बुद्ध त इतिहास भईसकेछ ।
आदर्श मात्र बाँकि रहेछ ।
व्यवहारमा भने होइन रहेछ ।
दर्शन मात्र हुन पुगेछ ।
यथार्थता देखि टाढा भागेछ ।
गह्रा गह्रामा जब हली दाइ
लौरो लगाउछन् शान्ति गोरूलाई
आलहरूमा अशान्तिको बिऊ छर्न ।
शरदको बिहानमा हस्याङ फस्याङ गर्दै
भदगाउँले दाइ खर्पन बोकि कुम दुखाउछन्
अशान्ति सब्जि बेच्न् ।
बसन्तको आगमन सँगै
खैरा साहेबको पछि शेर्पा दाइ
नयाँ किर्तीमानको लागि हिमाल चढ्छन्
अशान्तिको बिगुल फुक्न ।
मलाई किन किन यस्तै लाग्छ ।
जहाँ तहि अशान्ति नै पाउँछु ।
दिनानुदिन,
अशान्ति छरिएकै छ ।
अशान्ति बेचिएकै छ ।
नाबालक रूदा अशान्ति देख्छु ।
बृद्द खोक्दा भयभित हुन्छु ।
प्रत्येक असारको दबदबे हिलोमा
यसरी अशान्तिको रोपाई गर्दा
प्रत्येक असोजको खुला मौसममा
अराजकताको फसल उब्जने पो हो कि, डर लाग्छ ।
प्रत्येक अशान्ति खर्पनको दुखाईले
बजार भरीभराउ हुदा
प्रत्येक घरको स्थिरतामा
अस्थिरताको त्रास बढ्ने पो हो कि, डर लाग्छ ।
प्रत्येक किर्तीमानको
लालचले उकालो लाग्दा
तापले हिमाल पखालिएर
अस्थिपञ्जर हुने पो हो कि, डर लाग्छ ।
किन किन यस्तै शंखा हुन्छ ।
प्रत्येक शान्तिमा
अशान्तिले धावा बोलेझै लाग्छ ।
२०५०।०१।०५ © 2008, P. Gurung