न थालतिर हात बढाउँदै भन्यो।

कुम्लेले सित्तैमा भाले ल्याइदिएसी मजा आईआल्छ नि तँलाई!

भन्दै पुन्टे बुढाले हत्त न पत्त मदनवाले उठाउन लागेको सपेटा उठाएर फेरि बङ्गारामा हुले!

अक्क न बक्क भएको मदनवाले हत्त न पत्त अर्को सानो टुक्रा उठाएर खायो र मुख केहि बिगार्यो। पाङ्ग्राको टुक्रा परेछ।

चारैजना गुन्द्रिमा एक अर्काको मुखामुख गरेर बसेका थिए र मजाले मासु खाँदै हात पुछ्दै, मुख पुछ्दै रमाउँदै थिए।

अचानक नजिकैबाट एउटा स्वर आयो-

मदनवा कपाउँडार? कपाउँडार?

सबैको ध्यान खानबाट भङ्ग भयो र सबैले आवाजको दिशामा हेरे। थकित र बिरामी जस्ता देखिएका नेपे बुढा उहि घुँडा सम्म आउने धर्का भएको लामो कट्टु लगाएर सवैलाई वाल्ल परेर हेर्दै मदनवालाई भन्दै थिए-

खै कपाउँडार बाउ, ब्यान देखुन सात पालि भन्दा बडि भओ पखाला ला लाएइ छ, सराद्दे गर्न हिन्या सुर्वाल नि कुन असत्तिलाई कालले लान नसकेर चोरेर लओ, मर्छु कि जस्तो भो, केइ ओखती छ होला? परानै जाला जस्तो भो गाँठे!

यति भन्दै नेपे बुढाले सबैलाई सरसर्ती हेर्दै थुचुक्क गुन्द्रीमै बसे र अगाडि राखेको मासुमा एक नजर दिँदै कुम्लेले मुखको चिल्लो पुछ्दै गरेको सुरुवाललाई हेरे!

कुम्लेलाई मासु सर्कियो र नराम्रो संग खोक्यो!

 

(क्रमश:)

   [ posted by Birkhe_Maila @ 02:40 PM ] | Viewed: 1943 times [ Feedback]


:

   
Blog Type:: Story
Wednesday, December 23, 2009 | [fix unicode]
 

झ्यालको डन्डीमा घोप्ट्याएको सलाइन पानीको बोतलको मुखबाट एउटा निश्चित अन्तरालमा पानीका थोपा तप् तप् गर्दै तल पाइपमा चुहिन्थे। कुम्ले एक टकले पानी चुहिएको हेर्दै थियो। उसको मुहारमा आज बिहान देखिको बदमाशी र क्रुरता सधैँलाई हराए जस्तो देखिन्थ्यो र अहिले यो क्षणमा उसको मुहारमा संसारभरिको निर्दोशता व्याप्त थियो। उसको मनले शायद भन्दै थियो, एउटा सानो बोतलमा भएको पानी सियोले घोचेर मान्छेको नशामा छिराउँदा मरेको मान्छे ब्युँतिने यथार्थ उसले बुझेर बुझिनसक्नुको छ।

मदनवा भर्खरै उसको कोठामा गएको थियो।

कुम्लेले बिरामी जाच्ने कोठा चारैतिर हेर्यो। सफा सुग्घर कोठा थियो। एउटा खाट थियो जसमा रिट्ठे सुतेको थियो। अलि पर एउटा काठको दराज भित्तामा टँसाएर राखिएको थियो; शायद औषधीहरु थिए त्यसभित्र। भुइँमा दुईवटा गुन्द्रीहरु थिए जसमा एक भन्दा बढि बिरामी आएमा राखिन्थ्यो शायद। उता दुई भित्ताको कुनामा केहि कागजका बन्द बाकसहरु थिए र त्यसभित्र यो बर्खालाई आइपुगेका औषधीहरु थिए जुन खुलेका थिएनन्।

रिट्ठे शान्त थियो र उसका आँखा बन्द थिए। गाला तथा च्यापुमा रौँहरु बढेका थिए र उसको अनुहार हल्का पँहेलो देखिन्थ्यो।

कुम्लेलाई कोठा भित्रको वातावरण खै किन हो भयावह लाग्यो। ऊ अलिकता खुम्चियो र एक पटक रिट्ठेलाई र धेरै पटक सलाइन पानीको थोपा चुहिएको हेर्दै उठेर बाहिर आयो।

बाहिर शीतल थियो। ठूलो आँगनमा कतै हिलो जमेका थिए त कतै झारहरु उम्रेका थिए। आँगनको डिलबाट तल चौतारी देखिन्थ्यो र अझै तल दोभानेमा खोला टल्किराखेको थियो। पारिपट्टिको बजार तुवाँलोले हो कि कुहिरोले हो ढाकेको थियो र त्यसमाथिको डाँडा तलपट्टि आधि मात्र देखिन्थ्यो, डाँडाको माथिल्लो भाग र आकाश, बादलले गर्दा एउटै भान हुन्थ्यो।

कुम्लेलाई अलिकता हल्का अनुभव भयो। भित्तामा अडेर लाएर टुक्रुक्क बस्यो र खल्तिबाट खैनीको पाउच निकाल्यो। बायाँ हत्केलामा केहि खैनि दायाँ हातले झार्यो र खैनीको पाउच दायाँ हात्केलामा गुजुमुजु पारेर च्याप्दै औँलाले खैनी च्यापेर मुखमा हुल्यो र पिच्च थुक्यो। खैनीको पाउच पहिलो पटक देखेको जसरी त्यसमा भएको चित्र हेर्न थाल्यो।

"खेनि खाइरहनु भएछ?"

काँधमा राखेको तौलियामा हात पुछ्दै मदनवा बाहिर निस्किएर भन्यो।

कुम्लेले पुलुक्क मदनवालाई हेर्यो र केहि नबोलि खैनीको पाउच मदनवातिर बढायो।

हमि यो खान्देन कुम्ले दाजु, हमि हमरो बिरान्डके खान्छ, उ चुनाको साथमा खाने!

खल्तिबाट एउटा प्लास्टिकको लाम्चो सानो डिब्बा निकाल्दै मदनवाले भन्यो र कुम्ले संगै उसैगरि टुक्रुक्क बस्यो।

कुम्लेले मदनवाले निकालेको सेतो डिब्बा निकै उत्सुकतापूर्वक हेर्यो र हँसिलो मुख बनाउँदै भन्यो-

एल्ले त रिंगाउला के रे नि? अस्तिन माछा मार्न जाँदा हर्केले कताडि ल्या रेछ कुन्नि, खोला बगरमा बसेर च्याप्या थेँ, त्याँटि भनननननन रिंगा'र भुतुक्कै बनायो मलाई त! अन्खेरुन फालेँ, त्याँसि तीनदिन भात खान नहुने गरेर चहर्यायो!

कुम्लेको कुरा सुनेर मदनवालाई अलिकता हाँसो उठ्यो, हाँस्दै डिब्बाको एक छेऊबाट सुर्ती र अर्को छेउबाट डिब्बाको बिर्कोले अलिकता चुना कोट्ट्याएर हत्लेकामा राख्यो र डिब्बा बन्द गरेर खल्तिमा राख्दै, खैनि हत्केलामा मल्दै भन्न थाल्यो-

खेँ खेँ खेँ कुम्ले दाजु, उ मुहको छाला जो छ उ मरनेको पर्छ पहले, उसको बादमा चुनावाला खेनि जो छ, बहुते आनन्द् दिन्छ।

मेरो चाइँ केइ लाग्दैन डाउडर चुनावाला खइनिसित!

कुम्लेले मदनवाले खैनी माडेको हेर्दै हार खायो।

मदनवाको देब्रे हत्केलामा दाहिने हातको बुढि औँला कुशलतापूर्वक घुमाउरो पारामा चल्मलाउँदै थिए। बेला बेलामा माड्न छाडेर दाहिने हातको चोर औँलाले हत्केलाको छेउ छेउमा पुगेका खैनि सोहोरेर बिचमा ल्याइपुर्याउँथ्यो र फेरि बुढि औँला घुमाउँदै मल्न थाल्दथ्यो। मदनवाले एक पटक दाहिने हत्केलामा देब्रे हत्केलाको थपडि हानेर खैनीको धुलो उडायो र नाक बिगार्यो। कुम्लेले जोडले हाच्छिउँ गर्यो र मुख बिगार्यो।

खार लाएर छिउँ नइँ आयो मेरो त!

अझै मुख बिगार्दै कुम्लेले भन्यो।

खेँ खेँ खेँकुम्ले दाजु तपाइँ बानि परेछेन त छिँकेछ, हमि बानि परेछु हमि छिँकदेन ऐसन खारसे!

हाँस्दै यति भन्दै मदनवाले फेरि एक पटक थपडि बजायो। अघिको भन्दा बढि धुलोहरु उडे र मदनवाले नचाहँदा नचाहँदै जोडले हाच्छिउँ गर्यो!

कुम्ले वाल्ल परेर मदनवालाई हेर्न थाल्यो र जोडले हाँस्यो।

मदनवा पनि मरि मरि हाँस्न थाल्यो!

सला पहलिबार जिन्द्गिमे खेनिके खारसे छिँक आयो!

मदनवाले भर्खरै गरेको गफ झूटो साबित होला भनेर आफैँलाई जोगाउने कोशिस गर्दै भन्यो र औँलामा खैनी च्यापेर मुखमा हुल्यो।

कुम्ले मदनवाको अनुहारमा अझै वाल्ल परेर हेर्दै थियो मानौ मदनवा कुनै अर्कै ग्रहबाट आएको प्राणी हो!

मदनवा केहि सम्झे जस्तो गरेर जुरुक्क उठ्यो र कुम्लेतिर हेरेर भन्यो-

दाल रखेथिएँ चुल्होमे देइखके आवँछु, तपाइँ रिठे दाजुको देख्न जानुहोस!

कुम्लेलाई भित्र जान मन थिएन। भित्र रिट्ठे बेहोश थियो र संसारकै सवैभन्दा नरमाइको दृष्य सलाइनपानिको थोपा चुहिँदै बेहोश रिट्ठेको हातमा छिरेको दृष्य थियो। उसले मदनवाले भनेको सुने नसुन्यै गर्यो। मदनवा उत्तरको प्रतिक्षामा कुम्लेलाई हेर्न थाल्यो।

कुम्लेले मदनवालाई हेर्यो। ऊ मदनवालाई दिने जवाफ खोजिरहेको थियो शायद, त्यहिबेला भित्र रिट्ठेले बिस्तारै कनेको जस्तो,कराएको जस्तो, रोएको जस्तो आवाज आयो। कुम्ले जुरुक्क उठ्यो। मदनवा रिट्ठेलाई राखेको कोठातिर लम्कियो, कुम्ले पछि पछि लाग्यो।

रिट्ठेका आँखा आधि खुलेका थिए र सुकेर पाप्रा जस्तो देखिने ओठमा बेला बेलामा जिब्रो फिराउँदै थियो।

झन्डै मर्या थिस तँ बजिया!

कुम्लेले ठूलो स्वरमा रिट्ठेको नजिक जाँदै सलाइनपानीको बोतल हेर्दै भन्यो।

केहि भए थिएन रिठे दाजु, उ डिहइडरेसन भए थियो कुम्ले दाजु तपाइँको हियाँ लियायो, हमि सैलन चढायो अब सब ठिकठाक हुन्छ सैलान सकनेको बादमा!

रिट्ठेले के भएको याद गर्ने कोशीस गर्यो। उसलाई ऊ बेहोश हुनुभन्दा पहिला कुम्लेले झुकेर हेरेको याद आयो। केहि नबोलि फेरि आँखा चिम्लियो; शायद जिउँदै छु भनेर ढुक्क भएको थियो।

तपाइँ आरामसे सुत्नुस रिठे दाजु सैलान सकनेको टेम लाग्छ उठनेको हुन्देन! हमि उधर खाना बनावँदे छ, सैलान सकनेको बादमा तीनजने मिलके खना खाने तपाइँ तग्डा हुन्छ!

मदनवाले सलाइनपानीको मात्रा हेर्दै मनमनै समय लाग्ने अनुमान गरेर भन्यो र ढोकातिर लम्कियो।

रिट्ठेले सहमतीमा अलिकता टाउको हल्लायो।

कुम्लेले केहि नबोली एकपटक रिट्ठेलाई हेर्यो र मदनवाको पछि लाग्यो।

बाहिर निस्केर एक पटक लामो सास तान्यो कुम्लेले र भित्तामा अडेस लाएर उभियो। मदनवा आफ्नो कोठाभित्र छिर्यो।

खै किन हो कुम्ले अब ढुक्क देखिन्थ्यो। कुम्ले सोच्न थाल्यो। अचानक उसलाई डोको र त्यसभित्र राखेको भाले याद आयो।

रिट्ठेलाई होश आइसकेको थियो र कुम्लेले भाले राखेको डोको उसैको थियो। शायद रिट्ठेले बेहोश हुनु भन्दा अगाडि कुखुरा पनि देखेको थियो। यहाँ कुरा लुकाउनु उसलाई ठिक लागेन। भित्र बाट मदनवाले बनाएको दालको बास्ना आईरहेको थियो। उसलाई भोक लागेको अनुभव भयो। उसको दिमाग चल्न थाल्यो। मनवालाई भालेको बारेमा जस्तो कुरा पनि ऊ बनाएर भन्न सक्थ्यो र रिट्ठे बिरामी थियो, उसले यहाँ नल्याएको भए बाटोमै मर्न सक्थ्यो। यस अर्थमा रिट्ठेले उसको उपकारको बदलामा भालेको कुरा थाहा पाइहाले पनि लुकाउनु पर्दथ्यो। बिहानै देखि धपेडि परेको थियो उसलाई र उसको भोक बढ्दै थियो। आधा दिन भैसकेको थियो र यहाँबाट घर पुगेर भाले पकाएर खान दिन पुरै बित्न पनि सक्थ्यो। ऊ डोको तिर लम्कियो र घुम हटायो। भित्र भालेको मुख सुरुवालबाट फुत्किएको थियो तर भाले चुपचाप थियो। उसलाई भाले मर्यो भन्ने लाग्यो र हात बढायो। उसको हातले भालेलाई स्पर्ष गर्नासाथ भालेले आवाज निकाल्यो। भाले जिउँदै थियो र शायद छोपेदेखि गिजलेको भएर हो थाकेको थियो। उसके केहि बेर केहि सोच्यो। उसले भालेको दुबै खुट्टा समातेर हातमा झुन्ड्यायो। भाले एक पटक फट्याक फुटुक गर्यो र चुप लाग्यो। भाले झुन्ड्याउँदै ऊ मदनवाको कोठातिर गयो।

भित्र मदनवा कसौँडिमा दाल घोट्दै थियो।

डाउडर!

कुम्लेले ढोकामा उभिएर बोलायो।

मदनवाले फर्किएर ढोकातिर हेर्यो। कुम्लेको हातमा झक्किको रातो भाले देखेर अवाक भयो।

ल यो बेच्न निस्क्या थेँ, रिट्ठे बजिया मर्न लागो बनेर यतै ल्या को, भोक नि लागो, काटकुट पारेर बनाम्न मिल्ने भ बनाम के रे, खार बाँकि भा मासु चाइँ मलाई चाइँछ नि फेरि?!

दाँत देखाउँदै मदनवातिर हेरेर कुम्लेले भन्यो।

मदनवाको मुहारमा खुसि र तीव्र मासुको भोक देखियो! अत्यन्त उत्साहित भएर जुरुक्क उठ्यो र भन्यो-

जायकेदार भाले लियावनुभएछ तपाइँ, हमि काइटके मसाला वसाला डाइलके बनावँछ!

मदनवा कुम्ले तिर आयो र पहिले भन्दा झन उत्साहित हुँदै भालेतिर हेर्दै भन्यो-

बडावाला भाले छ, हमि तीनजने भरपेट खाइके भि बहुते मासु बचनेको छ तपाइँके घइर लानेको लागि!

अचानक कुम्लेले मन परीवर्तन गर्ला भन्ने डरले मदनवाले भन्यो।

ल खाम खाम भोक लागेर आन्द्रा छुत्ति खेल्न थालिसको मेरो त!

कुम्लेले भित्र पस्दै भन्यो।

भइहाल्छ कुम्ले दाजु, तपाइँ बस मारनेको काम गरिदिनुहोस, काटने वाटने पिस बनावने काम हमि करिहाल्छु!

मदनवाले भाले मार्न डराएर भन्यो र कुनामा राखिएको खुल्ला दराज जस्तो ठाउँबाट एउटा खुकुरि निका्दै कुम्लेलाई दियो।

कुम्लेले बायाँ हातले खुकुरी लियो र दायाँ हातले भाले झुन्ड्याउँदै बाहिर गयो। मदनवाले चुल्हो बाट दालको भाँडो निकालेर एकातिर राख्यो र एउटा डेक्चिमा गाग्रिबाट पानी सारेर चुल्होमा बसाल्यो, एउटा प्लास्टिकको बोरा लियो र बाहिर आयो।

आँगनमा अलि पर कुम्ले मदनवालाई कुरिराखेको थियो। मदनवा पुग्यो र आँगनमा बोरा ओछ्छ्यायो।

अचानो छइन डाउडर?

कुम्लेले खुकुरी बोरामा राख्दै सोद्धयो।

अभि लियावँछु कुम्ले दाजु!

मदनवाले केहि सम्झे जस्तो गर्यो र लगभग दौडेर भित्र छिर्यो र एउटा डल्लो अग्राखको अचानो लिएर आयो र बोरामा खुकुरि संगै राख्यो।

कुम्ले टुक्रुक्क बस्यो र भालेको दुवै खुट्टा आफ्नो दायाँ खुट्टाले थिच्यो। भाले अलिकता छट्पटायो। पखेटा पहिलेदेखि नै खप्टिएका थिए त्यसैले फडफडाउन पाएन।

मदनवा निकै उत्सुकता पूर्वक हेरिराखेको थियो।

कुम्लेले अचानो अलिकता अगाडि सार्यो। दायाँ खुट्टाले भालेको खुट्टा थिचेकै स्थितीमा देब्रे हातले भालेको मुख च्याप्प समात्यो र अचानोमाथि लगभग टाँसेर तन्काएर राख्यो । भाले हल्लिन सकेन।

खुकुरी दाबबाट झिक्नुस त डाउडर?

उसले त्यहि स्थितीमा मदनवालाई भन्यो।

मदनवाले उस्तै उत्सुकताका साथ दाबबाट खुकुरी झिक्यो, अगाडि राखिदियो र आँखा झिमिक्क नगरि हेर्न थाल्यो।

कुम्लेले दायाँ हातले भालेको गर्धनको प्वाँख केलायो र माथिपट्टिका केहि प्वाँख जोडका साथ लुछ्यो। साना साना मसिना भुवाहरु एकछिन यता उता उडे। उसले दाहिने हातले खुकुरी समात्यो। देब्रे हातले भालेको टाउको देब्रेतिर अचानोमा टाँस्दै तन्कायो र दाहिने खुट्टाले भालेको खुट्टा थिचेर केहि दायाँ तर्फ तन्कायो। दाहीने हातमा खुकुरी केहि माथि उचालेर भालेको गर्धनमा जोडले हान्यो, हात र खुट्टामा उसले लगाएको बल छाडिदियो। भाले दुई टुक्रा भयो र भालेको शरीर बोरामा केहि बेर फड्फडाउन थाल्यो। अचानोमा अलिकता रगत पोखियो र सेतो प्लास्टिकको बोरामा धेरै रगत पोखिए।

हँसिलो मुख लिएर कुम्लेले मदनवा तिर हेर्यो। मदनवाले अझ हँसिलो मुख लिएर कुम्ले तिर हेर्यो।

केहि बेर मै भाले फड्फडाउन बन्द भयो र मासुमा परीवर्तन भयो।

कुम्लेले खुकुरीमा लागेको रगत भालेको पेटको प्वाँखमा पुछ्यो र खुकुरी दाबभित्र हुल्यो।

ss! पानी त उमाल्या छ?

कुम्लेले केहि सम्झे जस्तो गरेर मदनवातिर हेर्दै भन्यो।

बाहिर आवनेको टेममा चुल्होमा रइखके आएको , तात्दे छ!

हँसिलो मुख लगाउँदै उत्सुकतापूर्वक मदनवाले उत्तर दियो र यता उता हेर्न थाल्यो।

आँगनको डिलको बाटोतिर हेर्दै मदनवाले झन हँसिलो मुख बनायो र अझ रमाएको जस्तो देखियो। कुम्लेले मदनवालाई हेर्यो र मदनवाको आँखा बाटोतिर लागेको देखेर बाटोतिरै नजर घुमायो। कुम्लेलाई आफ्नो मुटुको धडकन अचानक बढे जस्तो लाग्यो। ऊ किर्कर्तव्यविमूढ देखियो र बेचैन देखियो। आँगनको डिलको बाटोबाट पुन्टे बुढा यतैतिर आउँदै थिए!

(क्रमश:)

   [ posted by Birkhe_Maila @ 02:34 PM ] | Viewed: 1889 times [ Feedback]


:

   
Blog Type:: Story
Wednesday, December 23, 2009 | [fix unicode]
 

शबु केहि लाजले खुम्चिँदै त केहि दीपले हेरिरहेको छ भन्ने कल्पनाले आत्तिँदै एकोहोरो किसिमले कपालमा फगत पानी थाप्दै थिइन र उनका हातले बस कपाल मिचेको जस्तो गर्दै थियो। उनि पँधेरामा थिइनन्, शायद कतै कुनै संसारमा लाज, रोमांच र मिठासले भरिएको विमानमा उड्दै थिइन्। उनलाई थाहा पाउन मन लाग्यो दीप के गरिरहेको छ भनेर। उनले निकै बलपूर्वक टाउको धारोबाट अलिकता छेऊमा ल्याइन र दुवै हातले कपाल मिचेको जस्तो गरेर आँखाबाट हल्का हटाइन र पँधेराको डिलतिर हेरिन्। दीप त्यहाँ थिएन! उन्ले टाउको अलिकता घुमाउन लागिन् यत्तिकैमा ठूलो आवाज आयो। केहि कुरा ठोक्किएको र गाग्रि भुईँमा बजारिएको। उनी सिधा भइन र आवाजको दिशामा हेरिन्। दीप चेलिमाया संग नराम्ररी ठोक्किएको थियो। गाग्रि भुईँमा यता उता गड्दै थियो र दीप र चेलिमाया भुईँमा अल्झेर लडेका थिए। दुँवैजनाको मुखबाट पिडामिश्रीत चिच्याहट निस्केको थियो। पानीले भिजेको भुईँ चिप्लो थियो र ठाउँ ठाउँमा ढुङ्गाहरु थिए। थाहा छैन कुन बलले हो, कुन आकर्षणले हो वा कुन मानवताको भावनाले हो शवु दौडिएर चेलिमाया र दीप लडेको ठाउँमा पुगिन्।

उनले देखिन् चेलिमाया दीपबाट अलग्गिएर उठ्ने कोशिसमा थिइन तर सफल भइनन्। उनि चेलिमायालाई उठाऊने बिचारले अगाडि बढिन् तत्कालै उनको नजर दीपतिर गयो। दीप भुईँमा लडेकै थियो र उसको निधारबाट रगत बग्दै थियो, उ पिडाले आँखा आधि मात्र खोलेर शबुलाई हेर्दै थियो।दीपको मुहार, असक्तता र रगत देखेर शबुको मन उमडियो। उनि दौडेर दीप नजीक गइन र उनको हातले अनायाशै दीपको घाउको गहिराई बुझ्न थाले। घाऊ त्यति गहिरो थिएन र रगत हल्का बगेको थियो। अनायाशै कुन शक्तीले हो शबुले आफ्नो भिजेका हातले दीपको निधार सुम्सुम्याइन् उनलाई दीपको घाऊ ठूलो लाग्यो। राता रगत बगेकोमा उनलाई भित्र कता कता पिडाको अनुभव भयो। उनले दीपको मुहार हेरिन्। दीप उसलाई टुलुटुलु हेरिरहेको थियो। अहिलेको दीपको हेराई शबुलाई मिठो लाग्यो, माया लाग्दो लाग्यो। उनलाई दीपको घाऊ दुख्न थाल्यो। उनले बिर्सिन उनि एकसरो लुगा मात्र लाएर भर्खरै नुहाउँदै थिइन्। उनले बिर्सिन दीपले उनलाई सधैँ हेर्दा उनलाई धेरै रिस उठ्छ। उनले बिर्सिन् यसरी अरुलाई क्वार्क्वार्ती हेर्ने मान्छेको नजिक पर्नु हुन्न। कुनै शक्ती थियो त्यो जसले उनका हात दीपका निधारमा सल्बलाऊन बाध्य बनाइरहेका थिए। उनि थुचुक्क भुईँमै बसिन् र दीपको निधार छुँदै उनि हुर्केदेखि उनको हृदयमा लुकेको मायाको भाव आँखामा ल्याउँदै सोधिन्-

" धेरै दुख्या छ हो?"

शबु आएर दीपतिर झुके देखि नै दिपको सम्पूर्ण दुखाई थाहा छैन; कतै हराएको थियो। सबैकुरा निकै छिटो छिटो भएको थियो। उसलाई बिश्वास गर्न गाह्रो भैराखेको थियो कि ऊ केवल लडेको थियो र निधारमा सानो चोट थियो र त्यसको पिडा उसले शबुको आँखामा देखिरहेको थियो।

छ्छ्छैन अलि अलि हो!

दीपलाई शबुको स्पर्ष कुनै मिठो संगित जस्तो लाग्दै थियो! उसले अनुभव गर्यो उसको बायाँ छातिमा शबुको भिजेको लुगा परेको थियो र त्यसले उसलाई शीतलता दिँदै थियो। सबैकुरा सपना जस्तो लाग्दै थियो।

क्यारि लडेउ तिमारु???

कसैले बोलेको सुनेर दीप र शबु दुवै यथार्थमा आइपुगे।

माष्टरनी चेलिमायालाई उठाउने कोशीस गर्दै थिइन् र सान्नानी टुलुटुलु कहिले दिपलाई, कहिले शबुलाई र कहिले चेलिमायालाई हेर्दै थिइन।

******

 

बिहान झिसमिसेमै उसको आँखा खुलेको थियो र फेरि निद्रा परेको थिएन। हिजो अबेला सम्म नातेदारहरु संग कुरा गर्दा ढिलो भएको थियो त्यसैले सुत्नासाथ ऊ निदाएछ।

उठेर कुनामा हेरेको थियो, चेलिमाया गहिरो निद्रामा थिइन्। उसले निकै बेर आफ्नी अर्धाङ्गिनीलाई हेरिरहेको थियो। निर्दोश अनुहार निद्रामा अझ निर्दोश देखिन्थे। ऊसलाई अनायाशै पत्नी पर्ती गहिरो माया उमडिएर आएको थियो। हिजो दिनभरि देखि राति सम्म उनले काम गरेको गरेइ थिइन्। दिनभरिको काममा थाकेकि छिन भन्ने पनि उसलाई थाहा थियो, उसलाई थाहा थिएन त बस् घर धन्धाको काममा कति थकाई लाग्छ भन्ने कुरा! दिनभरिमा कुनै पनि समय उसलाई उसकि आमाले चेलिमायालाई प्रयोग गरेका बचनहरु मन परेका थिएनन् तर ऊ केहि बोल्न सकेको थिएन।

पाहुना हरु घरमै थिए र बिहान भैसकेको थियो। बाहिर कुनै पाहुनाले खोकेको आवाज आइसकेको थियो र यो घरको, यो गाउँको मान्यता अनुसार यो घरकि एक मात्र बुहारी उसकि अर्धाङ्गिनी चेलिमाया अब उठ्नु जरुरि थियो।

उसले निस्कने बेलामा फेरि एक पटक चेलिमायालाई हेरेको थियो। चेलिमायाका खुट्टा सिरकबाट बाहिर थिए। उसको नजर फुटेका कुर्कुच्चामा परेका थिए। उसलाई याद थियो उसले चेलिमायालाई भित्र्याएको रात उनका कुर्कुच्चा मुलायम र केहि खस्रो चिजले छोए मात्र पनि रगत बग्ला जस्ता थिए। उसको मनबाट पत्नी प्रतिको असिम माया र भक्कानो एकैपटक छुटेको थियो।

सुतोस बिचरी निद्रा नपुगुन्जेल!

उसले मनमनै मायाले भन्दै बाहिर निस्किएको थियो।

 

ऊ महारानी उठिबउसिओ!

आमाको वाक्य उसको मुटुमा पनि चेलिमायालाई जस्तै गरेर बिझ्यो र उसले पुलुक्क लिस्नो तिर हेर्यो।

उसलाई आफ्नै मुटुको टुक्रा विवश र लाचार लिस्नोबाट लड्खडाउँदै ओर्लिएर झुक्दै बाहिर निस्केको जस्तो लाग्यो। उसको मन अमिलो भयो।

उसलाई पत्नी संगसंगै बाहिर जाउँ र एक पटक अंगालोमा बेरेर अब दुख हुँदैन भनेर सम्झाउने तीव्र चाहना भयो। पाहुनाहरु कुरा गर्दै थिए र उसकि आमाले भर्खरै चेलिमाया ढोकाबाट बाहिर निस्कँदा नराम्रो मुख बनाएकि थिइन्। ऊ बाहिर जान सकेन र एकजना पाहुनाको कुरा बुझेजस्तो गरेर मुखमा नक्कलि हाँसो ल्याउँदै अँगेनामा रातो हुँदै गएको अँगार हेर्न थाल्यो।

धेरै बेर उ चेलिमायालाई सम्झेर मन लागि नलागि पनि पाहुनाहरु संग कुरा गर्नमा व्यस्त भयो। उसलाई असह्य भयो। एउटा गाग्रि मात्र पनि उसले बोकिदिन सके उसकि पत्नीलाई आधि सास्ति कम हुन्थ्यो र मिठा मायाका दुई कुरा मात्र गरिदिन पाए पनि उनको थकाई हराउँथ्यो भन्ने लाग्यो उसलाई।

आमा म एकछिन कैले साउकाँ पुएर आम्छु!

यति भन्दै ऊ जुरुक्क उठ्यो।

उनकि आमा वाल्ल परेर छोरालाई हेर्न थालिन् र सहमतीमा टाउको हल्लाउँदै घुँडामा तेल लगाउन थालिन्।

ऊ बहिरियो।

पत्नीको मायाले छोपिएको ऊ लगभग दौडँदै ओरालो बाटो पँधेरातिर जाँदै थियो। बेला बेलामा हिजोको झरिले भिजेको बाटोमा हल्का चिप्लिएर उसलाई ठेस लाग्दै थियो तर पनि ऊ दौडँदै थियो।

ऊ पँधेरा नजिक पुग्यो। उसले पँधेरामा भिड जस्तो देख्यो। उसको आँखा अगाडि चेलिमायाको अनुहार आयो, मन आत्तियो, ऊ झन दौडियो।

उसले देख्यो माष्टरनी नानिलाई, सान्नानीलाई। नजिकै भुइँमा लडेको दीपलाई र दीपतिर झुक्दै बसेकि शबुलाई, र उसले देख्यो पिडाले मुख बिगार्दै भुइँमा बसेकि आफ्नी अर्धाङ्गिनीलाई!

ऊ दौडिएर त्याँ पुग्यो र चेलिमायालाई अंगाल्दै सोध्यो-

के भयो बाबा?

चेलिमायाले पुलुक्क आफ्नो पतिलाई हेरिन्, पतिको आँखामा माया देखेर उनको भक्कानो छुट्यो, उनले हातले दाहिने खुट्टा देखाउँदै 'यहाँ दुखेको' भन्ने बोध इशाराले गराइन् र पतिको कुममा टाउको झुकाउँदै धुरुधुरु रुन थालिन्।

 

(क्रमश:)

   [ posted by Birkhe_Maila @ 02:30 PM ] | Viewed: 1729 times [ Feedback]


:

   
Blog Type:: Story
Wednesday, December 23, 2009 | [fix unicode]
 

चिया गुलियो थियो तर यसको एक एक घुट्कि नेप्चेलाई तितो लाग्दै थियो। एक त चिया पाक्न नै ढिलो भएको थियो, अर्को बुढा निकै नै ढिलो थिए, सकेसम्म मोटो शरीरलाई चलाउन खोज्दैनथे।

बसन्ती गएको निकै बेर भैसकेको थियो। नेप्चे हतार हतार चिया सकाउन खोज्दै थियो।

"गफ गर्दै होलान्!"

नेप्चेले सोच्यो।

गाले बजिया नि मख्ख परेर हाँस्दै होला, असत्ति!

नेप्चेले चियाको घुट्कि लाउँदै सोच्यो।

बर्खाले बाटो कत्तिओ चिप्लो बना'छ हँ गाममा?

भित्रबाट बुढाको प्रश्न सुनेर नेप्चेलाई दिक्क लाग्यो। उसको मन उथलपुथल भैराखेको थियो उता बुढालाई गाउँको चिप्लो बाटोको चासो!

तो मासुको थुप्रो एक कान्ला चढेसि सिदै नरक पुग्ला जस्तो छ बाटो कत्तिको चिप्लो भो रे!

नेप्चेले मनमनै बुढालाई गालि गर्यो र प्रत्यक्षत: भन्यो‍-

चिप्लो भा छ हउर सारइ नै!

चिप्लो भाछैन?

कान कम सुन्ने बुढाले उल्टो बुझेर फेरि सोधे।

नेप्चेले ठूलो स्वरले अलि कराएको जस्तो गरेर भन्यो र अन्तिममा नक्कली हाँसो हाँस्यो-

चिप्प्प्प्प्लो भा छ सारइ नइ, चौतारिआँ खुट्टा टेको भन्देखुन खुरमुरिएर बेँशि झरिन्छ!

ए चिप्लो भा रेछ!

बुढा यति भनेर केहि सोच्न थाले।

नेप्चेले चियाको अर्को चुस्कि लायो र केहि बेर चिया मुखमा कुलुकुलु गरेर घुटुक्क निल्यो।

उसले बाहिर बाटो तिर हेर्यो।

परबाट बसन्ती अघि अघि र पछि पछि डोको बोकेर गाले आउँदै थिए।

नेप्चेलाई रिस, जलन र अत्यास एकैपटक लाग्यो।

गालेले नेप्चेको फर्सी बेबारिस छोडेर बसन्ती संग आएछ! जोसुकैले पनि डोको, फर्सी सबै चोरिदिन सक्थ्यो। अब गालेको सबै फर्सी बिक्नु र उसको सबै चोरि हुनु कुनै गाह्रो थिएन। उसलाई औडाहा भयो र सिधै गएर गालेलाई छप्काउने मन भयो।

बसन्ती र गाले पसल आइपुगे।

बसन्तीले नेप्चेतिर एक उपेक्षित नजर दिँदै पसल भित्र छिर्दै गालेलाई भनिन्-

यता भित्र ल्यार खन्याऊ डोको!

गालेले नेप्चेतिर अत्यन्तै खुसिसाथ हेर्यो र दाँत देखाउँदै बसन्तीको पछि पछि लाग्यो।

नेप्चेले बसन्तीलाई कौतुहलताका साथ हेर्यो र भित्र नछिरेसम्म हेरिरह्यो अनि गालेलाई खाउँला जस्तो गरेर हेर्यो र चियाको अन्तीम चुस्कि लियो।

कुकुरका त दिन आम्छ भन्थे!

नेप्चेले चियाको गिलाँस भुइँमा राख्दै आफ्नो चित्त बुझायो।

उसले पैसा झिक्दै भित्र हेर्यो।

गालेले फर्सि एउटा कुनामा राखिसकेको थियो र बसन्ती संग नजिकै दुवैजना केहि झुकेर फर्सी तह लगाउँदै थिए र बसन्ती झिनो स्वरमा गालेलाई केहि भन्दै थिइन्। उसलाई सुन्ने इच्छा भयो र कान ठाडो पार्दै ध्यान दिन थाल्यो।

छिटोपुग्ने बित्तिकै…..खुसुक्ककसइले थानपाऊन   म रिसाउँछु नि!

उसको कानमा बसन्तीले बोलेको केहि वाक्य र शब्दहरु सल्बलाए!

हन यो गोफ्लेसित भाग्ने कुरो अरेकि त हइन एल्ले?

मनमा शंका मान्दै नेप्चे फेरि चनाखो भएर भित्रको वार्तालाप सुन्न थाल्यो।

उता बुढा तमाखु तान्दै भित्ता हेरिरहेका रहेछन्।

नेप्चेलाई फेरि अलपत्र परेको उसको फर्सीको भारीको याद आयो। उसलाई छटपटि भयो।

भित्र बसन्ती र गाले उठे। गालेले खालि डोको बोक्यो। बसन्तीले गालेलाई भरपुर नजरले हेरि र मुसुक्क हाँसेर फेरि भनिन्-

होस गर है गालु, था पाउलान फेरि!

'गालु! नेप्चेले मनमनै दोहोर्यायो।

उसको पेट भतभति पोल्न थाल्यो।

गाले डोको बोकेर बाहिर आयो पछि पछि बसन्ती आइन्।

मेरो त सपै फर्सी बिको नेप्चे, फेरि गाम गर गर्नु पर्ने काम भ्याई-नभ्याई छ म चाइँ लागेँ अब पारितिर!

गालेले हँसिलो मुखले नेप्चेतिर हेरेर भन्यो।

नेप्चेले पुलुक्क बसन्तीलाई हेर्यो बसन्ती भावबिहिन आँखाले नेप्चेलाई हेर्दै थिइन्। नेप्चेलाई नमिठो लाग्यो।

गालेलाई मुखभरीको गालि गर्न मन लागिरहेको थियो उसलाई; थोरै उसको फर्सी अलपत्र छोडेर हिँडेकोमा र धेरै बसन्ती संगको उसको शंकास्पद सम्बन्धमा! तर बसन्ती अगाडि थिइन्, उसले त्यस्तो केहि भनेन र गालेतिर हेर्दै रिस दबाउँदै भन्यो-

हुन्छ त नि, फर्सी बिकिआलो क्यार्छौ त नि ह्याँ बसेर?

गाले फुरुङ्ग परेर बसन्तीतिर हेर्दै जाने इशाराले हात घुमाएर पारी गाउँ देखायो र बसन्तीले पनि टाउको हल्लाएर बिदा गरिन् र भित्र छिरिन्। गाले खाली डोको बोकेर बाटो लाग्यो। नेप्चे, घरि भित्र हेर्दै थियो घरि गाले क्रमश: पर जाँदै गरेको हेर्दै थियो। भित्र बुढा अझै भित्ता तिर एकोहोरो हेर्दै तमाखु तान्नमा व्यस्त थिए र बसन्ती भर्खरै नेप्चेलाई एक नजर पनि नहेरि माथि कोठामा उक्लिसकेकि थिइन् र माथिबाट उनले गाएको कुनै गीतको सुरिलो धुन नेप्चेको कानबाट सररर बहेर भित्र छातिमा पुगेर छाति पोलाउँदै  थिए। अचानक उसलाई आफ्नो फर्सीको भारिको याद आयो। पैसा झिकेर बुढालाई ठूलो स्वरले बोलाएर फुत्त पैसा फालिदियो र फटाफट भारि मनले फर्सी भएतिर लाग्यो। 

 

पटुकामा पोको पारेको पैसा सुरक्षित थियो, पेट टन्न थियो र आँखामा बसन्तीको ओठ चलेको मिठो दृष्य सिनेमा जसरि आउने जाने गरिरहेका थिए। गाले आफैँमा मस्त खोलाको बगर हिँड्दै थियो र उसले बोकेको खालि डोको पनि गालेको खुसियालीमा साथ दिन होला ढलपल ढलपल गर्दै हल्लिँदै थियो।

बगरमा हिँड्दै जाँदा गालेले अलि पर ठूलो ढुङ्गाको छेउमा कोहि बसेको देख्यो। त्यसको पोशाक रंगिचंगि थियो। गालेलाई अलिकता डर लाग्यो। त्यस्ता मान्छे उसले एक दुई पटक बजारमा देखेको थियो र उनिहरुले उसलाई हेर्ने नजर जहिले पनि डरलाग्दो हुन्थ्यो। उसले सुनेको थियो कताकताबाट औतारी मान्छेहरु आउँछन् र गाउँलेलाई काटेर पैसा लुटेर लान्छन्। उसको मुटु उफ्रियो। गालेका पाइलाका गति कम हुँदै गए। नजिकै एउटा झाडि रहेछ। गाले बिस्तारै झाडिभएतिर गयो र छेकिएर बस्यो। उसले देख्यो, त्यस्तै रंगिचंगि लुगा लाएको अर्को मानिस उताको ढुङ्गामा बसेर झुकेर केहि गर्दै थियो। गालेले यता उता हेर्यो; कतै कुनै गाउँलेलाई देखेन। उसलाई झन धेरै डर लाग्यो। उ त्यहिँ छेकिएर उभिएर हेर्न थाल्यो। ढुङ्गा पछाडि बसेको मान्छे उठेर अर्को ढुङ्गामा बसेको मान्छेतिर गयो। उनिहरुले केहि बोले जस्तो लाग्यो। गालेले देख्यो एउटाले चुरोट झिक्यो र दुवैजनाले पालै पालो तान्न थाले। गाले पर्खिएर बस्यो। उनिहरु ढुङ्गामै सुते। जाने बाटो नजिकैबाट थियो त्यसैले गाले पर्खिरह्यो। निकै बेर उनिहरु उठेनन्। गालेले बसन्ति सम्झियो र ढिलो गर्न नहुने कुरा बिचआर गर्यो, तर डरले उसलाई छोडेको थिएन। गालेले उनिहरु निदाएको अनुमान गर्यो र बिस्तारै बाटोतिर लाग्यो।

ऊ हिँड्ने बित्तिकै ती मानिसहरु उठे र ठूला रंगिन झोला जिऊको पछाडि बोके। गाले फेरि टक्क अडियो।

उनिहरु हिँड्न थाले।

गाम जान लाया होलान् यि अउतारीहरु!

गालेले मनमनै सोच्यो र झन डरायो। उसलाई आफ्नो पटुकामा पोको पारेको पैसाको याद आयो।

ती मानिस हरु खोलाको तल पट्टि जाँदै थिए।

डुबेर मर्ने भए!

जङ्घार माथिपट्टि भएको ज्ञानले गालेले मनमनै भन्यो।

ऊ ती मानिसहरु संग केहि दूरी राखेर जङ्घार तर्फ हिँड्दै थियो। पर पारीपट्टि गालेले दुई जना गाउँले खोलातिर आउँदै गरेको देख्यो। गालेको सास आयो। ऊ जति सक्दो चाँडो जङ्घार तर्फ पुग्न चाहन्थ्यो, र ती गाउँले चिन्न चाहन्थ्यो।

ऊ बेला बेलामा ती दुई अवतारीहरुलाई हेर्दै बेला बेलामा पारिपट्टिबाट क्रमश: नजिक हुँदै गरेका गाउँले हेर्दै खोलातर्फ आफ्नो पाइला बढाउँदै थियो। उसले देख्यो ती अवतारी मानिसहरु खोला नजिक पुगेर अडिएको। ती मानिसहरु पारिपट्टिबाट अब खोला तर्ने तरखर गर्दै गरेका गाउँलेहरुलाई हेरिराखेका थिए। गाले क्रमश: खोलाको नजिक हुँदै थियो। माथि पट्टि पारिबाट दुईजना गाउँले खोला तर्न लुगा फुकाल्दै थिए। तल पट्टिबाट अब ती दुई अवतारीहरु खोलाको किनारै किनार माथिपट्टि आउँदै थिए। गालेको सबैसंगको दूरी कम हुँदै थियो। गालेले पारि हेर्यो र गाउँलेहरुलाई चिन्यो। बिस्टे बुढा र भउते एक अर्काको हात समातेर खोला तर्न लागेका थिए। अवतारीहरु पारी हेर्दै गालेको निकै नजिक आइपुगिसकेका थिए, तर उनिहरुको पछाडिपट्टि भएकोले गालेलाई देखेका थिएनन्। उसले खोला तर्न लागेका बिस्टे बुढा र भउतेको हात फुस्किएको देख्यो र ऊसले उनिहरुले एक अर्काको हात समात्न गरेको संघर्ष पनि देख्यो। अब गालेलाई औतारिहरु संग भन्दा खोला संग डर लाग्न थाल्यो। उसले हेर्दा हेर्दै बिस्टे बुढालाई भउतेले सम्हाल्न सकेन। उसले बुढालाई खोलाको भलले हुत्त्त्याएर लगेको देख्यो। उसको आँखामा बिस्टे बुढाको दयनिय अनुहार आयो। उसले बोकिराखेको खालि डोकोलाई फाल्यो र सकेसम्म बल लगाएर खोलातिर दौडियो।

(क्रमश:)

   [ posted by Birkhe_Maila @ 02:27 PM ] | Viewed: 1653 times [ Feedback]


:

   
Blog Type:: Story
Wednesday, December 23, 2009 | [fix unicode]
 

भालेको मुख बाँधेपछि कुम्ले ढुक्क थियो। ऊ हतार हतार हिँड्दै थियो र साथसाथै पल्याकपुलुक यताउता हेर्दै पनि थियो। उसलाई सकेसम्म छिटो घर पुग्नु थियो। उसलाई भोक लागेको आभाष हुन थाल्यो र उसले च्यापेको भालेको स्पर्शले उसको भोक झन बढाइराखेको थियो। बाटो तेर्सो भएता पनि तुलनात्मक रुपले अलिकता ओरालो जस्तो बाटो हिँड्दै थियो कुम्ले, र छिटो छिटो हिँड्दा उसलाई गुरत्वबलले झन् लगभग दौडाउँदै थियो। भाले लिएर हिँडेदेखि ऊ शान्त हुन सकेको थिएन। उसले महशुस गर्दै थियो, भाले देखेर लैजानेकुरा सोच्न जति सजिलो थियो लिएर सबैको आँखा जोगाउँदै हिँड्न त्यति नै गाह्रो।

"आँखा फुटेर भाले च्यापेर हिँडेछु!"

उसले पुन्टे बुढाको घरदेखि यहाँ सम्म आइपुग्दाको आफ्नो छटपटी सम्झेर मनमनै बोल्यो।

घर पुग्न अझै निकै थियो किनकि कैले साहुको पसलको बाटो जानु उचित थिएन र घुमेर जाँदा पहिला अलिकता ओरालो ओर्लेर फेरि उकालो जानु पर्दथ्यो।

ऊ हिँड्दै थियो र खैनीको तलतलले उसको मुख सुकेको थियो।

ऊ एकै चालले हिँड्दै च्यापेको भालेको मुख हेर्न थाल्यो, कतै बाँधेको फुस्कन त फुस्किएन भनेर। ऊ भालेको मुख हेर्दे थियो र फटाफट हिँड्दै पनि थियो।

अचानक केहि चिज संघ ऊ ठोक्कियो। उसले ठोक्किनासाथ ठोक्किएको चिजलाई हेर्न छाडेर कुखुरा जोडले शरीरमा च्याप्यो; शायद उसको अन्तर्मन र शरीर दुवैले कुखुरा जोगाऊन चाहेका थिए। डङरङ्ग आवाज आयो, कुखुरा च्यापि च्यापि उसले भुइँतिर हेर्यो, कोहि उत्तानो परेर भुइँमा ढलेको थियो। एउटा डोको गुड्दै गुड्दै तल कान्लातिर झर्दै थियो। उसले लडेको मान्छेलाई झुकेर हेर्यो। रिट्ठे रहेछ। रिट्ठेका सुख्खा ओठ केहि बर्बराउन खोज्दै थिए। उसले झुकेर रिट्ठेलाई हेर्यो। रिट्ठेका आँखा फुस्रा हुँदैथिए र माथितिर पल्टिँदै थिए।

कुम्ले आत्तियो। पहिला त उसलाई लाग्यो उसले कुखुरा चोरेको रिट्ठेलाई थाहा भयो र अब गाउँमा नराम्रो हुन सक्छ। तर तत्कालै ऊ अझ बढि आत्तियो। उसलाई लाग्यो रिट्ठे मर्दै छ! घाम सिधा रिट्ठेको अनुहारमा परेको थियो र रिट्ठेको सुख्खा अनुहारमा घाम परेर अझ फुस्रो देखिएको थियो। कुम्ले धेरै नै डरायो। अहिले बाटोमा कोहि हिँड्दै आएर उसलाइ देख्यो भने के सोच्ला? कुम्ले ले के गर्ने नगर्ने सोच्न सकेन। रिट्ठे अचेत थियो। कुम्लेले रिट्ठेको नाकमा औँलाको पछाडिको भाग लगेर टाँस्यो। रिट्ठेले सास फेर्दैछ भन्ने लागेर केहि राहत महशुस गर्यो। दायाँ बायाँ हेर्यो। केहि सोच्यो। कुखुरा च्यापि च्यापि तल कान्लामुनि गएर डोको लिएर आयो। कुखुरालाई सुरुवालले पूर्ण रुपमा बेर्यो र डोकोमा हाल्यो। रिट्ठेको शरीरले घुम थिचेको थियो। उसले रिट्ठेको शरीर हल्का पल्टाएर घुम झिक्यो र निकै दुख गरेर घुम भाँच्यो र डोकोभित्र कुखुरा छोपिने गरेर अड्कायो। नाम्लो अझै रिट्ठेको घाँटिमा बेरिएको थियो। नाम्लो फुस्कायो र डोकोमा लगाएर बोक्यो। रिट्ठेलाई उठायो र बोक्यो।

पछाडि डोको बोकेर अगाडि रिट्ठेलाई बोक्दै कुम्ले कतै फटाफट हिँड्दै थियो।

त्याँ नपुए सम्म रिट्ठे नमरोस परमेस्सोरी!

कुम्लेले रिट्ठेको मायाले भन्यो वा उसको आफ्नै डर बोल्यो उसैलाई थाहा होला!

 

*****

 

आज बिहानै मदनवाको निद्रा खुल्यो। बिगत केहि दिन देखि झरी परेको परेइ भएर उसलाई साह्रै नरमाइलो लागिरहेको थियो। अहेव भएर पहाडमा आए देखि नै उसलाई नरमाइलो लाग्न थालेको थियो। गाउँलेले दिएका इज्जत र मायामा त उसको केहि गुनासो थिएन तर उसलाई जता हेर्यो बिशाल संसार छोप्ने पर्खाल जस्ता डाँडा, कहिले जिऊ नै तल झर्ला जस्तो ओरालो र कहिले पार पाइनसक्नुको उकालोले दिक्क बनाउँदथे। बर्खा त झन उसको लागि शायद अभिषाप नै थिए। पर डाँडामा जतिबेला पनि हुस्सु लागेको उराठ लाग्दो दृष्य हुन्थ्यो र हेल्थपोस्टको आँगनमा बर्खाभरि हिलो जम्ने गर्दथ्यो। घरबाट चिट्ठि पनि खोला बढिदिनाले समयमा आउँदैनथ्यो र ऊ आफ्नो गाउँ आफन्त बाट धेरै नै टाढा भएको महशुस गर्थ्यो। बर्खामा बिरामिको चाप लाग्दथ्यो र सम्पुर्ण हेलथपोस्टमा ऊ मात्र एक्लो थियो जसले गर्दा उसलाई भ्याइनभ्याई पर्दथ्यो। औषधी पनि बर्खामा भनेजति समयमा आइपुग्दैनथ्यो र औषधीको अभावमा कुनै बिरामीलाई बढि च्यापेमा न त उसले केहि गर्न सक्थ्यो न त एउटा पुल समेत नभएको बर्खाको गडगडाउँदो खोला तरेर शहर जाने सल्लाह दिन सक्थ्यो। तर पनि समग्रमा ऊ संतुष्ट नै थियो आफ्नो जागिर देखि। उसलाई जतिबेला पनि यो गाउँमा केहि समयको लागि आएको र पछि ऊ आफ्नै देहात फर्कने छ भन्ने लाग्दथ्यो तर उसलाई थाहा थियो उसका अब आउने कयौँ वर्षहरु यहि उकाली ओरालीमा बित्नेछन्। यसरी प्रत्येक बर्खा उ धेरै सोच्ने गर्दथ्यो र आफूलाई व्यस्त राख्दथ्यो, अनि आउने छठमा घर जाने कल्पनामा आफूलाई खुसि बनाउन थाल्दथ्यो।

आज एकजना पनि बिरामी आएका थिएनन् त्यसैले बिहान उठेदेखि उसले धेरै कामहरु भ्याइसकेको थियो। बिरामी राख्ने कोठा सफा गर्यो। आफ्नो कोठा सफा गर्यो र बारीमा गएर करेला टिपेर ल्यायेर काटककुट पारेर मजाले भुटेको थियो र अब दाल पकाउने तरखरमा थियो।

डाउडरsss साप! डाउडररररsss साप!

बाहिर कसैले बोलाएको आवाजले मदनवाले हातमा लिएको दालको डिब्बा भुइँमा राख्यो र बाहिर निस्कियो।

कुम्ले पछाडि डोको र अगाडि रिट्ठेलाई बोकेर कराइरहेको रहेछ।

कथि भयो रिठे दाजुको, भितर लियाउनोस?

रिट्ठेलाई चिनेर मदनवाले कुम्लेलाई प्रश्न गर्यो र बिरामि जाच्ने कोठातिर छिर्यो।

कुम्ले रिट्ठेलाई बोकेर भित्र छिर्दै बोल्यो-

बाट्बाटै आइराथेँ, बजियासंग ठोक्केछु नराम्रोसित, त्याँसि त ढलेर फुस्रा आँखा पल्टाइहालो! मरिसको कि न?

कुम्लेले रिट्ठेलाई खाटमा राख्यो र डोको बिसायो। निधारमा पसिना आएको रहेछ पसिना पुछ्यो र टुलुटुलु मदनवालाई हेर्न थाल्यो।

मदनवाले रिट्ठेको नाडि छाम्दै भन्यो-

कहाँ मरिहाल्नुहुन्छ रिठे दाजु, बस बेहोश भएछ तपाइँ कोनो चिन्ता नकरिलिनुस!

कुम्लेको सास आयो।

मदनवाले रिट्ठेको आँखाको ढकनि पल्टाएर हेर्यो र भन्यो-

डिहइडरेसन भएछ म सैलान चढावँछ!

कुम्लेले सबै बुझे जसरि टाउको हल्लायो, मदनवातिर हेर्दै फेरि सोध्यो-

छातिमा मेरो कुइनु नराम्रो सित ठोक्क्या तो, मुटु फुटो कि एसको?

कहाँ कोहिना लगेर मुटु फुँट्छ? फुँटेछेन। बस एक बोतल सैलान से होश लियावँछ!

कुम्लेले संतुष्टीको लामो सास फेर्यो।

मदनवा सेलैनपानीको बोतल ठिक पार्न थाल्यो।

 

(क्रमश:)

   [ posted by Birkhe_Maila @ 02:24 PM ] | Viewed: 1690 times [ Feedback]


:

   
Blog Type:: Story
Wednesday, December 23, 2009 | [fix unicode]
 

रिट्ठेलाई सम्पूर्ण ब्रम्हान्ड घुमेको जस्तो लाग्दै थियो। टाउकोभित्र कतै तिखो दुखाई थियो र तिघ्राका मासुहरु गलेका थिए! बिउँझिए पनि उसलाई आँखा खोल्न मन लागिरहेको थिएन। छातिमा पनि कतै भित्र पिडा महसुर गर्दै थियो। बिस्तारै आँखा खोल्यो, झलमल्ल बिहानको उज्यालोमा मक्किएको दलिन उसको आँखा अगाडि आयो। टाउकोको दुखाई झन तीव्र भयो। उसले गिदी हल्लिएको अनुमान गर्यो। " धोक्न नि बेसरि धोकेछु डरको सुरमा!" मनमनै बोल्दै जिऊ तन्कायो! "हर्के र दीप नि पसारिराका होलान्! कति बजो कुन्नि?" यति भन्दै बिस्तारै दुखाइले मुख बिगार्दै पल्याक पुलुक दायाँ बायाँ हेर्यो। कोठामा ऊ मात्रै थियो र बाहिर कतै कुकुर भुकेको र केटाकेटिहरु कराएको कल्याङमल्याङ आवाज आइरहेको थियो। एक पटक जिऊ मजाले तन्कायो र हिजो रातीको बारेमा सोच्न थाल्यो। अचानक उसले हिजोको कमाई सोच्यो र जुरुक्क उठेर पटुकातिर हात र नजर एकै पटक बढायो। पटुकाको गाँठो खुलेको थियो र उसका सबै पैसा गायब थिए। नराम्रो संग आत्तियो। कम्मरमा मुजा परेर बेरिएको र अझै सुनिनसकेको सुरुवाल भित्र सम्म हात कोचेर पैसाको पोको खोज्यो। यता उता हेर्यो र आत्तिएको स्वरमा आवाज लगायो- “हर्केss! ए हर्केsss!” “ उठेछ जँड्या!” तलबाट हर्के बोलेको सुनियो। “ ओइ हर्के माथि आइज, लौन बित्याँस परो!” एक त हिजो राति देखि नै दशा लागेको त्यसमाथि हिजोको रक्सीले सम्पूर्ण जिऊलाई असर गरेको र अहिले अचानक दुख गरेर फलाएको मकै दिनभरि बेचेको कमाई हराउँदा रिट्ठे दुख: र अत्यासले ढल्न मात्र सकेको थिएन। उसको शायद आत्मा नै काँप्दै थियो। “ हन के भो? आकाशै खसो कि के हो?” हर्केले लिस्नोको माथिल्लो खुड्किलोबाट कोठामा पाइला राख्दै सोध्यो। “लौन मेरो सपै पैसा कसैले चोरेछ! यि याइँ पटुकामा पोको पारेर राख्या थेँ!” हर्के आएको देखेर झन आत्तिँदै लगभग रोएको स्वरमा रिट्ठेले पटुका छाम्दै भन्यो, कोठैमा कतै खस्यो कि भनेर यता उता हेर्न थाल्यो। “ कता खसालिस त? होस एक पैसाको छैन तँ बजियाको एत्रो लाठे भैसक्दा पनि!” हर्केले सहानुभूती दिने हिसाबले रिट्ठेको पटुका मा पोको खोजे जस्तो गर्दै भन्यो। “ लौन नि म के गरुँ अब!” रिट्ठे रोइहाल्यो आखिर। “ कता खसालिस् त? न त्यो हिजोराति तेरा खप्परमा हामफाल्ने ज्यानमाराले लओ?” हर्केले रुँदै गरेको रिट्ठेको अनुहार हेर्दै निर्दोश पारामा सोध्यो। रिट्ठेले रुन्चे अनुहार लाउँदै केहि सोचे जस्तो गर्यो र भन्यो- “ हइन हइन तो ज्यानमारा भागेसि छाम्या थेँ याइँ थो पैसा!!” “ कि तो किचकन्नि देखेर दौडिँदा खसालिस ए बजिया?” हर्केले अर्को सम्भावना ओकल्यो। रिट्ठेले फेरि केहि सोचे जस्तो गर्यो र भन्यो- “ तेसपछि नि खस्या छइन, मइँले नछामे नि खस्या छइन, तेस्तो बलियो पोको बना थेँ! लौ न नि कता गयो मेरो पइसो?” त्यति भनेर रिट्ठे फेरि छटपटिँदै रुन थाल्यो। किचकन्नि देखेपछि पनि पैसा नखसेको कुरा रिट्ठेले दृढतापूर्वक भनेको सुनेर हर्केको मनमा एकछिनलाई चिसो पस्यो। अचानक, रिट्ठेका आँखा ठुला भए! “ तल! डोको, घुम राख्या ठामतिर परो कि?! हत्त न पत्त लिस्नो तिर बढ्दै रिट्ठेले भन्यो र ओर्लियो। हर्के नि पछिपछि लाग्यो। तल पैसा कसरि होस्। निकै बेर रिट्ठेले यताउता हेर्यो। गुन्द्रि पल्टायो होला करिव ३-४ पटक, भित्ताका सपै खोपाहरु समेत हेर्न भ्यायो। बाहिर आँगनमा धेरै पटक घुम्यो तर पैसा कसरि भेटियोस। हर्के ढोकाको संघारमा उभिएर रिट्ठे छट्पटिएको हेर्दै थियो। “ मेरा हिसापले तइँले पइसा बाटैमा कतै खसालिस् हेर् रिट्ठे! अब याँ आ'र खस्या भ' यतै हुन्तो, हाम्ले देख्या भ’ नि राख्दिन्थेम्, तइँले पइसा बाटैमा खसालिस ल, म लेखेर दिन्छु!” रिट्ठे थुचुक्क आँगनमा धुलोमै बस्यो र शोकमग्न भयो। त्यो पैसाले गर्नु पर्ने कामहरु धेरै थिए! कैले साहुको सामानको दुइ सय रुपियाँ आजै नतिरे त्यो बाटो नहिँडे नि हुन्थ्यो। उसले कैले साहुको छुच्चो बोलि सम्झियो। अस्ति मात्र त्यहि पसलको बाटो हुँदै पँधेरामा नुहाउन जाँदा सबै गाउँलेलाई सुनाएर पैसा मागेको थियो र त्यो भन्दा पनि दुखको कुरा त्यतिबेला बसन्ती पनि पसलमै थिइन; नेप्चि ठुलिआमाकहाँ बस्न गाउँ आएकि थिइन् र आमाछोरी पसलमै केहि किन्दै थिए। रिट्ठेले बसन्तीको अगाडि आफ्नो भएको इज्जत सपै नाङ्गो भएको महशुस गर्दै मनमा इख राखेर मकै बेचेर फर्कनासाथ तिर्ने बाचा गर्दै नतिरे एउटा बाबुको छोरो नभएको कसम खाएको थियो। त्यसपछिको कैले साहुको बोलि र उसको खिस्याउने हाँसो उसलाई सम्झन पनि मन थिएन र ऊ सकेसम्म छिटो कैलेसाहुको अगाडि सबै पैसा पछार्न चाहन्थ्यो। गाउँले सबैको ब्याड हरियो भैसकेको थियो भने कतिले रोपाइँ समेत गरिसकेका थिए। रिट्ठेको ब्याड राख्ने बिऊ किन्नै थियो र त्यसको लागि पैसा चाहिन्थ्यो। हरिया मकै सबै बेच्नलाई अझै एक हप्ता वा पन्ध्र दिन लाग्ने पक्का थियो र उ ब्याड राख्न एकदिन पनि ढिलो गर्न चाहँदैनथ्यो। रिट्ठेको अगि नै घुमेको टाउको झन घुम्न थाल्यो। उसलाई पैसा कता हरायो भन्दा पनि त्यो पैसा हराऊनाले अब उसले पाउने दुखको आभाषले छोप्दै थियो। रिट्ठे सोच्दै थियो र हर्के टुलुटुलु उभिएर रिट्ठेलाई हेर्दै थियो। हर्केलाई एक मन त सबै कुरा भनेर पैसा फिर्ता गर्दिउँ बिचराको भन्ने लागेको थियो, तर अर्कोतिर हात आइसकेको तेत्रो पैसा त्यसै किन मिल्काउनु भन्ने पर्यो साथ साथै यसो भनेमा उसले दीप जस्तो रिसाहाको झटारो भेट्ने पक्का थियो र रिट्ठेले पनि सबै थाहा पायो भने नराम्रो हुने थियो। “अब क्यार्छस त रिट्ठे दशा ला’ रेछ तँलाई, अब पिर गरेर के काम!” हर्केले सम्झाउने पाराले भन्यो र खैनिको पाउच खोल्न थाल्यो। रिट्ठे झोक्राएको झोक्रायै लामो सुस्केरा हाल्यो र मरेको चालले बिस्तारै उठ्दै भन्यो- “मइ गरिपलाई लाग्ने रेछ पर्भु दसा पनि! खै मेरो घुम र रित्तो डोको ले, नन्वाइ भएन न्वाउन जान्छु!” हर्के आज्ञापालक सेवक जस्तो छिटो छिटो खैनिको थुप्रो मुखमा हुलेर डोको र घुम लिन गयो। “लौ त म गइँ अब न्वउन!” हर्केको हातबाट डोको लिएर डोको बोक्दै घुम हातमा लिएर जाने तरखरमा देखियो रिट्ठे। “लौ लौ दीपे नि ब्यान पँधेरा तिरै जान्छु भनेर गा’ थो तेल्लाई नि भेट्लास उसले देख्या भ’ भन्ला नि!” रिट्ठे केहि नबोलि बाटो लाग्यो। केहिबेर हिँडेपछि केहि सोच्यो। त्यो बाटो कैले साउको पसल हुँदै पँधेरा सम्म पुग्दथ्यो। उसलाई त्यो बाटो हिँड्न मन लागेन। उसले ओरालो झरेर चौतारी मुनिको बाटो हुँदै पँधेरा पुग्ने बिचार बनायो र ओरालो झर्न थाल्यो। रिट्ठेलाई अमिलो पानी घाँटि सम्म आएको आभाष भयो, र उसको पेट भतभति पोल्न थाल्यो। अघिल्लो रातको रक्सी र भोको पेट! सातो गएको र कमाई खोसिएको!! रिट्ठे बिरामि जस्तो देखिन थाल्यो। उसका पाइला हिँड्दै जाँदा थरथर काँप्दै थिए। टाउको भुरुङ जसरि घुमेको आभाष हुँदैथियो उसलाई। रिट्ठे चौतारीबाट तेर्सो आउने बाटोमा मिसीन लाग्यो। त्यहाँबाट एकातिर गए चौतारी पुगिन्थ्यो र अर्को तिर गए पँधेरा। खुट्टा कामेको कामेइ थियो। रिट्ठेलाई थचक्क त्यहिँ भुइँमा लडौँ जस्तो लाग्न थाल्यो। लडखडाउँदै जसोतसो हिँड्दै थियो; ढ्वाङ्ग आवाजका साथ कोहि उसको शरीरमा जोडले ठोक्कियो! छातिमा कसैको कुहिनुको नराम्रो प्रहार महशुस गर्यो रिट्ठेले। एकछिनलाई आँखा अगाडि उज्यालो चम्केको जस्तो लाग्यो, डङरङ्ग भुईँमा लड्यो! तीव्र पिडा र कमजोरीले गर्दा उसलाई आँखा खोल्न गाह्रो भएको जस्तो लाग्यो। उसले बल गरेर आँखा खोल्ने कोशिस गर्यो। उसको आँखा सिधा घाममा पर्यो। ऊ उत्तानो परेर लडेको रहेछ! छातीमा झिरले घोचेको जस्तो नराम्रो पीडा महशुस गर्यो।उसलाई फेरि आँखा चिम्लिन मन लाग्यो। उसले अनुमान गर्यो शायद, उसलाई निद्रा लाग्दै छ, हैन ऊ शायद बेहोश हुँदैछ। उसका आँखा बिस्तारै बन्द हुन थाले। आँखा पुरै बन्द हुनु भन्दा अगाडि उसले आफू माथि कोहि उसलाई झुकेर हेरिरहेको चाल पायो। तिरमिर हुँदै आँखाका ढकनि लाग्दा उसले कुम्ले हातमा रातो भाले बोकेर झुकेर उसलाई हेरिरहेको देख्यो। रिट्ठे बेहोश भयो!! (क्रमश:)

   [ posted by Birkhe_Maila @ 02:19 PM ] | Viewed: 1640 times [ Feedback]


:

   
Blog Type:: Story
Wednesday, December 23, 2009 | [fix unicode]
 

बिस्टे बुढाको मनमा चलेको आँधिले थामिने नाम लिएको थिएन। हिजोको झरिले चिप्लो बनाएको ओरालो बाटो हिँड्दा कयौँ पटक बुढाका खुट्टाले जमिन छोड्न खोजेका थिए तर भौतेको बलिष्ट पाखुराले बुढालाई लगभग झुण्ड्याउँदै भए पनि दोभानेको बगर सम्म ल्याइपुर्याएका थिए। बगरमा हिँड्दा हिड्दै बुढालाई निद्रामा कतै उडेको जस्तो लाग्न थालिसकेको थियो। उमेर, पिर, थकान र पिडाले होला बुढालाई रिंगटा लागेको, तर नातिनी मरेको बाँचेको केहि पत्ता लागेरै छाड्छ भन्ने बुढाको इच्छाशक्तीले होला बुढा अझै पनि हिँड्दै थिए।

"ल खोलो आइपुगो हउर, दरो छ जस्तो छ बग्या हेर्दा त, तर्न त परो केरे नि पारी जान!"

भउतेले लुगा फुलाक्न अडिँदै बिस्टे बुढातिर हेरेर भन्यो।

बुढा चुपचाप लुगा फुकाल्न  थाले। सुरुवाल फुकाल्न निहुँरिँदा बुढालाई एक छिन आँखा अगाडि अँध्यारो भएको जस्तो लागेको थियो तर तत्कालै बुढा सिधा भएका थिए र कान र कन्चटमा तातो लहर बुढाले अनुभव गरेका थिए।

भउतेले बुढाको पाखि पट्ट्याएर काँधमा झुन्ड्याउँदै भन्यो-

ल हउर मास्तिर बस्नोस मेरा हात बल्लयो संअ समात्नुस नि फेरि!

भउतेले देब्रेहात बुढातिर बढायो र बुढाले दाहिनेहात भउतेतिर। कैँचि पारेर भउतेले बुढाको हात आफ्नो हातमा अड्काएर समात्यो र खोलामा दुवैले पाइला राखे।

भउतेले एक पटक पारि हेर्यो। तल दुईजना मान्छे खोलाको किनारमा देख्यो।

जङ्घार तल बनेछ जस्तो छ त?

भउतेले बर्खाले खोलाको जङ्घार तल बनेको हो कि भन्ने शंका प्रकट गर्यो, पारिपट्टि मान्छेहरु देखेर।

हइन एइ हो जङ्घार, जुन बर्ख नि एतै हुन्छ!

बुढाले आफ्नो उमेरपरयन्त देखेको अनुभव बताए।

भउते चुप लाग्यो।

दुवैजना बिस्तारै खोलामा अगाडि बढे।

ढूङ्गा चिल्पा रेछन बिचार अरेर टेक्नोस!

बुढाले सकारात्मक रुपमा हल्का टाउको हल्लाए।

बुढाका अभ्यस्त खुट्टाहरु एक एक गर्दै एकछिन उचालिन्थे पानी संग हल्का संघर्ष गर्थे र तल छुन्थे, केहि पल तल भुइँ छाम्थे र बलियो संग दवावका साथ टेक्दथे। फेरि अर्को खुट्टाले यहि क्रम दोहोर्याउँथ्यो र खोलाको बहावले अलिकता उँधो लैजान्थ्यो। भल बलियो भएको महशुस बुढाले गर्दै थिए र ढुङ्गाहरु पनि चिप्ला थिए।

पानी घुँडा भन्दा माथि आउँदै थिए र दुवैजना खोलाको बिचतिर पुग्दै थिए। उनिहरुले पसेको किनार निकै माथि छाडिसकेका थिए र जङ्घार छिचोल्न अझै आधि भन्दा बढि बाँकि थियो।

बुढाले दाहिने खुट्टा उचाले र बिस्तारै तल सतहमा टेके। केहि चिप्लो ढुंङ्गा बुढाको पैतालाले महशुस गर्यो बुढाले बलियो संग टेके। ढुङ्गा केहि ठूलो रहेछ र बुढाको खुट्टाले छेउमा टेकेको रहेछ। बुढाका खुट्टा चिप्लियो ढुङ्गाबाट तलपट्टि। खुट्टा चिप्लँदा बुढा केहि आत्तिए र सम्हालिन खोजे।यसबाट अनभिज्ञ भउतेले अर्को पाइला बढाइदियो। बुढाको हात भउतेले किन्चित तान्न पुग्यो। बुढा झन आत्तिए। अचानक अघि बगरमा जस्तो बुढालाई कतै निद्रामा उडेको जस्तो भान भयो। बुढाले जिऊ शीथिल छाडिदिए। खोलाको बहाव झन दह्रो भयो। भउतेलाई समातिराखेको हत्केलाका औँलाहरु शिथील हुन पुगे। बुढाको शरिरमा खोलाको बहाव झन तेज हुन पुग्यो। बुढाको हात भउतेको हातबाट फुस्कियो। खोलाको आवाज र शीथील शरिरमा बुढालाई झन निद्रा लागेको जस्तो भयो, उडेको जस्तो भयो। खोलाले बुढाको शरीरलाई केहि अगाडि ल्याइपुर्यायो र भउतेको ठिक अगाडि पुर्यायो। बुढाले पाखुरामा भउतेको हातका औँलाहरु महशुस गरे र लगत्तै बुढालाई टाउकोमा चिसो अनुभव भयो। अघि सम्म निद्रा जस्तो लागिरहेको थियो, टाउकोमा पानीको शितलताले बुढाले थाहा पाए उनि डुब्दै छन्। उनले सकेसम्मको बल लगाएर हात खुट्टा चलाए। एकछिन उनले उज्यालो देखे। पानीमा उनको शरीर माथि आयो उनि हात खुट्टा चलाउँदै थिए, पानीको तेज धारमा उनको शक्तीले काम गरेन। उनको टाउकोमा फेरि चिसो लाग्यो, उनि फेरि पानी भित्र थिए। ऊनलाई रुघा लागेको जस्तो लाग्यो, नाक भित्र दुई आँखाको बिचमा निकै तेज रुघा लागेको जस्तो अनुभव भयो उनलाई। उनले थाहा पाए उनले पानी खाएछन्। हात खुट्टा चलाउन खोजे, बाउँडिएको जस्तो अनुभव भयो। उनलाई लाग्दै थियो एकैछिनमा सबैकुरा सकिन्छ! कसैको हातको बलियो पकड उनले आफ्नो नाडिमा अनुभव गरे उनले भएभरको शक्ती लाएर हात तिर हात बढाए। कसैले उनको हात जोडले निर्ममतापूर्वक पानीतिर फालिदियो। उनले आशाको एक झिनो ज्योती पनि निभ्न लागेको महशुस गरे। तुरन्तै उनले आफ्नो गर्धनमा हातको बलियो पकड अनुभव गरे, गर्धन बाट सारेर उनको कपाल कसैले जोडले समातिराखेको थियो, उनलाई फेरि निद्रा लागेको जस्तो भयो। उनि कतै उडिरहेका थिए र शायद निद्रामा थिए! उनलाई अब केहि याद भएन!

 

(क्रमश:)

   [ posted by Birkhe_Maila @ 02:16 PM ] | Viewed: 1838 times [ Feedback]


:

   
Blog Type:: Story
Wednesday, December 23, 2009 | [fix unicode]
 

होटलवाला निशान्त र झिल्केलाई होटलबाट निस्केको वाल्ल परेर हेर्दै थियो। उनिहरु निस्कनासाथ होटलवालाले निकै राहत महशुस गरेको थियो र एउटा ठूलो बोझ हटेको जस्तो हल्का अनुभव गर्दै थियो।

विगत ३ दिन देखि उसले टाढा काठमान्डुदेखि आएका यि दुई अचम्मका ठिटाहरुको कुरा सुन्ने, भनेको कुरा पुर्याइदिने र धम्कि सुन्ने बाहेक अरु कुरा सोच्ने फुर्सद सम्म पाएको थिएन। काठमान्डु बाट दुई दिन पुरा यात्रा गरेपछि पुगिने यस बजारमा पनि निशान्त र झिल्के काठमान्डौको आफ्नै टोल हाँडिगाउँकै रवाफ देखाउन सफल भएका थिए। आफू भन्दा निकै कम उमेरका केटाहरु, त्यसमाथि टाढा बाट आएका र साथसाथै होटलवालाको आफ्नै गाउँमा समेत उनिहरुले जे भन्यो त्यहि गर्नुपरेकोमा होटलवालालाई आफैँदेखि रिस उठिराखेको थियो। बिगत ३ दिन देखि उ एक्लै भएको बेलामा सोच्ने गर्थ्यो कि अब यि गुन्डा जस्ता देखिने परदेशीले केहि भने भने उसले मुखभरिको जवाफ दिनेछ र होटलबाट निकाल्ने छ, तर जब उसले निशान्तको आँखा देख्थ्यो भन्नु पर्ने सबैकुरा बिर्सन्थ्यो। उसमा एक किसिमको डर व्याप्त हुन्थ्यो र रिसलाई दबाएर दाँत देखाउँदै सेवा गर्न तत्पर देखिन्थ्यो।

भरिया लगाएर १ दिनको बाटो हिँडाएर ल्याएको बियर तथा चिसो पेय पदार्थ केवल दुईजना ठिटाहरुले अनवरत रूपमा खाएर लगभग सकाइदिएका थिए र बर्खा अझै बाँकि थियो। यो भन्दा पनि दुखको कुरा ठिटाहरुले यी सबै पेय पदार्थहरुको काठमान्डौकै मूल्य मात्र चुकाएका थिए र उसले बिरोधको झिनो स्वर पनि निकाल्न सफल भएको थिएन।  सुरुमा त होटलवालाले यहाँसम्म आइपुग्दा यि चिजबिजहरु कसरि महंगा हुन्छन भन्ने कुरा बुझाउन खोजेको थियो, तर पछि केटाहरुको नराम्रो बोलि र डरलाग्दो हेराइ देखेपछि, उ सुपथ मूल्यमा यि सेवाहरु प्रदान गर्न बाध्य भएको थियो।

" फर्कन त फर्केलान नि ज्यानमारा गुन्डाहरु!!"

होटलवालाले रुखस्याक बोक्दै टाढा पुग्दै गरेका निशान्त त झिल्केलाई हेर्दै मनमनै भन्यो, र कागजमा केहि लेखेर हिसाब गर्न थाल्यो।

सस्तोमा घिचे पनि घिच्न चाहिँ घिचेकै हुन बजियाहरुले!

बर्बराउँदै ऊ हिसाब गर्नमा व्यस्त देखिन्थ्यो।

खोला बढ्या होला हिजोको झरिले, दुबैजनालाई बगाएर सोत्तर बनएर लगिदिए नि हुन्थ्यो!

उसले पाप चितायो र पारी दोभानेमाथिको डाँडा हेर्न थाल्यो। डाँडामा हुस्सु लागेको थियो र कतै कतै हुस्सु फाटेर हरियो देखिन्थ्यो। माथी भन्ज्याङको चौतारी पनि हुस्सुले छोपेको थियो।

कसका पाउना होलान यिनेरु? गाममा त सपै राम्रै मान्छे छन्!

ऊ सोच्न थाल्यो।

पक्कै पनि पुन्टे बुढाका होलान्!

उसले रक्सिको खपत बिचार गर्दै निशान्त र झिल्केलाई पुन्टे बुढाको पाहुना भएको अनुमान गर्यो।

उतै मरेर गाडिए आनन्दै हुन्थ्यो!

हिसाब गर्न लागेको कलम बेसरी कागजमा थिच्दै फेरि फर्केर होटलमा आउलान् भन्ने डर र रिस मिश्रीत स्वरमा बर्बरायो र उठेर कोठातिर लाग्यो।

 

*****

 

खोलाको बगरै बगर हिँड्दै थिए निशान्त र झिल्के।

ओ झिल्के लास्टै थाकियो यार, एकछिन बसौँ ल!

निशान्तले रूकस्याख ढाडबाट झिक्दै हिँड्दै गरेको झिल्केतिर हेरेर भन्यो।

हो यार एक राउन्ड स्टिक पनि तान्नु पर्छ सोम, म त सिक हुन थालिसकेँ!

झिल्केले सहमतीमा आफ्नो रुखस्याख झिक्यो र बगरको एउटा बिशाल ढुङ्गा तिर लाग्यो।

दुबैजना ढुङ्गामा जिऊ ढल्काएर बसे।

पानी पर्दिएर र्याग भयोन्त, नत्र त हिजै पुगिसक्थ्यो हौ माथि गाउँमा!

निशान्तेले रुखस्याखको सानो गोजिभित्र दाहिने हत्केला छिराउँदै बोल्यो।

झिल्केले निशान्तले रुखस्याकको खल्तिमा हात छिराएको देख्यो र उत्सुक स्वरमा सोध्यो-

माल झिक्न लाग्या हो ब्रो?

निशान्तले खल्तिबाट सुर्य चुरोटको दुईवटा नयाँ प्याकेट निकाल्दै एउटा अगाडिपट्टि फुटेको दाँत देखाउँदै भन्यो-

खितखितखित्होटलवाला सुड्डा कोठामा गएको बेला पारि वरि मैले दुइ प्याक सुर्य झ्याप हान्देकोन्त!

हाहाहाहाहहाहा सुड्डालाई मुर्गा हान्देछ फेरि सोमले कोइ नपाएर!

झिल्केले हात बढाउँदै सूर्य चुरोटको एउटा प्याकेट समाउँदै हाँस्दै बोल्यो।

सुड्डाको फेस फेरि अत्ति के! कन्सटिपेसन भएको बेलामा ट्वाइलेट बसेको जस्तो फेस के खितखित्खित!

निशान्तले होटलवालालाई याद गर्दै उडायो।

झिल्केले सहमतीमा ठूलो हाँसो निकाल्यो।

ओइ झिल्के तँ माल बनाउँदै गर् ल, कन्सटिपेसनको कुरा आयो कि मलाई त बबाल ट्वाइलेट लाग्यो हौ!

निशान्तले पेट समाउँदै ढुङ्गाबाट तल ओर्लेर भन्यो।

घिच्ने बेलामा देकोsss छ देकोsss छ सोमले अन्त लागिहाल्छन्त!

झिल्केले बोकेदारि हल्लाउँदै हाँसेर भन्यो।

निशान्त तन्किएर उभिँदै फेरि पेट समातेर बोल्यो।

होइन हौ, राम्रो संग बस्न नि पाएको छैनन्त, मुला होटलको ट्वाइलेट कस्तो रड्डिज??!

झिल्केले दायाँ औँलाले बायाँ हत्केलामा कलात्मक तरिकाले चुरोटको सुर्ती  झार्दै भन्यो-

निस ब्रो, म हरिप आइडिया दिन्छु ल, खोलाहुँदि शिट बस्ने बेलामा कि तीनवटा ढुङ्गालाई टक्क ला'र मिलाएर राख् कि चुल्हो जस्तो, अन्त माथि टक्क बसेर दे न ब्रो! हरिप कमोडमा बसेको जस्तो हुन्छन्त!

ठिक भनिस यार, म त्यसै गर्छु, आइडिया चाहिँ हरिप आउने हो ल ब्रो लाई जे होस!

निशान्तले पुलुक्क प्रभावित भएको अनुहार बनाउँदै झिल्केलाई हेर्यो र हिँड्दै ठूलो ढुङ्गा पछाडि छेकियो।

झिल्केले चुरोटको सबै सुर्ति हत्केलामा झार्यो र खालि चुरोटको खोललाई ढुङ्गामा जतनसाथ राख्यो।

हत्केलाको सुर्तिलाई केहि सुर्ति मात्र च्यापिने गरेर औँलाले थिच्यो र हात हुत्तत्यायो। केहि सुर्ति उसका औँलाले चेपिएका थिए, बाँकि तल खसे। खल्तिमा हात हालेर एउटा प्लास्टिकको प्याकेट निकाल्यो। त्यसबाट अलिकता हरियो सुख्खा घाँस जस्तो चिज निकाल्यो र सुर्ती भएको हत्केलामा सुर्ती संग मिसायो र दायाँ हातले बायाँ हत्लेकामा मल्न थाल्यो। केहिबेर मलेपछि चुरोटको खालि खोल फिल्टरपट्टि मुखमा च्याप्यो र केहि झुकेर बायाँ हत्केलामा भएको सुर्ति र घाँसको मिश्रणलाई मुखले तानेर खालि खोलमा भर्न थाल्यो। कहिले मुखले तान्थ्यो र फेरि चुरोट हातमा लिएर औँलाले घुमाउँदै जान्थ्यो। यसैगरि चुरोट भरिन लागेको थियो, त्यहिबेला निशान्त हाँस्दै आइपुग्यो।

तेरो आइडिया हरिप हो यार!

झिल्केको आइडिया राम्रो भन्दै ढुङ्गामा आएर बस्यो र झिल्केले चुरोट भर्न सकाएर सल्काउने प्रतिक्षा गर्न थाल्यो।

झिल्केले रुखस्याखबाट लाइटर झिक्यो र चुरोट सल्कायो। निशान्त भोको बाघले जसरि झिल्केले धुवाँ उडाएको हेर्दै थियो र उसका हात अनायासै चुरोटतिर तन्केका थिए। झिल्केले आकाशतिर टाउको ठड्याएर दुई तिन सर्को तान्यो र धुँवाँ माथि छोड्यो! निशान्त अधैर्य देखियो र उसको हातले लगभग खोसेको जसरि झिल्केको हातबाट चुरोट तान्यो। निशान्त पनि टाउको ठाडो गरेर सर्को तान्न थाल्यो।

दुवैका आँखा भिजेका जस्ता देखिन थाले।

केहि बेर चुपचाप पालै पालो दुबैजना सर्को लगाउन थाले। चुरोट लगभग फिल्टर सम्म सकिँदा पनि उनिहरु सर्को लगाइरहेका थिए!

चुरोट सकिएपछि दुवैजना त्यहि ढुङ्गामा लम्पसार परे केहि बेर!

निस ब्रो अब जानु पर्छ यार! खोला तरिवरि गाउँ पुग्दा राति हुन्छ हौ फेरि!

झिल्के अल्छि मान्दै उठेर रखस्याख बोक्दै बोल्यो।

निशान्त झन अल्छि मान्दै उठ्यो र रुखस्याक भिर्यो।

दुवैजना चुपचाप बगरमा खोला तिर हिँड्न थाले। उनिहरुको चाल अघिको भन्दा ढिलो थियो।

उनिहरु खोलाको किनारमा पुगे। खोला पारि पट्टि हेरे। खोलाको माथिपट्टि उनिहरु भन्दा निकै पर पारि पट्टि दुइजना देखिए; शायद पारिबाट खोला तरेर यता आउन खोज्दै थिए।

जङ्घार त्यतै थियो।

निशान्तले आँखा आधि खोलेर एक पटक पारि पट्टिका दुईजना गाउँलेलाई हेर्यो र झिल्केलाई हेर्दै भन्यो-

ट्रिपको सुरमा यता आएछ सोम हामि, तर्ने ठाउँ ऊ उता छ जस्तो छ!

झिल्केले पारि हेर्यो। ती दुईजना खोला तर्नलाई कपडा खोल्दै थिए।

हो यार, हिन उतै जुम!

झिल्केले भन्दै खोलाको तिर तिरै माथितिर लाग्यो। निशान्त पछि पछि लाग्यो।

उनिहरु खोला तर्न लागेका गाउँलेको नजिक आउँदै थिए।

पारी दुईजना गाउँलेले एक अर्काको हात समातेको देखियो। उनिहरु अझ नजिक पुग्दै थिए।

हात समातेर दुवैजना गाउँले खोलामा पसे। निशान्तले उनिहरु हल्लिएको देख्यो;शायद खोला बलियो वेग संग बग्दै थियो। उनिहरु अझ नजिक पुगे।

पारिपट्टि बिस्टेबुढालाई खोलाको माथि पारेर भउतेले हात समाउँदै तार्दै थियो।

दुवैजना कम्मर सम्म डुबेका थिए।

खोलाको वेगले उनिहरु जति वारि तर्थे त्यो भन्दा पनि बढि तल तिर हुत्तिन्थे। यसरि उनिहरु निशान्त र झिल्केको झन झन नजिक आउँदै थिए।

निशान्त र झिल्के एकठाउँमा टक्क अडिए। उनिहरु एकटकले बिस्टे बुढा र भउते खोला तरेको हेर्दै थिए।

हात छोडिदियो त!!

झिल्केले बिस्टे बुढा र भउतेलाई हेर्दै निशान्त संग भन्यो।

निशान्तले नियालेर हेर्यो।

भउतेले समात्दा सामत्दै बिस्टे बुढाको हात फुस्किएको देख्यो।

बिस्टे बुढालाई बलियो भलले धकेल्यो। बुढा ढलमलाउँदै तेर्सिए र भउतेको जिऊमा ठोक्किए। भउते सम्हालिन खोज्दै थियो र बुढालाई समात्न खोज्दै थियो। बिस्टे बुढा अडिन जोड लाउँदै थिए। बुढाको खुट्टाले  भुइँ छाड्यो। भउते जसोतसो अडिएको थियो उर्लँदो भेलमा। बुढालाई भलले भउतेको अगाडि ल्याइपुर्यायो। भउते

ले फेरि लम्केर बुढालाई समात्न खोज्यो। भउतेको हातले बुढाको हात छोयो, तत्कालै हात फुस्कियो। भउतेले फेरि हात लम्कायो। बुढालाई भलले भित्र लग्यो। भउते किर्कर्तव्यबिमूढ भयो, ऊ आफैँ पनि भल संग जुझ्न संघर्ष गर्दै थियो र बिस्टे बुढा तिव्र वेगका साथ कहिले सतहमा देखिँदै कहिले पानी भित्र हराउदै तल जाँदै थिए!

निशान्त र झिल्केका आँखा झिम्किएका पनि थिएनन्!

(क्रमश:)

   [ posted by Birkhe_Maila @ 02:12 PM ] | Viewed: 1689 times [ Feedback]


:

   
Blog Type:: Story
Wednesday, December 23, 2009 | [fix unicode]
 

आज बिहानै देखि चेलिमायाको मन हलुका थिएन। मंसिरमा बिहे गरेर यो गाउँमा आएदेखि नै उसको मन कहिले रमाउने र कहिले दुख्ने भैरहेको थियो। छ महिना भन्दा बढि भैसकेको थियो बिहेको, तर पनि उनलाई कहिले आफ्नो लोग्ने अत्यन्त मायालु र उनको हेरचाह गर्ने मरिमेट्ने लाग्दथ्यो त कहिले नितान्त अपरिचीत तथा कडा। उनि सकेसम्म पति र घरका अरु सदस्यलाई खुसि बनाउने भरमग्दूर कोशीस गर्दथिन तर निकै पटक उसलाई कसैले नबुझिदिँदा उनको मन रुने गर्दथ्यो र सात डाँडापारिको आफ्नो माइती सम्झेर एक्लै धुरुधुरु रुन्थिन्।

उनको आँखा खुल्यो। बाहिर झलमल्ल घाम लागिसकेको रहेछ। उनि झस्केर जर्याकजुरुक्क उठिन्। खाटको छेऊमा हेरिन्, श्रीमान अघि नै उठेर बाहिर गइसकेका रहेछन्। उनि धेरै नै डराइन्। हिजो राति अबेर सम्म पनि घरधन्धा सकिएको थिएन। पाहुनाहरु आएका  थिए र सबैलाई पकाएर खुवाउँदा भात सकिएको थियो। फेरि दोश्रो पटक पकाएर खाँदा र लोटउँदा र भाँडा माझ्दा धेरै नै राति भैसकेको थियो र थकाईले उनको शरीरको जोर्नी जोर्नी दुखेको थियो। कोठामा सुत्न आइपुग्दा उनका श्रीमान अघि नै निदाइसकेका थिए र उनि यसो पल्टेकी मात्र के थिइन, बस् अहिले मात्र निद्रा खुलेछ।

 

बाहिर घाम नै लागिसकेको थियो र श्रीमान उनि भन्दा पहिला उठेर बाहिर गएका थिए। सासुको कटाक्ष, श्रीमानको रिसपूर्ण हेराई र नातेदार पाहुनाहरुले कुनै अर्कै ग्रहबाट आएको प्राणीलाई हेर्ने जस्तो हेराइ अवश्यंभावी थियो!

हतार हतार लुगा मिलाउँदै ऊनि लिस्नोबाट तल ओर्लिइन्।

अँगेनामा केहि तात्दै थियो, धुँवाँले सम्पूर्ण घर ढाकेको थियो। सबै पाहुना वरिपरी झुम्मिएका  थिए र उनकि सासु अँगेनामा तेल तताउँदै आफ्नो पुरानो बाथमा मालिश गर्दै थिइन्।

"ऊ महारानी उठिबउसिओ!"

सासुको तिखो बोलिले उनको मुटु घोच्यो। उनका पाइला लिस्नोको आखिरी खुट्किलो सकिँदा हल्का लड्खडायो। उनले कसैको अनुहार हेर्न सकिनन्। उनलाई लाग्यो सबै उनिलाई हेर्दै मनमनै हाँसिरहेका छन्।

उनि बाहिर निसक्न ढोकातिर बढिन्।

ब्यान देखुन भैँसि करा'र कुँडो म बुडिले बल्ल बल्ल तताम्न परो! ब्वारी नभा घर जस्तो आँगन नि मै रोगि बुडिले बडार्नु परो। कलिजुग लाग्या भन्या एइ रेछ, एस्तो भो भने छिमेकीले नि सराप्छन्! यो बुडेसकालमा एत्रो दुख त बाँझि आइमाइलाई नि पर्दैन, घरमा ब्वारी भा नभा कुनै फरक नाई!

सासु फत्फताउन थालिन्। सासुको फत्फताईमा उनको उमेर, उनको जीवन भोगाई र उनको सामाजीक मान्यता अनुसार बुहारी प्रतीको रिस केहि र सासु र बुहारीको कर्तव्य प्रतीको कटाक्ष बढि थियो। तर चेलिमायाको निर्दोष र नयाँ अनुभवमा यसले कुनै तिखो विषालु शूलको काम गरेको थियो। उनि केहि बोलिनन्। बाहिर निसक्ने बेलामा अनायाशै उनि पुलुक्क आफ्नो पतीलाई हेर्न पुगिन्। पतीको आँखामा उनले प्रेम भेटिनन्। उनलाई सधैँ झैँ नरमाईलो लाग्यो।

बाहिर तीनवटा खालि गाग्रिहरु थिए। नजिकैको डोकोमा एउटा गाग्री हालिन्। डोको बोकिन्। अर्को गाग्री दाहिने हातले उचालेर डोकोमा गाग्री माथि राखिन् र गाग्रिको मुख दाहिने हातले समातेर अड्याइन्। देब्रा हातले तेश्रो गाग्री उचालेर देब्रे कम्मरमा अड्याएर तीनवटै गाग्री बोक्दै पँधेरातिर लागिन्।

सासु, ससुरा र घरका अरु सदस्यहरुलाई जति खुसि बनाए पनि त्यो खुसि सदैव कायम राख्न गाह्रो थियो; उनले बुझेकि थिइन्। उनलाई सबै भन्दा पिडा उनको पतीको उनी प्रतिको व्यवहारमा पर्दथ्यो। प्राय: राति सुत्ने बेलामा पतीको व्यवहार र बोली सधैँ उस्तै भए हुन्थ्यो भनेर उनको मनले भन्दथ्यो र त्यो समयमा उनलाई उनि पतीको प्यारि लाग्दथ्यो र उनको आत्तिएको मनले केहि शन्ती पाउँथ्यो। तर लगत्तै बिहान उनको पतीको व्यवहार उनिलाई फरक लाग्दथ्यो र उनि आहत बन्न पुग्थिन्।

यो जीवन न त उनले कल्पना नै गरेकी थिइन् न त उनि यसको लागि तयार नै थिइन्। उनलाई बस् यति याद छ मिठा मसिना सपना बुन्दै गरेको उनको जिवनमा उनको बुबाले एकदिन हँसिलो मुहार लिएर वैवाहीक जीवनको परिचय दिनु भन्दा पनि पहिला, बिहामा होमिदिएका थिए र फगत स्विकार्नु बाहेक उनिसंग अरु कुनै विकल्प थिएन।

कुनै दिन सबैकुरा ठिक हुने आशामा उनि दिन गुजार्दै थिइन। आजकल उनको मनमा कुराहरु धेरै खेल्न थालेका थिए। यस्तै मनमा कुरा खेलाउँदा खेलाउँदै उनि कतिबेला पँधेरा आइपुगिन उनलाई पत्तै भएन। पँधेरामा सबु नुहाइराखेकि थिइन्; आफ्नै किसिमले स्वच्छन्द किसिमले। उनि पँधेरातिर बढ्दै थिइन र कुनै समयमा आफू पनि शबु जस्तै चंचल र स्वतन्त्र थिएँ भन्ने कुरा सोच्दै त्यो गुमेको समय अब फर्केर आउँदैन भन्ने तितो सोचाईका साथ पँधेरा पुगेकि मात्र के थिइन् कुनै चट्टान जस्तो बलियो जिऊमा उनि एक्कासि ठोक्किन पुगिन्। उनले बोकेका दुवै गाग्रि उछिट्टिएर यताउता बजारिन पुगे र उनि बोकेको डोको र गाग्रि सहित कसैसंग अल्झेर नराम्रोसंग लड्न पुगिन पँधेराकै छेऊमा।

उनको मुखबाट एक चीत्कार निस्कियो। दीप उनि माथि लडेको रहेछ। उनलाई पिडा, सास्ती र लाज र डर एकैपटक आयो। उनले बल गरेर दीपलाई आफूबाट हटाइन् र हतारिएर उठ्न खोजिन् तर सकिनन्। उठ्न खोज्दा उनको दाहीने खुट्टामा पिडाको तीव्र लहर दौडियो र उनि थुचुक्क बसिन्।

 

(क्रमश:)

   [ posted by Birkhe_Maila @ 02:08 PM ] | Viewed: 1593 times [ Feedback]


:

   
Blog Type:: Story
Wednesday, December 23, 2009 | [fix unicode]
 

दीप पँधेराको सिमेन्टको खुट्किला जस्तो डिलमा माथिल्लो डिलमा थ्याच्च बसेको थियो र तल्लो डिलपट्टि खुट्टा झारेको थियो। उसको खुट्टाले तल्लो डिल नभेटेकोले होला झुन्डिएका दुई खुट्टामा झनै झुन्डिएका दुई चप्पल हाँसो उठ्दो देखिन्थे। एउटा चप्पलले भर्खरै पँधेराको डिलमा उक्लँदा धर्म छाडेको थियो, अर्थात चप्पलको तना भर्खरै छिनेको थियो। डिलमा बसेर दीपले टाउको नघुमाइकन हल्का आँखामात्र घुमाएर धारो तिर हेर्यो।

शबु आफैँमा खुम्चिएर बसेकि थिइन् र उनका हत्केला धारोमा फिँजिएका थिए। धारोबाट बहेको अनवरत, शीतल पानिको दवावले उनका सुडौल हत्केलालाई अलिकता तल धकेल्थे र उनको हातको बलले हत्केला फेरि अलिकता माथि आउँदथ्यो।

दीप शबुको हात हल्लिएको हेर्दै थियो।

हातमा पानी पर्दा हल्का छिटाहरु, केहि मोटा र केहि पातला छिटाहरुले शबुले ओढेको पेटिकोटलाई झन आकर्षक बनाएका थिए। रातो कपडामा पानीले भिजेको ठाउँ लालिगुराँस जस्तो गाढा देखिन्थे र तत्काल शरीरमा टाँसिएर शबुको शरीरमा चिसो लहर छोडेर जान्थे। टाँसिएपछिको त्यो भागको रंग दीपलाई अद्वितिय आकर्षक लागे!

दीप आएको देख्ने बित्तिकै शबु एक किसिमले जड भएकि थिइन्। उनका आँखा, धारोले तल भुइँमा बनाएको खाल्डोमा  थिए जसबाट धाराको पानी पर्नासाथ त्यसमा रहेको पानी उम्लिए जसरि बाहिर निस्कन्थे र बहेर जान्थे!

दीपले हतार गरेर डिल उक्लँदा उसको चप्पल चुँडिएर उछिट्टिएको शबुले देखेकि थिइन् र तत्लाकै दीपले हतार हतार चप्पल टिपेर डिल उक्लँदा ऊ झन्डै लडेको थियो।

यो देख्नासाथ शबुका अधरमा एक अत्यन्तै झिनो तर अत्यन्तै मोहक मुस्कान निस्केको थियो र उनको मनले मनमनै भनेको थियो-

"भद्रगोले मान्छे!"

यतिबेला शबुको मुहारको सुन्दरता देखेको भए दीप शायद आनन्दले बेहोश हुन्थ्यो होला!

कोइ रइनछन्, साइतै पर्या रेछ आज त!

दीपले मनमनै भन्यो र उसको अनुहारमा गर्वका रेखाहरु आए; शायद, बिचमै तास खेल्न छाडेर आएकोमा आफैँलाई श्याबासी दिँदै थियो।

आज त कुरा गर्छु गर्छु!

फेरि मनमनै भन्दै दायाँ खुट्टा हल्का उचाल्यो र दायाँ हातले घुँडाभन्दा अलिकता तल समातेर झनै उचाल्यो अनि बायाँ हातले चुँडिएको चप्पल लियो र खुट्टा झार्यो। फेरि दुवै खुट्टा माथि ल्याएर पँलेटी कसेर बस्यो र केहि सम्झे जस्तो गरेर खल्तिबाट सलाई झिक्यो र पुलुक्क शबु तिर हेर्यो।

शबुले उसलाई हेरेको बेला परेछ!

दीपको छाति भित्र हो कि पेट भित्र हो कतै केहि कुरा हल्का पोलेको जस्तो तर सुखद्, एउटा बिन्दुबाट एकछिनको लागि चारैतिर फैलियो र बिलायो!

शबुले पुलुक्क दीपलाई हेरेकि मात्र के थिइन दीप यतै फर्किदिँदा शबु एकछिनको लागि आत्तिइन् र हडबडाइन्। तुरन्तै धारातिर हेर्न थालिन्।

शबुले नजर फेरेपछि दीप त्यसै मुस्कुरायो र केहि झुकेर सलाई कोर्यो। चप्पलको तलपट्टि छिनेको टुक्रा निकाल्यो र पोल्न थाल्यो। ढिलो भएछ सलाई सकिएर निभ्यो।

उसले फेरि शबुतिर हेर्यो र अर्को सलाई निकालेर कोरेर चप्पलको तनाको टुक्रा पोल्न थाल्यो!

शबुलाई गाह्रो हुँदै थियो। आजै भन्दा पँधेरामा अरु कोहि पनि थिएनन र नुहाउन उसलाई धेरै अप्ठ्यारो र धक लागिरहेको थियो।

उसले आफैँलाई नियालिन् र आत्तिइन्।

उनि उभिइरहेकि थिइन् र अहिले सम्ममा उनको अगाडिको धेरैभाग भिजेर कपडा शरीरमा टाँसिइसकेको रहेछ! तुरन्तै लाजले उनका गाला र गर्धनमा रातो लहर जन्मायो र लाली घाँटि सम्म पुग्यो। उनलाई सिधा उभिनु ठिक लागेन। तुरन्तै उनि हल्का झुकिन र पँधेरा तर्फ दीप बसेको भन्दा विपरित पट्टिको खुड्किला तिर फर्किइन् र कम्मननिर कपडा समातेर हल्का अगाडि तानिन्। अब कपडा, उनको अगाडिको शरीरका थोरै  भागमा मात्र टाँसिएका थिए। उनलाई अलि राहत महशुस भयो, उनले एकछिन लामो सुस्केरा हालिन्।

अचानक फेरि झस्किइन्। उनलाई अब आफ्नो शरीरको पछाडिको भागमा चिसो लाग्यो! पछाडि पनि खै कसरि हो पानीले भिजाइसकेको रहेछ र झुकिदिँदा पछाडिको सम्पूर्ण भागमा लुगा टाँसिएको चिसो अनुभव आउँदैथियो।

शबु उता फर्कँदा दीप पल्याक पुलुक गर्दै कहिले चप्पलको तनाको टुक्रा मा सलाईले पोलेको हेर्दै थियो भने कहिले शबुको सौन्दर्य। शबु अर्को पट्टि फर्कनासाथ, दीपको मुटुको धडकन बढ्न थाल्यो, उसलाई एकपलको लागि सास फेर्न गाह्रो लाग्यो। कुनै बिशाल पीपलको रुखमा कुनै लता टाँसिए जसरी शबुको ढाडदेखि तलसम्म उनको लुगा टाँसिएको थियो!

चप्पलको तनाको टुक्रा पग्लनु र सलाई सकिनु एकैचोटि भयो।

दीपको औँलामा तीव्र पिडाको लहर आयो!

दाहीने हातको बुढि औँला, चोर औँला  र माझि औँलामा पग्लेको रबर टाँसिएछ! उसको मुखबाट पिडाको एउटा सुस्केर निस्कियो कुनै नमिठो गालिका साथ!

 

शबु फेरि लाजले भुतुक्क भएकि थिइन र, एकछिन किर्कर्तव्यविमूढ भएकि थिइन्।

 

दीपको मुखबाट सानो स्वरमा भद्दा गाली र पिडा मिश्रित सुस्केरा सुनेर हो कि किन हो उनको अनुहारमा तत्कालै एक किसिमको दृढता आयो। उनि फरक्क दीपभएतिर फर्किइन र तुरन्तै झुकेर धारोमा कपाल पखाल्न थालिन् मानौँ उनी कसैले हेरिरहेकोमा अनभिज्ञ थिइन्!

दीप पोलेको औँला मुखभित्र चुस्दै ट्वाल्ल परेर शबुले हतार हतार फर्केर कपाल भिजाउँदै गरेको हेर्दै थियो। उसको आँखाबाट एकपल अगाडि उसले देखेको शबुको सौन्दर्य हटेको थिएन।

गरिस गजप! तेरो सत्तेनाश हुने, एइ बेला चप्पल गाँस्न पर्या तँ असत्तिलाई!

मनमनै आफैँलाई गालि गर्यो। उसको मुहारमा ग्लानिको गहिरो भाव देखिन्थ्यो। उसलाई आफैँदेखि रिस उठिराखेको थियो। उसले शबुतिर हेर्यो।

मोटो पानीको धारमा शबु यतैपट्टि फर्केर , झुकेर कपाल मिच्दै थिइन् र उनको कपालले उनको मुहार तथा अगाडिको सम्पूर्ण भाग छोपेको थियो!

दीपलाई धाराको उतापट्टि जाने इच्छा भयो!

ह्या हुन्न, झन उसै त गुन्डो भन्ठान्छे झन एस्तो कोइ नभा बेलामा!

उसले आफैँलाई बिरोध गर्यो।

शबु अझै कपाल पखाल्दै थिइन र कुनै पनि बेला उसले कपाल पखाल्ने काम सकिन सक्थ्यो!

दीपलाई उता जाने तिव्र इच्छा जाग्यो!

अइले नै होगए अइले नै हो..!”

दिपको मनमा छटपटि बढ्न थाल्यो।

अइले गयो भन्देखुन रामोराम मलाई गुन्डो भन्छे!

उसले फेरि आफ्नो मनलाई सम्हाल्न खोज्यो।

उसको मुहारमा अत्यन्तै गहिरो छट्पटि र आतुरता देखिन्थ्यो। उसले आफूलाई सम्हाल्न सकेन।

sss के नै हुन्छ र? मइँले के नै गर्या छ र? न्वाउँदै छे कतिबेला उता गयो थाहा पाम्दिन तेल्ले, बरु टाउको न्वाइसक्ना साथ दौडेर एता आम्छु!

दीपको दिमागलाई मनले जित्यो। दुवै चप्पल एकातिर राख्यो र खालि खुट्टा जुरुक्क उठ्यो!

बेआवाज फुत्त तल भुइँमा झर्यो।

शबु, बेखबर आफ्ना दुवै हत्लेका अगाडि ल्याएर धारामा कपाल मिच्दै थिइन्। दीपका आँखा शबुबाट हटेका थिएनन्। उतै हेर्दै दिप उतापट्टि लगभग् दौडियो। उसलाई एउटै पिर थियो कतै शबुको कपाल पखाल्ने काम नसकियोस!

अचानक केहि  कुरा उसको दाहिने छातिमा जोडले ठोक्कियो।

उ ढल्मलायो! धातुको केहि कुरा खस्यो ठूलो आवाजका साथ! आवाज आइनै रह्यो। कुनै खालि गाग्रि भुइँमा खसेर गुड्दै थियो।

कुनै केटि आत्तिएर कराएको आवाज आयो।

ऊ लड्खडायो र कसै संग जुध्यो। उसले अनुभव गर्यो उसका खालि खुट्टा कुनै कपडामा जेलिएका थिए। ऊ उभिन सकेन। त्यसैमा जेलिएर लड्यो। उसले फेरि कुनै केटिको पिडामिश्रित स्वर सुन्यो जुन उसको कानको धेरै नजिकबाट आएका थिए।

ऐया नि आमाssss!”

आखिर ऊ ढल्यो।

उसले कसैलाई थिचेको रहेछ! ऊ सम्हालियो र जुरुक्क उठ्न खोज्यो! कसैको धोतिमा उसको खुट्टा अझै अल्झिराखेको रहेछ। ऊ फेरि ढल्यो।

केटिको पिडा मिश्रित आवाज फेरि आयो। उसले देख्यो र उसले थाहा पायो, शबुलाई हेर्दै हतार हतार हिँड्दा पँधेरामै गाग्रि बोकेर आइपुगेकि चेलीमाया संग ऊ नराम्ररि ठोक्किएछ!

 

(क्रमश:)

   [ posted by Birkhe_Maila @ 02:06 PM ] | Viewed: 1628 times [ Feedback]


:

   
Blog Type:: Story
Wednesday, December 23, 2009 | [fix unicode]
 

नेप्चे फटाफट बसन्तीको पसलतिर गयो। पसलको पिँढिमा पुगेर उभियो र भित्र नहेरि बोल्यो‍-

"एक गिलाँस च्या पाइएला साउनि?"

च्या त पाइएला एकछिन कुर्न पर्च, दुध तता छइन!

भित्रबाट धोत्रो स्वर आयो कुनै लोग्नेमान्छेको।

नेप्चेले भित्र हेर्यो, बसन्तिको बाबु दूधको भाँडो चुल्होमा राख्दै थिए र बसन्ति अर्को कुनामा केहि सामान मिलाउँदै थिइन्।

यता चिया कुर्दा उता उसको सट्टामा गालेको फर्सी बिक्ने पक्का थियो। तर पनि उसले भन्यो-

हुन्छ पकाउनोस न!

उ पसलको खामोमा अडेस लागेर आधि जिऊ भित्र र आधि जिउ बाहिर पारेर बसन्ती तिर अनुहार पर्ने गरेर उभिएर कुर्न थाल्यो।

बसन्ती जुरुक्क उठिन् र ऊ तिर एक नजर पनि नहेरि उसकै सामुबाट बाहिर निस्किइन्।

बसन्ती उसको सामुबाट हिड्दा, केहि धुँवाँको र केहि पसिनाको मादक गन्ध नेप्चेको नाकमा एकपललाई छिर्यो र बिलायो।

नेप्चेले भित्र बुढाको आँखा छलेर एकछिन बसन्ति हिँडेतिर चिहायो, बसन्ती अघि ऊ आएको बाटोबाट फर्कँदै थिइन्। उसलाई उकुस मुकुस भयो। तत्कालै  भित्र हेर्यो, बुढाले चियाको केत्लि अर्को चुल्होमा बसालिसकेका रहेछन्।

 

 

गाले नजिक आएर पल्याकपुलुक यताउता हेर्दै बसन्ती अघि जस्तै फेरि टुक्रुक्क बसिन् र मुसुक्क हाँसिन्। यसपटक गाले अघिभन्दा सम्हालिएको थियो। गाले पनि जवाफमा सुख्खा ओठ बङ्ग्याएर मुसुक्क हाँस्यो।

फुल मिठो लाओ?

बसन्तीमे मुस्कान बिछ्याउँदै सोधिन्।

गालेले बसन्तीले मुस्कुराउँदै सोधेको हेर्यो। स्त्रीहरु राम्रा हुन्छन उसले धेरै देखेको थियो र, सुनेको थियो तर अहिले उसले भोग्दै थियो। बोल्दाखेरि बसन्तीको ओठ तलमाथि गरेर चलेको उसलाई निकै मन पर्यो। उसलाई उसको उमेरको बोध भयो।

गालु फुल मिठो लाओ भनेर सोध्या के सोचिरा?

बसन्तीको ओठ फेरि चलेको देख्यो गालेले।

कस्तो मिठो रेछ मइँले त दुईँ गाँसमा सक्काईँ!

गालेले सोझो उत्तर दियो।

ल भन यो सपै फर्सीको कति हो?

बसन्तीले फर्सि तिर हेर्दै सोधिन्।

गाले दंग पर्यो।

अब हउरले जति दिनुन्छ तेति!

बसन्तीले एक पटक गालेलाई हेरिन् र भनिन्-

म सपै फर्सि किन्दिन्छु र सइ रुप्पे दिन्छु तर तिम्ले मइँले भन्या काम गर्दिनु पर्छ नि फेरि है त?!

बसन्तीको कुरा सुनेर गालेले प्रश्नवाचक दृष्टीले बसन्तीलाई हेर्यो र भन्यो-

हुन्छ गरिआल्छु नि!

गालेको अनुहार अहिले बसन्तीले जेसुकै भनेता पनि गर्नलाई राजि देखिन्थ्यो।

सुन गालु तेसोभ', म सपै फर्सि किन्छु, अन्खेरुन तिमि खुरुक्क गाम गईआल रात नपारी है?

बसन्तीले भनिन्।

गालेले सहमतीमा टाउको हल्लायो।

बसन्तीले फेरि खास्टोमा लुकाएको हात निकालिन र हातमा एउटा खाम थियो। त्यो खाम गालेलाई दिँदै भनिन्-

अन्खेरुन, यो खाम कसइलाई नभनि, रिट्ठेलाई लर देऊ है? कसइलाई नभन नि फेरि, भन्यौ भने म अर्कोपालि तिम्रो फर्सि किन्दिन नि फेरि!

गाले एकटकले बसन्तीलाई हेर्दै थियो र बसन्तीले जे भने पनि उ इमान्दारीका साथ गर्न तयार देखिन्थ्यो।

हुन्छ कसइलाई भन्दिन!

यति भन्दै उसले बसन्तीको हातबाट खाम लियो। बसन्तीले चोलोमा छातिभित्र हात हालिन र गुजुमुजु भएको पैसा निकालेर एउटा सयको नोट गालेलाई दिइन् र भनिन्-

ल यो पइसो र खाम लुकार राख छिटो कसइले नदेख्नि गरि!

हस

भन्दै गालेले पैसा र खाम दुवै पटुकाकमा पोको पारेर सुरुवाल भित्र लुकायो।

ल यो फर्सिको भारि बोकेर मेरो पसल हिँड, पसलमा फर्सि खन्यार डोको लेर गाम फर्किहाल है?

गालेले सहमतिमा टाउको हल्लायो र फर्सिको भारि बोकेर बसन्तीको पछि पछि लाग्यो।

ऊ निकै खुसि थियो। बसन्ती जस्ति केटि उ संग बोलेकि थिइ र उसलाई माया गरेर फुल खान दिएको मात्र हैन सबै फर्सि पनि किनिदिएकि थिइन। ऊ पछि पछि कहिले भुइँ हेर्दै त कहिले आफ्नो अगाडि बसन्ती हिँडेको हेर्दै खुसिसाथ हिँड्दै थियो।

 

(क्रमश:)

   [ posted by Birkhe_Maila @ 02:04 PM ] | Viewed: 1743 times [ Feedback]


:

   
Blog Type:: Story
Wednesday, December 23, 2009 | [fix unicode]
 

नेप्चे निकै खुसि थियो, घाम चर्केँ छँदा उसको डोकोको आधा भन्दा बढि फर्सी बिकिसकेको थियो र गालेको डोको अझै लगभग भरिएको थियो। गाले टुलुटुलु बजारमा आवत जावत गर्ने मान्छेको अनुहार तिर हेरिरहेको थियो र ऊ तिर बढेर कसैले फर्सी किनिदिने आशमा थियो।

" तरकारी च्युरा खान्छस?"

नेप्चेले पटुकाबाट केहि गुजुमुजु परेका नोट निकाल्दै गाले तिर हेरेर भन्यो।

गालेले पुलुक्क नेप्चेलाई हेर्यो र बिस्तारै भन्यो-

"फर्सि बिक्या छइन, पइसो नि छइन क्यारि खानु, भोक त ला थो!"

नेप्चेले गालेको कुरा सुनेर अनुहारमा घमन्डको भाव ल्याउँदै भन्यो-

" हाम्रो बिको नि फर्सि, पइसो चाइँदइन म ख्वाउँछु तँलाई!"

गालेले झन लाटो अनुहार बनाउँदै नेप्चेतिर हेरेर दाँत देखायो र भन्यो-

कति भओ तेरो?

भयो नि गोडा तीन बिस चानचुन, एसो बोल्नु गफ गर्नु हाँस्नु अन्खेरुन पो भन्या दाम्मा फर्सि बिक्छ! चुपोss लाएर तेरा तरिकाले त डोकैमा कुइएर बस्छ, खाजा खान नि नपा'र भुँडि दोबारेर बस्छु पर्छ अनि!

नेप्चेले गालेको सोझोपनलाई हल्का होच्याउँदै आफ्नो सम्पूर्ण फर्सि बिकेको अभिमान प्रदर्शन गर्न थाल्यो; शायद उसको आफ्नो फर्सि बिकेकोमा भन्दा ऊ गाले भन्दा बाठो भएको कारणले फर्सि बिकेको सम्झेर बढि घमन्डमा थियो।

म पसलाँ ग'र तरकारी चिउरा किनेर ल्याउँछु!

नेप्चे गुजुमुजिएको पैसा संगाल्दै एकातिर लाग्यो।

गाले नेप्चेको तरिकाले प्रभावित देखिन्थ्यो। गालेले नेप्चेको कुरा बुझ्यो तर उसले देखाएको अभिमान बुझेन। उसले बस स्विकार गरेको थियो कि नेप्चेलाई बोल्न र फर्सि बेच्न उसलाई भन्दा धेssरै आउँछ।

भुइँमा बोरा ओछ्छ्याइएको थियो र बोरामै फर्सिले भरिएको डोको ढालेर राखिएको थियो। जसले गर्दा केहि फर्सि बोरामा थिए र डोकामा पनि थिए। गाले एउटा ढुङ्गामा बसेको थियो। बाटोमा मान्छेहरु कहिलेकाहिँ हिँड्थे, पुलुक्क फिँजाइएको फर्सीमा एकछिन हेर्थे र पुलुक्क गालेतिर एक उपेक्षित नजर दिँदै आफ्नो बाटो लाग्थे।

गालेले फर्सिको थुप्रोतिर नजर लग्यो।

हरिया छिर्बिरे गोलाकार ताजा र रसिला फर्सी थिए। गालेले एकटकले फर्सिहरु हेरिराख्यो। उसको पसिना, उसको सपना, उसको मिहिनत सबै यहि फर्सि थिए। कलिला फर्सिका डल्लाहरु उसलाई सुन्दर लागे। उसले बिस्तारै दाहिने हातले एउटा फर्सि छोयो र केहि बेर मुसार्यो। बुढि औँलाको नङ अलिकता गाड्यो र फर्सिमा घाउ बनायो। नङको आकार जस्तै गाढा हरियो देखियो त्यो भाग!

फर्सि त अनपारको छ! नेप्चेको छिप्पिसक्या फर्सि चाहिँ किन्छन् मान्छेहुर मेरो क्यार्न नकिन्या होलान्?

उसले सोच्यो र फेरि बाटोतिर कोहि आउने आशामा टुलुटुलु हेर्न थाल्यो।

रातो खास्टो टाउकाको पछाडि सम्म ओढेर फटाफट हिँड्दै एकजना युवती गालेको फर्सि हो या गालेलाई हेर्दै आउँदै गरेको गालेले देख्यो। उ सतर्क भयो र ढुङ्गामा तन्किएर बस्दै यता आउँदै गरेकी युवतीलाई हेर्न थाल्यो।

युवती वास्तवमा नै यतै आउँदै थिइन्। गालेको अगाडि आएर उनि टक्क उभिइन् र मुसुक्क गालेतिर हेरेर हाँसिन्। गाले वाल्ल पर्यो। उसले थाहा पाए देखि र ऊ जवान भए देखि कुनै पनि स्त्रीले उसलाई हेरेर मिठो हाँसो मुखमा ल्याएको उसलाई थाहा थिएन। फर्सि किन्न आउने स्त्रीहरु पनि रुखो स्वरमा फर्सीको भाउ सोध्थे, रिसाउँदै घटाउँदथे र फत्फताउँदै महंगो भयो भनेर पैसा गालेतिर हुर्याएर फर्सी लिएर जान्थे! उसले पल्याक पुलुक यताउता हेर्यो। वरिपरी कोहि थिएनन्। उसले फेरि युवतीतिर हेर्यो, उनि अझै गालेलाई हेरेर मुस्कुराउँदै थिइन्। गालेले युवतीलाई चिन्यो। सधैँ बजारमा केहि बेच्न आउँदा उसले खाजा खाने गरेको पसलेको छोरी बसन्ती थिइन्। चिनेपछि गाले झन वाल्ल पर्यो। खाजा किन्न पसलमा जाँदा उसले बसन्तीलाई देख्ने गर्दथ्यो र उसलाई देख्नासाथ गाले भित्रभित्रै केहि खुम्चिएको हुन्थ्यो। देख्नासाथ एकैपटक उसलाई आफू युवा भएको , गरिब भएको, सोझो भएको र व्यक्तित्वविहिन भएको थाहा हुन्थ्यो।

कुनबेला आयौ गालु तिमी फर्सि बेच्न?

बसन्तीको स्वर सुनेर गाले तिनछक पर्यो। उसले महशुस गरे सम्म कयौँ पटक बसन्तीको पसल गयो होला ऊ, तर बसन्तीले कुनै दिन पनि उसलाई देखेकि थिइनन् वा हेर्दिनथिइन् र अहिले बसन्ती ऊ भएको ठाउँमा आउनु र अझ मायालु पाराले 'गालु' भनेर सम्बोधन गर्नु उसको लागि कुनै चमत्कार जस्तो थियो। अझ बढि चमत्कार त उसको नाम बसन्तीलाई थाहा हुनु थियो। उसलाई हल्का लाज लागेको जस्तो भयो।

फ् फर्सि हउरभर्खरहइन ब्यान!

उसले जवाफ दिँदा उसलाई मुख सुखेको अनुभव भयो र उसको अस्पष्ट बोलि निस्कियो। बोल्दाखेरि उसको देब्रे हत्केलाले उसको नाक र मुख लगभग छोपेको थियो र दाहिने हात एउटा फर्सीमा थियो र शायद काम्दै थियो। शायद उको मुटु पनि जोडजोडले ढुकढुक गर्दै थियो।

आँखा झिमिक्क पनि नगरी ऊ बसन्तीलाई हेर्न थाल्यो।

बसन्तीले मायालु पाराले हँसिलो अनुहार लिएर गालेलाई हेरिन् र फेरि भनिन्-

कठैबरा ब्यान देखुन आ रेछ, भोक लाग्यो होला हई?

गाले अक्क न बक्क भयो। उसलाई के भन्ने उत्तर नै आएन। सबैकुरा नौलो भइराखेको थियो।

लाया छछइन….नेप्चेसाथि लिन गा छ तरकारि चिउरा!

गालेले बल्ल बल्ल उत्तर दियो।

बसन्तीले 'बिचरा को भावमा फेरि मुस्कान बिछाइन् र टुक्रुक्क अगाडि बसिन्। खास्टो भित्र लुकाइ राखेको हात निकालिन् र कागजले पोको पारेको केहि चिज झिकेर गालेको अगाडि राखिदिँदै भनिन्-

गालु, भोक लाया छ तिम्लाई मइँले दोटा फुल ल्याइद्या छ यो मजाले खाऊ, अन्खेरुन बिचरा फर्सी नि बिक्या रइन्छ, म एकछिनपछि आर तिम्रो फर्सि सपै किन्दिन्छु है?

गालेलाई मध्य निद्रामा सपनामा उड्दै कतै झर्दै गरेको अनुभव भयो।

गालेको बोलि घाँटिमा कतै अड्कियो, ऊ केहि बोल्न खोज्दै थियो बसन्ती कुखुराको फुलको पोका त्यहिँ राखेर जुरुक्क उठेर फटाफट हिँड्दै पसलतिर लागिन्।

परबाट नेप्चे एउटा प्लास्टिकको थैलामा कुनै तरकारीको पँहेको झोल र अर्को प्लास्टिकको थैलामा च्यूरा लिएर आउँदै थियो।

गालेको संसार अझै उड्दै थियो।

उसले बिस्तारै कागजको पोकातिर हात बढायो र पोको फुकाउन थाल्यो। भित्र दुईवटा उसिनेको कुखुराका फुल थिए। एकछिन किर्कर्तव्यविमूढ भावमा त्यसै वाल्ल परेर बस्यो र परतिर हेर्न थाल्यो। नेप्चे नजिक आउँदै थियो।

गालेले केहि सोच्यो र एउटा फुल छोडाउन थाल्यो। फुल छोडाएर हातमा लिँदै लगभग आधा फुल क्वाप्प मुखमा हाल्यो र सुख्खा घाँटिबाट किक्लिक्क गर्दै निल्न थाल्यो।

नेप्चे आइपुग्यो।

गालेले फुल खाएको देखेर नेप्चे अचम्ममा पर्यो। तरकारी च्युरा खाने पैसा समेत नभएको सोझो गाले, कपाकप उसिनेको कुखुराको फुल खाँदै थियो।

गालेलाई हेर्दै ढुङ्गामा बस्दै नेप्चेले सोध्यो-

काँटि ल्याइस बज्जे फुल?

गाले जवाफ दिन खोज्दै थियो तर मुखभरि फुल भएकोले केहिबेर फुल चपाउँदै ठुला ठुला आँखा पारेर नेप्चेतिर हेर्दै गर्यो र अन्त्यमा निकै सकसका साथ फुल घाँटिभित्र हुलेर भन्यो-

तो खाजा पसलाटि बसन्तीले ल्याइदेकि, म भोकाएँ भनेर रे!

गालेले अचम्ममा पर्दै उत्तर दियो।

नेप्चे सतर्क देखियो। त्यस्ती पोटिली, रसिली र राम्री बसन्तीले गाले जस्तो सोझोलाई भोक लाग्यो भनेर कुखुराको फुल ल्याइदिएको कुरा उसलाई पचाउन गाह्रो भयो तर उसलाई थाहा थियो गालेले झुटो कुरा गर्न जान्दैनथ्यो।

नेप्चेले बसन्तीलाई सम्झियो र पसलमा चिया खाजा खाँदा उसले लुकेर बसन्तीलाई चिहाएको सम्झियो। बसन्ती हिँड्दै पसलमा यताउता गरेको सम्झियो। त्यहि बसन्तीले गालेलाई भोक लाग्यो भनेर फुल ल्याइदिएकी रे! यो चानचुने कुरा थिएन।

नेप्चेको पेट पोल्यो।

खुर्खुरु आर तँलाई फुल ल्यार दि तेल्ले?

नेप्चेले सशंकित पाराले सोध्यो।

गालेले अर्को गाँसमा फुल सबै मुख भित्र हुल्यो र एकछिन चपाउँदै निलेर आश्चर्य र खुसि मिश्रित स्वरमा जवाफ दियो-

खुर्खुरु आर मलाई भोक लाग्यो होला भनेर फुल देर गइ, फर्सि नि सपै किन्दिने रे मेरो!

नेप्चेको पेट पोलाई झन तिव्र भयो। केहि बेर केहि सोच्यो। गालेलाई निकैबेर तलदेखि माथि सम्म हेर्यो र फेरि केहि सोच्यो, गालेलाई माया गरेर बसन्ति जस्तो राम्रि तरुनि केटिले कुखुराको फुल ल्याएर दिनु उसलाई लगभग असंभव लाग्यो।

यस्तो हेर्दै गोज्याङ्ग्रेलाई नि हेर्लि अब कोइ नपार तेस्ति अप्सरा जस्तिले!

नेप्चेले आफ्नो मन बुझायो।

भोको गाले चुपचाप अर्को फुल छोडाउनमा व्यस्त थियो।

नेप्चेले प्लास्टिकको थैलामा कुहिनु सम्म दाहिने हात छिरायो र मुट्ठी भरि च्यूरा लिएर हल्का टाउको ठाडो पारेर सबै चिउरा मुखमा हुलेर चपाउँदै च्यूराको थैला गालेतिर बढाउँदै फेरि सोध्यो-

हैन खुर्खुरु नै आर केइ नभनि तँलाई फुल देर सपै फर्सि किन्दिन्छु भनेर गइ रे?

गालेले फुल छोडाउन छाडेर नेप्चेले दिएको थैलाबाट एक मुठि च्यूरा निकाल्यो र फुल बेरेको कागजमा राख्दै भन्यो-

मेरो त नाउँ नि था रेछ तेल्लाई!

गालेले फेरि बाँकि फुल छोडाउन थाल्यो।

के रे?

नेप्चेको मुखबाट अबिश्वास निस्कियो। उसले च्यूरा चपाउन बिर्सियो।

तँलाई तेल्ले, गाले तँ भोकाइस फुल खा भनेर नै भनि तेल्ले?

नेप्चेले एकोहोरो गालेलाई हेर्दै सोध्यो।

तेइ त भन्या, गालु तिम्लाई भोक लागो होला भनेर फुल देर फर्सि किन्दिन्छु भनेर गइ भन्या!

गालेले दोश्रो फुलको पहिलो गाँस मुखमा हुल्दै बोल्यो।

नेप्चेलाई चपाइराखेको च्यूरा घाँटिमा कतै अड्किएको आभाष भयो। एक पटक नराम्रो संग खोक्यो र हत्त पत्त तरकारीको थैलिको मुखमा मुख राखेर थैलि घोप्ट्याएर मुखभरि तरकारि हालेर निल्यो। निकैबेर केहि सोच्दै गालेले कुपुकुपु फुल खाएको हेर्न थाल्यो। नेप्चेको पेट पोलाई अझै तिव्र भएर आयो।

कसरि था पा होलि मेरो नाउँ है?

गालेले फुलको अन्तिम गाँस निल्दै नेप्चेतिर हेरेर भन्यो।

नेप्चेले गालेलाई नियालेर हेर्यो। उसलाई यस पटक गाले त्यति हेर्न नहुने लागेन।

राम्रो त राम्रै हो बज्जे!

मनमनै भन्दै केहि सोच्दै तन्किएर बसेर प्रत्यक्षत: नेप्चेले हँसिलो हुँदै गालेको उत्तर दिँदै भन्यो-

तेरो नाउँ त मइँले सधैँ तेसको पसलमा भन्छु नि मेरो सइँ भनेर!

गालेले तुरन्तै विश्वास गर्यो र अनुग्रहित भएको पाराले नेप्चे तिर हेर्यो र भन्यो-

तइँले भन्या रेछस र पो मेरो नाउँ था पा रेछे त!

नेप्चेले सहमतिमा टाउको हल्लायो र घोरिएर सोच्न थाल्यो।

उसले बेला बेलामा खाजा खान जाँदा बसन्तीलाई हेर्ने गरेको सम्झियो।

बिछट्ट राम्रि छे छन नि!

बसन्तिलाई सम्झँदै मनमनै भन्यो।

गाले तिर हेर्यो। उसको पेट फेरि पोल्न थाल्यो।

निकै बेर केहि सोच्यो र जुरुक्क उठेर गालेलाई हेर्दै भन्यो-

च्या खान मन लाओ मलाई म च्या खार अलिब्यारमा आम्छु है?

गालेले पुलुक्क नेप्चेलाई हेर्यो र सहमतिमा टाउको हल्लायो। (क्रमश:)

   [ posted by Birkhe_Maila @ 02:00 PM ] | Viewed: 1565 times [ Feedback]


:

   
Blog Type:: Story
Tuesday, December 22, 2009 | [fix unicode]
 

"शबुssss!!! ए शबुss!!!, कति सुतिरन्छे यो केटि??? उठ् छिटो, भैँसि करा कराएइ छ एक गाग्रि पानी ले'रा झट्टै!!"

मुखिनी बजैको कर्कश ध्वनी घरभरि गुञ्जियो।

शबुका आँखा एकछिन अघि नै खुलिसकेका थिए, बाहिरका कल्याङ मल्याङ खलबलहरुले। भैँसि कराइराखेको थियो, चराहरु चिरबिर गर्दै थिए र मुखिनि बजैको अशुद्ध कृष्ण भजनको गुनगुन चल्दै थियो र यि सबैकुराहरुले शबुको सपना अघि नै बिथोलेर उनलाई निद्रादेवीको काखबाट खोसिसकेका थिए। अघि नै झलमल्ल घाम लागिसकेको थियो। ओछ्यानमा नै पल्टेर टुलुटुलु माथि दलिन हेर्दै कहिले दाहिने खुट्टा तन्काएर बायाँ खुट्टा माथि राख्दै, कहिले बायाँ खुट्टा दायाँ खुट्टा माथि खप्ट्याउँदै बिहानीको अनुभव गर्दै थिइन्।

मुखिनि बजैको आवाज सुनेर एक पटक दुवैहात टाउको माथि पुर्याइन र हाई गर्दै सम्पूर्ण जिऊ तन्काईन्। जिऊ तन्काउँदा उनको कम्मर भन्दा माथि च्यापु सम्मको भाग धनुष्टङ्कार आकृतीमा ओछ्यानबाट अलिकता माथि बाङ्गिए। एकपलको लागि उनको दृष्टी आफ्नै बाङ्गिएको शरीरमा पर्यो र शायद अलिकता आफैँ संग लजाइन्।

उठिसकेँ आमाsss!”

उनले जिऊ तन्काई सकेपछि भनिन् र एक पटक फेरि बायाँ कोल्टे परेर ओढ्नेलाई दुवैहातले गुजुमुजु पारेर छातिमा च्यापिन र कम्मर अलिकता बङ्ग्याएर ढाड तन्काइन्। उनको बान्की परेको शरीर बिहानी अल्छिपना देखाउँदा अतुलनिय रूपमा सुन्दर देखिन्थे। कोठा, ओछ्यान, ओढ्ने , कोठाका दलिनहरु, वरिपरि छरिएका लुगाहरु, धमिराले खाएका खाटका खुट्टाहरु र यावत चिजहरु जुन कोठामा थिए, एकपलको लागि निकै कुरुप देखिए उनको सुन्दरताको अगाडि!

उनि फेरि उत्तानो परिन् र तत्कालै दुवै हातले छातिसम्म आएको ओढ्ने समातिन र तल कम्मर सम्म हुत्तत्याइन्। दुवै खुट्टा अलिकता उचालिन् र खुट्टाले बाँकि ओढ्नेलाई पर हुत्तत्याइन्। खुट्टा उचाल्दा उनले लाएको लामो गोलिगाँठा सम्म छोप्ने झम्फर घुँडाबाट माथि सरेछन्। उनले हत्तपत्त झम्फरलाई तल सम्म सारिन् र जुरुक्क खाटबाट उठिन्।

उनले झ्याल पुरै खोलिन् र बाहिर हेर्न थालिन्।

घमाइलो दिन  थियो र लाग्दथ्यो रातिको झरि थामिए पछि वातावरणमा जीवन भरिएको छ!

बाहिरको उज्यालो उनको मुहारमा छाउँदा, हल्का चियाको रंगको उनको दागबिहिन मुहार कुनै ज्योती झैँ चम्किएका थिए। रातभरिको निद्राले उनले राति बाँधेको केशरासी अलिकता फुस्केका र अलिकता अड्केका थिए। कपाल फुकाइन, एक पटक च्यापु अलिकता उचालेर दुबै हातले सम्पूर्ण कपाल समातेर पछाडिपट्टि लगिन् र मुजा बनाएर बाँधिन्।

 

शबुssss!!”

मुखिनी बजैको आवाज फेरि गुन्जियो!

हजूर…..आमा म निस्केँ बाइर!!

जवाफ दिँदै हतार हतार बाहिर निस्किइन्।

मुखिनी बजै बाहिर आँगनमा कसौँडीमा खरानि मुछेर लगाउँदै थिइन्, पुलुक्क छोरीलाई तल देखि माथि सम्म हेरिन् र भनिन्-

कति सुत्न सक्छेस?? छिटो जा पँधेरा गएर एक गाग्री पानी लेर आ, कुँडो पकाम्नु परो!

हस्!

यति भन्दै शबु आँगनको एक छेऊमा राखिएको खालि गाग्रि तिर बढिन्।

मुखिनी बजैका नजर एकछिन छोरीको हिँडाई तिर गयो।

शबुले गाग्री उचालिन् र कम्मरमा राखिन् र हिँड्न थालिन्।

मुखिनि बजै अझै छोरीतिर हेर्दै थिइन्।

ओइ पख् त!

मुखिनी बजैले छोरीलाई हेर्दै भनिन्।

शबु कम्मरमा गाग्री बोकेरै मुखिनि बजैलाई प्रश्नवाचक दृष्टीले निर्दोश आँखाले हेर्दै टक्क उभिइन्।

तँलाई न्वाउन नि पर्ला नि, लुगा लइस?

मुखिनी बजैले अझै एकटकले हेर्दै सोधिन्।

तेइ लिन जानला भित्र!

शबुले जवाफ दिइन्।

केइ होश छइन यो केटिलाई, गाग्रि क्यार्न बोक्न परो र अइलेई, पइला भित्राटी न्वाउने लुगा फाटा लेरा!

मुखिनि बजैको कुरा सुनेर शबुले ओठमा झिनो मुस्कान ल्याइन् र केहि सम्झे जस्तो गरेर गाग्रि भुइँमा राखिन् र भित्र गइन्।

त्यो मेरो खास्टो ओढेर जा पँधेरा, जइले नि हिँड्ने बेलाँ खास्टो ओढ् भनो कइलेइ लाग्दैन एल्लाई!

मुखिनी बजैले छोरी भित्र छिरेको हेर्दै स्वर अलिकता बढाएर भनिन् र कसौँडिलाई घोप्ट्याएर डेक्चीमा खरानी लाउन थालिन्।

लुगाको पोको बोकेर खास्टो ले छाती छोपेर शबु बाहिर निस्किइन् र गाग्रि उचाल्न थालिन्।

मुखिनी बजैले छोरीलाई हेरिन्, उनको मुहारमा अघिभन्दा केहि सन्तुष्टी देखिन्थ्यो। उनि शबु पँधेरा तिर गएको हेरिरहिन्!

 

शबु हिँड्दै थिइन्।

उनलाई आमाले खास्टो ओढ् भनेर सम्झाएकोमा रिस पनि उठेको थिएन तर राम्रो पनि लागेको थिएन। केहि समय देखि उनलाई मुखिनि बजैको व्यवहार अनौठो लाग्न थालेको थियो। बिना कारण उनिसंग झर्किन्थिन् र उनले गर्ने प्रत्येक कुराहरुमा 'यसो गर् उसो गर् भन्दै सम्झाउँथिन्।

आमाको व्यवहारसंग मात्र हैन, शबुलाई धेरै कुराहरुमा रिस उठ्न थालेको थियो! पँधेरामा आउने आइमाईहरुले उनलाई टाढाबाट हेर्दै गिज्याएको जस्तो लाग्थ्यो। कतै हिँड्दा आइमाईहरुले उनलाई हेरेर उनको बारेमा केहि बोलिरहेको जस्तो लाग्थ्यो र उनि पुग्दा सबै चुप लाग्थे।

उनि मनमा कुरा खेलाउँदै मुख नमिठो बनाउँदै हिँड्दै थिइन्।

बिगत केहि समयदेखि उनलाई सबै गाउँलेहरु नै परिवर्तन भए जस्तै लाग्दथ्यो। पहिला उनिसंग सबै हँसिलो भएर कुरा गर्दथे र सबैले माया गरेको जस्तो लाग्थ्यो। आजभोलि उनलाई सबैले रिस गरे जस्तो लाग्न थालेको थियो। पहिला हाँसेर मिठो बोल्ने केटाहरु र बुढाहरु उनलाई खाउँला जस्तो गरेर हेर्न थालेका थिए।

उनलाई आचम्म लाग्द्थ्यो।

सबै भन्दा अप्ठ्यारो र गाह्रो अनुभव उनलाई पँधेरा जान लाग्दथ्यो।

पँधेरामा आइमाईहरुले गरेको कुरा उनलाई पटक्कै मन पर्दैनथ्यो। सबै जान्ने हुन्थे मुखिनी बजै जस्तै!

नुहाउन खोज्दा यसरि र उसरी भनेर सिकाउन थाल्दथे मानौँ उनले कहिले पनि नुहाउन जानेकी थिइनन्। यस्ता कुरा सुन्दा उनलाई नुहाउन गाह्रो लाग्द्थ्यो र उनि सकेसम्म आफ्नो शरीर छोपेर नुहाउँथिन्।

कोइ नआउने ठाममा पँधेरा भ कति राम्रो हुँदो हो!!

मुहारमा हल्का रिस ल्याउँदै उनले मनमनै आफ्नो इच्छा व्यक्त गरिन् आफैँसंग।

उनलाई फेरि रिस उठ्यो।

बाइफाले बुडिहरु!!! तिनेरु भन्दा त जत्ति भने नि मिलार न्वाउँछु म! तिनका ज्यानाटि न्वाउँदा लुगा फुस्को भनेर डाढ गर्या होलान् नि!

उनी जवाफ त मजैले दिन्थिन आइमाईहरुलाई, तर कुरा हुँदै जाँदा उनलाई बोल्न नै लाज र गाह्रो हुने स्थितीमा आउँथ्यो र उनि चुप लाग्थिन्।

उनि हिँड्दै थिइन्।

पर पँधेरा देखियो।

दुईजना आइमाईहरु थिए।

आज आएनछ!!

उनले मनमनै पँधेरातिर हेर्दै भनिन्।

उनि अलि ढुक्क देखिइन्।

लाज नभा लबस्तरो! जइले नि क्वार्क्वार्ति हेरेर मर्छ!

उनको मुहारमा फेरि रिसका रेखाहरु देखिए। यसपटकको रिस अघि पँधेराका आइमाईहरु सम्झेर उठेको भन्दा अलि बढि थियो।

किन आउन पर्या हो नि दिपे असत्तिलाई जइले नि मइँले न्वाउन लाग्या बेलाँ!

उनलाई नुहाऊने बेलामा प्राय: दीप पँधेरामा आएर क्वार्क्वार्ती हेरेको याद आयो र रिस उठ्यो।

आइमाइले न्वाको नि हेर्न पर्नि बज्जेलाई!

उनको रिस बढ्दै थियो।

उनलाई राम्रै संग थाहा थियो, जहिले पनि दीप, उनी आउने समय पारेर पँधेरामा आउँथ्यो र एकोहोरो उनले गाग्रि भरेको, नुहाएको, लुगा फेरेको हेर्दथ्यो। उनी दीप संग नजर मिलाउन सक्दैनथिइन; शायद केहि लाज र केहि डर थियो! तर उनलाई रिस सधैँ उठ्दथ्यो। उनलाई उकुसमुकुस हुन्थ्यो र नुहाउँदा उनि केवल हात र खुट्टा मात्र राम्रो संग मिचेर नुहाउन सक्दथीन्।

आज आएनछ!, आनन्दै हुनि भो!

उनि अझ ढुक्क देखिइन र अघिको मुहारमा छाएको रिसका रेखाहरु हराउँदै थिए।

उनि पँधेरा नजिक पुगिन्।

पँधेराबाट दुवैजना आइमाईहरु गाग्रि बोक्दै बाटो लागेको देखिन्।

लौ हिँडे बाइफालेहरु! म मात्रइ एक्लै हुने भइँ आज त!

उनि पँधेरा पुगिन्। लुगाको पोका पँधेराको डिलमा राखिन् र गाग्री धारो निर भुइँमा।

उनि हल्का खुसि देखिन्थिन; शायद पँधेरामा एक्लै भएर होला।

अचानक उनि आत्तिए जस्तो देखिइन्।

मइँले एक्लै न्वाइरा बेलाँ दिपे बज्जे आयो भने क्यार्ने होला!!!

उनि हल्का डराइन्।

ओढेको खास्टो निकालिन् र एकपटक आफ्नो अगाडिको शरीर हेरिन्।

लुगाको पोको फुकाइन र एउटा रातो पेटिकोट निकालिन्। यता उता हेरिन्। कोहि थिएन।

पेटिकोटलाई टाउका बाट जिऊमा छिराइन र घाँटि मुनि लगेर बाँधिन्।

फेरि यता उता हेरिन्।

निकै कुशलता पूर्वक पेटिकोटलाई अडिग राखेर टुक्रुक्क बसेर भित्र बाट हात छिराउँदै चोलो फुकालिन्, चोलोलाई तन्केर लुगाको पोकोतिर फालिन् र उभिइन्। आज उनले नुहाएको हेर्ने कोहि थिएन!

उनि ढुक्क थिइन।

अलिकता झुकेर लगाइराखेको झम्फर फुकालिन् र त्यसलाई पनि लुगाको पोकोमा लगेर मिसाइन्।

दायाँ बायाँ हेरिन्। कोहि थिएनन्।

कपाल पखाल्ने मनशायले धारोतिर बढिन्।

आज आएन आनन्दै भयो!

मनमनै दीप नआएकोमा खुसि भइन्।

धारामा दुवै हत्केला राखिन्। चिसो पानीको धारले उनको हत्केरा भिजायो! उनलाई मिठो अनुभव भयो।

त्यत्तिकै मुसुक्क हाँसिन् र दायाँ हत्केलाले आफ्नै जिऊमा अलिकता पानि छ्यापिन् र खुलेर हाँसिन्।

तर किन नआ होला आज?

उनले आफैँलाई दीप नआएकोमा फेरि प्रश्न गरिन्। उनि हल्का अधैर्य देखिन्थिन्।

ss झन आनन्द त्यो बज्जे नआए त!

उनि हत्केलामै धारो थाप्दै सोच्दै थिइन्।

कपाल पखाल्ने बिचार गर्दै हल्का झुकेर अगाडि बढिन्।

फेरि कुन्नि के सोचेर दायाँ बायाँ हेर्न थालिन्।

माथि बाटोबाट दीप पँधेरातिर झर्दै थियो।

उनि झसंग भइन्। उनको मुहारमा एकैसाथ रिस र रोमांच भरियो। उनलाई जिऊमा पानी खन्याऊनु पूर्व नै जाडो लाग्न थालिसकेको थियो।

 

(क्रमश:)

   [ posted by Birkhe_Maila @ 04:23 PM ] | Viewed: 1908 times [ Feedback]


:

   
Blog Type:: Story
Tuesday, December 22, 2009 | [fix unicode]
 

दीप हिँडेपछि खेल त्यत्तिकै रोकियो। एक त कोरम पुगेन अर्को ठूल्दाईको खल्ति रित्तियो। जित्नेमा लहरे पर्यो, सुन्तलेलाई जस्ताको तस्तै भयो।

"तीन रुप्पे भाडा त बाँकि नै छ के रे नि! खेल सक्केर त के भो त भाडा त पाम्न परो!"

कैले साहुले तासको भाडा जसरि भए पनि उठाउनु पर्ने कुरा गर्यो।

ह्या तेसै अर्काको लुटेर खानि बानि छैन हाम्रो, ल हामि तिन जना छम एकएक रुप्पे तिम्लाई दिन्छौ कैले साउ!

सुन्तलेले एक रुपियाँको नोट कैले साहु तिर फाल्दै भन्यो र जुरुक्क उठ्यो।

लहरेले भुइँमा छरिएका गुजुमुज्ज परेका नोटहरु संगाल्दै गन्यो र एक रुपियाँ केहि नबोलि कैले साहुलाई दिएर पैसा खल्तिमा हाल्यो र ऊ पनि उभियो।

कैले साहुले ठूल्दाईलाई हेर्न थाल्यो।

ठूल्दाई अलिकता अक्क न बक्क परे जस्तो भए र केहि बोल्न खोज्दै थिए त्यत्तिकैमा कैले साहु बोल्यो-

अब पइसो त सक्को के रे ठूल्दाई तपाइँको, हेरि तो एक रुप्पे भाडा नि उधारोमा जोडम् के रे!

ठूल्दाईले बाध्यताबस दाँत देखाए।

लहरेले बाहिर हेर्यो र मरिमरि हाँस्न थाल्यो।

ओइ सुन्तले भागिहालम् यताबाड नत्र ठूल्दाईलाई लाग्ने झटारो हाम्लाई नि पर्छ!

सुन्तलेले पनि बाहिर चिहायो।

परबाट नेप्चि हातमा कुचो लिएर छिटो छिटो हिँड्दै यतै आउँदै थिइन्।

ठूल्दाईले कान ठाडो बनाए। सुन्तले र लहरे झन जोडले हाँस्न थाले। कैले साहु मुसुमुसु मुस्कुरायो।

लौ साउ तेलको भाँडो र मास कता छ छिटो पाम जाहान आइन जस्तो छ बित्याँस परो!

ठूल्दाईले हतार गर्दै जुरुक्क उभिए र कैलेसाहु तिर हेरेर भने।

कैले साहुले मुस्कुराउँदै तेल र मास ठूल्दाईतिर बढायो र भन्यो-

हिसाप त सम्जनुहुन्छ होला नि ठूल्दाई हैन? भन्या मात्रै हो बिर्सन त क्यारि बिर्सनु नि हाम्रो ठूल्दाईले!

कैले साहुले दाँत देखाउँदै बोलेको ठूल्दाईलाई नमिठो लाग्यो। उनले कैले साहुको हातबाट तेल र मासको पोको लिए र हतारिएर बाहिर तिर बढे।

नेप्चि नजिकै आइपुगेकि रहिछिन्, सुन्तले र लहरे नेप्चिलाई गिज्याउन थाले।

भाउजु ठूल्दाईले तास खेल्नुभा हैन है हैन!

लहरेले सुन्तलेतिर हेर्दै हाँसेर भन्यो।

ठुल्दाईले सपै पइसा हार्नुभा पनि हइन है हइन!

सुन्तलेले झन थप्यो।

तेरिमा अल्लारे भातमाराहरु, हाम्रा खसमलाई बिआरेर पैसो धुतेर झन मइँलाई गिज्याम्दोरेछउ….तिमेरुलाई त नि….!”

भन्दै नेप्चि हातमा कुचो उचाल्दै दौडँदै पसलतिर आइन्।

सुन्तले र लहरे एकातिर दौडेर गिज्याउँदै भाग्न थाले।

नेप्चेले टाढैबाट कुचोको झटारो हानिन् तर लागेन, उनको स्वास बढ्यो उनि स्वाँ स्वाँ गर्न थालिन्। उनिहरु दौडँदै टाढा पुगे।

ठुल्दाई एउटा हातमा तेलको सिसि र अर्को हातमा मासको पोको लिएर डराउँदै बाहिर निस्किए।

आफ्नो अगाडि स्वाँ स्वाँ गरेर ठूला ठूला आँखाले आफूलाई हेरिरहेकी नेप्चिको रणचन्डि जस्तो रुप देखेर ठूल्दाई डराए र काला दाँत देखाउँदै हाँसेर भने-

म जानै ला थेँ घर, तैँ एता आइछेस् अरु नि केइ किन्नु पर्ने सम्जिस कि?

नेप्चि जुन रिस र आवेगमा घरबाट हिँडेकि थिइन, शायद थकाइले हो वा समय बितेकोले हो उनको रिस निकै घटिसकेछ। उनि क्वार्क्वार्ति ठूल्दाईलाई हेर्न थालिन् र भनिन-

के ताला हो यो? मान्छे हौ तिमि कि पशु हौ? मलाई मारेर छोड्ने भयौ है तिमिले?

भन्दा भन्दा नेप्चिको स्वर भारि भएर गयो र रुन थालिन्।

ठुल्दाई अगाडि बढे र सामान हातमा लिइ लिइ नेप्चिको दुवै कुम समात्न खोज्दै भने-

मइले तास खेल्या थिइन भन्या हेर्या मात्रै हो!

नछुनोस मलाई!

नेप्चिले कुम बाट हात हटाउँदै अलि पर सरेर भनिन्।

अज ढाँट्न लाज लाग्दैन तपाइँलाई?

कैले साहु पनि बाहिर आएर बुढा-बुढिको कलह चाख मानेर हेर्दै थियो। कैले साहुले नेप्चि ठुल्दाईले छुँदा पर सरेर रिसाएको देख्यो र फिस्स हाँसेर एक पटक छाति भित्रको खकार बल गरेर मुखमा ल्याउँदै हात बाँधेर भित्तामा अडेस लाग्यो।

ठूल्दाइ एकछिन वाल्ल परेर फेरि अगाडि बढे र यसपटक नेप्चिको कुममा बलियो संग दुवैहात राख्ने कोशिस गरे। यसपटक नेप्चिले जन जोडले जिऊ झट्कारिन् र कराइन-

नछुनोस भन्या मलाई!

जोडले झट्कार्दा ठूल्दाईले दाहिने हातले समातिराखेको मासको पोको भुइँमा खस्यो, दुवैले चाल पाएनन्।

कैले साहु खकार चपाउँदै रमिता हेर्दै थियो।

नेप्चि जिऊ झड्कारेर पर सरेपछि ठूल्दाईले कैले साहु तिर हेरे र दुबैहात दायाँ बायाँ फिँजाएर हत्केला आकाशतिर तेर्साउँदै के गर्नु' को भाव देखाए।

कैले साहुले एक दुई पटक खकार चपायो र खकार निल्दै भन्यो-

हैन भाउजु गाइको मासु खानु ठुल्दाईले खेल्या छैनन्, हेर्या मात्रै हुन्!

नेप्चिले कैले साहुलाई विस्तारित नेत्रले हेरिन् तर केहि बोलिनन्। फेरि ठुल्दाई तिर हेरिन् र भनिन्-

म मरेसि तपइँलाई हाइ सन्चो हुन्छ, मलाई मार्नै खोज्नुभा हो तपाइँले, तपाइँका घरमा म एक बस्तिन दुइ बस्तिन तीन बस्तिन!

यति भन्दै नेप्चि फटाफट आएको बाटो फर्कन थालिन्।

ठूल्दाईले कैले साहु तिर हेरे र मुन्टो हल्लाएर आफू जान बाध्य भएको इशारा गरे।

लौ ठूल्दाई हिसाप नबिर्सनुहोला के रे!

भन्दै कैले साहुले फेरि एक पटक पैसा सम्झाएर ठूल्दाईलाई बिदा दियो।

ठूल्दाई सहमतिमा टाउको हल्लाएर नेप्चिको पछि पछि लागे र ठूल्दाईका हातले अनायाशै इस्टकोटको खल्ति छाम्न पुगे शायद बुढालाई चुरोटको तलतल लाग्दै थियो।

कैले साहुले ठूल्दाई पर पुगेपछि भुइँमा खसेको मासको पोको लियो र मुखको खकारको अर्को गुजुल्टो झिक्दै पसल भित्र पस्यो।

 

ठुल्दाई फटाफट हिँड्दै थिए तर पनि नेप्चिलाई भेट्टाउन बुढालाई गाह्रो भैराखेको थियो। चुरोटको तलतल अब घर गएर पाइने मुखको झटारोको कल्पनाले उहिले नै हराइसकेको थियो। अचानक केहि भिजेको जस्तो र केहि चिसो अनुभव भयो बुढालाई सुरुवालमा तिघ्रा निर। एकछिन टक्क अडिएर बुढाले सुरुवाल हेरे। बुढा एक पटक आत्तिए। बल्ल बल्ल सबै पैसा हारेपछि उधारो ल्याएको तेलको बिर्को उनले थाहा नपाइकन कतिबेला खुलेर झरेछ र नेप्चिलाई हेरेर पछि पछि लगभग दौडँदा आजको भुटुनले बुढाको सुरुवाल भिजाएछ!

सुरुवाल भिजेको पिर भन्दा पनि बुढालाई उधारो तेल चुहिएर सकिएको पिर बढि पर्यो।

धन्न मास चाहिँ पोको भएर चुहिन पाएन!

ठुल्दाईको मनमा मास सुरक्षित भएको कुरा आउना साथ ठुल्दाई झस्किए।

बुढाको अर्को हात खालि थियो!

तेलले तिघ्रामा अप्ठ्यारो बनाउँदै थियो, चुरोटको तलतलले छाति चिलाउँदै थियो, मासको पोको कता कहिले खस्यो केहि याद थिएन, नेप्चि संसारभरिको रिस र पिर मनमा लिएर अगाडि हिँड्दै थिइन र अब फकाउनु पर्ने कर्तव्य एकातिर थियो, र पैसा चोरिएको पनि थाहा भएको भए फकाउँदा आफूलाई नै निकै पटक तुच्छ साबित गर्नु पर्ने साहस पनि चाहिन्थ्यो जुन उनलाई धेरै गाह्रो लाग्दथ्यो।

ठुल्दाईको टाउको घुम्यो।

फर्केर बाटोमा कतै खसेको मास खोज्न जान मन लाग्यो ठुल्दाईलाई तर नेप्चि निकै अघि अघि थिइन र अब फर्केमा राम्रो हुने थिएन् ठूल्दाई अप्ठ्यारोमा परे, नेप्चिको चित्त ठिक हुन धेरै समय लाग्ने अब पक्का थियो।

अचानक ठुल्दाईले अगाडि नेप्चि हिँड्दाखेरि केहि लड्खडाइको देखे। उनि दौडिएर नेप्चिलाई भेट्टाए। उनि नेप्चि नजिक पुग्दा नेप्चि उभिन नसकेर भुइँमा बसिसकेकि थिइन्।

ठूल्दाईले उनको मुहार हेरे। नेप्चिको अनुहार पँहेलो र शिथील देखिन्थ्यो।

के भो रिंगाटा लाग्यो?

ठूल्दाईले हत्तपत्त सोधे।

नेप्चिले सहमतिमा टाउको हल्लाइन र टाउकोमा दाहिने हात राख्दै भनिन्-

टाउको दुख्यो असाद्दे! मलाई पिरले रोगि बनायौ बुडा तिमिले!

यति भन्दै नेप्चि रुन थालिन्।

ल ल नरो उठ् बिस्तारै घर जाम ठिक हुन्छ म मिर्सिको काँडा पकाइदिन्छु!

ठूल्दाईले नेप्चिको पाखुरा समातेर उठाउने कोशिस गर्दै भने।

नेप्चि उठ्न खोजिन् तर उनलाई धेरै गाह्रो भयो।

उनले थकित अनुहार लिएर अझै थकित् स्वरमा सासले बोलिन्-

म सक्तिनsss एकछिन बस्छु यहिँ!

ठूल्दाईले नेप्चिको मुहार हेरे, उनि निश्चित रुपमा बिरामी देखिन्थिन्।

 

(क्रमश:)

   [ posted by Birkhe_Maila @ 04:21 PM ] | Viewed: 1599 times [ Feedback]


:

   
Blog Type:: Story
Tuesday, December 22, 2009 | [fix unicode]
 

कुखुरा नकराइदिए हुन्थ्यो भन्दैथियो कुम्ले, तर कुखुरा कराएको करायै थियो। धन्न बाटोमा कोहि हिँडेका थिएनन्! कुम्लेले लाएको कमिज उलाई टाइट लाग्न थाल्यो। भुँडितिर कमिज भित्र भाले अटाउँदैनथ्यो, र काखिमा च्याप्न गाह्रो भैराखेको थियो।

कुम्लेले ककुखुराको मुख काखिले च्याप्प चाप्थ्यो र एकछिन हिँड्ना साथ भालेको मुख फुत्किन्थ्यो र भाले कराउँदथ्यो। एक पटक त भालेको चुच्चोले कुम्लेको काखि घोच्दा ऊ भुतुक्कै भएको थियो। एक त भाले कराएपछि कुम्ले कसैले सुनेको त छैन भन्दै यताउता हेर्न बाध्य हुन्थ्यो, अर्को खैनिको तलतलले च्यापेको भाले फालेर भए पनि एक चिम्टि खैनि खाउँ खाउँ लाग्दै थियो उसलाई!

ऊ छिटो छिटो हिँड्दै थियो, र जति सक्दो चाँडो घर पुग्न चाहन्थ्यो। बाटोमा डाँडामा तेर्सो परेर गएको थियो र घुमाउरो थियो। एउटा मोडमा पुगेपछि कुम्लेले मान्छेहरु बोलेको सुन्यो र सतर्क भयो।

बिस्तारै मोडमा पुग्यो र लुकेर हेर्यो।

पर चौतारीमा गाले र नेप्चे भारि बिसाएर बसिराखेका थिए। नेपे बुढा दुईजना संग केहि बोल्दै थिए। नेपे बुढा चौतारीमा बोलेको पनि कुम्लेलाई पोहोर तल्लो गाउँमा पुराण सुन्या जस्तो लाग्दै थियो।

कुम्लेलाई फसाद पर्यो। बाटो चौतारी हुँदै नै जान्थ्यो र चौतारीमा नेपे बुढा थिए। कुम्लेले भाले चोरेको नेपे बुढाले थाहा पाउनु भनेको बिस्तारै सम्पूर्ण गाउँलेले थाहा पाउनु थियो। फेरि कोहि यहि बाटो हिँडिदिन पनि सक्छन्।

" बुढालाई कहिँ नपाएर चौतारीमा गफ दिनु पर्या असत्ति पुरेत्!"

कुम्लेले मनमनै नेपे बुढालाई गालि गर्यो। भाले च्यापि च्यापि टुक्रुक्क बस्यो। खैनिको तलतल नाइटै देखि उमडिएर लाग्दै थियो उसलाई। एक हातले भाले च्यापेर अर्को हातले भालेको मुख समात्दै कुम्ले कुरेर बस्न थाल्यो।

चौतारीबाट गुनगुनको आवाज आउन बन्द भयो।

कुम्लेले उभिएर आफ्नो जिउ मोडमा छेक्दै टाउको तन्काएर हेर्यो।

गाले र नेप्चे डोको बोकेर ओरालो झर्दै थिए।

कुम्लेको सास आयो। केहि बेर त्यत्तिकै तन्केर हेरिरह्यो। गाले र नेप्चे निकै तल पुगे।

कुम्लेले नेपे बुढाले सुरुवाल फुकाल्न लागेको देख्यो।

बेजेति बुडा, अब चौतारीमै टुक्रुक्क बस्ने होलान्!

कुम्लेलाई नेपे बुढाले सुरुवाल खोलेकोमा रिस उठ्यो। उसको बिचारमा बुढाले चौतारीलाई नै शौचालय बनाउने छन् र अझ केहि बेर त्यहिँ बिताउने छन्। जुन उसको लागि फाइदाको कुरा थिएन। यहि बिच कोहि आउन सक्थ्यो र उसले गरेको कान्ड थाहा पाउन सक्थ्यो। कुम्ले छट्पटाए जस्तो देखियो।

अचानक कुम्लेको मुहारमा खुसिका रेखाहरु देखिन थाले।

उसले नेपे बुढाले सुरुवाल र झोला एकातिर राखेर झाडितिर लागेको देख्यो।

एइ बेला फुत्केर चौतारी काट्न पर्छ, अनि त घर पुइहालियो नि!

बुढा झाडिमा हराउनासाथ मनमनै बोल्दै कुम्ले भाले काखिमा च्यापेर चौतारीतिर हुत्तियो।

कुम्ले चौतारि पुग्यो। बुढा झाडिभित्र कतै लुकेका थिए।

कुम्लेलाइ जति सक्दो चाँडो चौतारिबाट टाढा पुग्न मन लाग्यो। फटाफट हिँड्न थाल्यो।

अचानक भालेको मुख कुम्लेको काखिबाट फुत्कियो।

क् क् क्वाँक्ss!”

भाले कराइदियो।

कुम्लेले हत्त न पत्त भालेको मुख समात्यो र तत्कालै झाडि पछाडिबाट नेपे बुढाको स्वर सुन्यो।

असत्ति गाम्लेहरु पालेसि त घरैमा राख्नु नि तिनका मासुलाई, मजाले बाइर बस्न समेत दिँदैनन्!

कुम्ले एकछिन जड भएर उभिइराख्यो। दौडन मन भैरहेको थियो तर भालेको आवाज सुनेका नेपे बुढा दौडिएको आवाजमा झन सतर्क भएर उठ्न बेर थिएन र उठेमा कुम्लेको बिजोग निश्चित थियो।

निकै बेर सम्म बुढा निस्केनन्। कुम्ले ढुक्क भयो र जान तयार देखियो।

अचानक केहि सोच्यो र चौतारी तिरै आयो। उसलाई भालेको मुख बन्द गर्ने उपाय सुझ्यो।

बिस्तारै बायाँ काखिमा भाले च्यापेर दायाँ हातले भालेको मुख समात्दै नेपे बुढाले फुकालेर राखेको सुरुवाल नजिक आयो र बेआवाज कुखुरा च्यापेको काखिपट्टि बाट नै सुरुवाल पनि च्याप्यो र लतार्दै सतर्क भएर हिँड्न थाल्यो। बेला बेलामा झाडितिर हेर्दै बिस्तारै कुम्ले तल्लो मोडमा पुग्यो र छेकियो।

भालेको मुख सुरुवालले बाँधेपछि कुम्ले ढुक्क देखिन्थ्यो!!

 

(क्रमश:)

   [ posted by Birkhe_Maila @ 04:14 PM ] | Viewed: 1622 times [ Feedback]


:

   
Blog Type:: Story
Tuesday, December 22, 2009 | [fix unicode]
 

सुकिलो सेतो लबेदा र सुरुवाल अनि दायाँ पट्टि कन्चटनिर फाटेको भए पनि सफा ढाकाटोपी लगाएर नेपे बुढा काँधमा एउटा पँहेलो तर पुरानो देखिने झोला बोकेर जजमानी गर्न तल गाउँतिर ओरालो झर्दै थिए! उनको निधारमा मिहिनेतसाथ लाइएको स्पश्ट पँहेलो टिका देख्न सकिन्थ्यो र पँहेलो टिकाको तल सानो रातो टिका पनि थियो। उनको मुखबाट कुनै श्लोकको अशुद्ध हरफहरु निस्कँदै थिए-

" ….दुर्गाक्षमा शिबरात्री स्वासोदा नमोस्तुते…"

बर्खा लागे देखि नै नेपे बुढालाई दुई कुराले सताएको थियो। एक त झरि परेर हो वा गाउँमा वैदिक कर्म कम भएर र चाडबाड त्यति नपरेर हो, गर्मि याम देखि नै उनको जजमानी पेशा स्वाटसुट्टै घटेको थियो। अर्को झरि पर्यो कि प्राय जसो उनको घुँडाले धर्म छाडिदिन्थ्यो र पाइला सार्नै नहुने बनाउँदथ्यो। तर अब भदौ लाग्न धेरै बाँकि थिएन र नागपन्चमि देखि चाडबाडको ओइरो लाग्ने सम्झेर बुढा अलिकता आशावादी थिए।

पोर त बिस रुप्पे दाममा पारेर मरे! चामलमा नि सपै पानी पोख्खेर बरबाद भा' थो, एसपालि कति देलान कुन्नि?

मनमनै बोल्दै नेपे बुढाले आजको सराद्देको संभावित उपलब्धिबारे बिचार गर्न थाले।

माइलो अरपाट फर्क्या छ क्यार, अलि दख्खिना बढाउलान् कि त?

बुढा फेरि आशावादी बने।

बुढा ओरालो झर्दै थिए। दुवैपट्टि मकैबारि थियो र दुबै कान्लाका डिलमा मकै संगै बर्खे बोडि लगाइएको थियो। बुढाले हरिया कलिला बोडिका त्यान्द्रा देखेर एकछिन अडिएर दुई त्यान्द्रा बोडि चुँडे र खान थाले।

गज्जपको मिठो भइसकेछ!

बोडि चपाउँदै बुढा फेरि ओरालो झर्न थाले।

बुढा फेरि अडिए र एउटा झारको त्यान्द्रो चुँडे। दाँतले त्यान्द्रोको टुक्रा बनाए र बायाँ काँधमा झोला भिर्दै दायाँ हातले दाँतमा अड्केको बोडि कोट्ट्याउँदै 'फुउउगर्दै थुक्न थाले।

बुढा चौतारीमा पुग्दा दाँत कोट्ट्याएर सकिसकेका थिए।

सकेसम्म छिटो पुग्न मन त थियो बुढालाई तर घुँडा दुख्छ कि भनेर एकछिन चौतारीमा बिश्राम गर्ने निधो गरे, र धुलो टक्टक्याउँदै थ्याच्च बसेर सुस्केरा हाले। सुस्केरा हाले लगत्तै भने-

हरिशरणम!

बिश्राम गर्दा गर्दै बुढा फेरि कुनै श्लोक गुनगुनाउन थाले-

काकोचेश्टा बको ध्यानम, स्वान निद्रा गृहत्याग!

कुन्नि के सम्झेर बुढाले झोला खोले र भित्रबाट कर्मकान्डको पुस्तक, र भाँचिएर धागो बेरेको चश्मा निकाले। चश्मा लगाए पुस्तक हेर्दै नबुझिने स्वरमा लय मिलाएर एकछिन बर्बराउन थाले।

केहि मान्छे बोलेको जस्तो सुनेर बुढाले मुन्टो उठाए र नाकमै झर्न लागेको चश्माको माथिबाट पुलुक्क आवाजको दिशातिर हेरे।

बाजे नमस्कार!

गाले र नेप्चेले फर्सिले भरिएको डोको चौतारीमा बिसाउँदै एकैपटक बुढालाई नमस्ते गरे।

बुढा बोलेनन् र अपरिचीतलाई जसरि गाले र नेप्चेलाई नियालेर हेर्न थाले। फेरि तुरन्तै चिनेछन कि के हो मुसुक्क हाँसेर नमस्ते फर्काएर भने-

कता लायौ ठिटा हो? फर्सि बेच्न हिँडेऊ?

हो बाजे, खोलो नि घटो होला, फर्सि टिप्या ३ दिन भइसको तेसइ कुइएर जाला जस्तो भो, पारी बजारमा बेच्न जान ला!

नेप्चेले गह्रुङ्गो फर्सिको भारिले निम्त्याएको निधारको पसिना मैलो फाटेको ढाकाटोपीले पुछ्दै भन्यो र अलि सजिलोसंग बस्यो।

कति पारेऊ यो बर्ख फर्सि?

बुढाले उत्सुकता देखाए!

खै हाम्राँ त चिचिलाटै कुइएर गो धेरजसो, नेउचेकाँ चाइँ पर्या हो पर्या कुरो गर्दा!

गालेले पुलुक्क नेप्चेलाई हेर्दै फेरि बुढातिर फर्केर जवाफ दियो।

बाजे कता लाउन लाउनुभाहो कुन्नि?

नेप्चेले बुढालाई हेर्दै सोध्यो।

बुढाले दाहिले खुट्टा तन्काएर एक पटक सिधा बनाए, र अल्छि मानेको जस्तो गरेर भने-

तल गोताएँका सराद्दे छ भनेर बोला छन्, आफ्नो भ्याइनभ्याइ छ। काइँलो पुरेतलाई भन् भन्दा नि हइन गुरु हउरै आम्नु पर्च भनेर भने करै गरेर, तेइ भर जान ला!

गालेले सहमतीमा मुन्टो हल्लाएको जस्तो गरेर आफ्नो सोझो बानिको परिचय दियो। वास्तवमा उसले बुढाले भनेको कुरा यति मात्र बुझ्यो कि बुढा गोतामेकहाँ श्राद्धको लागि जाँदैछन्।

अनि बेल्का फर्कँदा उकालो उक्लिन सउनुहुन्छ त बाजे? फेरि सिदा दख्खिनाको पोको नि हुन्च बेल्का?

नेप्चेले सरसर्ति बुढालाई टाउको देखि खुट्टा सम्म हेर्दै प्रश्न गर्यो।

बुढाले नेप्चेलाई पुलुक्क हेरे र मुहारमा घमन्ड फिँजाउँदै भन्न थाले-

हेर् नेप्चे, सिदा दख्खिना लिन त छाडिसकियो कुरो अर्ने हो भन्देखुन। अब केलाई चाइयो र सिदा दख्खिना तइँ भन् त?

गालेले फेरि उसको दिमागमा कुरा घुसेको जसरि मुन्टो हल्लायो। नेप्चेले पनि बुढा संग सहमतिमा हल्का मुन्टो हल्लाउँदै भन्यो-

तेइ त बाजे, बाजे र बजै दुइजानालाई तेत्रो सम्पत्ति छ जाबो सिदा किन चाइनु!

बुढाको मुहारमा गर्वको हल्का लालि छायो।

कुरा सुन, नेप्चे गाले, हेरि यो जजमानि त म नभइ नहुने भर गर्या मात्रै हो, अब पइले देखिका चिनेजानेका मुन्छे, लौ गुरु हउर नै आम्नु पर्च भनेसि दया नि त गर्नु परो, कि कसो तइँ भन् त?

गालेले यसपटक पनि बुढाको कुरा बुझेको सहमतीमा मुन्टो हल्लायो।

नेप्चे उत्सुकताका साथ बुढालाई हेर्न थाल्यो।

बुढा ससर्किएर बोले-

दया हो पृथ्वीको अति चहकिलो पारसमणीभनेर भन्या छन लेउनाथ पउडेलले। दया गरनइ परो नि हो कि हैन तइँ भन् त?

हो बाजे हो गर्न पर्छ दयामया त। तो सिलोक त हामि के बुझ्थेम र तइ नि दया गर्न पर्छ भन्ने लाउछ बाजे हाम्लाई नि!

नेप्चेले गालेतिर सहमति खोज्दै हेर्यो।

गालेले गम्भिर मुद्रा बनाएर सहमतिमा फेरि टाउको हल्लायो।

बुढा आफ्नो कुरा सुन्ने मान्छे पाएर जोशिए।

त्रेतायुगमा सिरिकिस्नले पनि दया गरेर सारथि बनेका थिए! तेसइ सारथि भा हैनन भगवान किस्न!

बुढा सुरु भएको देखेर नेप्चेले पुलुक्क गालेलाई हेर्यो। गाले वाल्ल पर्यो।

बुढा फेरि चश्मा तह लाउँदै बोल्न मुख बाएको देखेर नेप्चेले हतार हतार भन्यो-

लौ बाजे, एकछिन थकइ मारम भनेर बस्या हुम के रे हामेरु, अब लाग्नु परो, नत्र रात पर्दा नि फर्सि डोकोको डोकोमै हुन्च, क्यार्नु!

लौ त नि, अब के भन्नु मइँले जाओ बेचेर आओ!

बुढाले लेग्रो तान्दै जवाफ दिए।

नेप्चे तुरन्तै उठ्यो, डोको बोक्न लाग्यो र गालेलाई डोको धकेल्दिने इशारा गर्यो। गालेले डोको धकेल्दियो। नेप्चे बुढालाई नमस्ते भनेर ओरालो तिर लाग्यो। गालेले सकिनसकि आफ्नो डोको उचाल्यो र बुढालाई दुइ हात जोडेर नमस्ते गर्यो र नेप्चेको पछि पछि ओरालो झर्यो।

 

बुढा एक्लै परे। कर्मकान्डको पुस्तक र चश्मा झोलाभित्र हुले। एकछिन केहि सोचे र पेट समाते। बुढालाई पेट काटेको अनुभव भयो। यता उता हेरे, र पिपलबोट पछाडि कान्ला तिरको झाडिमा बुढाको आँखा अडियो। केहि सोचेर बुढाले फेरि यता उता हेरे र सुरुवाल फुकाले। भित्र धर्का धर्का भएको लामो कट्टु लाएका थिए, लगभग घुँडा सम्म आउने। बुढाले सुरुवाल पट्टयाएर झोला संगै पिपलको बोटको फेदमा राखे र पेट समाउँदै पछाडि झाडिभित्र हराए!

 (क्रमश:)

   [ posted by Birkhe_Maila @ 04:12 PM ] | Viewed: 1867 times [ Feedback]


: