:: Blog Home       :: Gautam B. ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: RECENT BLOGGERS
::
:: ARCHIVES
:: March 2024
:: February 2024
:: January 2024
:: December 2023
:: November 2023
:: October 2023
:: September 2023
:: August 2023
:: July 2023
:: June 2023
:: May 2023
:: April 2023
:: March 2023
:: February 2023
:: January 2023
:: December 2022
:: November 2022
:: October 2022
:: September 2022
:: August 2022
:: July 2022
:: June 2022
:: May 2022
:: April 2022
:: March 2022
:: February 2022
:: January 2022
:: powered by

Sajha.com

:: designed by
:

   
Blog Type:: Poem
Sunday, September 28, 2008 | [fix unicode]
 

लाग्छ हरपल तिमीले-
काँध कोट्याएर बोलाइरहेजस्तो
पछाडिबाट सुटुक्क-
आँखा छोपेर झुक्याएजस्तो
जब लुकीलुकी चियाउँछ रंगीन शरद
दोबाटोमा अलिक छेलिएर-
तिमी मलाई कुरिरहेजस्तो
र हरेक घुम्तीमा म मोडिँदा-
तिमी मेरो छातीमा ठोक्किएजस्तो
जब लुकीलुकी चियाउँछ रंगीन शरद
हेर, मभित्र बगेको तिम्रो याद
झन् झन् गाढा भईरहेको
जब लुकीलुकी चियाउँछ रंगीन शरद
ए मेरो देश!
हेर, तिम्रो मिहिन स्पर्शले मात्तिएको म
तिमीसंगको मेरो प्रेमकथा
निष्फिक्री, वेपर्बाह
यी घुम्ती-घुम्तीलाई सुनाइरहेको
घुम्ती कुरेर बसेका
यी बस्ती-बस्तीलाई सुनाइरहेको ।

-सेप्टेम्बर २००८

नागोया, जापान

(Also posted in http://www.basantagautam.com )

   [ posted by Gautam B. @ 11:35 PM ] | Viewed: 2805 times [ Feedback] (2 Comments)


:

   
Blog Type:: Story
Sunday, September 09, 2007 | [fix unicode]
 

“ल म हिँडे बूढो! ढोका लगाउन आउनु त छोरी ले’र। हिँड्ने बेलाँ छोरीलाई चुप्प गर्नु परो।“
“पर्दैन, छोरीलाई थाहा नदी’कन जाउ। बेकाराँ रुन्छे एकछिन।“ तर आमा हिँड्न आँटेको थाहा पाएर छोरी ढोकैमा पुगिसकेछे।
“ल छोरी, बाइ-बाइ गर मामुलाई!” म छोरी बोकेर उभिएँ। छोरी हात हल्लाउँदै रुन थाली सधैंजस्तै।
*******************************************
“इसुका सुपा भित्रको एउटा रेष्टुरेण्टमा आरुबाइतो बोउसिउ देखेर फोन नं ल्या’की छु। म अब शनिबार, आइतबार काम गर्छु।“
“ठिकै छ नि, झण्डै डेढ वर्ष भईसक्यो तिमी घरको घरै भएको। गरे हुन्छ।“
चार महिना पहिला हाम्रो यस्तै घर-सल्लाहबाट शुरु भएको थियो उनको दुइदिने काम। छोरी पेटमा आएको केहि महिनाबाटै उनी घरमा बस्न थालेकी, त्यतिखेरसम्म त छोरी पनि एक वर्ष कटिसकेकी थी।
********************************************
छोरी फुलिएपछि उसलाई लिएर म भित्र पस्छु र छरिएका खेलौनाहरुको माझमा उसलाई छोडेर हिजो बेलुका धोएर मेशीनमै छोडिएका लुगा सुकाउन बरण्डातिर निक्लन्छु।
‘कता गएर लडी कि क्या हो?!’ छोरी अचानक च्याँठ्ठिएर रोएको सुनेर म हतारिएर भित्र पस्छु। अचेल कुर्सी, सोफा, टेबुल जता पनि चढ्न खोज्ने भएकी छे, कतिखेर कता चढेर लड्ने हो डरमात्रै लागिरहन्छ। कोठाको एउटा कुनामा बसेर रुँदै छे छोरी। लडेकी होइन रहेछ, आफू बस्ने सानो कुर्सी घिसार्दै हिँड्दा त्यसैले खुट्टा थिचेजस्तो लाग्छ। कुर्सी उ आफैंले हटाइसकेकी थिइ म पुग्दा। म आफूले देख्ने ठाउँमा ल्याएर राख्छु ऊ, उस्को कुर्सी र ऊस्का मनपर्ने खेलौनाहरुलाई।

बिहान खाजा खाएका भाँडाहरु माझ्न थाल्छु बेला-बेला छोरीतिर पनि आँखा लगाउँदै।
अचानक छोरी रमाएर उसको बालसुलभ शैलीमा खित-खित-खित हाँसेको सुन्छु। कतिखेर-कतिखेर मेरो आँखा छलेर बाथरुमभित्र पसिसकिछे। मैले अघि ढोका लगाउन ध्याननै दिएनछु। बाटाको पानी जगले उबाउँदै आफ्नो टाउकोमा, जीउमा हाल्दै थिई ऊ। लुगा सब भिजाईसकेकी थिई।

“तँलाई बदमाश, के ग-या यस्तो?!” म उसलाई तानेर बाहिर निकाल्छु र भिजेका लुगा सबै फुकाल्दिन्छु। ऊ अब झन खुशी भएर बाथरुमतिर पस्छे।
‘भएन, नुहाइदिनै प-यो।‘ हरेक दिन साँझमा नुहाईदिने गरेको छौं, बिहान त्यति नुहाइदिएको छैन।

नुहाइदिइसकेपछि उसलाई फेरि कोठामा खेल्न छोडेर म अघि माझ्दा-माझ्दै बाँकी रहेका भाँडाहरु माझ्न जान्छु।

‘भएन अब, पकाउने मेसो गर्नु प-यो। पकाइसकेर बस्यो भने ढुक्क।‘ भाँडा माझिसकेर म पकाउने सूरमा लाग्छु।

‘यो बदमाश--- फेरि---!’ उ कोठाको पल्लो छेउको कुर्सीमा चढेर भित्ताको पोष्टर छुने बल गरीरहेकी हुन्छे र लड्ली-लड्लीझैं भैसकेकी हुन्छे। म टिभी खोलेर कार्टून आईरहेको च्यानेल छ कि कतै भनेर खोज्छु, कुनैमा पनि हुँदैन। यत्तिकै एउटा च्यानेल लगाएर उसलाई कुर्सीमा राखेर छोड्छु। ‘एकछिन त अल्मलिन्छे होली यसमा।‘

म अझै खाना बनाउँदै छु (साह्रै सुस्त छु म यो काममा!), छोरी गनगन गर्न थालेकी छे, टिभीले बाँध्न सकेन उसलाई। उ भान्छामै आउँछे र मेरो पछिपछि लाग्छे, मलाई समातेर लुटुपुटु गर्दै। कुनै उपाय बाँकी छैन मसंग अब, यसैगरी काम गर्नु बाहेक।

खाना बनाईसक्दा साढे दश बज्छ। अरु दिन उस्को होइकुएनमा खुवाउने समय एघार बजे हो। आधा घण्टाको लागि कोठा अगाडि निक्लन्छु म छोरी र एउटा ठूलो तर हल्का बल लिएर। भर्खर-भर्खर खुट्टाले हान्न जानेकी छे उसले, तर अझै पनि बढी हातैले बोकेर फ्याँक्न रुचाउँछे। छोरीसंग बल खेलेर, अगाडि-पछाडि कुद्दै ‘भेट्टाएँ--!’ खेलेर र कहिले उसलाई चरी देखाएर आधा घण्टा कट्छ।

अहिले रमाइलो ‘मुड’मा छे, खाना सजिलै खान्छे होला भन्ने मेरो सोचाइ गलत निस्कन्छ। गनगन गर्दै ‘खान्न, खान्न’ भनेझैं टाउको हल्लाउँदै कम्प्युटरतिर देखाउँछे। खाना खाँदा ‘यू ट्यूब’मा नेपाली लोकगीत हेर्ने बानी लागेको छ उस्को (आफूलाई सजिलो गराउन हामीलेनै लगायौं भनौं न अब साँचो कुरा गर्नुपर्दा!)। म एउटा बीस मिनेटजति लामो दोहरी गीत छान्छु, तर ऊ रुन थाल्छे, अचेल यो धेरै सुन्दा-सुन्दा मन पर्न छोडेजस्तो छ। धेरै नयाँ गीत खोज्न मलाई बाध्य पार्छे आज ऊ।

उसलाई खुवाएर म आफैंले पनि खाईसक्दा बाह्र कटिसक्छ। ऊ मेरो हात समातेर मेरो ध्यान तान्छे र ढोकातिर देखाएर ‘हुँ---हुँ’ गर्छे। बाहिर जाउँ भनेकी हो उसले।
“काँ बाहिर जानु नि अहिले, गर्मी छ बाहिर---!” तर ऊ मान्दिन, खुट्टा बजार्दै रुन थाल्छे। कसरी यो खुट्टा बजार्ने बानी आयो, थाहा छैन। बच्चाहरु बढ्दै जाँदा स्वाभाविक रुपमा आफैं आउने हो कि?
म उसलाई लिएर बाहिर निक्लन्छु। तर उसको सूर यहाँभन्दा परको रहेछ, मलाई भ-याङ्गसम्मै लान्छे तानेर र ‘तल जाऊँ’ भनेर माग गर्छे।

“तल जानु हुन्न बाबा, गर्मी छ एकदम। हिँड भित्र जाऊँ।“ तर ऊ डेग चल्दिन त्यहाँबाट।
“जानेभए आफैं जाउ, म भित्र गएँ, बाइ-बाइ!” उसलाई धम्की दिन्छु म र कोठातिर फर्किन आँटेजस्तो गर्छु।

तर मेरो मतलब गर्दिन ऊ, तल ओर्लिन सिँढीमा एउटा खुट्टो राख्छे र मतिर हेर्छे, ‘मलाई समात्न आउने भए आइज, नत्र म आफैं ओर्लिन खोजेर लडिदिन्छु, अनि थाहा पाउलास्!‘ भनेजस्तो गरेर। मेरो धम्कीलाई निस्तेज पारिदिन्छ उसको धम्कीले!

“बदमाश! कति दु:ख दिन जान्या होला---!” उसको हात समातेर ओर्लिन थाल्छु म।
तल पुगेपछि ऊ मेरो हात फाल्दिन्छे र सडकतिर दौडिन खोज्छे। उसको गति नियन्त्रण गर्न हम्मे-हम्मे पर्छ मलाई। एकदम रिसाउँछे पनि ऊ आफूले चाहेको जसरी स्वच्छन्द दौडिन नपाएकोमा।

ऊ घरनजिकैको एउटा उद्यानतिरको बाटो समाउँछे। ठाऊँ र दिशा अलिअलि सम्झिन सक्ने भईछे अब। एकछिन पछि-पछि लाग्छु म, एकमन लाग्छ ‘उद्यानसम्म लैजाउँ छोरीलाई, पिङ्ग खेल्छे, कुद्छे, रमाउँछे।‘ तर प्रचण्ड गर्मी छ, ‘यो गर्मीमा धेरै बाहिर राख्यो भने यो बिरामी हुन्छे।‘ म उसलाई बोक्छु र घरतिर फर्कन्छु। कोठामा पसुञ्जेलसम्म पनि ऊ रुँदै, छटपटाउँदै र रिसले मेरो मुख कोतर्दै, मेरो कपाल भुत्लाउँदै हुन्छे।

म कोठामा छरिएका खेलौनाहरु र लुगाहरु मिलाउन थाल्छु। रुवाइ रोकिईसकेको छ उस्को र ऊ मेरो लुगा समातेर मेरो पछि-पछि लागेकी छे। खुब मनपर्छ उसलाई यसो गर्न। हिँडिरहँदा आफ्नो ‘जिबरीश’ बोलीमा के के भनीरहेकी पनि हुन्छे।

एकछिनपछि ऊ आँखा मिच्दै रुन थाल्छे। मलाई थाहा छ, यतिखेरको रुवाईको कारण। ऊस्को सुत्ने समय भयो। पहिला अलि-अलि पढिएको मात्रै थियो, अहिले अनुभवनै भयो, बिरामी भएको बेला बाहेक बच्चाहरु एकदम नियमित समयतालिका अनुसार सुत्ने-उठ्ने गर्छन्। म हतार-हतार उस्को विछ्यौना मिलाइदिन्छु र उसको मुखमा ‘‘स्याबुरी’ राखिदिन्छु। एकछिनमै निदाउँछे उ।

ऊ ननिदाउञ्जेल उसलाई थपथपाउँदै विछ्यौनामा पल्टिँदा म पनि उँघ्न थालिसकेको हुन्छु। आज बिहान चार बजेतिर छोरी एकछिन गनगन गरेकी थिई। ऊ त एकछिन पछि फेरि निदाईहाली, हामी भने फेरि निदाउन सकेनौं। त्यसैले एकदम निद्रा लागेको छ मलाई। तर सुत्ने समय छैन मसंग! छोरी सुत्ने दुई-साढे दुई घण्टाभित्र धेरै काम गर्नु छ मैले। ‘बाथरुम सफा नगरेको धेरै दिन भईसकेको छ, ‘चौतारी’ पढ्नु छ, ‘कान्तिपुर’ पढ्नु छ, ‘ब्लग’मा केहि नलेखेको हप्ता कट्न आँटिसक्यो (बेकारमा थपिएछ यो बोझ जिन्दगीलाई!), कोहि साथी ‘लाइन’मा आए ‘च्याट’ गर्नु छ---‘। एक कप चिया बोकेर म कम्प्युटरको अघिल्तिर टाँसिन्छु।

अहिले बल्ल थाहा पाउँछु म आफू कति थाकेको रहेछु भनेर। पहिला-पहिला पूरै समय उनले छोरी हेर्दा ‘एकदिनभरि छोरी एक्लैले स्याहार त, कति गाह्रो हुन्छ!’ भनेर उनले भन्दा त्यसै हाँसेर उडाइन्थ्यो, अहिले बल्ल बुझ्दैछु।

पत्रिकाका खबरमा खासै मन जाँदैन, टाउके खबर (हेडलाइन) हरु मात्रै पढ्छु। अनि ‘चौतारी’ पस्छु। कोहि पनि नहुने समय भएछ। सबैभन्दा पछिल्लो पोष्ट पनि एक घण्टा पुरानो भईसकेछ। एक राऊण्ड चौतारीको हावा खाँदै गाम्लेका कुरा पढेर एक्लै हाँसिसकेपछि म फेरि कुर्सीमै ऊँघ्न थाल्छु।

दुईटा साथी त देखिएका छन् लाइनमा तर ‘भाँडमा जाओस् आज च्याट-स्याट पनि!‘

छोरी उठेपछि उसलाई लिएर म उद्यानतिर लाग्छु। गर्मी छ अझै, तर ‘यत्तिको गर्मीले त खासै फरक नपर्ला।‘ केहि अरु बच्चाहरु खेल्दै थिए। छोरी सोझै पिङ्गतिर जान्छे। म उसलाई पिङ्गमा राखेर मच्चाइदिन्छु। ऊ खुशीमा के के ‘जिबरीश’ बोल्न थाल्छे फेरि। म अगाडि गएर उस्लाई जिस्काउँछु र बेला-बेला पिङ्ग मच्चाइदिइरहन्छु।

“छुटेको हो तिमी?” उनको फोन रहेछ।
“हो। तिमीहरुका बाउ-छोरी छोरी काँ’ नि’ अहिले?”
“पार्कमा।“
“छोरी के गर्न लागेकी छे नि’?”
“पिङ्ग खेली अघाउञ्जेल। अहिले त्यो काठको घोडाजस्तो के जातीमा बसेर हल्लिराखेकी छे।“
“म त्यतै आउँ?”
“भयो अब, धेरै बेर भईसक्यो। बरु हामी घरतिरै आउँछौं।“

“छोरी, हेर त को आयो?” घरनिर उनी देखिन्छिन्।
“माम्मा---!” छोरीको अनुहार उज्यालो हुन्छ।
उनी अलिक परै उभिएर आफ्नो अँगालो फैलाउँछिन्। छोरी दोडिँदै उनीतिर जान्छे। उनी छोरीलाई उचालेर एकचोटि माथिसम्म पु-याउँछिन्, अनि काखमा लिन्छिन् र चुप्प गर्छिन्।

म मन्त्रमुग्धझैं हेरिरहन्छु। जिन्दगी मलाई कुनै अनवरत सुन्दर यात्राजस्तै लाग्छ।

***********************************

प्रयोग गरिएका जापानी शब्दहरु:

इसुका: काल्पनिक ठाऊँको नाम
सुपा: ‘सुपरमार्केट’ को जापानी बोली
‘आरुबाइतो बोउसिउ’: ‘पार्ट टाइम काम गर्नेहरुको आवश्यकता’
होइकुएन: बेबी केयर, किण्डरगार्टेन
स्याबुरी: (विशेष गरी) सुत्ने बेलामा बच्चालाई चुस्न दिइने चिज, अंग्रेजीमा Pacifier

-------------------------------------------------------------------------------------
-वसन्त गौतम
अगष्ट ३०, २००७ (दिउँसो ५ बजे)
खासुगाइ, जापान
- http://gautambasanta.blogspot.com

   [ posted by Gautam B. @ 02:24 AM ] | Viewed: 2157 times [ Feedback] (2 Comments)


:

   
Blog Type:: Story
Saturday, September 08, 2007 | [fix unicode]
 

“छोरी अझै उठेकी छैन है!” म नुहाएर निक्लँदै सोध्छु उनलाई।
“उठेकी छैन। भर्खर कोल्टे फेरेर सुतेकी छे। अझै एक घण्टा उठ्ली जस्तो छैन।“
“आज पनि मलाई ढिला गराउने भई!” चिन्तित हुन्छु म।
“बदमाश बिदाको दिनचाहिँ पाँचै बजे उठेर दौडिन थाल्छे, अहिलेचाहिँ हेर न!” उनी छोरीतिर मायालु दृष्टि दौडाउँछिन्।
हामी खाजा खान थाल्छौं। हामीलाई लागेको मात्र त्यस्तो हो कि कुन्नि, विदाको दिन छोरी चाँडै उठ्छे, अरु दिन ढिलोसम्म सुतिदिन्छे।
“उठाए हुन्छ नि अब, सात बजिसक्यो।“
“के उठाउनु, बच्चाको निद्रा, बिथोल्नु त्यति राम्रो नहोला।“ यो हाम्रो लगभग दैनिकजस्तो सल्लाह हो!
********************
“साढे सात भईसकेछ। मलाई ढिला हुन आँट्यो, केहि गर्नु छ मैले?” तयार हुँदैछिन् उनी। एउटा कम्पनीमा इण्टर्नशिप गर्दै छिन् उनी र साढे आठ बजेसम्म पुगिसक्नुपर्छ। यो तीन महिना छोरीलाई बिहान तयार बनाएर होइकुएन सम्म लाने जिम्मा मेरो छ। बेलुका उनी लिएर आउँछिन्।
“होइकुएन मा लानुपर्ने सामान मिलाईदेउ। अरु म गरौंला।“
“छोरीको बिछ्यौना यो ठूलो झोलामा छ। पाँचवटा ओमुचु र पोलिथिनको झोला छोरीकै पहेंलो ब्यागमा छ। टि-शर्ट एउटा र कट्टु एउटा हाल्न बाँकी छ, ड्रयरबाट झिके हुन्छ।“ बोल्दा-बोल्दै उनी ढोकासम्म पुगिसक्छिन्।

म ढोका लगाएर आउँछु। पहिला उसको ज्वरो नाप्छु, अनि बेबी केयरको नोटबुकमा तापक्रम चढाउँछु। ज्वरो त छैन। अनि अझै मस्त निद्रामै रहेकी छोरीलाई ओछ्यानबाट उठाएर काखमा लिन्छु। आफू एकदम निर्दयी भएजस्तो लाग्छ मलाई र पछुतोले भरिन्छु। तर अरु केहि उपाय छैन मसंग अब। एकदम ढिला भईसक्यो मलाई।
“छोरी! बाबा! उठ त अब!” म विस्तारै बोलाउँछु, उ अझै मस्त निद्रामा छे।

एक छिनपछि उ चल्मलाउन र आँखा मिच्न थाल्छे, अनि गनगन गर्दै ब्युँझिन्छे।
“उठ छोरी अब! पापालाई ढिला हुन्छ नि फेरि!”
भर्खरै पिसाब गरेकी रहिछे। म ओमुचु निकालिदिन्छु र उसलाई एकछिन त्यत्तिकै छोडिदिन्छु। उ अझै गनगन गर्दैछे। आज अलि बढीनै झर्किरहेकी छे, सधैं यतिखेर उठाउँदा हाँस्दै उठ्थी।

म उसको हात समातेर उसलाई वाश बेसीनतिर लैजान्छु। हात-मुख धुवाएर ल्याएर पानी खुवाउँछु। उसलाई उसको सानो रंगीन कुर्सीमा राखेर, खाना खुवाउँदा लगाउने –याले भिराइदिन्छु। अनि भान्छामा गएर हतार-हतार उसको खाजा तयार पार्न थाल्छु। हल्का तातेको पाउरोटीलाई मसिना-मसिना टुक्रा बनाउँछु, लिटो भन्दा यहि चाँडो होला जस्तो लाग्छ। अनि पाउरोटी र मनतातो दूध लिएर उसको अगाडि हाजिर हुन्छु। शुरुमा दुई-चार टुक्रा सजिलै खान्छे, पछि टाउको घुमाउन र झर्किन थाल्छे। कहिले हल्का हप्काएजस्तो गरेर, कहिले गीत गाएर फकाएर, कहिले ठूलो-ठूलो स्वरमा हाँसेर उसलाई भुलाएर सबै खुवाइछाड्छु। त्यसपछि अघि बनाएर बोतलमा बाँकी रहेको दूध उसैलाई दिन्छु। उ बोतलबाट दूध पिउन थाल्छे। अनि हतार-हतार बेबी केयरको नोट बुकमा हिजो बेलुका देखि अहिलेसम्मको उसको स्वास्थ्यस्थिति, खाएको खाजा आदिका बारेमा भर्छु र आफू लुगा फेर्न थाल्छु।

आफू तयार भएर उसलाई पनि तयार पार्दासम्म आठ बज्न पाँच मिनेटमात्रै बाँकी हुन्छ। ‘समयमा त आज पनि नपुगिने भइयो।‘ मनमा यहि मात्रै हुन्छ। ‘तैपनि हतार-हतार जाँदा पुग्न पनि सकिन्छ। आठमा हिँडे भने आठ बीससम्म त पुगिहाल्छु। अनि त्यहाँ तिन मिनेट अल्मलिएँ भने पनि दौडेर गएँ भने त साढे आठको ट्रेन पक्कै भ्याउँछु।‘ बेबी केयरबाट धेरै टाढा छैन ट्रेन स्टेशन। ‘भनेजस्तो कहाँ हुन्छ र, भ्याइन्न होला।‘

उसको र आफ्नो जुत्ता निकाल्दै हुन्छु म, केहि गन्हाएजस्तो लाग्छ। दिक्क हुँदै उसलाई उचालेरै सुँघ्छु म। नभन्दै हो रहेछ, दिसा गरिछे। फेरि कोठातिरै फर्केर उसलाई कार्पेटमा सुताएर ओमुचु फेर्दिन्छु।
“बदमाश! अघि त्यतिञ्जेलसम्म नगर्नी, अहिले हिँड्ने बेलाँ गर्नी?!” म भुत्भुताउँदै ओमुचु ‘गोमी हाको’मा हाल्न बरण्डातिर निक्लन्छु।
म फर्केर आउँदा छोरी कोठामा हुन्न। हिजो सुकाएर उठाएका लुगा सबै छरेर बास्केटलाई उल्टाएर हिँडिछे। ‘सुकेकै लुगा त हुन्, के होला र?’ भनेर छोड्दिन्छु।
तर भान्छामा पुगेर छोरीले अर्को विध्वंश मच्चाइसकिछे, त्यहाँको ‘गोमी हाको’ लडाएर फोहर सबै छरेर!
“छोड्---! के ग-या यो---?” साँच्चै झर्किँदै उसलाई पन्छाउँछु म। म झर्केको देखेर ऊ रुन थाल्छे। यो पनि यत्तिकै छोडेर हिँड्न आँटेको थिएँ, तर देख्छु बढी भएर फालिएको खाना पनि छरिएको छ भान्छा भरि। यो गर्मीमा यत्तिकै छोड्नु हुन्न भनेर सफा गर्न थाल्छु। फोहर सबै उठाउँछु, भुईँमा लागेको दाग भने नपुछी छोड्दिन्छु।
‘अब यो तालले त नौको ट्रेन पनि छुट्छ!‘ म ट्याक्सी बोलाउँछु।

अघि मेरो हप्काइले शुरु भएको छोरीको रुवाइ ट्याक्सी आइपुग्दासम्म बन्द भैसक्छ।
“खावाइ ने!” ट्याक्सी ड्राइभर छोरीलाई हेरेर बोल्छ। छोरीलाई काम पुग्छ, ऊ फेरि गनगन गर्दै पिरल्ने पाराले रुन थाल्छे। सधैं त हाँस्थी कसैले बोलाउँदा, ‘आज देवी चढ्या छ यसलाई!’ म फुलाउने कोशिश गर्छु।

उसलाई फुलाउँदै गर्दा मेरो मनमा धेरै कुरा चल्न थाल्छन्। धेरै दिन भईसक्यो यसरी ढिला-ढिला जान थालेको। अफिसमा कसैले ठाडै त केहि पनि भनेको छैन अहिलेसम्म, तर खासखुस गर्न थालिसके। हाकिमले पनि थाहा पाईसक्यो होला यसरी म लगातार जसो ढिला आउन थालेको। कुनदिन ‘निक्ली’ बनेर कागत दिने हो! आफैंलाई पनि आत्मग्लानि हुन थालेको छ यसरी सबैको नजरमा कामचोर देखिन परेकोमा, एक किसिमले नेपालकै छवि बिगार्ने बनिएकोमा। ‘छोरीलाई संगै राखेर गाह्रो होला जस्तो छ, नेपाल पठाउनै प-यो, नसकिनै भइयो!’ दिक्क मान्दै सडकतिर हेर्छु म। अघिनै उदाएको भएपनि घाम अझै सडकसम्म आईसकेको छैन, अग्ला घरहरुले छेकिएको छ अझै।

“ उ चरी हेर त छोरी, चरी आएछ नि!” केहि गरेर पनि नफुलिएपछि बाहिरतिर देखाउँछु म। चरी देखिने न त कहाँ हो र कंक्रिटको जंगलमा!
“देतेत, देतेत----“ उसको रुवाइ अचानक बन्द हुन्छ र ऊ ताली बजाएर गाउन थाल्छे। यो ‘देतेत, देतेत----‘ केहि पहिले एकदिन सुत्ने बेलाँमा मैले सुनाएको लोरीबाट टिपेकी हो उसले। वास्तवमा ‘ताराबाजी लै लै---‘ बाहेक मैले जानेको अर्को लोरी त्यत्ति एउटा मात्रै हो (उसकी आमाले दशौं लोरी जानेकि छिन्! )। त्यो पनि बिर्सेको थिएँ, सम्झेको धेरै भएको छैन।

आइज चरी लैजा कान
हाम्री छोरीलाई गोसाईँथान
गोसाईँथानमा के के छ?
चरीले लौरी टेकेछ-----

यो लोरी पनि मैले जानेको यत्तिमात्रै हो। यसमै म जेपनि थप्दिन्छु, जस्तो ‘आर्याच्यानले देखेछ, मिकीच्यानले देखेछ, मामुले पनि देखेछ, पापाले पनि देखेछ, अंकलले पनि देखेछ, अण्टीले पनि देखेछ---‘ आदि। अनि उसले ‘देतेत’ भन्न जानेकी छे। ‘चरी’ भन्ने शब्द सुनेपछि उ ‘देतेत, देतेत’ गर्न थालिहाल्छे।

छोरी आफ्ना साना कोमल हातहरुले ताली बजाउँदै ‘देतेत, देतेत’ गर्दैछे, उसको अनुहार उज्यालिएको छ। बाहिर अग्ला घरहरु नाघेर घाम बल्ल सडकमा ओर्लिन थालेको छ। मेरो मन पनि उज्यालिन थाल्छ। ‘किन नेपाल पठाउनु छोरीलाई?! बरु अलिक लचिलो कुनै काम खोज्छु र यो काम छोडिदिन्छु। केहि लागेन भने ‘घण्टे’* हुन तयार छु। छोरी त आफैंसंग राख्नुपर्छ----! यत्री त बनाईयो, अब झन सजिलो होला हुर्काउन---!’

अनि म पनि हल्का ताली बजाउँदै छोरीसंगै गाउन र हाँस्न थाल्छु,

आइज चरी लैजा कान
हाम्री छोरीलाई गोसाईँथान
गोसाईँथानमा के के छ?
चरीले लौरी टेकेछ-----

हामी बाउ-छोरी अचानक खुशीले गाउन थालेको देखेर चालक दंग परेर ऐनाबाट हेर्दैछन् हामीलाई।
घाम पूरै ओर्लिसकेको छ सडकमा र सडक पूरै उज्यालिएको छ।
***************************************************
***************************************************

प्रयोग गरिएका जापानी शब्दहरु:

ओमुचु: डायपर
होइकुएन: बेबी केयर, किण्डरगार्टेन
गोमी हाको: फोहर हाल्ने भाँडो
खावाइ ने: कस्ती मायालाग्दी, So lovely भन्ने अर्थमा
--च्यान: बच्चीहरुलाई माया गरेर बोलाउँदा उनीहरुको नामको पछाडि ‘च्यान’ जोडेर बोलाईन्छ। नेपालीको ‘नानी’संग नजिक छ।

र जापानी त हैन तर त्यो ‘घण्टे’ भन्ने शब्दको बारेमा। घण्टाको हिसाबले दाम पाईने ‘पार्ट टायम’ कामलाई मैले गोताएँ पाराले न्वारान गर्देको!

------------------------------------------
-वसन्त गौतम
अगष्ट २४, २००७ (रात्रि १०:५०)
खासुगाइ, जापान
http://gautambasanta.blogspot.com

   [ posted by Gautam B. @ 12:34 AM ] | Viewed: 2200 times [ Feedback] (1 Comment)


:

   
Blog Type:: Story
Friday, August 10, 2007 | [fix unicode]
 



सडक कार्यालयको जिल्ला प्रमुख भोजप्रसादको इज्जतदार,शान्त र सुरक्षित जीवनमा अचानक ठूलो आँधी आएजस्तो भयो। सर्सीहा जिल्लाको अलिक भित्रको देहातमा सडक पिच गर्ने बजेटसंग जोडिएर आएको आँधी थियो यो। बाक्लो बस्ती भएको र तिब्र गतिमा नयाँ बजारको रुपमा विकास भईरहेको हरिगञ्ज नाम गरेको यो क्षेत्र पहिलेदेखिनै जनश्रमदानले बनेको एउटा कच्चीनै सही, फराकिलो बाटोले सदरमुकामसंग जोडिएको थियो, । यो कच्ची बाटोमा पूरै ग्राभेल गर्ने र प्रमुख भागहरुमा पीच गर्ने भनेर सरकारले पैसा दिएको थियो, गत वर्षको बजेटमाफर्त। यो भेगको लागि सरकारले पैसा छुट्याएको इतिहासमै यो शायद पहिलो पटक थियो।

बजेट ‘नेपाली’ पाराले खर्च भएको हुनाले पिचको त कुरै नगरौं, ग्राभेल पनि सबै ठाउँमा हुन सकेको थिएन। छरेको ग्राभेलको गुणस्तर पनि असारको पहिलो साता अचानक परेको एकदिने झरीले छर्लङ्गै पारिदियो! बाटो अब झन बिग्रियो र कुरुप पनि देखिन थाल्यो। ब्यापक भ्रष्टाचार भएका समाचारहरु आए र सबैमा जिल्ला प्रमुख भोजप्रसादको नाम जोडिएर आयो। सानोतिनो आँधीलाई त भोजप्रसाद आफ्नो पहुँच र प्रभावका भरमा थाम्न सक्थ्यो, तर यो कुराले भने साह्रै ठूलो रुप लियो। निकट भविष्यमै पदोन्नति हुने ‘लाइन’मा भएकोले उ यो कुरा सकेसम्म थामथुम भएर सेलाएको देख्न चाहन्थ्यो। उसले चाकडी बजाएका उ माथिका हाकिमहरुले पनि एकचोटि हरिगञ्जमै गएर आफैंले जनताको चित्त बुझाउन र साथसाथै काम नसकिनु र राम्रो हुन नसक्नुका कारणहरु खुलाएर पत्रिकामा लेख्न सल्लाह दिएपछि त्यता जानैपर्ने भयो उसलाई।

मधेशमा फैलिरहेको अशान्ति र हिँसाले गर्दा देहात त के सदरमुकाम बजारपुरमै पनि बस्ने आँट थिएन भोजप्रसादको। यस पटकपनि एक महिना लामो काठमाण्डौं बसाइ पछि अस्तिमात्रै उ आएको थियो जिल्लामा। हिजो दिनभरि जिल्ला कार्यालयका अरु कर्मचारीहरुलाई फकाउन ब्यस्त भयो उ, हरिगञ्ज पठाउन। छिटो बढुवा अथवा आवश्यक परे अलि धेरैनै पैसा कै लोभ देखाएर अर्को कुनै इञ्जिनीयरलाई पठाउने र आफू सदरमुकाममै बस्ने सूर थियो उसको। तर जान कोहि पनि तयार भएन। देहात पस्न सबै त्रसित थिए। आफू जानै परे पनि अर्को कोहि साथ लिइ जाने चाहना थियो उसको। कसै-कसैलाई त धम्कीकै भाषा पनि प्रयोग गरेको हो उसले ‘जागिर खादिन्छु!--- ‘ अथवा ‘स्थायी हुन दिन्न तँलाई!---‘ भनेर, तर ज्यानको माया जागिरको मायाभन्दा ठूलो निक्लियो। बल्ल-बल्ल एउटा भर्खरै आएको ठिटौले इञ्जिनीयर तयार भयो जान। उ पनि हाकिमसंगको डरले नभइ, ‘देहात अहिलेसम्म गा’ छैन, एकचोटि जाउँ र हेरौं।‘ भन्ने विचारले मात्रै जाँदै थियो।

कसैले भोजप्रसादलाई हरिगञ्जको गाविस सचिव रामध्यानको सदरमुकामस्थित डेराको ठेगाना दियो र त्यो गाउँको वस्तुस्थिति बुझ्न उ रामध्यानकहाँ पुग्यो। केहि महिनादेखि सदरमुकाममै बसिरहेको रहेछ रामध्यान। हरिगञ्जमा अहिले अन्तजस्तो अशान्ति नभएको खबर पाएकोले चाँडै उतै फर्किने सूरमा रहेछ रामध्यान पनि। भोलिपल्ट संगै जाने सल्लाह भयो उनीहरुको।

भोलिपल्ट बिहान सबेरै जिल्ला कार्यालयमा जम्मा भए उनीहरु। अलिक गन्यमान्यको घरअगाडि हाल्न हुन्छ भनेर १५-१६ वटा ठूल्ठूला बोरामा राम्रो गुणस्तरको रोडा भरेर राखिएको थियो। देखाउनकै लागि भएपनि सर्भे गर्ने इत्यादिका दुई-चार गह्रौं सामानहरु पनि लाने कुरा सुनायो भोजप्रसादले, रंगीचंगी, अनौठा र गह्रौं सामान देखेपछि साँच्चै काम गरेको मान्छन् जनताले भनेर। कार्यालयका श्रमिकहरुले गाडीको पछिल्तिर सामान त भरिदिए, तर देहात जान तयार भएनन्। बजारमा मान्छे खोज्न थाले उनीहरु। बजारका स्थानीय पनि कोहि पनि देहात पस्न तयार भएनन्।

“उ त्यो मान्छेलाई बोलाउनुस् त। ‘लोकल’ होइन जस्तो छ, जान्छ होला।“ अलिक पर बस कुरेर उभिईरहेको, पुरानो र मैलो कट्टू, टी शर्ट र हवाइ चप्पल लगाएको, हेर्दा तीस बर्षजतिको लाग्ने पहाडी अनुहारको एउटा मान्छे देखाएर भन्यो भोजप्रसादले। आफूचाहिँ किन हो कुन्नि, गाडीबाट बाहिर निक्लियो।

गाविस सचिवले गएर कुरा ग-यो त्यो मान्छेसंग। दुबैजना गाडीतिर आए।
"दिउँसो दुई बजेसम्म त पक्का आइपुगिन्छ है हजुर?!” त्यो नयाँ मान्छे गाडीमा बसुञ्जेलसम्म पनि रामध्यानसंग सोध्दै थियो।

एकछिनपछि भोजप्रसाद अर्को गाडी लिएर निक्लियो कार्यालयबाट, आफैंले हाँक्दै।
"तपाईँहरु त्यसमा जाँदै गर्नुस्, कृषिमा पस्नु छ मलाई एकछिन, साथी भेट्न।“
सचिवहरु बसेको गाडी अघि लाग्यो। भोजप्रसाद एकछिनपछि कृषि कार्यालयतिर मोडियो।

“नाम के हो तिम्रो दाइ?” काम गराउन ल्याईएको मान्छेसंग कुरा गर्न थाल्यो इञ्जिनियर।
“मानबादुर हजुर।“
“घर काँ’ नि?”
“घर त पहाड इलाम हो हजुर!”
“इलामको मान्छे कसरी याँ त?!”
“अस्ति झापा झ-या थें हजुर, ढुंगाको टरकमा। त्याँ बाट हिजो फेरि सिमेण्टको टरकमा यता आइयो। आज भरे त जसरी नि फर्किनुपर्छ।"

***************************************
फड्केसाँघुको मावलीबाट फर्केर टारीखर्कको आफ्नो डेरामा मखमली आईपुग्दा झमक्क साँझ परिसकेको थियो। ढोकामा अझै ताल्चा झुण्डिएको देखेर छक्क परी उ। अस्ति उसका बूढा झापा झर्न निक्लँदा उ पनि संगै निक्लेकी थिई र मामाघरतिर लागेकी थिई। अनौठो लाग्यो उसलाई। पहिला-पहिला त राम्रो काम पाउँदा दुई-चार दिन, एक-दुई हप्तै पनि हराउँथे उसका बूढा, तर पोहर छोरो जन्मेपछि भने सकेसम्म परिवार छोडेका थिएनन्। छोडिहालेपनि एक रातभन्दा बढी छोड्दैनथे। कता पुग्या होलान् कुन्नि?
भात पकाउन मन लागेन मखमलीलाई। छोरालाई लिटो खुवाएर सुताईदिई। आफू भने माइज्यूले हाल्दिएको चिउरा अलिकति र पानी खाएर सुती। ‘कतै राम्रै काम पाएर त बसे होलान् 'नि। भोलि बिहान काठमाण्डुबाट आ’को रात्रि बस समातेर आईपुग्लान्।' भन्ने तर्कना गर्दै निदाई।

*****************************************************
त्यो दिन दिउँसो चार बज्दा हरिगञ्ज पुग्नु अगाडिको एउटा सानो खोल्सामा सडक बिभागको जलेको गाडीमात्र बाँकी थियो। पहरा दिन बसेका दुईजना प्रहरीहरुपनि अलि टाढै थिए।

गाडीमा भएका चारैजनालाई भित्रै थुनेर कसैले आगो लगाईदिएको रहेछ। मुख डढेर कुनैपनि लाश चिनिने अबश्थासम्म पनि थिएन रे। कसैको घडी र कसैको हातको औँठीका भरमा गाडी चालक, सचिव र इञ्जिनियरका लाशको सनाखत भयो। एउटा लाशको भने कसैगरी सनाखत हुन सकेन। दुई दिनपछि त्यो लाशलाई बेवारिशेको दर्जा दिँदै अरुभन्दा पहिलेनै जलाईयो। लाशसंगै त्यो लाशको चर्चा पनि आगोमा बिलायो।

अँ, त्यो घटना हुँदासम्म भोजप्रसाद साथीको कार्यालयमा चिया खाँदै थियो रे।

उता तीन लाशले देशभरि आन्दोलनको नेतृत्व गरे। रामध्यान मारिएको विरोधमा गाविस सचिवहरुले आन्दोलन गरे, उता इञ्जिनियरहरु पनि कोहि सडकमा निस्किए, कोहि ‘माथि’नै पुगेर सरकारलाई थर्काउन थाले। गाडी चालकहरुले देशै ठप्प पार्दिए। सरकारले सबैको माग पूरा गर्दियो, मृतकका परिवारले दश-दश लाख पाउने भए। सचिवको परिवारलाई सचिवहरुको संगठनले, इञ्जिनियरको परिवारलाई इञ्जिनियरको संस्थाले अनि चालकको परिवारलाई चालकहरुको संस्थाले अरु थप सहयोग गरे।

अनि देशको शहीदको खातामा तीन नामहरु थपिदियो सरकारले।

मानबहादुर कतैको पनि थिएन, उसको परिवारले केहि पनि पाएन। सरकारको 'शहीद' कोटामा पनि उ परेन।

तर के उ यो देशको पनि थिएन?!
****************************************
(माथिको कथामा वर्णित पात्रहरु र घटनाक्रमहरु सबै काल्पनिक हुन्, मेरो देशको वर्तमानसंग अलि-अलि मिल्न गएमा त्यो संयोग मात्र हुनेछ।)


वसन्त
अगष्ट १०, २००७
- http://gautambasanta.blogspot.com

   [ posted by Gautam B. @ 08:58 AM ] | Viewed: 2346 times [ Feedback] (5 Comments)


:

   
Blog Type:: Personal Thoughts
Friday, July 20, 2007 | [fix unicode]
 

जापान आऊँदाका शुरुवाती दिनहरुमा एकदमै उत्साहित एकजना साथी पछि एकताका निकै दिक्क देखिन्थे र जापानीहरुलाई बेला-बेला हल्का सरापीरहन्थे। उनको भनाइ हुन्थ्यो, "यी साला जापानीहरु विदेशी मान्छेको 'खुबिलिटी' हेरेर हैन, खाली कल्ले जापानी भाषा राम्रो बोल्छ मात्रै हेरेर मूल्याकंन गर्छन्। (यो 'खुबिलिटी' भन्ने शब्द नेपालीको 'खुबी' र अंग्रेजीको 'ability' को अन्तरजातीय सन्तान हो भन्ने कुरो मैले नदोहो-याए पनि हुन्थ्यो होला शायद!) जापानी बोल्न जान्ने विदेशी जस्तो काइते भएपनि 'सुगो-ई! सुगो-ई!' (great! wonderful!)भन्छन्, जापानी नजान्ने जति 'ब्रेनी' भएपनि 'बाल' मतलब गर्दैनन्--!" साथीलाई के कुराले गर्दा त्यसरी चित्त दुखेको हो त्यतिखेर थाहा छैन, अहिले त ठिकै भएको देखिन्छ।

साथीको कुरामा धेरै सत्यता भने छ। जापानमा विदेशीको औकात जाँच्ने सबभन्दा ठूलो कसी भनेकै जापानी भाषामाथिको दक्षता हो। जापानी भाषा अलिक जान्ने सोझै असाध्यै विलक्षण प्रतिभाशालीमा गनिन्छ! त्यसैले यत्रतत्र काम, छात्रवृत्ति आदि पाउने ठाउँमा उसको पकड राम्रैसंग जम्छ पनि। दैनिक ब्यबहार र सरकारी कामकाजमा अंग्रेजी बिल्कुलै प्रयोग नहुने ठाऊँमा यो अलिकति त स्वाभाविकै हो, तर मान्छेका बाँकी योग्यताहरुका पनि केहि न केहि मूल्य त हुनैपर्ने हो!

यो 'सुगो-ई! सुगो-ई!' ले भने हैरान पार्छ। जापानीहरुबाट 'सुगो-ई! सुगो-ई!' र 'आतामा यी---इ देस् ने!' भनेर प्रशंशा पाउन खासै धेरै जापानी जानीरहनुपनि पर्दैन। ओहायो गोजाईमास, कोन्निचिवा, आरिगातो गोजाइमास-- आदि पाँच-सात शब्दहरुमात्रै बोल्नजाने पनि पुग्छ। (यो 'आतामा यी---इ देस् ने!' को सोझै अर्थ लगाउँदा 'तेरो टाउको त गज्जब राम्रो छ!' भन्ने हुन्छ, भाव पनि त्यस्तै-त्यस्तै भनौं न अब, 'तेरो दिमाग तगडा छ!' भन्ने हो।) कतै नयाँ ठाउँमा अलिकति कुरा गरेपछि तँ आएको कति भयो भनेर सोध्छन्। जस्तो उत्तर दिएपनि प्रशंशा भने गर्न छोड्दैनन्। जस्तो छ महिना भनेर भन्यो भने, "वाह! तँ कति खतरा?!---", एक वर्ष भन्यो भने "मान्नैपर्छ बा तँलाई!---", चार वर्ष भन्यो भने "चार वर्षमै यति धेरै जानिस्, तगडा रैछस् तँ!---" भन्ने प्रशंशा पाईन्छ। भएन भनेर मैले एकदिन एउटालाई 'म जापान आएको दश वर्ष भयो।' भनिदिएको, अझै "मान्नुपर्छ बा तँलाई, कति राम्रो जापानी बोल्या होस् दशै वर्षमा!" भन्छ बा! 'दश वर्ष भएपछि जानिहालिन्छ नि, त्यसमा त्यस्तो गज्जबको कुरो के छ र?!'भनें फेरि मैले। "दश वर्ष भन्दैमा हुन्छ, मैले अंग्रेजी पढ्न थालेको बीस वर्ष भईसक्यो, अझै केहि जान्दिन। तैंले दश वर्षमै यस्तो दामी जापानी बोलिसकिस्!" उ पनि के कम?!

अब आफ्नो जापानी कस्तो झूर छ र बेला-बेला कस्तो पिडा प-या छ भन्ने कुरो आफैंलाई थाहा छ! महिनामा एकचोटि कपाल कटाउन गयो, कसरी काट्दिऊँ भन्छ, अरु केहि जानिन्न, अनि 'सोनो मामा मिजिकाई--!(जस्तो छ त्यस्तैमा छोटो पार्दे!--)भन्यो बस्यो। चार वर्ष भयो आ'को, यो कपाल कटाउने बेलाँ प्रयोग हुने दुई-चार वाक्यहरु सम्झिन अझै सक्या हैन!

बढी समस्याचाहिँ अस्पताल जाँदा पर्छ। केहि समय पहिला घुँडा दुखेर पुग्या थिएँ एउटा डाक्टरकोमा।
"दुख्दा कसरी दुख्छ?" डाक्टरले सोधे।
म अलमल्ल परें, अब कसरी दुख्छ भन्ने!
"---- जस्तो गरेर दुख्छ? कि -----झैं दुख्छ, ------ कि ----जस्तो हुन्छ?---" म अलमल्ल परेको देखेर डाक्टरले आफैं दुई-चार विकल्प सुझाए। पूरै नबुझेपनि बुझिएका एक-दुई शब्दहरुका आधारमा अन्दाज लगाउन भने सकें मैले। डाक्टरले 'सियोले घोचेझैं गरी एकै ठाउँमा मात्रै दुख्छ कि अथवा कतै ठोक्केको बेलामा जस्तो गरेर दुख्छ कि अथवा करकर लुछे जस्तो हुन्छ कि?' भनेर सोधेको हुनुपर्छ। तर कुनचाहिँ कुन हो थाहा भएन! उनले बोलेका मध्येबाट एउटा दोहोराईदिएँ, नबुझेपनि। त्यसै अनुसार ओखती पाईयो। ओखतीले बन्द गर्दियो दुखाई। अँध्यारोमा हान्या गोली ठाउँमै लाग्या होला!

फेरि केहि दिन पहिला छोरीलाई रुघा-खोकीले सताएर अर्को डाक्टरकहाँ जानुप-यो।
"केहि औषधि खुवाएको छ कि छैन, रुघा-खोकी लागेबाट?"
"हिजो बेलुका अलिकति घरेलु औषधि खुवाएको हो।" नभनौँ भन्दा-भन्दै फुस्किहाल्यो मेरो मुखबाट। अघिल्लो दिन बेलुकी नेपालबाट ल्याएको जिम्मु-ज्वानो-वीरे नून आदि हालेर पानी उमालेर खुवाएका थियौं।
"के औषधि हो नि त्यस्तो?"
"देशबाटै बोकेर ल्या'को, जापानीमा नाम थाहा छैन।"
"त्यसो भए अँग्रेजीमै भने पनि हुन्छ।"
फसाद प-यो अब! ज्वानो र जिम्मुको अँग्रेजी नाम पनि थाहा छैन मलाई। एकछिन टाउको कन्याएपछि कुरो त टरेर गयो, तर सोचें, भाषाको समस्या त अँग्रेजी बोल्ने ठाउँमै बसेपनि पर्छ होला बेला-बखत।

त्यसो त कतिचोटि नेपालीमै पनि भन्न चाहेको कुरो भन्नै नसकेको स्थिति नभएको पनि होइन।
********************************************************************



- वसन्त (- http://gautambasanta.blogspot.com)
२० जुलाई, २००७

   [ posted by Gautam B. @ 04:05 AM ] | Viewed: 2558 times [ Feedback] (6 Comments)


:

   
Blog Type:: Essay
Wednesday, June 20, 2007 | [fix unicode]
 

घुम्दै-फिर्दै, फेरि नेपाली लोकगीत!

२०३०को दशकमा हुर्किँदा सुन्न पाउने भनेको रेडियो नेपालले बजाउने नेपाली लोकगीत-गीतहरु र हिन्दी फिल्मी गीतहरु मात्रै थिए। हाम्रो घरमा रेडियो थिएन। काकाको घरमा थियो एउटा सानो नेशनल-पानसोनिक रेडियो।त्यो रेडियोमाथि हजूरआमाको पूरा नियन्त्रण थियो। के सुन्ने, के नसुन्ने भन्ने कुराको निर्णय अरुले हतपती गर्न पाउने चलन थिएन। हजूरआमालाई शाही नेपाली सेनाले चलाउने कार्यक्रममा भीमबहादुर थापाका रुपकहरु असाध्यै मन पर्थ्यो, बेलुका आउने कृषि कार्यक्रमकी बूढीआमैको गन्थन र परिवार नियोजन कार्यक्रमका रमाईला सम्वादहरु पनि खुब सुन्नुहुन्थ्यो वहाँ। त्यस्तै हरेक शनिबार दिउँसो एक कि साढे एक बजे आउने नाटक पनि सुनिन्थ्यो, घर-छिमेकका लगभग सबैले। ठूलो जमात भेला भएर चिया पिउँदै, गफ गर्दै नाटक सुन्ने ती दृश्यहरु मेरो मानसपटलमा नमेटिने भएर रहेका केहि दृश्यहरुमध्ये पर्छन्। काकाका छोराछोरीको अनूरोधमा केहि नियम बाहिरका कार्यक्रमहरु पनि बज्थे होलान्, तर हाम्रो अनूरोधको खासै सुनुवाई हुँदैन थियो। बढीमा बाल-कार्यक्रम सम्म सुन्ने अनुमति हुन्थ्यो यदाकदा। बाल-कार्यक्रम, त्यसभित्रको पनि ‘हातेमालो’ भन्ने कार्यक्रम असाध्यै मन पर्थ्यो मलाई। काकाको घरको रेडियोबाट सुन्ने अवसर नपाएको बेला ठूलो बाको घरमा पुग्थें बाल-कार्यक्रम सुन्न। त्यहाँ मेरै अनूरोधको सुनुवाई हुने भएर भने जाने होइन। त्यो घरको कान्छो छोरो मसंग एउटै उमेरको (म भन्दा एक महिनामात्रै कान्छो) थियो र हामी एउटै विद्यालयमा एउटै कक्षामा पढ्थ्यौं। उसकै कारणले मैले पनि सुन्न पाउँथे बाल-कार्यक्रम।

नेपाली लोकगीतहरु र नारायण गोपालका गीतहरु मन पर्थ्यो मलाई। केहि हिन्दी गीतहरु पनि मन पर्थे। किन हो कुन्नि, विशेष गरी गायक मुकेशको स्वरसंग म एकदमै आकर्षित थिएँ। गाउँमा भिडियो-टेलिभिजन धेरै पछि मात्रै आए। एस.एल.सी.सकुञ्जेलसम्म अंग्रेजी गीतहरु बारेको मेरो जानकारी शून्य थियो। नेपाल टेलिभिजनका शुरुवाती दिनहरुमा भूषण दाहालले ‘सण्डे पप’ चलाउन थालेपछि भने अलि अलि हेर्ने मौका पाईयो, तर गीतको अँग्रेजी ठ्याम्मै बुझिँदैन थियो, संगीत र नाचकै रमाईलोले मात्रै हेरिन्थ्यो।

स्नातक पढ्न भनेर २०४८ मा पहिलो पटक नेपाल छाड्दा मैले जम्मा दुईटा क्यासेट साथमा लगेको थिएँ। एउटा ‘नारायण गोपालका गीतहरु’को कुनै भाग थियो, अर्को महको ‘पिकनिक’ भन्ने प्रहसन थियो। त्यतिखेर विदेश जानेहरुमा नारायण गोपाल र मह नबोक्नेहरु त कोहि पनि हुँदैन थिए होलान् जस्तो लाग्छ। सबैजसोले कुमार बस्नेतका लोकगीतहरु पनि बोकेका हुन्थे। मैले कुमार बस्नेतका गीतहरु नबोकेपनि संगै जाने अरु धेरैले बोकेका रहेछन्।

चीनमा बस्दा अँग्रेजी गीतहरु सुन्न थालियो। शुरवात जोन डेन्भर र बिटल्सबाट भएको याद छ मलाई। एक वर्ष भाषा पढेर इञ्जिनियरिङ्ग पढ्ने विश्वविद्यालय गएपछि भने एकदम धेरै सुन्न थालें। कारणचाहिँ संगै पढ्ने, सानेपा घर भएको एकजना साथी थियो। उसंग अंग्रेजी गीतहरुको धेरै ठूलो संकलन थियो, धेरै त नेपालबाटै लिएर गएको। उ ‘गन्स एन रोजेज’ र ‘जिम मोरिसन’ भनेपछि मरिहत्ते गर्थ्यो। मैले ‘यू टू’, ‘पिंक फ्लोयड’, ‘रोलिङ स्टोनस्’, ‘आरइएम’, ‘क्वीन’आदि थाहा पाएको उसैबाट हो। त्यहाँ हाम्रै उमेरको एउटा अमेरिकी (मिनेसोटा राज्यको) केटो अंग्रेजी पढाएर बसेको थियो छ महिना जति। हुनत, उ हामी भन्दा अलि फरक थियो, उल्टो संस्कृत, गीता, ध्यान आदिमा बढी रुचि भएको, तर उसबाट पनि धेरै थाहा पाइयो अंग्रेजी गीतहरुको बारेमा। उ विशेष गरी त्यतिखेरका मूलधारभन्दा अलि फरक खाल्का अँग्रेजी गीतहरु बढी रुचाउँथ्यो। ती चार वर्षको दौरानमा मैले सुनेका मध्ये सबैभन्दा मन पर्ने समूहहरु भन्नु पर्दा ‘क्वीन’ र ‘डायर स्ट्रेट्स’ भन्छु होला शायद। अंग्रेजी गीतहरु बढी सुन्ने यो क्रम २०५३ तिरबाटै बिस्तारै कम हुँदै गयो।

चिनियाँ गीतहरु पनि सुनिन्थ्यो धेरै। शास्त्रीय चिनियाँ संगीत मन परेपनि बढी उदासी भरिएको लाग्ने हुँदा अलि कम सुन्थें। चीन भर्खरै मात्र खुल्ला समाजको बाटोमा हिँडेको थियो र पप गीतहरु पनि त्यसै अनुसार अगाडि आउँदै थिए। हङकङ र ताइवानका पप गीतहरु पनि बढी सुनियो। मूलभूमि चीनमा भने रक गीतहरुको बाढीनै आएको थियो त्यो ताका। अर्थतन्त्र विस्तारै पूँजीबादतिर गएपनि कठोर साम्यवादी राजनीतिक बन्देज भने छँदैथियो। यस्तो अवश्थामा रक गीतहरुले अति अप्रत्यक्ष तरिकाले राजनीतिक सन्देश बोकेका जस्ता लाग्थे। थुप्रै समूहहरु मध्ये ‘थाङ डाइनाष्टी’ र छुइ चियान (ब्यक्तिको नाम) बढी मन परेका थिए। हङकङको एउटा ‘बियोण्ड’ भन्ने समूह पनि खुब मन पर्थ्यो, हुनत त्यो समूहका सबैजसो गीतहरु क्यान्टोनीजमा हुन्थे। नेपाल फर्किँदा यी समूहहरुका केहि क्यासेटहरु पनि ल्याएको थिएँ।

नेपाल फर्केपछि भने विस्तारै गजल-कव्वालीहरुमा बढी मन जान थाल्यो। गजलहरु पहिला पनि नसुनिने हैन, तर अब भने गजलहरुमात्रै जस्तो भयो। बढी मन पर्ने चाहिँ जगजीत सिंह। नुसरत फतेह अली खानलाई भेटेपछि त जिन्दगीको सम्पूर्ण खोजनै सकिएजस्तो लागेको थियो केहि समय। मैले शुरुमा सुनेको नुसरतको कव्वाली ‘दम मस्त कलन्दर’ को शास्त्रीय संस्करण थियो। संगै किनेको जावेद अख्तरका शब्दहरु भएको ‘संगम’ अल्बम (जो पूरै शास्त्रीय शैलीमा भने छैन) त अहिलेसम्म कति हजार पटक सुनिसकें होला!

चार वर्ष पहिला जापान आएपछिबाट अहिलेसम्म पनि गजल र नुसरत प्रतिको आकर्षण उस्तै छ। यस बीचमा ‘फ्यूजन’ तिरको आकर्षण पनि बढेको छ। ‘करुणेश’, ‘प्रेम जोशुवा’, ‘अहिँसा’, ‘अनुष्का शंकर’ आदिमा मन लाग्न थालेको छ। कहिलेकाहिं लाग्छ, यो म मानसिक रुपमा बूढो हुँदै गएको संकेत हो, अब अरु सब छोडेर शुद्ध शास्त्रीय संगीतमात्रै मन पराउन थालेपछि मेरो बूढ्यौलीले पूर्णता प्राप्त गर्छ होला! तर फेरि ‘बूढो हुँदै गएको नभएर सौन्दर्य-चेत निखारिँदै गएको पनि त हुनसक्छ नि!’भनेर आफैंलाई सम्झाउँछु!

यसबीचमा जापानी शास्त्रीय अथवा लोक संगीतको त कुरै छोडौं, जापानी रक-पपको समेत एउटा गीत पनि पूरा सुनेको छैन। पप संस्कृतिका हिसाबले जापान एकदम समृद्ध छ र म अहिलेसम्म अछूतो बसेकोमा आफैंलाई धिक्कार्न थालेको छु अचेल। यति धेरै वर्ष यो ठाउँमा बिताइसकेपछि पनि यहाँको समसामयिक संस्कृतिको बारेमा खासै ज्ञान राखेको छैन। तर दोष मेरो मात्र हैन है (अझ मेरो दोषै पनि नहुन सक्छ!)! मूल दोष त इण्टरनेटको हो! अब सजिलै बुझ्ने नेपाली-हिन्दी गीतहरु जतिखेरपनि आरामले सुन्न मिल्ने भएपछि जापानी गीत सुनेर नबुझिने शब्दमा कस्ले टाउको दुखाओस्! (तर अलि-अलि त सुन्नु पर्छ गोताएँ, सुन्! )

दुई वर्ष पहिला नेपाल जाँदा तीजको समय परेको थियो र फर्किँदा तीजका गीत र अरु लोकगीतहरुको संकलनहरुमात्रै किनेर ल्याइएछ। शनिबार-आइतबार कोठा सफा गर्ने जाँगर चलाउन मात्रै सुनिन्थ्यो, ती पनि।

छोरी सात महिनाजतिकी भएपछि होला, उ केहि कुराको आड पाए बिस्तारै उठ्न थालेकी थिई। एउटा एक फूट जति उचाइको होचो टेबुल छ घरमा। उ त्यसको आडमा उठ्न मन पराउँथी धेरै जसो। अनि हामीले के देख्यौं भने लोकगीतहरु बजेको बेला छोरी एकदम खुशी हुन्छे। एक हातले टेबुलको आड लिएर अर्को हात घुमाएर नाचेझैं पनि गर्छे। हामीले सिकाएको याद छैन, शायद कतिपय कुरा बच्चाको स्वभावअनुसार प्राकृतिक रुपमै पनि आउँछन् होला। हामी पनि खुब रमाउँथ्यौ उस्को ‘नाच’ हेरेर।

पछि ‘यू ट्यूब’ मा नेपाली लोकगीतहरु खोजेर देखाउन थाल्यौं उसलाई। राम्रो ग-यौं कि नराम्रो ग-यौं थाहा छैन तर नेपाली लोकगीत र नाच हेर्न पाएपछि खुब खुसी हुन्छे ऊ। विरामीनै भएको बेला अलग हो, तर खाना खान मन नगरेको बेला पनि लोकगीतको भिडियो देखाएपछि खान थाल्छे। झगडा गरिरहेकी, झर्किरहेकी छे भने पनि लोकगीतले ‘प्यासीफायर’ को काम गर्छ उस्का लागि। कार्टूनहरु, बच्चाहरु र जनावर-चराहरु भएका भिडियोहरु पनि एकदम मन पराउँछे ऊ, तर लोकगीत सबैभन्दा माथि छ उस्को रोजाईमा। (निश्चयनै, उसको उमेरका कारण, एकदमै आवश्यक नपरीकन यस्ता भिडियोहरु बढी नदेखाउने कुरामा भने हामी सचेत छौं।)

यसरी नेपाली लोकगीततिरको मेरो लगाव फेरि शुरु भएको छ, छोरीको कारणले। धेरै लामो समयपछि लोकगीतमा फेरि रुचि जागेकोले म भर्खरै शर्मिला, गुरुङ, बीमा कुमारी दूरा, लक्ष्मी न्यौपाने, बुद्धि परियार, बद्री पगेनी, सिन्धु मल्ल, खेमराज गुरुङ, बिष्णु माझी र कोमल ओली आदिलाई राम्रोसंग चिन्दैछु। दोहरी, रत्तेउली, तीजका गीत, असारे र कौडा आदिले बोक्ने कोमल ग्रामीण मनका पिडालाई साँच्चै अनुभूत गर्दैछु र जति पिडा परेपनि गाउन, नाच्न र उज्यालोको आशा गर्न नछोड्ने नेपाली मनप्रति गौरव गर्दैछु। अलि मियां र झलकमानलाई सुनेर म साँच्चै रुन थालेको छु अचेल। मेरो संस्कृति एकदम सुन्दर र जीवन्त लाग्न थालेको छ मलाई। म कति टाढा पुगिसकेको रहेछु मेरो आफ्नै पहिचानबाट! भोलि छोरी ठूली भैसकेपछि उस्लाई मैले उस्को आफ्नो पहिचान चिनाइरहन पर्ला-नपर्ला, तर उसले अहिले अन्जानमै सहि, मलाई आफ्नो पहिचानप्रति सजग गराइदिएकी छे।

यसको अर्थ मैले बाँकी सबलाई मन पराउन छाडेको भने निश्चय पनि होईन। मलाई ती पनि सधैंभरिका लागि प्रिय छन्। मात्र के भने, आत्मीय आफन्तहरुसंग धेरै लामो समयपछि फेरि भेट भएको छ।

र लोकगीत अझै मनपर्छ र सुनेपछि छमछम नाचिहाल्न मन लाग्छ भनेपछि म मनमा बूढो भएकै रहेनछु, ब्यर्थैमा चिन्ता गरेको रहेछु शायद! (भित्रैदेखि मुस्कुराउँदै छु!)


Blogging Basanta!
- http://gautambasanta.blogspot.com

   [ posted by Gautam B. @ 08:45 AM ] | Viewed: 3272 times [ Feedback] (2 Comments)


:

   
Blog Type:: Poem
Friday, May 18, 2007 | [fix unicode]
 

झण्डै ७ वर्षभन्दा पहिला लेखेका यी हरफहरुले भूतकाल बन्ने अवसर अझै पाएका छैनन्। जहिले हे-यो, नेपालको वर्तमान झन-झन कुरुपनै देखिन्छ।
("कविताको देश" भन्ने धागोमा टाँसिसकेको हो है!)


"कुरुप वर्तमान"-१

जताततै हनुमानहरु दौडिरहेछन्
पूच्छरमा आगोको लप्का बोकेर चाकडीको
विनाकारण जलाउँदै सुनका लंकाहरु,
स्वचालित वेहोश हातमा बजिरहेछ डमरु
मस्त धङ्धङेमा रमाएर हेर्दैछन प्रभुहरु
र अनियन्त्रित नाचिरहेछन् बाँदर टुकडीहरु ;

रंगीचंगी नाराका खोल ओढेर
अवसरको खेती गरिरहेछन्
आत्माहीन दासहरु,
र एक बाली भित्र्याई डकारेर
नयाँ फसलको तयारीमा
रंग फेरिरहरछन् छेपाराहरु ।

"कुरुप वर्तमान"-२

रगतको आहालमा डुबेका छन् हिमालहरु
डढेको जंगलबाट षडयन्त्रको गन्ध आईरहेछ
र ठाऊँ ठाऊँमा उम्रन थालेका छन्
तावेदारीका नयाँ झारहरु ;

भित्र बैठकमा,
हिसाब नमिलेर होला भागबण्डाको-
लूटेराहरु एक आपसमा औँला ठड्याईरहेछन्
र बाहिर,
'जिन्दाबाद', 'मूर्दाबाद' उचालीरहेका सडकहरुमा
भविष्यको पदचाप सुनिदैन

   [ posted by Gautam B. @ 10:51 AM ] | Viewed: 2949 times [ Feedback] (1 Comment)


:

   
Blog Type:: Personal Thoughts
Tuesday, April 24, 2007 | [fix unicode]
 

‘यहोवा’ले हैरान पारे!!!

केहि समय पहिला एउटा नाइजेरियाली साथीको बिहेमा गईएको थियो। उ ‘यहोवाको
साक्षी’ हो। मैले ‘यहोवा---‘ मात्रै नभएर कुनै पनि कृश्चियन सम्प्रदायको वैवाहिक कार्यक्रममा सहभागी हुने अवसर पाएको थिईन, यसभन्दा पहिला। ‘मैले एकदम साधारण तरिकाले विहे गरेको हुँ।‘ भन्थ्यो साथीले। साधारणनै थियो, जानुअगाडि मैले सोचेको भन्दा धेरै साधारण। जापानीहरुको संख्या त धेरै हुनेनै भयो, अफ्रिकी मूलका मान्छेहरु पनि धेरै थिए। ‘यहोवा--‘ का प्रकाशनहरु हेर्दा ‘यहोवा---‘ अफ्रिकामा निकै दह्रोसंग जरो गाड्दै हो कि जस्तो पनि लाग्छ।

यो साथी म भन्दा केहि महिना पहिला आएको रहेछ विश्वविद्यालयमा। चिनजानको एक-दुई दिनपछिनै ‘तैंले बाइबल पढेको छस्?’ भनेर सोधेको थियो। ‘पढ्या छु नि, किन छैन!’ भनेर जवाफ फर्काएको थिएँ मैले (नेपालीमा अनुदित बाइबल पढ्न थालेको थिएँ एकताका, खासै रुचि जागेन र छोडिदिएको थिएँ।)
“पढेर बुझिस् त?”
“चाहिने जति बुझें।“
“नबुझेको भए, म तँलाई बुझाउन तयार छु।“ भनेर भनेको थियो उसले। मैले ‘हुन्छ, म तँलाई भनौंला नबुझेको बेला।‘ भनेर फुत्केको थिएं। पछि एक-डेढ महिनासम्म पनि बेला-बेलामा कुरो झिक्दै थियो, तर त्यत्ति रुचि नदेखाएपछि कुरो गर्न छोडेको थियो। त्यसपछि हाम्रो सम्बन्ध सामान्य मित्रवत रहँदै आएको छ।

तर मेरो ल्याबको एउटा थाइ साथीलाई भने अतिनै गर्न थालेछ। थाइ साथी फेरि अति कट्टर बौध्दमार्गी! ‘रुचि छैन।‘ भनेर भन्दा पनि जतिखेर पनि बाइबल पढाउन खोज्ने, दिनदिनै थाइ भाषाका ‘यहोवा---‘ सामाग्रीहरु लगेर उ नभएको बेला उसको कोठाको ढोकाबाट छिराइदिने आदि गर्न थालेपछि थाइ साथीलाई साह्रै रिस उठेछ र एकदिन भेटिएको बेला “ If I can have thousand births, I will be Buddhist in every life! ---“ त्यस्तै केहि भन्दै धम्क्याएछ। त्यसपछि मात्रै नाइजेरीयाली साथीले उसलाई बाइबल पढाउने कोशिश गर्न छोडेछ।

उता घरमा पनि जापानी ‘यहोवा---‘ हरु आएर बाइबलको कुरा गर्न थालिहाल्ने, ढोका खोलिसक्नेबित्तिकै। पहिला त केहि थिएन बिदाको दिनमात्रै घर बसिन्थ्यो। तर पछि छोरी जन्मेपछि उनी केहि महिना घरै बस्ने क्रममा ‘यहोवा---‘ले हैरान पार्न थाले। समय पनि छैन, रुचि पनि छैन भनेर जति भनेपनि टसको-मस नहुने! आज त ढोकै खोल्दिन भन्यो, आधा घण्टासम्म ढक्ढक्याईरहन्छन्। घरमा सानो बच्चा छ भन्ने थाहा हुँदा-हुँदै पनि मतलब गर्दैनन्। भएन भनेर ढोका खोलेर हे-यो, भित्रै पसिसक्छन् र नेपाली भाषाका ‘यहोवा---‘ सामाग्रीहरु र बाइबल खोलिहाल्छन्। झनक्क रिस उठ्छ, तर गर्ने के?!

यीनीहरुको बारेमा राम्रो धारणा नबन्नुको अर्को कारण यीनीहरुले आफ्ना बच्चाहरुलाई ‘तालेबान’ ढंगले गर्ने नियन्त्रण पनि हो। यो कुरोचैं एउटा नेपाली ‘यहोवा---‘ जोडीले आफ्ना छोराछोरीलाई गरेको ब्यबहार देखेरै जानियो। हुनत त्यो जोडी ‘नया जोगी’ हुनाले ‘बढी खरानी धसेको’ पनि हुनसक्छ, तर ‘यहोवा---‘ हरुले उत्सव मनाउनु हुन्न भनेर बच्चाहरुलाई समेत कतै रमाईलोमा, कार्यक्रमहरुमा जान नदिएको र कखरा फोर्न थालेदेखि बाइबलमात्रै पियाउन थालेको देखियो। आफूलाई त पूरै जिन्दगीनै उत्सव जस्तो लाग्छ! फेरि वयस्क भएपछि कसैले अँगाल्ने आस्थाको कुरो बेग्लै हो, तर बच्चाहरुलाई त सकेसम्म विवधतापूर्ण वातावरण दिनुपर्छ, सकेसम्म सबै आस्थाहरुसंग परिचित गराउनु पर्छ जस्तो लाग्छ।

‘यहोवा---‘ हरु रक्तदानका विरोधी हुँदा रहेछन्। मर्न आँटिसकेको मान्छे अरु कसैको रगत दिएर बाँच्छ भने पनि दिनुहुँदैन रे, रक्तदान गलत हो रे! बाइबलमा के लेखेको छ कुन्नि, तर मेरो काँचो दिमागले भने रक्तदान जस्तो पुण्य कुरो अरु कमै ठम्याएको छ। यो रक्तदान विरोधी नीतिमा कता-कता रंगभेद-जातिभेद पनि पो लुकेको छ कि?!

एक हप्ता पहिला आइतबारपनि आएर ढोका हान्न थाले, दुईटी ‘यहोवाका साक्षी'हरुले। बूढा-बूढीले सल्लाह ग-यौं, ‘आजचैं ढोकै नखोल्ने!’ भनेर र मान्छे नभएझैं गरेर चूप लागेर बस्यौं। तर छोरी बोल्न थाली, सुनेर ‘भित्र मान्छे छन्।‘ भनेर कुरा गर्दै झन जोडले ढोका बजाउन थाले। बाध्य भएर ढोका खोलियो। यसपटकचैं तगारै बनेर उभिएँ ढोकामा। एकछिनसम्म ‘यहोवाको राज्य’को बखान हाने र ‘प्रहरी धरहरा’ (Watchtower भन्ने उनीहरुको प्रकाशनको नेपाली संस्करण) को फरक-फरक अंकका तीन प्रति दिएर हिँडे।

हिजो फेरि कालो सूट लाएका दुइ वयस्क पुरुष र दुइ सात-आठ वर्षे बालकको समूह आएको थियो। एकछिन ढोका हानेर हिँडे तिनीहरुचैं। जापानी ‘यहोवा---‘हरु विदेशीको नाम लेखिएको ढोकाहरुमा विशेष रुचि राख्छन्, कारणचाहिँ रामजाने!

केहि समयपहिला ‘यहोवाका साक्षी‘हरुसंग सम्बन्धित एउटा रमाईलो समाचार पढेको थिएँ। यहाँमात्रै किन, अन्त पनि, पहिला पनि यस्तै रहेछन् यिनीहरु। आज गुगलमा खोजेर त्यो समाचार फेरि पनि पढें। तपाईँ पनि पढ्नुस्, मन लाग्छ भने।
- http://www.telegraph.co.uk/news/main.jhtml?xml=/news/2006/07/28/nwitness28.xml

(अप्रिल २३, २००७)

   [ posted by Gautam B. @ 08:45 AM ] | Viewed: 3657 times [ Feedback]


:

   
Blog Type:: Personal Thoughts
Thursday, April 19, 2007 | [fix unicode]
 

“जापान-मनका केहि तरंगहरु”

दिक्षान्त समारोहको दिन, ब्यक्तिगत हिसाबमा, सबैजस्तै स्वाभाविक रुपमा म पनि खुशी थिएँ, त्यत्तिकै स्वाभविक खुशी मेरो परिवारमै पनि हुनेनै भयो।

प्रमाण-पत्रहरु वितरण भईसकेपछि विश्वविद्यालय-प्रमुखले सबैलाई बधाई दिँदै ८-१० मिनेट लामो मन्तब्य राखे र सबैको सफल भविष्यको कामना गरे। त्यसपछि सबै विद्यार्थिहरुको प्रतिनिधित्व गर्दै मन्तब्य राख्न भनेर एउटा जापानी केटो मञ्चमा उक्लियो। केटाले कोटको खल्तीबाट, राम्ररी पट्याएर राखिएको कागज निकालेर पढ्न थाल्यो। जापानी भाषाको मेरो सीमित ज्ञानका कारण बढीमा त्यस्तै १० मिनेट जतिको केटाको मन्तब्यको कति कुरा बुझियो, कति कुरा बुझिईएन। तर मैले राम्रैसंग बुझेका दुईटा कुराले भने जापानप्रतिको मेरो धारणामा पहिरै ल्याईदिए। तीमध्ये पनि पछिल्लो कुरोले विशेष प्रभाव पा-यो। ती दुबै कुरा मेरो ब्यक्तिगत जीवनसंग सम्बन्धित थिएनन्, यहाँसम्म कि जापानमा बस्ने विदेशीहरुसंग समेत सम्बन्धित थिएनन् मेरो जीवनमा कुनै प्रभाव पार्नको लागि।

पहिलो कुरो, केटोले जापानको २००६ सालका प्रमुख उपलब्धिहरुको शिर्ष सूचिमा मात्सुजाका दाईसुके बोस्टोन रेड सक्ससंग अनुबन्धित हुन सक्नुलाई राखेको थियो। ठीक छ, बेसबल भनेपछि मरिहत्ते गर्ने जापानीहरुका लागि यो कुरा ठूलो होला, तर के जापान एउटा देशको हिसाबले हेर्दा यो राष्ट्रिय गौरबकै कुरा हो त? पेशेवर खेलाडीहरु आज यता, भोलि उता हुनु सामान्य हो। बिस्तारै फूटबलले बेसबलप्रतिको त्यो ‘क्रेज’ पनि खोसेर लाँदैछ। भोलि कुनै जापानी फूटबल खेलाडी इटाली अथवा इंग्ल्याण्डको कुनै क्लबमा अनुबन्धित भयो भने यसैगरी उसको नाम आउला त? जापान बस्ने सबै बिदेशीले सजिलै भन्नेछन्, “आउँदैन!” किनभने दाईसुकेको नाम यसरी आउनुमा उ अमेरिकाको क्लबमा पुग्नु प्रमुख कारण हो। जापानीहरु अमेरिकासंगको प्रसंगमा अत्यन्त हीनताबोधले ग्रस्त छन्, उनीहरु दोश्रो विश्वयुध्दमा आफूले हार्नु परेको कारणको रुपमा भित्र-भित्र अमेरिकालाई घृणा गर्छन् तर जापान अझै सामरिक रुपले अमेरिकाभन्दा कमजोर भएकोले सतहमा अमेरिकाप्रति ठूलो चाकरीभाव दर्शाउँछन्। जापानीहरुले अरु विदेशीहरु र अमेरिकीहरुलाई गर्ने ब्यबहारको फरक हे-यो भने हाँसो उठ्छ। ठीक छ, सबै देशमा यस्तै छ भन्ने मानौं एकछिन, अमेरिकाप्रति यस्तो नगर्ने कुन देश अथवा कुन जनता होला? एक्लो विश्वशक्ति, सामरिक सर्वोच्चता, सबैभन्दा ठूलो अर्थतन्त्र, प्राविधिक-वैज्ञानिक उत्कृष्टता-- ,के छैन अमेरिकासंग?! तर जापानको हकमा भने अलि अचम्मै लाग्दो गरी पसेको छ यो हीनता-ग्रन्थि र ब्यक्तिगत तहदेखि राष्ट्रिय तहसम्म उस्तै छ। चिनिया, कोरीयाली, इण्डोनेशियन अथवा मलेशियाली, कसैमा पनि छैन त्यति त। अझै पनि मानिदिऊँ कि ‘बेसबल क्रेजी’ मानसिकताको परिचय हो यो, तर के यसबाहेक जापानसंग केहि छैनन् त गर्व गर्न लायक कुराहरु?

दोश्रो कुरो, केटोले २००६ को जापानको लागि सबैभन्दा खुशीको क्षणमा रुपमा जापानी अधिराजकुमार दम्पत्तिलाई भएको पुत्रलाभलाई उल्लेख गरेको थियो। गत सालको सेप्टेम्बरमा आकिशिनो-किको दम्पत्तिका तेश्रो सन्तानको रुपमा हिसाहितोको जन्म भएको थियो, जापानी राजदरबारमा ४० वर्षयताको पहिलो पुरुष सन्तानको रुपमा।

राजकुमार हिसाहितोको जन्मभन्दा पहिले जापानका परम्परावादीहरु र विशेष गरी दक्षिणपन्थी राजनीतिज्ञहरु अत्यन्त चिन्तित थिए, किनभने जापानी राजगद्दी आरोहणको लहरमा वर्तमान सम्राट आकिहितो र राजकुमार नारुहितोपछि नारुहितोकी सुपुत्री आईको थिईन्। जापानको इतिहासमा पहिलोपल्ट नारीले सत्तारोहण गर्ने सम्भावना देखिएको थियो र त्यसैअनुसारक नियम-कानून र बिधेयकहरु बनाउने माग उठ्न थालेको थियो। कथित परम्परा नाशिने डरले दक्षिणपन्थीहरुको टाउको दुखेको थियो र उनीहरु कुनैपनि हालतमा यसलाई रोक्न चाहन्थे। हिसाहितोको जन्मसंगै यी सम्भावनाहरु टरेर गए।

राजकुमारी मासाको (नोरुहितोकी श्रीमती)लाई पुरुष सन्तान पैदा गर्न ठूलो दबाब थियो राजदरबार र परम्परावादीहरुको। मासाको झण्डै तीन वर्षजति सार्वजनिक समारोहहरुमा देखै परेकी थीईनन्। के सम्म बाहिर आएको थियो भने मासाकोकै कारणलाई लिएर नोरुहितोको आफ्ना बाबुआमासंगको सम्बन्ध समेत बिग्रिएको थियो। मासाको फेरि बच्चा जन्माउन शारिरीक रुपले असक्षम भएको हल्ला पनि चलेका थिए, तर यथार्थ हो, होईन, यो लेखकलाई जानकारी भएन।

राजगद्दी चढ्ने कुरामा मात्र हैन, जापानको दैनिक जीवनमै महिला-पुरुष असमानता अत्यन्त बढी छ। झ्वाट्ट हेर्दा पत्ता लाग्दैन यो कुरा, तर केहि समय जापानमा बिताएपछि थाहा हुन्छ। संगै काम गर्ने कार्यालयमा चिया बनाउने काम महिलाकै हुन्छ। पाहुना आएभने पनि चिया बनाएर दिने काम पनि महिलाको हुन्छ। त्यसो त जापानमा माथिल्लो तहमा महिलाहरु असाध्यै कम छन्, नेपालकै हाराहरीमा आईपुग्ने गरी! (यसबारे तथ्यांकसहित साझाकै कुनै एउटा धागोमा राखिसक्नुभएको छ साथीहरुले।) घरमा त जापानी पुरुषहरु स्वास्नी हैन दासनै चाहन्छन्। यति विकसित र उच्च शिक्षित दर भएको देशमा यस्तो स्थिति एकदम अस्वाभाविक लाग्दो रहेछ।

जापानी महिलाहरुले विद्रोह नगरेका हैनन् तर यो विद्रोह नारा, जूलूश आदिको रुपमा नदेखिएर बिल्कुलै फरक ढंगले प्रस्तुत भएको छ। उनीहरुले विवाह गर्नै छाडेका छन्! फलस्वरुप, जापानमा जन्मदर एकदम कम भएर गएको छ (औसतमा एक दम्पत्ति बराबर १.३ भन्दा कम बच्चाहरु!) शहरमा बच्चाहरु कम देखिन्छन् र बूढाहरुको हूल बढ्न थालेको छ। केहि जापानी पुरुषहरु स्वास्नी खोज्न चीन, फिलिपिन्स आदितिर धाउन थालेका छन्। तर कतिले धाउने?!

एकातिर स्थिति यस्तो छ, अर्कोतिर जापानी राजनीतिज्ञहरुलाई भने खासै मतलब छैन। उनीहरु महिलाको स्थिति पुरुषसरह सम्मानजनक बनाउने, बच्चा जन्माउँदा र हुर्काउँदाको समयले महिलाहरुको पेशागत जीवन (क्यारियर)लाई दिने धक्कालाई सकेसम्म कम गर्ने, वच्चाहरुको हेरचाहका लागि राज्यले अझ बढी लगानी गर्ने आदि काम गरेर महिलालाई पारिवारिक जीवनतिर आकर्षण गर्नुको साटो ‘सन्तान नपाउने आईमाईलाई पेन्सन दिनुहुन्न!’ भनेर डाएटमा भाषण ठोक्छन्। केहि समय पहिला एकजना मन्त्रीले त ‘आईमाई भनेका बच्चा पाउने मेशीन हुन्, त्यसैले हरेक मेशीनले सकेसम्म बढी उत्पादन दिनुपर्छ---!’ भनेर भाषण हानेका थिए। त्यसले जापानमा निकै ठूलो खैलाबैला ल्याएको थियो तर जापानी प्रवृत्तिमा भने कुनै ठूलो अन्तर ल्याउन सकेन त्यो खैलाबैलाले पनि।

मलाई थाहा छ, यो जापानी यथार्थको प्रतिबिम्बमात्र देखिएको हो त्यो केटाको बोलीमा। ती कुरामा केटो आफैंले कति विश्वाश गर्छ, मैले थाहा पाउने कुरो भएन तर म ठोकेर के भन्न सक्छु भने केटो आफैंले त्यो लेखेको होइन, किनभने जापान अघोषित ‘सामाजिक-सांस्कृतिक साम्यवाद’ भएको देश हो। विश्वविद्यालय प्रशाशनले लेखेर उसलाई पढन लगाएको हो। त्यो केटाले जुन ‘खुशी’ ब्यक्त ग-यो, त्यो ‘खुशी’ जापानी राज्यको संस्थापन पक्षको ‘खुशी’ हो र याकुजा(आपराधिक गिरोह)हरुसंग टाउको जोडिएका राजनीतिज्ञहरुको 'खुशी' हो।

यी कुराहरु मैले पहिलेनै थाहा नपाएको होईन, तर त्यो दिन सुनेपछि भने मेरो दिमागमा एकदम गाढा भएर टाँसिएका छन् र मेरो चार वर्षे जापान जीवनका सम्पूर्ण सकारात्मक अनुभवहरु पहिरोमा पुरिएका छन्।

   [ posted by Gautam B. @ 02:50 AM ] | Viewed: 2552 times [ Feedback] (2 Comments)


:

   
Blog Type:: Story
Monday, December 25, 2006 | [fix unicode]
 

यी कथाहरु साझामा पहिल्यै टाँसिसकिएका हुन्। पछि खोज्न सजिलो होस् भनेर सोहोरेर यता एकै ठाउँमा ल्याएर थुपार्दै छु।

“बाँसको पैसा"


“नमस्कार हाकीम सा’प!” कमीज-सुरुवाल-इष्टकोटको परिधानमा आएका एकजना बूढा बा भित्र पसे।
“नमस्कार!” गर्मीमा उँघिरहेको हुनाले बूढाको बोलीले नगरपालिकाको हाकीम अलि झस्किएझैं भयो। “भन्नुस् के कुरा हो?” आँखा पनि नऊघारी हाकिम बोल्यो।
“हजुर म---- !“ बूढा अलि अक्मकाए, “मेरो बाँस---!”
“ए तपाईँ फेरि आउनु भो!?” त्यतिखेरसम्म हाकीमले आँखा खोलिसकेको थियो। “कति चोटि भन्ने मैले तपाईँलाई, दिन मिल्दैन भनेर? तपाईँका बाँस कल्ले ल्यायो, हाम्लाई के थाहा? लानेसंग केहि कागत-सागत मागेर राख्नुपर्दैन? त्यसै पैसो पाईन्छ? जानुस्, अब फेरि आउने हैन यहाँ----“ हाकिम झर्कियो र टेबुलको पत्रिका तानेर पढ्न थाल्यो।
“हैन हजुर, नगरपालिकाले दिन्छ भनेका थे लानेले।“
“फेरि त्यहि कुरा! ‘भनेका थे’ भन्दैमा हुन्छ? जिविसमा जानुस्, उनीहरुले दिन्छन् कि?”
“ग’को हो हजुर, त्याँ त झन अफिसै बन्द-----“
“अब के गर्ने त?” बूढाको कुरालाई बीचमै काटेर हाकीम करायो अलि ठूलै स्वरले। “यहाँ बाट दिन मिल्दैन, जल्ले लगेको हो, उसैकाँ जानुस्।“ हाकीम कुर्सीबाट जुरुक्क उठ्यो, कोट तन्याकतुनुक पा-यो, कुर्सीमा राखेको चकटी मिलायो र फेरि पत्रिका तानेर बस्यो। अँध्यारो मुख लगाएर ‍‍‍धुर्वलाल बूढा बाहिर निक्ले।

“दिएन बाजे?” नगरपालिकाको गेटनीर पीउनले सोध्यो।
“दिएन, दिएन। गरीबको पैसो खाए पापीले--- !” बूढालाई कुरा गर्ने मन पटक्कै नभएको थाहा हुन्थ्यो, उनको बोलीबाट। अलिक मास्तिर एउटा चिया पसल थियो, बूढा पसलको एउटा कुनामा गएर बसे र गम्दै चिया पिउन थाले।

बूढाको घर नगरपालिकाको छिमेकी गाऊँमा पर्छ। अब नगरपालिका पनि भन्नुमात्रै हो, उनको गाऊँ जत्तिको पनि छैन। उनकी जेठी छोरीको बिहे भो, तीन भाइ छोरा छुट्टिएर अलग बसे, उनी र बूढी बसेका छन्। बूढीलाई मुटुले दुख दिन थालेको दुई बर्खजति भो। छ-छ महिनामा काठमाडौँ लगेर निकै महँगो ओखती गर्नु पर्छ। त्यसकै भरमा धानिएकी छिन् रे अहिलेसम्म बूढी, डाक्टरले त्यसै भन्थे। बैशाख सकिँदा लानु पर्ने हो यस पालि, पैसाको ब्यबश्था हुन नसक्दा जेठको पनि आधी हुन आँटी सक्यो लान सकेका छैनन्।

चैत लाग्दा-लाग्दाको कुरो हो। बूढा-बूढी खाना खाईसकेर पीँढीमा बसेका थिए।
“क्या हो काका, बाँस कतिमा बेचियो त?” माथ्ला गाऊँको हरिनारान कता जाँदै रहेछ, बाटैबाट करायो।
“के कुरा गर्छ यो? गाहकी भेटिएकै छैनन्, काँ’ट बाँस बेच्नु नि!”
“बाँस काटिराख्या आवाज जस्तो लाग्या थ्यो त मलाई! मान्छेको हल्लाखल्ला पनि सुनेजस्तो लाग्यो। म त तिम्ले बाँस बेचिसकेछौ भन्ठानेर हेर्दै नहेरी आएँ। गईहाल, फेरि सप्पै लगिसक्लान्”। बोल्दा बोल्दै हरिनारान धुर्बलाल बूढाको आँगन कटेर बाटो लाग्यो।

“हे दैव, को चोर पस्यो फेरि?-----“ थामको किलामा झुण्ड्याएको टोपी टाउकोमा हालेर बूढा निक्ले। “तँ नआईज, -----“ बूढी पनि पछि लाग्न खोज्दै थिन् बूढाले रोके।

मज्जाले सप्रेको बाँसघारी थियो बूढाको। धेरै दु:ख गरेर हुर्काएका थिए यो बाँसघारी बूढा-बूढीले।। ‘सात हजार त नाची नाची मोलेर दिन्छ गाहकीले’, भन्थे सबैले। सात हजार नआएर छ हजारमात्रै आईदिए पनि बूढाको धेरै ब्यबहार मिल्ने थियो। सबभन्दा ठूलो त डाक्टरले बोलाएकै बेलामा बूढीलाई काठमाण्डु लगेर उपचार गर्न सकिन्थ्यो। बाँकी बचेकोले पाँच-सात महिनैको नून-तेलमा भरथेग हुन्थ्यो। तर ऐले बाँस चोरी हुन लागेको सुनेपछि बूढाका जीउबाट पसिना छुट्न थालेका थिए।

“हैन त्याँ बाँस काट्नी को हँ?----- तिम्लाई साईँध्वा हो, मैले जान्या छु!” बूढा कराऊँदै डिलबाट बाँसघारीतिर ओरालो हान्निए। पहिला त बूढाले ठम्याइहाल्न सकेनन्, नजिकै पुग्दा देखे उनको बाँसघारीमा हरिया बर्दी लगाएका सिपाहीहरु थिए, दश बाह्र जना। तीमध्ये आधा जसो भकाभक बाँस ढालिरहेका थिए, आधा बन्दूके भने पल्याक-पुलुक वरिपरि हेर्दै घुमिरहेका थिए।
“सवारीमा लान काट्या हो बाँस बाजे, तिम्रा बाँसका’ नी दिन आए---!” यौटा रिकुटेले बूढालाई हियाएजस्तो गरेर बोल्यो। खोलापारी टुँडिखेलमा राजाको सवारी हुने कुरो हिजो माईकले फुक्दै हिँडेको सुनेका थिए उनले पनि।
“सोधखोज मोलतोलै नगरी यसरी अर्काको बाँस काट्दिनु त भएन नी हजुर!” बन्दूके धेरै देखेर बूढा अलि हच्किएर नरम स्वरमा कुरा गर्न थाले।
“बजारभरि राजाको सवारीको गेट बनाउन, मञ्च बनाउन लानी हो, किन सोध्नु प-यो?” अर्को रिकुटे कड्कियो।
बूढालाई झनक्क रिस उठ्यो।
“बरु मलाई मार, तर म यो बाँस लान दिन्न! -----“ बूढा लडाएर थुपारेको बाँसको चाङमाथि गएर पसारो परे। बूढा ठूलो स्वरले कराएको सुनेपछि हातमा एउटा रेडियोजस्तो भाँडो लिएर एक्लै बोल्दै गरेको, हाकिमजस्तो देखिने अर्को बर्दिवाला त्यता आयो।
“के भयो? यो बूढो को नि?”
“यो बाँस यी बाजेको रे साप!” शुरुमा उनीसंग ठट्टा गर्नेले तिनिक्क तन्किएर बोल्यो। “पैसा नदिई लान दिन्न भन्छन्।“
“बाजे, यो बाँस सवारीमा लाने हो। पैसा नगरपालिकाले दिन्छ, पर्सि आइतवार गएर माग्नु, म भन्दिराखौँला।“ हाकिमजस्तोले बूढातिर हेरेर बोल्यो।
“मुखका भरमै पैसा देलान् र हजुर----?“ बूढा बाँसको चाङबाट उठे।
“दिन्छ दिन्छ, किन दिन्न? त्यो लेखेलाई म भन्दिउँला। यताउता सोध्यो भने विक्रम क्याप्टेन सा’पले भन्या भन्नु।“ बूढालाई यति भनेर हाकिम सिपाहीहरुलाई आदेश दिन थाल्यो। “----- ल बाँस उठाएर ले’ र हिँडो। ------"

बूढाले हेर्दा हेर्दै रिकुटेहरुले एकैछिनमा बाँस ओसारेर सिध्याए। सिपाहीहरु सबै गईसकेपछि हेर्दा हेर्दै नाँगिएको आफ्नो बाँसघारी हेरेर बूढा धेरै बेर टोलाईरहे। ‘सवारी यहि बेला हुनु पर्नी! अनि मर्न नसकेका रिकुटेका आँखा पनि मेरै बाँसमा पर्नु पर्नी!’ तर आफ्नो निधारको पसिना आफ्नै टोपीले पुछेर घर फर्किनु बाहेक बूढासंग कुनै बिकल्प थिएन।

भोलिपल्ट बिहानैबाट टुँडिखेलमा ठूलो रमझम शुरु भयो। दश बजेतिर हेलिकउटर आयो जिल्लै हल्लाउँला जस्तो गरेर र बेस्मारी धूलो उडाऊँदै। अनि बेलून पनि खुब उडाए। माईकको आवाज बूढाको घरसम्म पनि टड्कारै सुनिन्थ्यो। सवारीले टुँडिखेल माथिको बजार पनि घुमेको कुरा पनि बूढाले त्यै माईकबाट सुनेका हुन्।अरु बेला भए बूढा रमिता हेर्न भएपनि पुग्दा हुन्, तर पैसो हातमा नपरीकनै आफ्ना बाँस गायब भएकाले बूढाको मन ठेगानमा थिएन। बरु बूढीले त्यति पिर गरेकी थिईनन्।‘बाँस लानी राजा हुन्, राजाले लगेपछि पनि पैसा नपाउनी हुन्छ, पिर नगर बूढा।‘ भनेर बूढालाई सम्झाइरहन्थिन्।

आईतवारबाट त आन्दोलन पो चर्कियो ए! दिन रात जूलूशै जूलूश! गोलीनै चलेर मान्छे मरेको खवर पनि आयो। नगरपालिकासम्म जाने आँटै गर्न सकेनन् बूढाले।

आन्दोलन सकियो, तर नगरपालिकाको मेयर लेखराम कता भाग्यो कता। राजाको पालाँ निकै चुरीफुरी गरेर धेरै मान्छे थुनाएको थियो, अहिले डराएर भागेछ। मालपोतको हाकिम नगरपालिकाको नया हाकिम भएर आयो भन्ने सुनेपछि बूढा पैसा लिन धाउन थालेका हुन्। पाँचचोटि भयो आजसम्म, दिने नामै लिँदैनन्। बूढा ब्यारेक पनि पुगेका थिए एकचोटि, तर त्यो क्याप्टेनसंग भेट हुनै पाएन। पैसा मिलिहाल्छ कि भनेर बूढा जिविस पनि पुगे। आज पनि पहिला त्यता गएर आएका हुन्। जहिले गएपनि ताल्चा झुण्डेको मात्रै देखिने त्यहाँ त झन्!

चियाको पैसा तिरेर बूढा गाऊँतिरको बाटो उकालो लागे। बाटोमा ब्यारेक पर्थ्यो। ब्यारेक अगाडि बूढी उनलाई कुरेर बसिरहेकी थिइन्।
“क्या’र्न तँ याँ?”
“तिनले पैसा दिँदैनन् भन्नी था’ थ्यो मलाई।“ बूढाले नभनेपनि उनको मलिनो अनुहारबाट बूढीले चाल पाईसकेकी थिईन्। “बरु हिँड एकबाजी फेरि ब्यारेकमा गएर त्यो क्याउटेन हो कि स्याउटेन के जातिलाई भेटौँ।“
बूढा-बूढी ब्यारेकको मूल ढोका तिर लागे। भित्र पस्न नपाईने रहेछ। एकछिन त्यतिकै अल्मलिएपछि त्यो बेलाँ बाँस काट्नेमध्येको एउटा सिपाहीलाई भित्र ढोकाको छेवैमा देखे उनले।
“हजुर यता----, एउटा सानो बिन्ती थ्यो हजुर।“
“के हो? के भयो?” त्यो सिपाहीले आँखीझ्याल जस्तोमा आएर सोध्यो।
“हजुरहरुले हाम्रो वाँस ल्याउनु भ’ थ्यो, पैसा कतैबाट पनि पाइएन। विक्रम क्याउटेन साप हुनुहुन्छ हजुर? क्याउटेन सापले-----“
“ए बाजे तिमी पो! क्याप्टेन साप त काठमाण्डु गइसक्नु भो, अब आउनुहुन्न।“ बूढाको बोली बीचैमा काटेर सिपाही बोल्यो।
“हो र हजुर ----!?” बूढा बिलखबन्दमा परे। “हजुरहरुले भन्दे पनि हुन्थ्यो कि हजुर? हाम्रो त बिचल्लीनै-----“
“खोइ हाम्ले गरेर हुन्न बाजे।–“ भनेर सिपाही ब्यारेकभित्रतिर लाग्यो।
“के को हुन्न? अर्काको बाँस ल्याए’सी पैसा तिर्नुपर्दैन?” बूढि रन्किन थालिन्। “अर्काको बाँस सिँत्तैमा त लाश पर्दा मात्तै लान्छन्। हे पर्भु, हे पर्मेस्सोरी, मेरा बाँस लगेर पैसा नतिर्नीको पनि लाश परोस्, भष्म खरानी होस्---“ बूढीले सरापेको ब्यारेकभित्र कसैले सुन्यो कि सुनेन, तर ब्यारेकको अघिल्तिरका चिया पसलमा बस्ने सबैले अचम्म मानेर हेर्न थाले।
“नकरा, नकरा, हिँड। ---“ बूढीलाई तान्दै घरतिरको बाटो सोझ्याए बूढाले।
“यसै भएन, उसै भएन, माउवादीलाई भन्नी हो कि क्या हो?” एकछिन पछि बूढा आफ्नै सूरमा बोले।
“हुन्न हुन्न हुन्न!” बूढी च्याँठ्ठीइन्। “ती पनि उस्तै हुन्। फेरि औँला दिँदा डुडुल्कै निल्न खोज्छन् ती। लोकेको हाल हेर न वाँ, उठिबास लागो तीनका संगतले गर्दा।”
“हो ठीक भनिस्। उल्टो सवारीमा बाँस दिने राजाको मान्छे हो भनेर खेदो गर्लान् भन्नी डर! काउरेस-झालेमालेलाई भने पनि उहि हो। मनको वह, कसैलाई नकह। पैसा के गर्नी त राजारामकी आमा?”
“छोराहरुसंग मागौँ एकबाजी। म मर्छु नत्र भनेर माग्दा त देलान् नि अलि अलि।“
“के देलान् र? तैपनि भनौँ के रे एकबाजी। आमा होस् तँ। देनन् भने रिनै काटेर भएपनि जाउँला तेरो ओखती गर्न।“
बूढा-बूढी गन्थन गर्दै विस्तारै घरतिर लागे।

********************************************************
********************************************************

"एक धर्को घाम"


“किन? के भयो? छोरीले झगडा गरी कि क्या हो?” छ बज्दा नबज्दै ब्यूँझन्छु म पनि। उनी छोरीलाई फुल्याइरहेकी छिन्।
“अघि भर्खर एउटा एम्बुलेन्स गयो अगाडिबाट, त्यसकै आवाजले ब्युँझेकी हो। अलिअलि झर्केकी छे निद्रा बिग्रेकोले, अरु केहि पनि भ’ छैन।”
छोरीले दूध खान पनि मानीरहेकी छैन र झर्कँदै-रुँदै गरीरहेकी छे।
“काखमा राखेर हल्लाए निदाऊँछे कि---।” म काखमा लिन्छु, तर छोरी मेरो काखमा आएपछि झन झर्किन्छे। र यतिखेरसम्म ऊ पूरै ब्यूंझिसकेकी छे। म छोरीलाई उनको काखमा राख्दिन्छु, तर छोरीले काखमा बस्न अझै मन नगरेपछि उनी उसलाई कार्पेटमा छोडिदिन्छिन्।
छोरीको रुवाई बन्द हुन्छ अब। ऊ चार हात-खुट्टा टेकेर अडिन्छे, एकछिन हामीलाई हेर्छे, मुसुक्क हाँस्छे र बामे सर्न थाल्छे।
“ल हेर त! कल्ले पत्याऊँछ साढे पाँच महिनाकी मात्रै भई भन्दा---?! ” बामे सरेर कोठा नापीरहेकी छोरीलाई हेरेर उनी मुस्कुराऊँछिन्।
“हो त! हिजो फोनमा भन्दा आमाले त पत्याउनु भएन !”
“छोरी कता तिमी? यता आऊ!” हामीले आँखा झिम्क्याउन नपाऊँदै छोरी झ्यालनिर पुगिसकिछे। ऊ त्यहाँ केहि समात्न खोज्दै थिई। अचेल बामे सर्नुसंगै उसले भेटेका कुरालाई समात्न र सकेजतिलाई मुखमा लान सिकेकी छे। जतिखेर पनि एकजना पछि नलागी सुखै छैन।
झ्यालको पर्दा अलिक होड परेर भर्खर उदाएको घाम छिरेको रहेछ र त्यहाँ एउटा मसिनो उज्यालो धर्को बनेको रहेछ घामको। छोरी त्यै सुनौलो धर्कोलाई समात्न र तान्न खोज्दै थिई।
हामी बूढाबूढी मुखामुख गरेर असमञ्जस भरिएको हाँसो साट्छौँ। अरु त के नै गर्न सक्छौँ र ?!

धेरै बेर कोशिश गरेर पनि घामको धर्कोलाई तान्न नसकेपछि छोरी झर्किन्छे, अनि हामीतिर हेरेर च्याँठ्ठिएर रुन थाल्छे।

“ओहो बाबा, छानु---, नलोऊ---नलोऊ, मेलो बाबा------” उनी छोरीलाई उठाएर छातीमा लगाऊँछिन् र फुल्याउन थाल्छिन्।

छोरी एकैछिनमा फुलिन्छे र उनी फेरि उसलाई तलै राखिदिन्छिन्। छोरी खेल्दाखेल्दै फेरि घामको धर्कोमा पुग्छे तर यस पटक ऊ त्यो धर्कोलाई तान्न खोज्दिन, त्यसलाई नियाल्छे, आफ्ना कोमल हातहरु एकैछिन त्यसमाथि राख्छे अनि त्यसलाई छोडेर कोठाको अरु भागतिर दौडिन्छे। एकछिन खेलेपछि थाक्छे र कार्पेटमै निदाएर आफ्नो टुटेको निद्रा र टुक्रिएको सपनालाई पूरा गर्न थाल्छे।

“खै छोरीको विछ्यौना लेऊ त।” म छोरीको विछ्यौना त्यो धर्कोनिर लगेर मिलाऊँछु अनि त्यो सुनौलो घामको धर्कोको एक भाग उसको निधारमा पर्ने गरी छोरीलाई विछ्यौनामा राखिदिन्छु।
जीवनका सबै सौन्दर्य र सत्यहरुको प्रतीक बनेर घामको सुनौलो धर्को छोरीको निधारमा चम्किरहन्छ।
------------------------------********************------------------------------
------------------------------********************------------------------------


"एक जोर सूट"


साँझको आठजति भईसकेको थियो। बिहानैदेखि ल्याबमा खटेको हुनाले उ अत्यन्त थकित थियो। कोठातिर फर्किन भनेर निस्किसकेको थियो, ‘मेल चेक गर्नुप-यो हिँड्ने बेलामा’ भनेर कम्प्यूटर अगाडि बस्यो।

"के लेखेछ बूढाले?!” एउटा मेल प्रोफेसरको पनि रहेछ।
"चन्द्र कुमारजी, भोलि योकोहामामा हुने 'निप्पोन बायोटेक'को त्रैमासिक बैठकमा भाग लिन तपाईँ जानुहोला। म जान नभ्याउने भएँ।गत महिनाको सम्मेलनमा पेश गरिएका सामाग्रीहरु पनि लैजानुहोला र त्यसबारेमा छोटो प्रस्तुति दिनुहोला। धन्यवाद।“ चन्द्र कुमारले पी.एच.डी. शुरु गरे यता एक दुई पटक बूढाले यस्ता बैठकमा आफ्नो साटो चन्द्र कुमारलाई
पठाएको छ।

चन्द्र कुमार अल्छी तालले कोठातिर फर्कियो। चिसो बतास चलिराखेको थियो। ‘हिऊँ पर्छ कि क्या हो!’ आफैँसंग बोल्दै ढोका खोल्यो र झोला ओछ्यानतिर हुर्र्यायो। जुत्तै नफुकालीभान्छा तिर गयो,चाउचाउ पकाउन कराहीमा पानी बसाल्यो र त्यसपछि जुत्ता फुकालेर हातगोडा धुनथाल्यो।

उम्लेको पानीमा चाउचाउ एक पोका र दुइटा अण्डा हाल्यो। दराजबाट कोट र पाइण्ट निकाल्यो। कोट ठिकै हालतमा रहेछ, पाईण्ट अलि खुम्चिएको जस्तो देखियो। खाइसकेपछि आइरन गर्ने सोच बनाएर चाउचाउ खानथाल्यो।

खाईसकेपछि पाइण्ट टेबुलमा फिजारेर आइरन दल्न थाल्यो। अलि अलि आइरन गरेर नपुग्ने जस्तो लाग्यो चन्द्र कुमारलाई, अलि बढीनै खुम्चिएको रहेछ। । दिक्क मान्दै दोहोराएर आइरन ग-यो, तैपनि उस्ताको उस्तै! मन नलागी नलागी तेस्रो पटक आइरन ग-यो, पाइण्टमा परेका मुजाले हराउने नामै लिँदैनन्!

‘स्सा—ला! थोत्रो भाँडोमा धो’को लुगा यत्रो गतिलो हुन्थ्यो---!’ धेरै पुरानो वाशिङ मेशीन थियो उस्को, कुनै नेपालीले नेपाल फर्किने बेलामा छोडेको। पछिल्लो पटक धोएर निकालेकै बेलामा पाइण्ट एकदम खुम्चिएको याद गरेको थियो उसले। पछि हेरौँला र कुनै ड्राइक्लीनरकहाँ लगेर ठीक पारौँला भनेर छोडेको थियो, तर त्यसपछि एकपटक पनि हेरेनछ उसले। अर्को एक जोर कालो सूट हाल्ने विचार पनि पुरानै हो चन्द्र कुमारको, तर कहिले के कहिले के भएर किन्ने मेसै परेको छैन। पाइण्टले भोलि घोर बेइज्जत गर्नी भो भन्ने भावले मन खल्ल भयो चन्द्र कुमारको। ‘भोलि बिहान एकछिन फेरि मच्चिनुपर्ला आइरन ले’र।‘ भन्ने सोच्दै उ सुत्यो।

भोलिपल्ट बिहानको नित्यकर्म सकेर आइरन लिएर मच्चिन थाल्यो। अहिले भने एकपटकमै छोडिदियो किनभने जति मच्चिएपनि पाइण्टले ठीक ठाऊँमा आउने सूर ल्याएन।
“अँ--- भन्।“ फोन उठायो चन्द्र कुमारले।
“जिम्दै छस् तँ? के गर्न लाग्याछस् नि अहिले?” ओमे बोल्यो उताबाट।
“पाईण्टले टेन्सन दि’राछ यार!”
“के भ’ र?”
“हेर्न, आज एउटा कार्यक्रममा योकोहामा जानुपर्नी, सूटको पाईण्ट नराम्रोसंग खुम्च्या’ रैछ अस्ति धुँदा, जति आइरन गरे नी ठाममा आऊँदैन।“
“अनि अर्को सूट लाएर गए हुन्न त तँलाई?”
“अर्को त हरियो छ यार, दाजुको बिहेमा हालेको, नेपालाँ जन्त जाँदा मात्तै लाउन हुन्छ त्यो त! कागको माझाँ बकुल्ला भईन्छ यार त्यो लाएर गयो भने त! जाप्नीज बूढ्ढाहरु छपक्कै कालै भ’र बस्या हुन्छन्।“
“अनि अर्को एक जोर कालो सूट हाल्नु पर्दैन त?! कट्टू र चप्पलका भराँ’ पि एच डी सक्नी भईस् कि क्या हो?! स्कलरशिपको मूठो सटक्क बुझ्नी मान्छे, दिनदिनै सूट फेरेर हिँड्नु, वर्षैपिच्छे गाडी फेर्नु! बोरामा पैसा कोचेर राख्या छस्, अनि यत्रो! कति बोरा येन लानी भईस् नेपाल? कि सिरकको खोलै भरिसकिस्?! हा—हा—हा !” ओमेले उडाउन पा’को, किन छोड्थ्यो?
“नकरा मु--, किन फोन गरिस् भन्।“
“तेरो कुच्च्या मुख नदेख्या धेरै भ’थ्यो, आज भेटेर संगै खाना खाम् भनेर हो, भईहाल्यो अब।“ फोन राख्यो ओमेले।

चन्द्र कुमारले अमिलो मन लिएर लुगा लगायो। रेलमै बेन्तो किनेर खाऊँला भन्ने सोच्दै कोठाबाट निक्लियो।

रेल स्टेशनसम्म पुग्न दश मिनेटजति हिँड्दा एक शताब्दी पूरै हिँडेजस्तो लाग्यो उसलाई। हरेक सेकेण्ड उस्को मनलाई कसैले आफ्नो खुम्चेको पाइण्ट हेरिरहेको होला भन्ने सोचाईले चिमोटिरहेको थियो। सधैं काँधमा झोला झुण्ड्याउन मन पराउने चन्द्र कुमारले आज हातमै झुण्ड्याएको थियो, ता कि खुम्चेको पाइण्ट अलिकति भएपनि छेकियोस्।

“त्यो जाँ---लाई किन हेर्नु प-या होला नि!” भुत्भुतायो चन्द्रकुमार, गाडीमा बसेकी एउटी केटीले उस्को पाइण्ट हेरेजस्तो लागेर। अरु दिन भए केटीले हेर्दा ‘मजस्तो ह्याण्डसमलाई नहेरेर कल्लाई हेर्छन् त?’ भन्ने सोचेर छाती फुलाउँथ्यो उ, तर आज भने कसैले पनि नहेर्दे हुन्थ्यो! केटीले त झन हेर्दै नहेर्दे हुन्थ्यो!

तै इसुका स्टेशनबाट रेलमा बसेपछि उस्को समस्या हल भयो एक छिनको लागि। रेलभित्रको भिडमा चन्द्र कुमारको खुम्चेको पाइण्टको त के, चन्द्र कुमार आफैं हरायो।

वानागो पुगेर हतार हतार शिन-कान-शेनको प्लेटफार्मतिर दौडियो, तर पनि दश मिनेट जति कुर्नुपर्ने भयो त्यहाँ। सधैंजस्तो स्टेशनमा आफ्ना एक्सरे आँखा दौडाएन आज चन्द्र कुमारले, प्रतीक्षा कक्षको एउटा कुनामा गएर बस्यो।

शिन-कान-शेनमा छिरेपछि ‘बेन्तो’ किन्यो र खान थाल्यो। खुम्चेको पाइण्टले गर्दा उस्लाई खानाको स्वाद पनि याद भएन। तीन घण्टासम्म एक चोटि पनि सिटबाट उठेन उ।
शिन-कान-शेन योकोहामा पुगेको जानकारी बज्यो।

“थुक्क---! आज पनि फुजी राम्ररी हेरिएन!” अहिले त चन्द्र कुमार करायो नै। “आज त दिन राम्रो थियो नि!”

हरेक पटक यो बाटोबाट यात्रा गर्दा फुजी पर्वत हेर्न खोज्छ उ, तर अहिलेसम्म राम्रोसंग देखेको छैन। कहिले कुहिरो डम्म हुन्छ, कहिले कसैसंग गफ गर्दा गर्दै यादै हुँदैन। आज दिन पनि राम्रो थियो र उ एक्लै पनि थियो; तर आज पनि छुट्यो।

शहरको पुरानो भागको ‘बायोटेक बिल्डिङ’को आठौं तल्लाको एउटा हलमा थियो कार्यक्रम। सहभागीहरु आयाताकार भएर बसेका थिए। नभन्दै बूढै-बूढाहरु थिए अरु सबै। कार्यक्रम सञ्चालकलाई आफ्नो बारेमा बताएर र आफ्नो प्रस्तुतिसंग सम्बन्धित सामग्रीहरु बुझाएर चन्द्रकुमार एउटा कुर्सीमा गएर बस्यो।

कार्यक्रम सम्बन्धित ल्याबहरुको तीन महिने प्रगति बिबरण जस्तो मात्रै रहेछ। उस्को पालो चाँडैनै आयो, तर कार्यक्रम पूरै नसक्किई उठ्ने कुरो भएन। हाई काढी काढी बूढाहरुको गन्थन सुन्यो। कार्यक्रम सकिँदा साढे पाँच बजिसकेको थियो।

कार्यक्रम स्थलबाट चन्द्रकुमार सोझै सब-वे स्टेशनतिर लाग्यो। उस्लाई कतिखेर कोठामा पगौं र त्यो पाइण्ट फुकालेर हुर्रयाऊँ जस्तो भैरहेको थियो।
शिन-कान-शेन चढेपछि चन्द्रकुमारले दुई क्यान बियर र बदाम मिसिएको स्न्याक्स मगायो। एउटा ठुलो बोझ हटेर टाउको हलुंगो भएझैं अथवा कुनै कठिन परीक्षा भर्खरै सकिएझैं भैरहेको थियो उस्लाई र उ दंग परेर बियर पिउन थाल्यो।

‘भोलि बिहानै यो पाइण्ट लगेर ड्राई-क्लीनर्सकहाँ छोड्छु। खाना खाए पछि बजार गएर अर्को एक जोर कालो सूट पनि किन्छु।‘ लगभग प्रतिज्ञाकै स्तरमा गमिरहेको थियो उ। ‘एक जोर मात्रैको भरमा बस्यो भने यस्तो अप्ठेरो पर्दो रहेछ कहिलेकाहिँ।‘

अहिले भने फुजी पर्वत हेर्न बिर्सेन उस्ले। हुनत साँझ परिसकेको थियो, तर फुजी पर्वतको आकृति भने एकदम स्पष्ट देखिएको थियो। छाती तन्काएर उभिएको महिमामण्डित फुजीलाई हल्का अँध्यारैमा सहि सर्वाङ्ग देखेपछि चन्द्र कुमार त्यसै त्यसै आल्हादित भयो र आधा क्यान बियर स्वाट्टै पा-यो। कुन्नि कुन खुशीले हो, चन्द्र कुमारको अनुहार उज्यालिँदै आएको थियो। खुम्चेको पाइण्ट अथवा बिहानकी त्यो केटी, दुबै उस्को मनबाट हटिसकेका थिए।

“हेलो, के छ राज यार?” कोठानिर पुग्नै लाग्दा फोन आयो।
“तँ काँ’ छस् अहिले?”
“योकोहामा गा’थें, फर्केर भर्खर आईपुग्दैछु।“
“त्यो अस्ति नयाँ वर्षको नाच याद छ नि तँलाई हैन?”
“छ, छ!” चन्द्रकुमार हौसिएर करायो। “क्या च्वाँक थी’ पातली यार!”
“सा----ला बोका! किन बिर्सिन्थिस् त?! हा हा हा!”
“भन् न कुरो के हो?”
“भोलि दिऊँसो एमी केनमा कार्यक्रम र’छ नेपाली समाजको, पातलीको डान्स पनि छ रे। तँ अहिले यतै आ। भोलि संगै जाऊँला।“

चन्द्र कुमारले हतारिँदै ढोका खोल्यो। कोट-पाईण्ट-टाइ-शर्ट फुकालेर ओछ्यानमाथि फाल्यो। हतार हतार हात-मुख धोयो र जिन्सको पाईण्ट र टि-शर्ट भिरेर बाहिर निक्ल्यो।

बाहिर हल्का चिसो भएपनि जूनेली रात थियो। कुनै पुरानो नेपाली गीतको धून सुसेल्दै चन्द्र कुमार शहरको पल्लो छेऊतिर जाने बस कुरिरहेको थियो।

************************************************

जापानी शब्दहरु: बेन्तो:- लञ्च बक्स
शिन- कान-शेन:-बुलेट ट्रेन
केन:- प्रान्त
इसुका, वानागो, एमी:- काल्पनिक ठाऊँहरु


(यो कथामा वर्णित घटना एवं पात्रहरु सबै काल्पनिक हुन्, कसैको वास्तविक जीवनसंग मेल खाएमा संयोग मात्र हुनेछ। अलिअलि मेरै जीवनसंग मेल खाएमा पनि संयोग मात्रै हुनेछ।)

   [ posted by Gautam B. @ 08:03 AM ] | Viewed: 2561 times [ Feedback] (5 Comments)


:

   
Blog Type:: Story
Friday, December 08, 2006 | [fix unicode]
 

“कुँडो”


“ए----! ढिलो पो भईसकेछ!” घडी हेरेर ओमे गुन्गुनायो र झोला बोकेर दौडियो। सबैलाई थाहा भएको नियमित साप्ताहिक घटना भएकोले ल्याबका जापानी केटाहरुले खासै ध्यान दिएनन्। असाध्यै भोक लागे पनि पाउरोटी टोक्ने फूर्सद पनि पाएन उसले। ‘तीन मिनेट पनि बाँकी छैन, ढिला पुगिएला जस्तो छ, आज रिसाउनी भ’ साला खप्परे!’ स्वाँ-स्वाँ र फ्वाँ-फ्वाँ गर्दै उ पुस्तकालयमा पुग्दा अरु सबै भेला भईसकेका रहेछन् तर उ पनि खप्परेले ध्यानै दिने गरी ढिलो भने पुगेन, ठीकै भो।

हुनत आज शुक्रबार हो, सप्ताहन्तको साँझ रमाईलो गर्नुपर्ने हो तर यो सेमेष्टर ओमेको सप्ताहन्त छैन भने पनि हुन्छ। उसले डेढ वर्ष पहिलेनै निवेदन हालेको थियो पुस्तकालयमा काम गर्नको लागि, तर अहिले आएर मात्रै मिलेको थियो हप्ताको एक दिन, शुक्रबारको लागि, दिउँसो चारबाट बेलुका नौ बजेसम्मको। भेटेको काम छोड्ने कुरो भएन, ‘बरु शनिबार-आईतबारको बाइतो अलिक कम गर्नुपर्ला।‘ भन्ने सोचेर पुस्तकालयको काम शुरु गरेको थियो उसले।

पुस्तकालयको कर्मचारी खप्परे (खास नाम त माचीमुरा हो क्या रे!) पुस्तकालयमा पार्ट-टाइम काम गर्ने विद्यार्थीहरुको सुपरभाइजर थियो। खप्परेले सबैलाई काम बाँडफाँड गरिदियो। ओमे दोश्रो तल्लातिर लाग्यो, फिर्ता आएका किताबहरुले भरिएको ट्रली गुडाऊँदै। किताब आफ्नै सूरले बिस्तारै मिलाएर उ पहिलो तल्लामा फर्किँदा झण्डै छ बजिसकेको थियो। अब दुई घण्टा यहिँ थियो उस्को पालो। किताब इस्यू गर्ने काउण्टरमा बस्यो उ। किताब फिर्ता लिने पट्टि एउटा जापानी केटो थियो। अघिल्ला हप्ताहरुमा देखेको थिएन ओमेले उस्लाई। अरु कुनै दिनको होला, कसैसंग काम साटेको होला आजको लागि।

एक घण्टा जति पछि अलिक होलो भयो। जापानी केटाले उतिर हेरेर टाउको झुकायो, ओमेले पनि प्रत्युत्तरमा टाउको झुकायो। ओमे नेपाली हो भन्ने थाहा रहेछ त्यसलाई। केटोको नाम आओकी रे। एकछिन आ-आफ्नो पढाईको कुरो भयो।

“कहाँ बस्छौ तिमी?” आओकीले सोध्यो।
“नजिकै छ, हिँडेर जाँदा पनि दश मिनेटमात्रै लाग्छ।“
“अनि खाना के गर्छौ नि? आफैं बनाउँछौ?” एक छिन पछि फेरि कुरो उप्कायो आओकीले।
“विहान त यतै कलेजतिरै खान्छु, तर बेलुका भने आफैं बनाउँछु।“ नियमित प्रश्नको नियमित उत्तर दियो ओमेले। एकछिन आफैँ पकाएर खाँदा सस्तो पर्ने कुरा, नजिकका सुपरमार्केटहरुमा सामानको भाउको कुरा, आदि अरु नियमित कुराहरु भए।
“तिम्ले बना’को नेपाली खाना खुब मिठो हुन्छ होला है!?” जापानीले फेरि कुरा शुरु ग-यो।
“अँ---, मिठ-मिठै हुन्छ।“ ओमेले जवाफ दियो अक्मकिएर। ओमेलाई खाना बनाउन खासै आऊँदैन, साँच्ची भन्ने हो भने उसले पकाउन जानेको भनेको कुँडो मात्रै हो। ओमेहरुको भाषामा यो कुँडो भनेको गाईवस्तुलाई खुवाउने कुँडो नभएर उनीहरुले पकाउने झोल हालेको तरकारी हो। प्याज, डीप फ्रीजको कुखुराको मासु र आलु भुटेर त्यसमा मसला-नून-अदुवा-लसुन-गोलभेंडा र चाहिनेजति पानी राखेर छड्काएपछि साधारण कुँडो तयार हुन्छ। थप्न मन लागे पालुंगोको दुई-चार पात अथवा ब्रोकाउली-काउलीका दुई-चार टुक्रा थपेपनि भो। ओमेहरुको जमातमा कुँडो लोकप्रिय छ, किनभने दाल र तरकारी एकै खेपमा तयार हुन्छ।

भोक लागेको बेलामा कुँडो सम्झिनाले ओमेको भोक दुईगुना भयो। कतिखेर काम सकिएला र कोठामा पुगेर कुँडो बनाएर खाउँला भनेर थुक निल्न थाल्यो उ। तर काम सकिन अझै एक घण्टा भन्दा बढी बाँकी थियो। बटारिएका आन्द्रा र कुँडो सम्झेर रसाएको मुखलाई सहेर नौ बजेसम्म बस्नुको विकल्प थिएन उसंग।

आठ बजेपछि तेश्रो तल्लाको काउण्टरमा बस्ने पालो प-यो उस्को। तेश्रो तल्ला अँग्रेजी पुस्तक-पत्रिकाहरुको तल्ला भएकोले दिउँसो पनि खासै भिड हुँदैनथ्यो, अहिले साँझमा त कोहि पनि थिएन। विशाल हलको ओल्लो छेउ देखि पल्लो छेउसम्मको सूनसानले उस्को भोक र कुँडोको चाहना लाई अझ बढायो। इण्टरनेटमा बसेर समय बिताउन सकिन्छ कि भनेर पनि कोशिश ग-यो उसले, तर इण्टरनेटमा झन झर्को लाग्यो उस्लाई यतिखेर। कम्प्यूटरबाट उठेर पानी खायो र हललाई एक छेउ देखि अर्को छेउ सम्म नाप्न थाल्यो।

‘कुँडो अलि धेरैनै पकाउँछु आज।‘ उ टहल्दै, गम्दै थियो। ‘गोलभेंडा त छ, पालुंगो छैन कि, पालुंगो रैनछ भने मसिनो च्याउ छ, आज कुँडोमा च्याउ पनि हाल्दिन्छु। जाँदाखेरि दुई-तीन क्यान बियर पनि लानुपर्छ कि क्या हो! फिट्टू भ’र भोलि बिहान दश बजेसम्म सुत्छु अनि।------ तर बियर लिन त दश मिनेट नहिँडी हुन्न नजिकको कन्बिनिसम्म पुग्न, के गर्नी होला---? ----‘

बल्ल-बल्ल नौ बज्यो। यताउता गरेर पुस्तकालयबाट उ निस्कँदा सवा नौ भईसकेको थियो। कन्बिनी पुगेर बियरको एउटा सानो केसनै किन्यो उसले, पछिलाई पनि हुन्छ भनेर। कोठामा आईपुग्दा दश बजिसकेको थियो।

ढोकाबाट पस्नासाथ भान्छा थियो उसको। भान्छा भन्दा उता सुत्ने कोठा। यो सुत्ने कोठामा एउटा टेबुल थियो, त्यो टेबुलको कारणले गर्दा यो कोठा खाने कोठा पनि भएको थियो। उ भान्छाको बत्ती पनि नबाली फ्रीजमाथिको एउटा प्लाष्टिकको बट्टा टिपेर सोझै कोठातिर लाग्यो। टेबुलमाथि एउटा पत्रिकाको टुक्रो ओछ्यायो र बट्टाको दालमोठ-चिउरा स्वार्र्—पारेर खनायो, आधा माना जति। अनि एक फाँको दालमोठ-चिउरा मुखमा हालेर बियरको एउटा क्यान खोल्यो र लगभग एक तिहाई जति घुट्क्यायो। यति ईन्धन हालिसकेपछि उ कुँडो पकाउन कस्सिएर शर्टको बाहुला सार्दै भान्छातिर लाग्यो।

“थुक्क----! धत्तेरिका स्-----स्साला!” भान्छाको बत्ती बल्नु र उ कराउनु एकैचोटि जस्तो भयो। वाश-वेसीनमा टन्न जूठा भाँडाहरु थिए। बल्ल याद आयो उस्लाई, यी भाँडाहरु सोमबार रातिदेखिकै हुन्। मंगलवार एउटा काम परेर वानागो गएको थियो र फर्किँदा रेलमै बेन्तो किनेर खाएको थियो। अस्ति राती कप-रामेन खाएको थियो र ल्याबमै सुतेको थियो। हिजो चन्द्रेको कोठामा सुतेर आज त्यतैबाट कलेज गएको थियो।
-------------------

ओमेले यो सप्ताहान्त पनि चाउचाउ-अण्डाले मनायो।

*******************************************************

यो कथामा प्रयोग गरिएका जापानी शब्दहरु:

बाइतो: पार्ट-टाईम काम
बेन्तो: लञ्च बक्स
कन्बिनि: convenience store को प्रचलित जापानी लोकबोली
वानागो: काल्पनिक शहर
कप-रामेन: डिष्पोजेवल कपमा हुने तयारी चाउचाउ (त्यहि कपमा तातो पानी हालेर चाउचाउ खाए हुने, बनाउने छुट्टै भाँडो नचाहिने)

   [ posted by Gautam B. @ 08:29 PM ] | Viewed: 2541 times [ Feedback] (19 Comments)


:

   
Blog Type:: Poem
Saturday, November 25, 2006 | [fix unicode]
 

हुनत कविताको देशमा टाँसिसकेको कविता हो, तैपनि आफैंलाई मन परेको कविता भएकोले यता पनि टाँस्दै छु।


"शहरकी बत्ती"

हिजो गोधूलीमा
हतार हतार आफूलाई पूछपाछ पारेर
भाका गुज्रेको पाउडर
लतपत गालाभरि पोतेर
र हतार हतार
विना ऐना
ठूटे लिपस्टिकले ओठ रंगाएर
ताराहरु चम्किनुभन्दा पहिल्यै
सडक किनारमा आफूलाई उभ्याएकी थिई
पिलपिल शहरकी बत्ती,

आफ्नै गह्रौँ छायासंग बेखवर भएर
त्यै छायाँमा जोडिदैँ टुट्दै गरेका
जोडीका जोडी मायासंग बेखवर भएर
पर्दाभित्रका छायाहरुलाई
ताराहरुले जस्तै निर्विचार हेरेर
र पुलमुनि रात बलात्कृत हुँदा
एक थोपा आँशु समेत नझारेर
रातभरि ठडिएपछि
थाकेर बिहानीपख
सडकमै निदाईछे
टिलपिल शहरकी बत्ती।

   [ posted by Gautam B. @ 09:39 AM ] | Viewed: 2969 times [ Feedback] (3 Comments)


: