कुखुरा नकराइदिए हुन्थ्यो भन्दैथियो कुम्ले, तर कुखुरा कराएको करायै थियो। धन्न बाटोमा कोहि हिँडेका थिएनन्! कुम्लेले लाएको कमिज उलाई टाइट लाग्न थाल्यो। भुँडितिर कमिज भित्र भाले अटाउँदैनथ्यो, र काखिमा च्याप्न गाह्रो भैराखेको थियो।
कुम्लेले ककुखुराको मुख काखिले च्याप्प चाप्थ्यो र एकछिन हिँड्ना साथ भालेको मुख फुत्किन्थ्यो र भाले कराउँदथ्यो। एक पटक त भालेको चुच्चोले कुम्लेको काखि घोच्दा ऊ भुतुक्कै भएको थियो। एक त भाले कराएपछि कुम्ले कसैले सुनेको त छैन भन्दै यताउता हेर्न बाध्य हुन्थ्यो, अर्को खैनिको तलतलले च्यापेको भाले फालेर भए पनि एक चिम्टि खैनि खाउँ खाउँ लाग्दै थियो उसलाई!
ऊ छिटो छिटो हिँड्दै थियो, र जति सक्दो चाँडो घर पुग्न चाहन्थ्यो। बाटोमा डाँडामा तेर्सो परेर गएको थियो र घुमाउरो थियो। एउटा मोडमा पुगेपछि कुम्लेले मान्छेहरु बोलेको सुन्यो र सतर्क भयो।
बिस्तारै मोडमा पुग्यो र लुकेर हेर्यो।
पर चौतारीमा गाले र नेप्चे भारि बिसाएर बसिराखेका थिए। नेपे बुढा दुईजना संग केहि बोल्दै थिए। नेपे बुढा चौतारीमा बोलेको पनि कुम्लेलाई पोहोर तल्लो गाउँमा पुराण सुन्या जस्तो लाग्दै थियो।
कुम्लेलाई फसाद पर्यो। बाटो चौतारी हुँदै नै जान्थ्यो र चौतारीमा नेपे बुढा थिए। कुम्लेले भाले चोरेको नेपे बुढाले थाहा पाउनु भनेको बिस्तारै सम्पूर्ण गाउँलेले थाहा पाउनु थियो। फेरि कोहि यहि बाटो हिँडिदिन पनि सक्छन्।
" बुढालाई कहिँ नपाएर चौतारीमा गफ दिनु पर्या असत्ति पुरेत्!"
कुम्लेले मनमनै नेपे बुढालाई गालि गर्यो। भाले च्यापि च्यापि टुक्रुक्क बस्यो। खैनिको तलतल नाइटै देखि उमडिएर लाग्दै थियो उसलाई। एक हातले भाले च्यापेर अर्को हातले भालेको मुख समात्दै कुम्ले कुरेर बस्न थाल्यो।
चौतारीबाट गुनगुनको आवाज आउन बन्द भयो।
कुम्लेले उभिएर आफ्नो जिउ मोडमा छेक्दै टाउको तन्काएर हेर्यो।
गाले र नेप्चे डोको बोकेर ओरालो झर्दै थिए।
कुम्लेको सास आयो। केहि बेर त्यत्तिकै तन्केर हेरिरह्यो। गाले र नेप्चे निकै तल पुगे।
कुम्लेले नेपे बुढाले सुरुवाल फुकाल्न लागेको देख्यो।
“बेजेति बुडा, अब चौतारीमै टुक्रुक्क बस्ने होलान्!”
कुम्लेलाई नेपे बुढाले सुरुवाल खोलेकोमा रिस उठ्यो। उसको बिचारमा बुढाले चौतारीलाई नै शौचालय बनाउने छन् र अझ केहि बेर त्यहिँ बिताउने छन्। जुन उसको लागि फाइदाको कुरा थिएन। यहि बिच कोहि आउन सक्थ्यो र उसले गरेको कान्ड थाहा पाउन सक्थ्यो। कुम्ले छट्पटाए जस्तो देखियो।
अचानक कुम्लेको मुहारमा खुसिका रेखाहरु देखिन थाले।
उसले नेपे बुढाले सुरुवाल र झोला एकातिर राखेर झाडितिर लागेको देख्यो।
“ एइ बेला फुत्केर चौतारी काट्न पर्छ, अनि त घर पुइहालियो नि!”
बुढा झाडिमा हराउनासाथ मनमनै बोल्दै कुम्ले भाले काखिमा च्यापेर चौतारीतिर हुत्तियो।
कुम्ले चौतारि पुग्यो। बुढा झाडिभित्र कतै लुकेका थिए।
कुम्लेलाइ जति सक्दो चाँडो चौतारिबाट टाढा पुग्न मन लाग्यो। फटाफट हिँड्न थाल्यो।
अचानक भालेको मुख कुम्लेको काखिबाट फुत्कियो।
“क् क् क्वाँक्ss!”
भाले कराइदियो।
कुम्लेले हत्त न पत्त भालेको मुख समात्यो र तत्कालै झाडि पछाडिबाट नेपे बुढाको स्वर सुन्यो।
“ असत्ति गाम्लेहरु पालेसि त घरैमा राख्नु नि तिनका मासुलाई, मजाले बाइर बस्न समेत दिँदैनन्!”
कुम्ले एकछिन जड भएर उभिइराख्यो। दौडन मन भैरहेको थियो तर भालेको आवाज सुनेका नेपे बुढा दौडिएको आवाजमा झन सतर्क भएर उठ्न बेर थिएन र उठेमा कुम्लेको बिजोग निश्चित थियो।
निकै बेर सम्म बुढा निस्केनन्। कुम्ले ढुक्क भयो र जान तयार देखियो।
अचानक केहि सोच्यो र चौतारी तिरै आयो। उसलाई भालेको मुख बन्द गर्ने उपाय सुझ्यो।
बिस्तारै बायाँ काखिमा भाले च्यापेर दायाँ हातले भालेको मुख समात्दै नेपे बुढाले फुकालेर राखेको सुरुवाल नजिक आयो र बेआवाज कुखुरा च्यापेको काखिपट्टि बाट नै सुरुवाल पनि च्याप्यो र लतार्दै सतर्क भएर हिँड्न थाल्यो। बेला बेलामा झाडितिर हेर्दै बिस्तारै कुम्ले तल्लो मोडमा पुग्यो र छेकियो।
भालेको मुख सुरुवालले बाँधेपछि कुम्ले ढुक्क देखिन्थ्यो!!
(क्रमश:)