Your very own sajha blog!  

Other Blogs by Gautam B.
जब लुकीलुकी चियाउँछ रंगीन शरद
एउटा सुन्दर यात्रा
घाम ओर्लिएको छ सडकमा
मानबहादुर कतै पनि परेन!!
जापान बसाईका केहि कुराहरु
घुम्दै-फिर्दै फेरि नेपाली लोकगीत
कुरुप वर्तमान
'यहोवा'ले हैरान पारे!!
Japan-Some Random Thoughts-I
तीन पुराना कथाहरु
कथा- "कुँडो"
शहरकी बत्ती



Guild by Type
Articles
Poems
Stories
Essays
Humor
Movie/Book Reviews
     कथा- "कुँडो"
Blogger: Gautam B., December 08, 2006
    

“कुँडो”


“ए----! ढिलो पो भईसकेछ!” घडी हेरेर ओमे गुन्गुनायो र झोला बोकेर दौडियो। सबैलाई थाहा भएको नियमित साप्ताहिक घटना भएकोले ल्याबका जापानी केटाहरुले खासै ध्यान दिएनन्। असाध्यै भोक लागे पनि पाउरोटी टोक्ने फूर्सद पनि पाएन उसले। ‘तीन मिनेट पनि बाँकी छैन, ढिला पुगिएला जस्तो छ, आज रिसाउनी भ’ साला खप्परे!’ स्वाँ-स्वाँ र फ्वाँ-फ्वाँ गर्दै उ पुस्तकालयमा पुग्दा अरु सबै भेला भईसकेका रहेछन् तर उ पनि खप्परेले ध्यानै दिने गरी ढिलो भने पुगेन, ठीकै भो।

हुनत आज शुक्रबार हो, सप्ताहन्तको साँझ रमाईलो गर्नुपर्ने हो तर यो सेमेष्टर ओमेको सप्ताहन्त छैन भने पनि हुन्छ। उसले डेढ वर्ष पहिलेनै निवेदन हालेको थियो पुस्तकालयमा काम गर्नको लागि, तर अहिले आएर मात्रै मिलेको थियो हप्ताको एक दिन, शुक्रबारको लागि, दिउँसो चारबाट बेलुका नौ बजेसम्मको। भेटेको काम छोड्ने कुरो भएन, ‘बरु शनिबार-आईतबारको बाइतो अलिक कम गर्नुपर्ला।‘ भन्ने सोचेर पुस्तकालयको काम शुरु गरेको थियो उसले।

पुस्तकालयको कर्मचारी खप्परे (खास नाम त माचीमुरा हो क्या रे!) पुस्तकालयमा पार्ट-टाइम काम गर्ने विद्यार्थीहरुको सुपरभाइजर थियो। खप्परेले सबैलाई काम बाँडफाँड गरिदियो। ओमे दोश्रो तल्लातिर लाग्यो, फिर्ता आएका किताबहरुले भरिएको ट्रली गुडाऊँदै। किताब आफ्नै सूरले बिस्तारै मिलाएर उ पहिलो तल्लामा फर्किँदा झण्डै छ बजिसकेको थियो। अब दुई घण्टा यहिँ थियो उस्को पालो। किताब इस्यू गर्ने काउण्टरमा बस्यो उ। किताब फिर्ता लिने पट्टि एउटा जापानी केटो थियो। अघिल्ला हप्ताहरुमा देखेको थिएन ओमेले उस्लाई। अरु कुनै दिनको होला, कसैसंग काम साटेको होला आजको लागि।

एक घण्टा जति पछि अलिक होलो भयो। जापानी केटाले उतिर हेरेर टाउको झुकायो, ओमेले पनि प्रत्युत्तरमा टाउको झुकायो। ओमे नेपाली हो भन्ने थाहा रहेछ त्यसलाई। केटोको नाम आओकी रे। एकछिन आ-आफ्नो पढाईको कुरो भयो।

“कहाँ बस्छौ तिमी?” आओकीले सोध्यो।
“नजिकै छ, हिँडेर जाँदा पनि दश मिनेटमात्रै लाग्छ।“
“अनि खाना के गर्छौ नि? आफैं बनाउँछौ?” एक छिन पछि फेरि कुरो उप्कायो आओकीले।
“विहान त यतै कलेजतिरै खान्छु, तर बेलुका भने आफैं बनाउँछु।“ नियमित प्रश्नको नियमित उत्तर दियो ओमेले। एकछिन आफैँ पकाएर खाँदा सस्तो पर्ने कुरा, नजिकका सुपरमार्केटहरुमा सामानको भाउको कुरा, आदि अरु नियमित कुराहरु भए।
“तिम्ले बना’को नेपाली खाना खुब मिठो हुन्छ होला है!?” जापानीले फेरि कुरा शुरु ग-यो।
“अँ---, मिठ-मिठै हुन्छ।“ ओमेले जवाफ दियो अक्मकिएर। ओमेलाई खाना बनाउन खासै आऊँदैन, साँच्ची भन्ने हो भने उसले पकाउन जानेको भनेको कुँडो मात्रै हो। ओमेहरुको भाषामा यो कुँडो भनेको गाईवस्तुलाई खुवाउने कुँडो नभएर उनीहरुले पकाउने झोल हालेको तरकारी हो। प्याज, डीप फ्रीजको कुखुराको मासु र आलु भुटेर त्यसमा मसला-नून-अदुवा-लसुन-गोलभेंडा र चाहिनेजति पानी राखेर छड्काएपछि साधारण कुँडो तयार हुन्छ। थप्न मन लागे पालुंगोको दुई-चार पात अथवा ब्रोकाउली-काउलीका दुई-चार टुक्रा थपेपनि भो। ओमेहरुको जमातमा कुँडो लोकप्रिय छ, किनभने दाल र तरकारी एकै खेपमा तयार हुन्छ।

भोक लागेको बेलामा कुँडो सम्झिनाले ओमेको भोक दुईगुना भयो। कतिखेर काम सकिएला र कोठामा पुगेर कुँडो बनाएर खाउँला भनेर थुक निल्न थाल्यो उ। तर काम सकिन अझै एक घण्टा भन्दा बढी बाँकी थियो। बटारिएका आन्द्रा र कुँडो सम्झेर रसाएको मुखलाई सहेर नौ बजेसम्म बस्नुको विकल्प थिएन उसंग।

आठ बजेपछि तेश्रो तल्लाको काउण्टरमा बस्ने पालो प-यो उस्को। तेश्रो तल्ला अँग्रेजी पुस्तक-पत्रिकाहरुको तल्ला भएकोले दिउँसो पनि खासै भिड हुँदैनथ्यो, अहिले साँझमा त कोहि पनि थिएन। विशाल हलको ओल्लो छेउ देखि पल्लो छेउसम्मको सूनसानले उस्को भोक र कुँडोको चाहना लाई अझ बढायो। इण्टरनेटमा बसेर समय बिताउन सकिन्छ कि भनेर पनि कोशिश ग-यो उसले, तर इण्टरनेटमा झन झर्को लाग्यो उस्लाई यतिखेर। कम्प्यूटरबाट उठेर पानी खायो र हललाई एक छेउ देखि अर्को छेउ सम्म नाप्न थाल्यो।

‘कुँडो अलि धेरैनै पकाउँछु आज।‘ उ टहल्दै, गम्दै थियो। ‘गोलभेंडा त छ, पालुंगो छैन कि, पालुंगो रैनछ भने मसिनो च्याउ छ, आज कुँडोमा च्याउ पनि हाल्दिन्छु। जाँदाखेरि दुई-तीन क्यान बियर पनि लानुपर्छ कि क्या हो! फिट्टू भ’र भोलि बिहान दश बजेसम्म सुत्छु अनि।------ तर बियर लिन त दश मिनेट नहिँडी हुन्न नजिकको कन्बिनिसम्म पुग्न, के गर्नी होला---? ----‘

बल्ल-बल्ल नौ बज्यो। यताउता गरेर पुस्तकालयबाट उ निस्कँदा सवा नौ भईसकेको थियो। कन्बिनी पुगेर बियरको एउटा सानो केसनै किन्यो उसले, पछिलाई पनि हुन्छ भनेर। कोठामा आईपुग्दा दश बजिसकेको थियो।

ढोकाबाट पस्नासाथ भान्छा थियो उसको। भान्छा भन्दा उता सुत्ने कोठा। यो सुत्ने कोठामा एउटा टेबुल थियो, त्यो टेबुलको कारणले गर्दा यो कोठा खाने कोठा पनि भएको थियो। उ भान्छाको बत्ती पनि नबाली फ्रीजमाथिको एउटा प्लाष्टिकको बट्टा टिपेर सोझै कोठातिर लाग्यो। टेबुलमाथि एउटा पत्रिकाको टुक्रो ओछ्यायो र बट्टाको दालमोठ-चिउरा स्वार्र्—पारेर खनायो, आधा माना जति। अनि एक फाँको दालमोठ-चिउरा मुखमा हालेर बियरको एउटा क्यान खोल्यो र लगभग एक तिहाई जति घुट्क्यायो। यति ईन्धन हालिसकेपछि उ कुँडो पकाउन कस्सिएर शर्टको बाहुला सार्दै भान्छातिर लाग्यो।

“थुक्क----! धत्तेरिका स्-----स्साला!” भान्छाको बत्ती बल्नु र उ कराउनु एकैचोटि जस्तो भयो। वाश-वेसीनमा टन्न जूठा भाँडाहरु थिए। बल्ल याद आयो उस्लाई, यी भाँडाहरु सोमबार रातिदेखिकै हुन्। मंगलवार एउटा काम परेर वानागो गएको थियो र फर्किँदा रेलमै बेन्तो किनेर खाएको थियो। अस्ति राती कप-रामेन खाएको थियो र ल्याबमै सुतेको थियो। हिजो चन्द्रेको कोठामा सुतेर आज त्यतैबाट कलेज गएको थियो।
-------------------

ओमेले यो सप्ताहान्त पनि चाउचाउ-अण्डाले मनायो।

*******************************************************

यो कथामा प्रयोग गरिएका जापानी शब्दहरु:

बाइतो: पार्ट-टाईम काम
बेन्तो: लञ्च बक्स
कन्बिनि: convenience store को प्रचलित जापानी लोकबोली
वानागो: काल्पनिक शहर
कप-रामेन: डिष्पोजेवल कपमा हुने तयारी चाउचाउ (त्यहि कपमा तातो पानी हालेर चाउचाउ खाए हुने, बनाउने छुट्टै भाँडो नचाहिने)


Viewed: 2559 times.
COMMENTS:
Date: December 18, 2006
Name: nepalean
Comments: कप रयामेन र ल्याब त मेरो पनि साथी थिए । यो कुडो चाही मिस भारैछ । सारै मिठोहोला जस्तो पो छ गाठे, मुखै रसायो ।

Date: December 11, 2006
Name: Amazing
Location: Amazing
Comments: hah hahahah hahahah hahah haha ha ha ha ha

Date: December 11, 2006
Name: vata-ta-ta
Comments: रमाइलो लाग्यो कथा।

Date: December 11, 2006
Name: Pretty
Comments: कुँडो त साचै मीठो हुन्छ जस्तो छ, म नि बनाउनु पर्ला। रमाइलो भयो गौतम दाई कथा पढ्न।

Date: December 10, 2006
Name: Tyra
Comments: खप्परे! हा हा हा कति राम्रो नाम राखिदिएको ओ मे ले,सुपरवाइजर् को, हो मलाइ नि सारै मजा आउछ त्यस्तो काम् गर्ने ठाम् मा आफुलाइ मन् नपर्ने बोस् हरु को निकनेम राखेर हास्न। अनि बिचरा अल्छि ओ मे को दिनचर्या च्वुsss च्वुsss अन्त्य मा, सधै झै तपाइ को रमाइलो कथा इन्जोय गरे। PS:त्यो कुडो को पुरै रेसिपि पाम न ,सुन्दा खुब् मिठो होला जस्तो छ नि गौतम् जि :D

Date: December 10, 2006
Name: gaalab
Comments: आफूले त अन्डाले विकेन्ड नकटा' नि निकै भो। बेसिन पनि सफ्फ्फ्फ्फ्फा छ है! :D आजभोलि त "कुँडो" नै पकाइन्छ। अहिले नि पाक्दैछ। :) ल अरु जाओस्!

Date: December 10, 2006
Name: hetterika!!
Comments: कुँडो, चाउचाउ-अण्डा, दालमोठ चिउरा, वाशबेसिनमा टन्न भाँडा, मेरै कथा लेख्या जस्तो पो लाग्छ । गोतामे ज्यू, अति नै घत पर्‍यो।

Date: December 09, 2006
Name: मर्यान्च्यासे
Comments: ओमे मात्र होइन, मैले पनि भर्खरै चाउचाउ र अन्डाले पेटपूजा गरेको । कुडो त बेलुकी मात्रै पाक्छ । विदेशिएका नेपाली विद्यार्थीको कस्तो राम्रो चित्रण । अरु पनि जाओस, गुरु ।

Date: December 09, 2006
Name: Birkhe_Maila
Comments: हा हा हा आफूले पनि हिजो एक प्रकारले कुँडो नै बजाईयो! र मेरो वासबेसिनमा पनि हिजो बेलुकि सम्म टन्न भाँडाहरु थिए, शुक्रार साँझ फुर्सत पाएर धोएँ बल्ल। बिद्ध्यार्थी जीवन, गजब छ! :)

Date: December 09, 2006
Name: shirish
Comments: Good portrait of a student life. We want more!

Date: December 09, 2006
Name: urfrenrites
Location: Thailand
Comments: I also had dalmoth and chiura sometimes in my room. Kasto mitho lagcha!!! kasailai man pardaina bhane malai pathaidiye huncha. kya swadilo and Jhurum Jhurum

Date: December 09, 2006
Name: world_map
Comments: गोतामे ज्यू, विदेशमा पढ्ने आम नेपाली विद्यार्थीहरूको वास्तविक चित्रण। रमाइलो लाग्यो कथा।

Date: December 09, 2006
Name: gwanche
Comments: हाहाहा राम्रो प्रस्तुती गौतम जी, कहिलेकाही त मेरो पनि ओमेको जस्तै हो हालत! मलाई लाग्छ ओमे र मेरो मात्रै हैन घर छोडेर आइसके पछि सबै विद्यार्थीहरुको more or less त्यही नै त हो नि दिनचर्या । अझै अरु पनि जावोस्!

Date: December 09, 2006
Name: Birke
Location: Middle-East
Comments: It's a real story...I am sure. Because I have had such experience. Looking forward to reading such stories more...Gautam B pls keep on writing.

Date: December 09, 2006
Name: Yahoooooo
Comments: हे हे गोताए काजि आफ्नो पनि कुँडोमै जिन्दगि जाला जस्तो छ कुँडो सब्दको प्रयोग चाइ सारै मन पर्यो

Date: December 09, 2006
Name: Yahoooooo
Comments: :)

Date: December 09, 2006
Name: कुम्ले
Location: चौतारी
Comments: हा हा हा प्रभु! बिजोग भे'छ नि ओमेको! चाउचाउले नि बिताउनु पर्छ दिनहरु कहिले काही बिदेशमा---- ओमेलाई चाउचाउ खानु तर हरेस नखानु भन्नु होला।-----कथाको लागी धन्यवाद! :-)

Date: December 08, 2006
Name: miss_ me
Comments: :)

Date: December 08, 2006
Name: miss_ me

 

 

Leave Comments on this blog (Needs to be Approved by blog owner)
Your Name:
Email: [will not be published]
Location:
Comments:
Please log into sajha to be able to comment!
+++++ A Presentation of Sajha.com - Bringing Together Nepali Communities +++++